विकासन्युज

ठेक्का सम्झौताको ७ महिना अगावै सम्पन्न भयो सडक पुल

काठमाडौं । गोरखाको पालुङ्टार नगरपालिका-९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन ७ महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो । फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए । सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उनले जानकारी दिए । ‘वैशाख र जेठमा काम भयो । असारको आधाआधी पनि काम भयो । असार, साउन, भदौ, असोज चार महिना केही पनि काम हुन सकेन,’ उनले भने, ‘कात्तिकपछि लगातार काम गरेर ४ महिनामै पुल तयार भयो । अब केही दिनभित्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।’ समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका लागि यो गतिलो पाठ भएको छ । अठार महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब ९ महिनाभित्र काम सम्पन्न गर्नु खुसीको कुरा भएको उनको भनाइ छ । ‘राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्छ, यहाँ त पाँच वर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरण छन्,’ कार्यालय प्रमुख सुवेदी भन्छन्, ‘तर ढुङ्गेटारी पुल यति छिटो बन्नु प्रशंसनीय काम हो । यसरी नै सबै योजना बन्ने होभने जिल्लाको विकास तीव्रगतिमा हुन्थ्यो ।’ २५ मिटर लामो र ८.४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुङ्गेटारीस्थित खारखोला पुलको लागत २ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्टलिष्ट, को-को सिफारिस भए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम छनोट (सर्टलिष्ट) गरेको छ । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणि चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरेको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभवको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तर्वार्ताका लागि छनोट गरिएको सीईओ सिफारिस समितिले जनाएको छ । साथै छनोट भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि चैत ६ गते अर्थमन्त्रालयमा बोलाइएको छ । व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । नेप्सेको सीईओ बन्न १० जनाले आवेदन दिएका थिए । नेप्सेको सीईओ पदका लागि सर्टलिष्ट भएका ५ जनासहित युवराज दाहाल, प्रविण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकन्दराज जोशीले सीईओका लागि आवेदन दिएका थिए । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागनु १२ गतेदेखि फागुन २५ गतेसम्म आवेदन आह्वान गरेको थियो । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेललाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओविहीन छ । कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो, ६९ मेगावाट क्षमताबाट ३४ मेगावाटमा झर्याे

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ ।नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताए । उनले भने, ‘हिउँ पग्लिएको छैन । मर्स्याङ्दीमा पानीको बहाव कम छ । पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ । हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ ।’ उक्त परियोजनामा २३/२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । ‘साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ,’ सहायक प्रबन्धक हुसेनले भने । मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै अपराह्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आयल निगमले ५ रुपैयाँ घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्री वितरण हुने निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

मुस्ताङको घरपझोङ्गमा प्रभु बैंकको वित्तीय साक्षरता, गभर्नरले भने-डिजिटल जोखिमबाट बच्नुहोला

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुस्ताङ पुगेर डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नुपर्ने बताएका छन् । प्रभु बैंक गण्डकी प्रदेशले आयोजना गरेको मुस्ताङको घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले भने, ‘डिजिटल प्रविधिको उपयोग गर्दा हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ । हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ ।’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत छलफल गरे । प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका थिए । घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले कार्यक्रमको स्वागत गर्दै भने, ‘हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ । यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ ।’ डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ । स्थानीय समुदायले यस किसिमको कार्यक्रम आगामी दिनमा पनि हुनुपर्ने माग गरे ।  

