वीरगञ्ज बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन, ८ महिनामध्ये फागुनमा सबैभन्दा धेरै
काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ । कार्यालयले गत साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ, भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । असोजमा ४ अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यसैगरी, गत मङ्सिरमा ३ अर्ब २२ करोड रुपैयाँ, पुसमा ३ अर्ब ५६ करोड रुपैयाँ, माघमा ४ अर्ब २९ करोड रुपैयाँ र फागुनमा ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो । चालु आवको ८ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै सङ्कलन भएको छ ।
कांग्रेसको महाधिवेशन २०८४ अगावै हुने, चैतभित्र क्रियाशील सदस्यताको नवीकरण गर्ने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस तनहुँ क्षेत्र नं २ ले आज दुलेगौडामा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले अहिलेको कानुनी व्यवस्थाका कारण नियुक्ति प्रक्रिया राजनीतिबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । महामन्त्री शर्माले भने, ‘अब कानुन, प्रशासनलगायत क्षेत्रमा २० वर्ष बढी काम गरी अनुभव बटुलेका, निष्पक्ष व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरौँ । मैले यो विषय राज्य व्यवस्था तथा सुशासन समितिमा उठाइरहेको छु । विस्तारै यो बहसमा आउने विश्वास छ । खुल्ला प्रतिस्पर्धाबाट आएका व्यक्तिले थप निष्पक्ष र पारदर्शी ढङ्गबाट काम गर्न सक्छन् ।’ सरकारले हालै ल्याएको अध्यादेश सुशासन कायम गर्नका लागि भएको उनले प्रष्ट पारे । महामन्त्री शर्माले पार्टीको महाधिवेशन २०८४ अगावै हुने बताए । ‘२०८४ मा आमनिर्वाचन हुने भएकाले पार्टीको महाधिवेशन उक्त निर्वाचन अघि सम्पन्न गर्नुपर्ने अवस्था छ,’ उनले भने । कांग्रेसको विधान र मुलुकको संविधानले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने स्पष्ट उल्लेख गरेकाले बढीमा छ महिनासम्म मात्रै समय थप गर्न सकिने उनको भनाइ छ । कांग्रेसको महाधिवेशन विसं २०७८ मा भएकाले विसं २०८४ को निर्वाचनपछि महाधिवेशन हुन्छ भन्ने नसोच्न उनले पार्टीको नेता, कार्यकर्तालाई आग्रह गरे । महामन्त्री शर्माले पार्टीको महाधिवेशनका सन्दर्भमा चैत महिनाभित्र क्रियाशील सदस्यताको नवीकरण गर्ने काम सम्पन्न भइसक्ने जानकारी दिए । महामन्त्री शर्माले कांग्रेस आफैँमा बलियो हुनुपर्नेमा जोड दिँदै सबैबीच एकता र सद्भाव कायम राख्न सक्नुपर्ने धारणा राखे । ‘कांग्रेसले आन्तरिक सुधार गर्नुपर्छ । एउटा कांग्रेसले अर्को कांग्रेसको अस्तित्व स्वीकार गर्न सकेमात्रै जनताले कांग्रेसलाई स्वीकार गर्नेछन् । पार्टीभित्रका समस्या समाधान गर्दै कांग्रेस एक बनाउने अभियानमा सबै लाग्नुपर्छ ।’ महामन्त्री शर्माले पार्टीभित्रको वर्तमान व्यवस्थालाई बलियो बनाउँदै सुधार गरेर लैजानुको विकल्प नभएको बताए । ‘जनताका निराशा र असन्तुष्टि सम्बोधन गर्ने प्रमुख जिम्मेवारी राजनीतिक दलको हो । यसका लागि सबै दलबीच समन्वय र सहकार्य आवश्यक छ,’ उनले भने ।
‘जिरो बी ब्राण्ड’को उत्पादन नेपालमा सार्वजनिक, खानेपानी शुद्धीकरणमा नयाँ आयाम
काठमाडौं । शुद्ध खाने पानीलाई थप व्यवस्थित बनाउनका लागि ‘जिरो बी ब्राण्ड’ले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना एक कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले जिरो बी ब्राण्डको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपालभरका प्रमुख होटल व्यवसायी, उद्योगपतिका साथै व्यापारीको सहभागिता थियो। यसले नेपालमा पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु गरेको छ । हरेक घर र व्यवसायका लागि शुद्ध खाने पानीमा आधारित भई करिब चार दशकदेखि काम गरिरहेको जिरो बी ब्राण्ड भारतको आओन एक्चेञ्ज इण्डिया लिमिटेडको प्रमुख उत्पादन हो । पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर र व्यावसायिक ग्रेड प्रणालीको अत्याधुनिक प्रविधिका लागि यो प्रविधि परिचित छ ।
सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे
काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् । शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । गोठमा रहेका २ सय ५० भेडा रहेका थिए । इलाका प्रहरी कार्यालय हेदाङनामार्फत घटनाको थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
किसानले उपकरण मर्मतमा धेरै खर्च गर्नु परेको छ, गुणस्तरमा विश्वस्त हुने अवस्था छैन
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताएका छन् । नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको नवौँ वार्षिक साधारणसभामा आज उनले कृषिलाई यान्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता भए पनि यस्ता उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताए । मन्त्री अधिकारीले किसानले महङ्गोमा किनेका उपकरण बर्सेनि मर्मतकै लागि धेरै खर्च गर्नु परिरहेको भन्दै यस्तो अवस्था अन्त्य हुनपर्नेमा जोड दिए । ‘कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको छ । यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न आवश्यक छ । त्यो अवस्था नबन्दासम्म किसानले पनि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर मात्रै खरिद गर्न आवश्यक छ,’ उनले भने । मन्त्री अधिकारीले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषिप्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकारअघि बडिरहेको सुनाए । आधुनिक कृषियन्त्र तथा उपकरणमा अनुदानका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको उल्लेख गर्दै उनले यसलाई अझ प्रभावकारी बनाउन सरोकार भएका पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।
कृषि क्षेत्रमा ठूलो सम्भावना छ, व्यवसायिक बनाउन सकियो भने लाखौले रोजगारी पाउँछन् : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि क्षेत्रबाट फाइदा लिन निर्वाहमुखी कृषिलाई आधुनिकिकरण र व्यवसायिकरण गर्नुपर्ने बताएका छन् । नेपाल कृषि तथा मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष ढकालले कृषिमा पर्याप्त सम्भावना भएपनि नेपालले त्यसबाट फाइदा लिन नसकेको बताएका हुन् । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागि कृषिको यान्त्रिकरण, आधुनिकिकरण र व्यवसायिकरणको गर्नु पर्ने उनको भनाइ छ । ‘नेपालको भौगोलक वनावट, हावापानीमा भएको विविधता, प्राकृतिक साधन र श्रोत हेर्दा कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ । यसलाई व्यवसायिक बनाउन सकियो भने लाखौ मानिसलाई कृषि मै रोजगारी सिर्जना गर्न सकिन्छ र देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ । कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन सकिन्छ,’ उनले भने । देशलाई कृषि प्रदान भन्ने तर कृषि क्षेत्रलाई सधैं उपेक्षा गरिएको बताउँदै आउने बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिन र कार्यान्वयन योग्य बजेट निर्माणका लागि सरकारसँग उनले आग्रह गरे । महासंघले कृषि उद्यम केन्द्रका माध्यमबाट विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिँदै उनले महासंघ ७७ जिल्लामा रहेका आफ्ना १२४ जिल्ला नगर उद्योग वाणिज्य संघहरुसँग समन्वय गरि सरकारसंग मिलेर काम गर्न तयार रहेको बताए । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषिमा अनुदानको व्यवस्था भएपनि त्यसको दुरुपयोग हुने गरेको उल्लेख गर्दै अनुदानलाई व्यवस्थित गर्नु पर्ने बताए । कृषिको विकाकसा लागि राज्यले प्रविधिको प्रयोग मार्फत कृषि वस्तु उत्पादन र बजारीकरणमा राज्यको लगानी प्रर्वद्धन गर्न जरुरी रहेको बताउँदै उनले कृषि क्षेत्रको विकासका लागि किसानको लागि समयै मल बिउ, प्रविधि उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
