विकासन्युज

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकलमा २५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच ग्लोबल आईएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका हुन् ।सहमति अनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ । अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेशन लगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए । पोखरेलले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे । यसैगरी, ग्लोबल आईएमई बैंकका लुम्बिनी प्रदेश प्र्रमुख शान्ता शिवाकोटीले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे ।  ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक छुट योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

सगरमाथा आरोहीलाई यति एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने

काठमाडौं । कीर्तिमानी सगरमाथा आरोहीलाई यति एयरलाइन्स र ह्याम्स अस्पतालले आफ्नो सेवामा विशेष छुट दिने भएका छन् । उक्त प्रयोजनका लागि सगरमाथा आरोही सङ्घले ती दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरेको छ । सगरमाथा आरोहण गरेको ७१ वर्ष पुगेको स्मरण गर्दै विश्वकीर्तिमानी र कीर्तिमानी आरोहीलाई सेवामा विभिन्न छुट दिने सम्झौता भएको छ । सङ्घमा आबद्ध आरोही र आरोहीका परिवारलाई यती एयरलाइन्सबाट उडान गर्दा टिकटको न्यूनतम मूल्यमा थप विशेष छुटको व्यवस्था गरिएको छ । सोसम्बन्धी सम्झौतामा सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र एयरलाइन्सका तर्फबाट प्रमुख व्यापार अधिकृत युवराज विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसैगरी ह्याम्स अस्पतालले प्रदान गर्ने सेवामा सगरमाथा आरोही सङ्घको सिफारिसमा विश्व कीर्तिमानी आरोहीलाई ५० प्रतिशतसम्म छुटको, कीर्तिमानी आरोही र आरोहीका परिवारलाई ३० प्रतिशतसम्म छुट दिइनेछ । त्यसका लागि सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोदकुमार ढुङ्गेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त कार्यक्रममा सङ्घका तर्फबाट प्रथम उपाध्यक्ष दिवस पोखेल र महासचिव शिवबहादुर सापकोटाको उपस्थिति रहेको थियो । सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोही र आश्रित परिवारलाई एयरलाइन्स र अस्पतालको सेवामा सहुलियतका लागि दुई संस्थाबीच सहकार्य गरिएको बताए । उनले पर्यटन उद्योगमा महत्त्वपूर्ण योगदान गर्ने पर्वतारोहीले विदेशी मुद्रा भित्र्याउन र साहसिक पर्यटन प्रवद्र्धनमा खेलेको भूमिकाको कदरस्वरुप दुई संस्थाको सेवामा विशेष छुटका लागि सम्झौता भएको जानकारी दिए । यसले कीर्तिमानी आरोहीहरूको पहिचानलाई अझ जीवन्त र परीणाममुखी बनाउन मद्दत पुग्ने सङ्घको विश्वास छ । सङ्घले हिमाली क्षेत्रको सरसफाइ, सगरमाथा रक्षा अभियान चलाउँदै फोहर व्यवस्थापन, सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद् बैठक, कोप- १५ मा जलवायु परिवर्तनले पारेको असरप्रति ध्यानाकर्षण गर्दै कोपनहेगन, डेनमार्कमा आरोहीहरूको मार्चपासलगायत कार्यहरू गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले कतिपय प्रतिष्ठानहरूले पारिश्रमिकको व्यवास्था पूर्णरूपमा परिपालन हुन नसकेको गुनासो आएको भन्दै उक्त ध्यानाकर्षण गराएको हो । सरकारले गत २०८० साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १७ हजार ३०० तोकेको थियो । त्यस्तै, सरकार चिया बगान क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक महँगी भत्तासहित १३ हजार ८९३ तोकेको थियो । तर कतिपय प्रतिष्ठानहरुले सरकारले तय गरेको न्यूनतम पारिश्रमिक समेत प्राप्त नगरेको गुनासो आएको विभागका प्रवक्ता मणिनाथ गोपले बताउनु भयो । विभागले अनियवार्य रूपमा श्रम अडिट गर्न समेत सबै प्रतिष्ठानहरूलाई आग्रह गरेको छ । प्रवक्ता गोपले कतिपय प्रतिष्ठानहरुले अडिटसम्बन्धी कानुनको पालना नगरेको गुनासो आएको उल्लेख गर्दै यस्तो नगर्न समेत सचेत गराए । उनले बालबालिकाहरुलाई श्रममा नलगाई बालश्रम तथा बाध्यकारी श्रम निवारणको वातावरण निर्माणमा सहयोग पु¥याउनसमेत आग्रह गरे । साथै विभागले सबै राजगारतादा तथा श्रमिकहरूलाई अविलम्व सामाजिक सुरक्षा कोषमा आवद्ध हुनसमेत अनुरोध गरेको छ ।