पहिले सरकारमा थियौँ, अहिले जनताका घरदैलोमा छौँ: अध्यक्ष प्रचण्ड

काठमाडौं । समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनतालाई आफ्नो कुरा भन्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । ‘पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो काम गरेकै हो । पहिले सरकारमा थियौँ, अहिले जनताका घरदैलोमा छौँ । विगतमा हामीबाट केही त्रुटि भएकै हो, हाम्रा मुद्दा छुट्न गएकै हुन् । यसलाई मनन गरेका छौँ,’ उनले भने । अध्यक्ष दाहालले जनभावना, धर्मसंस्कृतिविरुद्ध नभई लामो सङ्घर्ष र बलिदानीमार्फत प्राप्त उपलब्धि र गणतन्त्रमाथि समस्या सिर्जना नहोस् भन्ने अभिप्राय रहेको बताए । देशको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध जनतालाई सुसूचित गराउनु आफ्नो दायित्व भएको उनको भनाइ छ । अध्यक्ष दाहालले समाजवादी मोर्चाको अन्तिम लक्ष्य समाजवादी गणतन्त्र भएको बताउँदै अहिले उद्योग–व्यवसायमा आधारित रहेर जनतालाई आर्थिक समृद्धि दिने, ग्रामीण अर्थतन्त्रको विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने तत्कालीन लक्ष्य रहेको बताए । संविधान जारी भएको दश वर्ष हुन लागेकाले संशोधनको विषयमा छलफल आवश्यक रहेको उनको धारणा छ । पूर्वप्रधानमन्त्री दाहालले राजतन्त्रलाई लक्षित गरेर हिजो मात्रै बोलेका धारणा नयाँ नभई भूमिगतकालदेखि नै उठाइएको बताए । ‘भूमिगत हुँदा पनि यही कुरा बोलेको थिए, अहिले पनि यही कुरा बोलेको छु । आमनेपाली जनताका मनमा भएको कुरा मैले बोलेको हुँ,’ अध्यक्ष दाहालले भने, ‘यसका साथै हामीले समाजवादी मोर्चा गठन गरेका छौँ, त्यसको उद्देश्यअनुरुप नै अगाडि बढिरहेका छौँ । समावेशी, समानुपातिक गणतन्त्र ल्याउन नेपाली जनताको धेरै ठूलो योगदान र परिश्रम रहेको छ । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली विशेषताको समाजवादी गणतन्त्र अहिलेको आवश्यकता रहेको बताए । उनले वंशका आधारमा शासन गर्नेहरूले नेपालको इज्जत, प्रतिष्ठा कायम राख्न नसक्ने भन्दै परिवर्तन चाहनेहरूले अग्रगमनतर्फ ध्यान दिनुपर्ने बताए । नेता नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले नेपालका माओवादीलाई एकधारमा ल्याउने अभियान र छलफल चलिरहेको बताए ।

सन् २०२६ को अन्त्यमा स्टारशिप मङ्गल ग्रहमा प्रस्थान गर्ने

काठमाडौं । सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताएका छन् । विश्वको सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ मस्कको मङ्गल ग्रहको उपनिवेशीकरणको दीर्घकालीन दृष्टिकोणको कुञ्जी हो। ‘स्टारशिप अर्को वर्षको अन्त्यमा अप्टिमसलाई लिएर मङ्गल ग्रहको लागि प्रस्थान गर्छ । यदि ती अवतरणहरू राम्रो भयो भने सन् २०२९ सम्ममा मानव अवतरण सुरु हुन सक्छ, यद्यपि मानव अवतरण सुरु हुन सन् २०३१ सम्म लाग्ने सम्भावना बढी छ,’ मस्कले सामाजिक सञ्जाल एक्समा भने । टेस्लाका कार्यकारी प्रमुखसमेत रहेका मस्कले गत वर्ष एक कार्यक्रममा कम्पनीको अप्टिमस रोबोट सार्वजनिक गरेका थिए । उनले कुनै दिन सानातिना काम गर्न सक्ने र मित्रता पनि गाँस्नसक्ने प्रदान गर्ने ‘डान्सिङ रोबोट’ लाई २० हजारदेखि ३० हजार डलरसम्ममा बिक्री गर्न सकिने बताएका छन् । ‘स्ट्याच्यू अफ लिबर्टीभन्दा लगभग १०० फिट अग्लो ४०३ फिट अग्लो स्टारशिप अन्ततः पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ । नासाले आफ्नो आर्टेमिस कार्यक्रमका लागि मुन ल्यान्डरको रूपमा स्टारशिपको परिमार्जित संस्करणको पनि प्रतिक्षा गरिरहेको छ, यसले यस दशकमा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा फर्काउने लक्ष्य राखेको छ। स्पेसएक्सले ती मिसनहरू पूरा गर्नु अघि यसले यान विश्वसनीय छ, चालक दलका लागि सुरक्षित छ र जटिल ‘इन–ऑर्बिट रिफ्युलिङ’ गर्न सक्षम छ भन्ने प्रमाणित गर्नुपर्छ । गहिरो अन्तरिक्ष अभियानहरूको लागि यो हुनु महत्त्वपूर्ण छ।   स्पेसएक्सले यसै महिना ‘स्टारशिप प्रोटोटाइप’को पछिल्लो परीक्षण उडान एक ज्वालामुखी विस्फोटमा परिणत भएपछि एक धक्काको सामना गर्नुपरेको थियो । यसको कक्षीय परीक्षणमा यसले सफलतापूर्वक कक्षमा प्रवेश गरेको थियो । यो अघिल्लो प्रयासको निकटको पुनरावृत्ति थियो।