सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत
काठमाडौं । राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको स्पष्ट पारे । ‘प्रस्तुत विधेयकले तत्कालका समस्या यथाशीघ्र समाधान गर्नेछ,’ उनले भने । मन्त्री अधिकारीले प्रतिपक्ष, आमजनता र सरोकारवालाको चाहना तथा भावना सम्बोधन हुने गरी सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु डा बेदुराम भुसाल, किरणबाबु पुन, गङ्गाकुमारी बेल्वासे, इन्दिरादेवी गौतम, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, उदयबहादुर बोहरा, मनरुपा शर्मा, तुलसाकुमारी दाहाल, जयन्तीदेवी राई, श्रीकृष्णप्रसाद अधिकारी, रुक्मिणी कोइराला, रेणु चन्द, राजेन्द्रलक्ष्मी गैरे र गोपीबहादुर सार्की अछामीले भाग लिएका थिए । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्नसक्ने व्यहोरा जानकारी गराए ।
तेस्रो एमआरसिपी युके पेसेस परीक्षा नेपाल मेडिसिटीमा सम्पन्न
काठमाडौं । तेस्रो एमआरसिपी युके पेसेस परीक्षा चैत्र ८ गते सम्पन्न भएको छ । नेपाल मेडिसिटी अस्पतालाई परीक्षा केन्द्र बनाइएको पेसेस परीक्षा चैत्र ६ गतेबाट शुरु भएको थियो । यो परीक्षा तीन दिन सम्म चलेको थियो । नेपाल मेडिसिटीले दुई वर्षदेखि पेसेस परीक्षा सञ्चालन गर्दै आएको छ । बेलायतबाट आयोजना गरिने परीक्षामा यस वर्ष ४३ जना परीक्षार्थीहरु सहभागी भएका थिए । यस पटक परीक्षाका लागि नेपाल, बंगलादेश, भारत र अष्ट्रेलियाबाट परीक्षार्थीहरु आएका थिए । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै ११ जना परीक्षक र २ जना प्रशिक्षार्थी परीक्षकको उपस्थिति रहेको थियो । एमआरसिपी युके चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् । धेरै चिकित्सकहरूले यो परीक्षा लिन र एमआरसिपी युके योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था थियो । नेपालमा यस परीक्षाको लागि केन्द्र खोलिँदा नेपालका सबै चिकित्सकहरूलाई आफ्नै देशमा परीक्षा दिने वातावरण बनेको छ । दक्षिण एसियाको परीक्षा केन्द्रमध्य नेपाल पनि पर्दछ तर नेपालको लागि भने नेपाल मेडिसिटी अस्पताल पहिलो र एकमात्र केन्द्र हो । यस परीक्षाका लागि डा. रोड्रिक हार्वे –एक्युट मेडिसिन, डा. ब्यान अल सफर र डा. अदम स्टोन – ग्यास्ट्रोइन्टेरोलोजी, डा. भेदामुर्थी आधियामन र डा. लतना मुनाङ – जेरियाट्रिक मेडिसिन बेलायतबाट परीक्षा निरीक्षणका लागि आएका हुन् । उनीहरु रोयल कलेज अफ फिजिसियनस् अफ एडिनबर्ग र रोयल कलेज अफ फिजिसियन लण्डनबाट आएका हुन् । त्यस्तै, नेपालबाट डा.निरज जोशी, डा. धिरज मानन्धर, डा. अर्पना न्यौपाने, डा. सञ्जित कृष्ण श्रेष्ठ, डा. सुदिप श्रेष्ठ, डा. रक्षा पाण्डे, डा. यादव के. डि भट्ट, डा. बुद्धि पौडेल, डा. सितल अधिकारी, डा. महेशराज सिग्देल, डा. रविन्द्र श्रेष्ठ परीक्षकका रुपमा सहभागि भएका थिए । नेपालका लागि प्रमुख परीक्षाका निरीक्षक हुन् डा. निरज जोशी । नेपाल मेडिसिटीमा ग्यास्ट्रोइन्टेरोलोजिस्ट कन्सल्टेन्ट रहेका डा. जोशीले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विरामीलाई चिकित्सकले कसरी उपचार गर्ने र कस्तो व्यवहार गर्छन् भन्ने विश्लेषण गर्न यो परीक्षा लिइने बताए । ‘यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्छ,’ डा. जोसीले भने । परीक्षामा पाँचवटा स्टेशनहरू राखिएका थिए जसको माध्यमबाट परीक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।
