विकासन्युज

बरेला प्रतिकिलो ४० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रू २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रू ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रू २२, आलु रातो प्रतिकिलो रू ३५, आलु रातो (भारतीय) प्रतिकिलो रू ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रू ५८, गाजर (लोकल) प्रतिकिलो रू ४०, गाजर (तराई) प्रतिकिलो रू २५, बन्दा (लोकल) प्रतिकिलो रू १२, बन्दा (नरिवल) प्रतिकिलो रू १५, काउली (स्थानीय) प्रतिकिलो रू २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रू २०, मूला रातो प्रतिकिलो रू ४०, मूला सेतो (लोकल) प्रतिकिलो रू २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रू २५, भन्टा लाम्चो प्रतिकिलो रू ५० तथा भन्टा डल्लो प्रतिकिलो रू ६० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रू ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रू ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रू ३०, घिउ सिमी (राजमा) प्रतिकिलो रू ९०, टाटे सिमी प्रतिकिलो रू ७०, तिते करेला प्रतिकिलो रू ११०, लौका प्रतिकिलो रू ४५, परबर (तराई) प्रतिकिलो रू १२०, घिरौला प्रतिकिलो रू ७०, झिगुनी प्रतिकिलो रू ७०, फर्सी पाकेको प्रतिकिलो रू ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रू १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रू १५ तथा भिण्डी प्रतिकिलो रू १२० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रू ४०, पिँडालु प्रतिकिलो रू ९०, स्कूस प्रतिकिलो रू ४०, रायो साग प्रतिकिलो रू ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रू ८०, तोरीको साग प्रतिकिलो रू ४०, मेथीको साग प्रतिकिलो रू ६०, प्याज हरियो प्रतिकिलो रू ३०, बकुला प्रतिकिलो रू ४०, तरूल प्रतिकिलो रू ९०, च्याउ (कन्य) प्रतिकिलो रू १३०, च्याउ (डल्ले) प्रतिकिलो रू २८० निर्धारण गरिएको छ । कुरलिो प्रतिकेजी रु १००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रू ४०, चुकुन्दर प्रतिकिलो रू ६०, सजीवन प्रतिकिलो रू १५०, कोइराला प्रतिकेजी रू २००, रातो बन्दा प्रतिकिलो रू ५०, जिरीको साग प्रतिकिलो रू ५०, सेलरी प्रतिकिलो रू १५०, सौफको साग प्रतिकिलो रू ८०, पार्सले प्रतिकिलो रू ३३०, पुदिना प्रतिकिलो रू ३००, गान्टे मूला प्रतिकिलो रू ६०, इमली प्रतिकिलो रू १६०, तामा प्रतिकिलो रू १००, तोफु प्रतिकिलो रू १२० र गुन्द्रुक प्रतिकिलो रू ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रू २५०, स्याउ (फूजी) प्रतिकिलो रू ३५०, केरा (दर्जन) रू १५०, कागती प्रतिकिलो रू २५०, अनार प्रतिकिलो रू ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रू २००, अङ्गुर (कालो) प्रतिकिलो रू २५०, सुन्तला (भारतीय) प्रतिकिलो रू १२०, मौसम प्रतिकिलो रू २००, जुनार प्रतिकिलो रू १५०, काँक्रो (लोकल) प्रतिकिलो रू ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रू ४०, निबुवा प्रतिकिलो रू ५०, नासपाती (चाइनिज) प्रतिकिलो रू २५०, मेवा (नेपाली) प्रतिकिलो रू ५०, मेवा (भारतीय) प्रतिकिलो रू ११०, लप्सी प्रतिकिलो रू १००, खरबुजा प्रतिकिलो रू ४५, स्ट्रबेरी प्रतिकिलो रू २००, किबी प्रतिकिलो रू ४००, अमला प्रतिकिलो रू १२० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रू १००, खुर्सानी सुकेको प्रतिकिलो रू ३२५, खुर्सानी हरियो प्रतिकिलो रू १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रू ११०, भेडे खुर्सानी प्रतिकिलो रू १००, लसुन हरियो प्रतिकिलो रू ६०, हरियो धनिया प्रतिकिलो रू ८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रू २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रू २३०, छ्यापी सुकेको प्रतिकिलो रू १६०, छ्यापी हरियो प्रतिकिलो रू ७०, ताजा माछा (रहु) प्रतिकिलो रू ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रू २६०, ताजा माछा (छडी) प्रतिकिलो रू २४०, रूख टमाटर प्रतिकिलो रू १८०, राजा च्याउ प्रतिकिलो रू ३०० र सिताके च्याउ प्रतिकिलो रू ८०० तोकेको छ ।