राज्यले उद्योग-व्यवसायीलाई तर्साउने, धम्क्याउने र असुल गर्ने काम गर्दैन : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले सबै उद्यमी व्यवसायीलाई समान रूपले कारोबार र प्रतिष्पर्धा गर्ने मौका दिने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले कुनै निश्चित उद्योगी व्यवसायीको पक्षमा नीति निर्माण नगर्ने बताए । पूर्वअर्थमन्त्री खड्काले अर्थतन्त्रमा देखिएका कानुनी जटिलतालाई समाधान गर्न सरकार लागि परेको दावी गरे । विगतमा अर्थतन्त्रमा देखिएका विभिन्न विकृतिका कारण समस्या उत्पन्न भएको बताउँदै उनले सरकारले लिएको लक्ष्यमा पुग्न नसकिएको जिकिर गरे । उनले सरकारले राज्यका कुनैपनि निकायमार्फत तर्साउने, धम्क्याउने वा असुली गर्ने काम नगर्ने भन्दै उद्योग व्यवसायीलाई आश्वस्त पारे । उनले भने, राज्यले सरकारले कुनै निश्चित व्यवसायीको पक्षमा मात्रै कुनै नीति निर्माण गर्दैन । त्यस्ता व्यवसायको पक्षमा मात्रै कुनै निर्णय गर्दैन । र राज्य निजी क्षेत्रमैत्री हुनका लागि सबै व्यवसायीलाई समान कारोबार गर्ने प्रतिस्पर्धा गर्ने मौका दिन्छ भन्ने कुरामा यो सरकार तपाईंहरू आश्वस्त हुनुहोस् । राज्यले राम्रो व्यवसाय गर्नेलाई तर्साउने धम्क्याउने र असुली गर्ने काम गर्दैन भन्ने कुरामा तपाईंहरू ढुक्क हुनुहोस् ।’ पूर्वअर्थमन्त्री खतिवडाले उद्योग व्यवसायीका लागि आवश्यक परेको अवस्थामा राज्यले छिटो बाटोबाट नीति निर्माण गरी कानुनी समस्या समाधान गर्ने पनि बताए ।