५४ अंकले घट्यो सेयर बजार, ६ अर्ब बढीको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४.६२ अंकले घटेर २६१४ बिन्दुमा झरेको छ । आज १३ कम्पनीको मूल्य बढ्दा २३० कम्पनीको मूल्य घटेको छ । आइतबार ३१७ कम्पनीको १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३५ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३४ करोड, युनाइटेड मोदी हाइड्रोको २० करोड र सिन्धु विकास बैंकको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सबै सेक्टरका सूचक राताम्मे रहेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशतले घटेकाे छ । आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशतले बढेकाे छ । मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहेकाे छ । आईसीएफसीडी ८८ को ३.८९, एनआईसीएडी ८२८३ को २ तथा एसबीडीबी ८७ को २ प्रतिशतले मूल्य बढकाे छ । साथै, मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशत घटेकाे छ । सयपत्री हाइड्रोपावरको ७.३४, उपकार लघुवित्तको ६.८७, अपरसोलु हाइड्रोको ६.८३, भूगोल इनर्जीको ६.८३ प्रतिशतले मूल्य घटेकाे छ ।
प्रधानमन्त्री ओली भन्छन् : विकासको गतिमा देश अगाडि बढ्दैछ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘टुगेदर फर टुमरो : युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ ।’ उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए । ‘हामीले थुप्रै मेडिकल कलेज बनायौँ, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौँ । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुभएको छ, यो अहिलेको समयको उपलब्धि हो ।’ प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना तथा कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह गरे । ‘हामी भावनात्मक ढङ्गले चल्नुु हुँदैन, अहिले जति पनि समस्या छन्, ती विकासको गतिसँगै आएका हुन् । त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ’, उनले भने । कार्यक्रमा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब एक सय ४० युवाको सहभागिता थियो । उनीहरुले आ-आफ्नो क्षेत्रको अवस्था र समस्या राखेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस् रुपमा प्रतिवेदन ल्याउन आग्रह गरे । त्यसलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।
चीनलाई अमेरिकी ट्यारिफ भुसुनासरह
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन तरिकाले ठूलो आवाजमा चीनमा ट्यारिफ लगाउने कुरा गरेका थिए, त्यो सबै अहिले धराशायी भएको देखिन्छ । अमेरिकी ट्यारिफको असरबिना चीनको अर्थतन्त्र द्रूत गतिमा बढिरहेको छ । यो सबै चीनका कम्पनीहरूको कारण भएको हो । चीनका केही कम्पनीहरूले संसारभरि ठूलो सफलता हासिल गरेका छन् । विदेशी लगानीकर्ता (एफआईटी) चीनतर्फ आकर्षित हुँदै गएका छन् । विदेशी लगानीकर्ताहरूले यस हप्ता चिनियाँ सेयर बजारमा ठूलो रकम लगानी गरेका छन् । यो लगानी लगभग १.२ अर्ब डलरको छ । अक्टोबर २०२४ पछि यो सबैभन्दा ठूलो साप्ताहिक लगानी हो । इलेक्ट्रिक गाडी निर्माता कम्पनी बीवाईडी र चीनका कृत्रिम बौद्धिकता (एआई) कम्पनीहरूको सेयर बढेका छन् । यसले चीनको बजारमा फेरि वृद्धि आउने अनुमान गर्न सकिन्छ । संसारभरिका फण्ड म्यानेजरहरूले अब चीनको अर्थतन्त्रमा बढी विश्वास व्यक्त गर्दै त्यहाँ लगानी बढाउँदैछन् । चिनियाँ सरकारका नीति के छन् ? एलारा सेक्योरिटीजका ग्लोबल लिक्विडिटी ट्र्याकरका अनुसार यस हप्तामा चीनमा विदेशी फण्डको लगानी १.