स्यूचाटारमा आगलागी, १५ लाखको क्षति

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए । उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाई भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन् । अन्य विभिन्न क्षेत्रका थप चारवटा दमकल आए पनि सडक फराकिलो नहुँदा त्यहाँ जान सकेन । उक्त आगालगीमा १५ लाख बराबरको क्षति अनुमान गरिएको छ । आगो निभाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो । स्वम्भू वृत्तका प्रहरी टोलीसमेत परिचालन भएको थियो । आगलागीबाट अन्न, काठमा फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा लत्ताकपडा, फलाम जलेको छ । विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

५ कम्पनीको ३२ करोडको सेयर बेच्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ५ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र जीवन विकास लघुवित्तको सेयर बिक्री गरेर बाहिरिने भएको हो । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता, निफ्राको १० लाख कित्ता र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ६९६ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता २६९ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १५९ रुपैयाँ, निफ्राको प्रतिकित्ता १०५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ । सो मूल्यका आधारमा बैंकले लगानी कोषको ३ करोड ४८ लाख रुपैयाँ, सूर्याेदय वोमीको १ करोड ५८ लाख ८७ हजार १४० रुपैयाँ, सूर्यज्योतिको ७९ लाख ५० हजार रुपैयाँ, निफ्राको १० करोड ५० लाख रुपैयाँ र जीवन विकासको १५ करोड ५४ लाख ३४ हजार ६८० रुपैयाँ गरी कुल ३१ करोड ९० लाख ७१ हजार रुपैयाँको सेयर बिक्री गर्न लागेको हो । सेयर खरिदका लागि आवेदन दिँदा कम्तिमा ५ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रबन्धकको कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ । सेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय थापाथली, विराटनगर मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट आवेदन दिन सकिनेछ । उक्त सेयरमा चैत ३ गतेदेखि चैत १० गतेसम्म बोलपत्र आवेदन दिन सकिनेछ ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज चैत ३ गते अन्तिम दिन रहेको छ । फागुन २७ गतेदेखि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई बिक्री गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

फरवार्ड माइक्रोफाइनान्सको १९ करोड बढीको सेयर बिक्रीमा, मूल्य ५३१ रुपैयाँ

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १९ करोड बढीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाको संस्थापक समूहको ३ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । साथै उक्त सेयरको मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ तोकिएको छ । सो आधारमा लघुवित्तले १९ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले पनि आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले चैत ३ गतेदेखि चैत १७ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कम्तिमा एक हजार कित्ता सेयरका लागि बोलपत्र पेश गर्नुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

११ कर्मचारीलाई १० जिल्लाको बजार अनुगमनको जिम्मेवारी

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको सात महिनामा ९ जिल्लामा ४२० वटा अनुगमन गरेर १३ लाख १० हजार रुपैयाँ जरिवाना सङ्कलन गरेको छ । उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अयोजना गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । कार्यालयका निमित्त प्रमुख सुनिल चौरसियाका अनुसार कार्यालयसँग ११ जना जनशक्ति भए पनि बजार अनुगमन भने १० जिल्लामा गर्नुपर्ने जिम्मेवारी छ । कार्यालयले मधेश प्रदेशका ८, बाग्मती प्रदेशका चितवन र मकवानपुर गरी १० जिल्लाको बजार अनुगमन गर्नु परिरहेको उनले जानकारी दिए । सीमित जनशक्तिका बाबजुद चालु आवका सात महिनामा ४२० पटक बजार अनुगमन गरिएको निमित्त प्रमुख चौरसियाको भनाइ छ । ‘कार्यालयसँग सीमित स्रोधसाधन र जनशक्ति छ । तर पनि १० जिल्लामा बजार अनुगमन गरिरहेका छौँ । सप्तरी जिल्लामा अनुगमन गर्न समस्या भएको छ,’ चौरसियाले भने, ‘‘‘सबैभन्दा धेरै बजार अनुगमन पर्सा जिल्लामा भएको छ । यहाँ १५७ पटक बजार अनुगमन गरेर ४ लाख ९५ हजार रुपैयाँ जरिवाना असुलउपर गरिएको छ ।’ बजार अनुगमनको जिम्मेवारी कार्यालयसँग मात्रै सीमित छैन । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय मातहत पनि नियमित बजार अनुगमन हुने गरेको छ । कार्यालयले गत आवमा ५११ पटक बजार अनुगमन गरेर ६ लाख ३० हजार रुपैयाँ जरिवाना सङ्कलन गरेको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले सबै सरकारी निकाय र उपभोक्ता आफैँ पनि जिम्मेवार भएर उपभोक्ता हित संरक्षणका लागि हातेमालो गरेर अघि बढ्न जरूरी रहेको बताए । ‘बजारलाई स्वस्थ र प्रतिस्पर्धी बनाउनको लागि बहुसरोकारवालाको भूमिका हुने गर्दछ । जिल्ला प्रशासन कार्यालयले पनि निरीक्षण अधिकारीका रूपमा र संयुक्त बजार अनुगमन टोलीमा सहभागी भएर भूमिका निर्वाह गर्दै आइरहेको छ,’ उनले भने । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता र उद्योगी दुवै ठगिएको बताए । ‘राज्यका निकायले विभिन्न समस्या देखाएर प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता र उद्योगी दुवै ठगिनुपरेको छ । प्रहरी र अन्य सरकारी निकायबाट विभिन्न समयमा अनुगमन भए पनि यसले समस्या समाधान हुनसकेको छैन । यसर्थ बजार अनुगमन गर्ने प्रणालीलाई व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने । उद्योग विभागका निमित्त महानिर्देशक रिमा साहले व्यापारी र उपभोक्ता दुवै सजग र सर्तक भएर वस्तु तथा सेवाको बिक्री तथा किनमेल गर्नुपर्ने बताए । उपभोक्ता हित संरक्षणमञ्च नेपाल पर्साका उपाध्यक्ष अजित भुजेलले उपभोक्ता संरक्षण ऐन, २०७५ आएको छ वर्षपछि उपभोक्ता अदालत सञ्चालनमा आउनु सकारात्मक रहेको बताए ।

आगामी निर्वाचनमा एक्लै चुनाव लड्छौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा माओवादी केन्द्र भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको राजनीतिक प्रशिक्षणमा अध्यक्ष दाहालले जनताको बलमा चुनावमा जाने बताए । विसं २०६४ को निर्वाचनमा आफ्नै मुद्दाको बलमा विजयी भएको स्मरण गर्दै उनले भने, ‘आगामी दिनमा माओवादी केन्द्रले कांग्रेस र एमालेसँग समीकरण गर्दैन, आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्छौँ ।’ पार्टीभित्र गुटबन्दी, अराजकतावादी तथा व्यक्तिवादी आत्मकेन्द्रित हुने प्रक्रिया बढेकाले पार्टीमा सङ्गठनात्मक गतिविधि जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो नबढेको अध्यक्ष दाहालको भनाइ छ। पार्टीका गतिविधि गतिशील बनाएर अघि बढ्दै यथास्थितिलाई तोडेर नयाँ यथार्थतिर र नयाँ प्रक्रियातिर जाने सङ्कल्प लिएको उनले बताए । लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र र जनताको समाजवादी गणतन्त्रबीच ठूलो वैचारिक सङ्घर्षको फाइदा उठाएर राजावादीहरूले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर प्रयास गरिरहेको बताए ।

लक्ष्य २ वर्षमा सक्ने, ९ वर्षदेखि अधुरै रह्यो कास्की र पर्वत जोड्ने मोटरेबल पुल

काठमाडौं । कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल ९ वर्षसम्म पनि अधुरै रहेको छ । सम्झौताको २ वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिरदेखि निर्माण थालिएको उक्त पुल ठेकेदारको लापारवाहीका कारण बन्न नसकेको हो । पर्वतको मोदी गाउँपालिका-१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका-८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत पनि भएको छैन । खोलाको एकातिर पुलको केही संरचना तयार भए पनि अन्य काम हुन सकेको छैन । ६ करोड १३ लाख रुपैयाँको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो । अहिलेसम्म १ करोड ५० लाख रुपैयाँ कार्यालयबाट भुक्तानी गरिएको छ । उक्त पुल २९ महिनामा सम्पन्न गर्नेगरी सञ्जीवनी निर्माण कम्पनीले जिम्मा लिएको हो । सडक डिभिजन कार्यालय बागलुङले २०७२ सालमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाको अहिले सडक डिभिजन कार्यालय पोखराले जिम्मेवारी लिएको छ । निर्माण कार्य थाल्न जनप्रतिनिधिले पटकपटक दबाब दिँदै आएका छन् । तर पुल निर्माणले गति लिएको छैन । ‘धेरै पटक हामीले पुलका बारेमा सरकारी निकायमा कुरा राखेपछि सडक डिभिजन कार्यालयले बल्ल काम सुरु गरेको छ, तैपनि सम्पन्न हुने/नहुनेमा आशङ्का छ । ढिलोगरी काम सुरु भएको छ,’ स्थानीय राजेन्द्र खड्काले भने । सडक डिभिजन कार्यालय पोखराले पुनः असार मसान्तसम्मको म्याद थप गरेर निर्माण व्यावसायीलाई निर्माणस्थलमा खटाएको छ । अहिले पुल निर्माणको काम धमाधम भइरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर ध्रुब पोखरेलले जानकारी दिए । अब निर्धारित समयमै सम्पन्न गर्न कार्यालयले निर्माण व्यावसायीलाई निर्देशनसमेत दिएको छ । स्थानीय तहको गठनअघि नै निर्माण सुरु भएको पक्की पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयवासी हैरानी व्यहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताए । स्थानीय तह, सङ्घीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटकपटक अटेर गरेकाले यस्तो समस्या भएको उनको भनाइ छ । यसैबीच निर्माणकार्य सुरु भएको उक्त आयोजनाको राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र प्रदेशसभा सदस्य भक्त कुँवरले स्थगलत अनुगमन गरेका छन् ।