सरकारले व्यावसायीक वातावरण बिथोल्ने पक्षलाई समयमै चिन्नुपर्छ : अध्यक्ष ढकाल

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तन भएका कानुनलाई कार्यान्वयनमा लैजान सरकारले जोड दिनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै उनले परिवर्तन भएका कानुनलाई कार्यान्वयन गरी सरकारले नीतिगत स्थायित्वको प्रतिवद्धता दिनुपर्ने बताएका हुन् । वर्तमान सरकारले अवरोध मानिएका कानूनमा सुधार गरेर व्यवसायिक वातावरण बनाउन खोजेको निर्णय स्थायी रुपमा राख्न पनि स्थायित्व आवश्यक भएको बताएका हुन् । अध्यक्ष ढकालले सरकारले कानूनमा संशोधन गरेर अगाडि सारेको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरे । उनले नेपालमा राम्रा कानुन र व्यवस्था भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा कसैले लाभ लिन नसकेको सत्यलाई सबैले बुझ्न जरुरी रहेको बताए । नीतिगत स्थायित्व भए नेपालमा नेपालभित्रकै पुँजी र लगानीले धेरै काम गर्ने वातावरण बन्ने पनि बताए । सरकारले व्यावसायीक वातावरण बिथोल्ने पक्षलाई समयमै चिन्नुपर्ने पनि बताए । विभिन्न समयमा व्यवसायी र उद्योग प्रतिष्ठानमा हुने अवरोध र अवाञ्छित क्रियाकलापहरुले नेपालमा लगानी गरेर गल्ती गरियो कि भन्ने सोच आउन थालेको गुनासो अध्यक्ष ढकालले गरे । व्यवसायीले उद्योग प्रतिष्ठान सञ्चालन गर्न लिएको जोखिम र हिम्मतलाई कसैले नजरअन्दाज गर्न नहुने प्रष्ट उनले पारे ।

आईएमई लाइफ इन्स्योरेन्सले पायो आईएसओ ९००१ : २०१५ मान्यता

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईएसओ ९००१ : २०१५ मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन आईएसओद्वारा प्रदान गरिने आईएसओ ९००१ : २०१५ सर्टिफिकेसनले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) का लागि आवश्यक अवधारणाहरुको अवलम्वन गरिएको बताउँछ । उक्त मान्यता प्राप्त गर्ने सिमित बीमा कम्पनीहरूमध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनीयता बढ्नुका साथै कर्मचारी र अभिकर्तामा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने ऊर्जा थपेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले नेपालको जीवन बीमा क्षेत्रमा पृथक पहिचान कायम गर्न नेतृत्व विकास, ग्राहक सेवा र सम्बन्ध व्यवस्थापन लगायतका क्षेत्रहरुमा रणनैतिक विकास र डिजिटाइजेसन एवम् अटोमेसनको माध्यमबाट प्रकृयागत सुधार गरी दिगो विकासमा आईएमई लाइफ लागिरहेको बताए ।

स्काईवेलको फ्ल्यागसिप शोरुम नक्सालमा

काठमाडौं । जी मोटर्सले स्काईवेलको फ्ल्यागसिप शोरुम काठमाडौंको नारायणचौर, नक्सालमा सञ्चालनमा ल्याएको छ । जी मोटर्स प्रालि स्काईवेल नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता हो । शुक्रबार चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ जीनले एक समारोहका बीच रिबन काटेर शोरुमको उद्घाटन गरे । यस अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्री म्यानेजर भिरा एवं जी मोटर्सका चेयरमेन दुर्गाप्रसाद गेलालको उपस्थिति रहेको थियो । नेपालमा पाइने विद्युतीय सवारीसाधन (ईभी) मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाइभ नेपाली बजारमा एक वर्ष अगाडि भित्रिएको थियो । स्काईवेलको यो नेपालमा पाँचौं बिक्री कक्ष हो । विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसियारहित एसियामा समेत बिस्तार भइसकेको छ । भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको बिक्री वितरण सुरु गरेको थियो । नेपाली बजारमा भित्रिएको एक वर्षभित्रमै स्काईवेलले १०० भन्दा बढी एसयुभीहरू नेपालमा बिक्री गरिसकेको छ। एक करोड १५ लाख रुपैयाँ मूल्यसम्म पर्ने स्काईवेलका एसयुभीको सुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ । यसै वर्ष स्काईवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ ।  

नबिल बैंकका ५ भिसा कार्डवाहकले जिते उपहार

काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरुले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ । बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेताहरुलाई सम्मान तथा उपहार वितरण गरेको थियो । कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी सीईओ मनोजकुमार ज्ञवाली, डेपुटी सीईओ भुपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्माका साथ भिसा कार्ड प्रतिनिधि आशीष चक्रवर्ती लगायतको उपस्थिति थियो ।