२ अर्ब डलर रहेको छ । यो आंकडा अक्टोबरपछि सबैभन्दा धेरै हो । त्यस समयमा चीन सरकारले बजारमा पैसा बढाउने केही नीतिहरू लागू गरेको थियो, जसको परिणामस्वरूप सेयरको ठूलो खरिदारी भएको थियो । अब फेरि त्यस्तै स्थिति देखिएको छ । पहिले विदेशी फण्ड म्यानेजरहरू चीनलाई लिएर थोरै सतर्क थिए, तर पछिल्लो छ हप्तादेखि उनीहरू निरन्तर चीनमा लगानी बढाउँदै छन् । बीवाईडीको अवस्था के छ ? बीवाईडी कम्पनीले चीनको बजारलाई अगाडि बढाउँदै छ । यस कम्पनीको सेयर २०२५ मा ३१ प्रतिशतभन्दा बढी बढेको छ । कम्पनीले इलेक्ट्रिक गाडीलाई छोटो समयमै चार्ज गर्न सक्ने नयाँ प्रविधि विकास गरेकाले यसको सेयर बढेको हो । यस प्रविधिबाट केवल पाँच मिनेटमा ४०० किलोमिटरसम्म गाडी चलाउन सकिन्छ । यसले इलेक्ट्रिक गाडीको बजारमा ठूलो परिवर्तन ल्याउन सक्छ । यस तीव्र वृद्धिका कारण बीवाईडीको बजार मूल्य १५५ अर्ब डलरभन्दा बढी भएको छ । अब यो टेस्लालाई प्रतिस्पर्धा दिन नजिक पुगेको छ । टेस्ला संसारको सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी हो । एआईको बजार पनि बढ्दै चीनमा एआईको बजार पनि तीव्र गतिमा बढिरहेको छ । डीपसीक कम्पनीले जनवरीमा आफ्नो आरवान मोडल प्रस्तुत गरेको थियो, जसले प्रविधि बजारमा तीव्र वृद्धि ल्याएको छ । यस वृद्धिले चीनका कम्पनीहरू टेन्सेन्ट, अलीबाबा, बाईडु र बीवाईडीले कम्पनीहरूलाई प्रतिस्पर्धा दिन तयार छन् । ट्यारिफले उदीयमान बजारमा समस्या चीनप्रति ट्रम्प अझ कडा रूपमा प्रस्तुत भइरहेका छन् । उनका अनुसार चीनको आर्थिक वृद्धिले अमेरिकी कामदारहरूलाई नोक्सान पुर्याउँदैछ र संसारभरिका उद्योगलाई अस्थिर बनाइरहेको छ । ट्रम्पका नयाँ ट्यारिफहरूले चीनको प्रभाव घटाउन खोजिरहेका छन् तर यसले ती देशहरूको अर्थतन्त्रमा पनि समस्या ल्याइरहेको छ जुन चीनसँग व्यापारमा निर्भर छन् । ट्रम्पको ट्यारिफ युद्ध केवल अमेरिक र चीन बीचको लडाइँ होइन । यसले संसारभरिका व्यापारका तरिकाहरूलाई परिवर्तन गरिरहेको छ । यसले भारतजस्ता देशहरूलाई कठिन निर्णय लिन बाध्य बनाएको छ र उदीयमान बजारहरूमा समस्याहरू सिर्जना भएका छन् ।
मन्त्रालय र प्राधिकरणबीचको विवादबाट नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भयो : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताएका छन् । आइतबार काठमाडौंमा अयोजित कार्यक्रममा बोल्दै उनले अहिले पनि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र विद्युत प्राधिकरणबीचको विवादलाई हेर्दा पनि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताएका हुन् । उनले अहिले पनि नेपालमा लोड सेडिङ हुन्छ की हुँदैन भनेर विवाद गर्नु भनेको पर्याप्त बिजुली नरहेको बताए । घरमा मात्र नभइ उद्योग क्षेत्रमा पनि पर्याप्त बिजुली दिनका लागि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताए । उद्योग क्षेत्र रजलविद्युत क्षेत्र चल्नको लागि उत्पादनमा बढी जोड दिनुपर्ने जानकारी दिए । उनले जलविद्युतमा लगानीकर्ताहरु दिनप्रतिदिन बढिरहेको बताए । २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढ्नुपर्नेमा जोड दिए । जलविद्युत क्षेत्रमा लगानी बढाएर काम गर्नसके नेपालमै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने जानकारी दिए । अध्यक्ष कार्कीले भने, ‘आजका दिनमा थुप्रै डिबेटहरु छन् । यति हुँदाहुँदै पनि हामी लोडसेडिङ हुन्छ, हुँदैन रु र भारतले दिनभरको बिजुली मात्रै दिन्छ भनेर छलफल गरिरहेका छौँ । के भन्छ सरकार र विद्युत प्राधिकरण भन्नेकुरामा डिबेट गरिरहेका छौँ ।’ अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने कुरामा आफूहरु अघि बढिरहेको बताए । उनले यसका लागि करिव २० वटा सुझाव आफूहरुले पनि सरकारलाई दिएको जानकारी दिए । उर्जा उत्पादन बढाउनका लागि शक्तिशाली उर्जा मन्त्रालय हुनुपर्ने र एकद्वार प्रणाली कायम हुनुपर्ने बताए । वनमा छिर्नै नपाउने नीति रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने बताए । अब आउने विद्युत विधेयकले नै जनताले जलविद्युतमा लगानी गर्ने की नगर्ने भनेर निर्धारण गर्ने जानकारी दिए । अध्यक्ष कार्कीले भने, ‘वास्तवमा हामी २८ हजार ५ सयको कुरामा अघि बढिरहेका छौँ । त्यो पूरा गर्न भनेर हामीले २० वटा जति कुराहरु लेखेर हामीले मन्त्रालयमा दिएका छौँ । शक्तिशाली उर्जा मन्त्रालय हुनुप¥यो । एकद्वार प्रणाली हुनुपर्छ । वनमा छिर्नै नपाउने नीति छ, अहिले भर्खरै नेपाल सरकारले वा नेपालका सांसदहरुले बनाएको एउटा ऐनलाई अदालतले खारेज गरिसकेको छ ।’ अध्यक्ष कार्कीले नेपाललाई समृद्ध बनाउने पाटो जलविद्युत नै रहेको बताए । उर्जाको उत्पादनलाई बढाउनसके डिजेल र पेट्रोलको आयात घटाउन सकिने बताए । उर्जा क्षेत्रमा अहिले ६५ लाख भन्दा बढी नेपालीले लगानी गरेको जानकारी दिए ।
मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । बैंकका एक भिसा डेबिट कार्डहोल्डर तिल प्रसाद पौडेलले दुई जनाको लागि फ्लाइटको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका हुन् । यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरुबीच सञ्चालित अभियान अन्तर्गत बैंकका ग्राहकले विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् । भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरु ल्याउने बताएका छन् ।
बालशिक्षामा समर्पित एनएमटीसीले मनायो रजत जयन्ती
काठमाडौं । नेपाल मोन्टेसरी ट्रेनिङ सेन्टर (एनएमटीसी) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलमा सम्पन्न गरेको छ । बालशिक्षाका क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माताहरू र सरोकारवालाहरू एकत्रित भई एनएमटीसीको योगदानबारे समीक्षा गर्दै नेपालमा मोन्टेसरी शिक्षाको भावी मार्गचित्रबारे छलफल गरेका थिए । औपचारिक समारोहका क्रममा एनएमटीसीकी निर्देशक पवित्रा लिम्बूले सम्बाेधन गरेकी थिइन् । उनले संस्थाको २५ वर्षको यात्रा तथा बाल शिक्षामा एनएमटीसीले पुर्याएको प्रभावबारे प्रकाश पारिन् । उनले मोन्टेसरी शिक्षकहरूको अथक समर्पण र एनएमटीसीलाई नेपालको प्रमुख प्रशिक्षण संस्थाका रूपमा स्थापित गर्न सम्पूर्ण समुदायको भूमिका उल्लेख गरिन् । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एनएमटीसीको नेपालमा मोंटेसरी प्रशिक्षणको अगुवा भूमिकाको प्रशंसा गर्दै गुणस्तरीय प्रारम्भिक बाल शिक्षाले राष्ट्रको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए । समारोहमा बालशिक्षामा उल्लेखनीय योगदान दिएका व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियाे । एनएमटीसी एन्ड्युरिङ एक्सिलेन्स: लङ्गेस्ट सर्भिस अवार्ड र एनएमटीसी एलुम्नाई एक्सिलेन्स इन मोन्टेसरी एजुकेशन लिडरशिप अवार्ड विभिन्न व्यक्तिहरूलाई दिइयाे । यसैगरी, प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलका आईबीडीपी विद्यालय काउन्सलर तथा मनोवैज्ञानिक कर्णव प्रभाकरले ‘न्यूरोडेभलपमेन्टल डिसअर्डर र प्रारम्भिक बाल विकास’ विषयमा सेमिनार प्रस्तुत गरेका थिए । त्यस्तै, स्पिच एन्ड हियरिङ एसोसिएसन अफ नेपालकी उपाध्यक्ष तथा भाषिक-सुनाइ विशेषज्ञ नीलम लामा दाहालले “भाषा तथा श्रवण विकास: महत्वपूर्ण चरणहरू र प्रारम्भिक जोखिम पहिचान” विषयमा अर्को सत्र प्रस्तुत गरेकी थिइन् । २५ वर्षदेखि बाल शिक्षामा अतुलनीय योगदान दिँदै आएको एनएमटीसीले मोन्टेसरी सिद्धान्तहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।