नेपालमा लगानी गर्न आउने चलचित्र उद्योगीलाई सहज वातावरण छ : पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मौलिक संस्कृति र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी निर्माण हुने चलचित्रलाई सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताएका छन् । आठौँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आज उनले सांस्कृतिक र पर्यटन प्रवर्द्धन हुने गरी चलचित्र निर्माण गर्ने योजना लिएर आए मन्त्रालयले सहयोग र सहजीकरण गर्ने बताए । गुणस्तरीय चलचित्र निर्माण गर्न सकेको अवस्थामा विदेशीभन्दा स्वदेशी चलचित्रप्रतिको दर्शकको आकर्षण बढी हुने भन्दै मन्त्री पाण्डेले चलचित्र उद्योग भौतिक र अभौतिक सुन्दरता बोक्नेतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । ‘चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होइन, एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकले त्यसबाट फाइदा लिनसक्छ । निराशाको बढी प्रचार भइरहेका बेला आशाको सञ्चार गर्न पनि चलचित्र प्रभावकारी माध्यम बन्नसक्छ । यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने । मन्त्रालयअन्तर्गतका ८ वटा धरोहर विश्वसम्पदा सूचीमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसलाई समेटेर चलचित्र उद्योगी अघि बढेको अवस्थामा मन्त्रालयको पनि सहयोग रहने धारणा राखे । ‘यसबाट नेपालले पर्यटन क्षेत्रबाट लाभ लिनसक्छ । चलचित्रकर्मीले विगतका विषयवस्तु र साँघुरो मानसिकताभन्दा माथि उठेर विश्वव्यापीकरणको सोच राख्नुपर्ने आवश्यकता छ । स्वदेशमा लगानी गर्न आउने उद्योगीलाई सहज वातावरण बनाउनुपर्छ । नेपाली चलचित्र बाहिर खिच्नुपर्ने अभ्यासलाई निरुत्साहित गर्नुपर्छ,’ उनले भने । मन्त्री पाण्डेले राष्ट्रिय एकता, सहिष्णुता, धार्मिक एकतासहितको सन्देशसमेत चलचित्रले दिने भएकाले यस क्षेत्रको प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको बताए । चलचित्रकै माध्यमबाट सांस्कृतिक स्थलहरू पशुपति, लुम्बिनी, जनकपुरजस्ता क्षेत्रको विश्वमा प्रवर्द्धन गर्न सकिने उनको भनाई छ ।
२०८४ को निर्वाचनमा सबै माओवादी र समाजवादीलाई पार्टीको झण्डामुनि एकताबद्ध गरिने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आगामी आम निर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झण्डामुनि एकताबद्ध गरिने बताएका छन् । जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानअन्तर्गत आज आयोजित जागरणसभामा उनले भने, ‘विसं २०८४ को निर्वाचनमा माओवादीहरु र समाजवादीलाई एकताबद्ध गर्ने ठाउँमा ल्याउने तयारीमा छौँ ।’ अब माओवादी २०६४ सालमा हासिल गरेको चुनावी परिणम पुनः प्राप्त गर्नेतर्फ लागेको, आम जनतामा माओवादी केन्द्र एक्लै हिँड्न सक्दैन भन्ने भाष्य चिर्दै अघि बढ्ने उनको भनाइ छ । माओवादी कमजोर हुँदा प्रतिगामी तत्व सल्वलाएका उनको तर्क छ । आफूहरु पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताउँदै उनले देशको विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुन आवश्यक रहेको बताए । माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको अभियानका क्रममा आफूले महसुस गरेको बताउँदै उहाँले जनताको माग सम्बोधन गर्ने दल माओवादी केन्द्र भएको दोहोर्याए । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले युगान्तकारी परिवर्तनका लागि माओवादी केन्द्र आवश्यक छ भन्दै नेपाली जनताको भरोसा माओवादी केन्द्रप्रति रहेको बताए । पार्टीका अर्का उपाध्यक्ष पम्फा भुसालले देशको विकासका निम्ति सुशासन अपरिहार्य भएको बताइन् ।