प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण चैत १९ देखि सुरु, आर्थिक सम्बन्ध थप प्रगाढ बढाउने अपेक्षा
काठमाडौं । आगामी साता नेपालका प्रधानमन्त्रीको औपचारिक रुपमा पहिलोपटक थाइल्याण्ड भ्रमण हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण गर्ने भएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० को छैटौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने कार्यक्रम तय भएको हो । यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौं शिखर सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री ओलीबाट थाइल्याण्डका समकक्षी फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । शताब्दीयौं पुरानो सभ्यता र सांस्कृतिक सम्बन्ध रहे पनि नेपालका सरकार प्रमुखबाट अहिलेसम्म दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्डको औपचारिक भ्रमण भएको थिएन । सन् १९८३ मा थाइल्याण्डका तत्कालीन प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गरेका थिए । यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा विस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णय अगावै परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले भ्रमणको तयारीका कामहरू प्रारम्भ गरेको थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीच सांस्कृतिक गतिविधि तथा आर्थिक सम्बन्ध थप प्रगाढ बढाउन यस भ्रमणले योगदान गर्ने अपेक्षा गरिएको बताए । उनले बुद्ध धर्मलगायत अन्य सांस्कृतिक र व्यपारिक सम्बन्धले दुई देशबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे । मन्त्रिपरिषद्को बैठकले नेपाल र थाइल्याण्डबीच हस्ताक्षर हुने ‘कल्चरल एग्रिमेन्ट विटविन द गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ किङ्डम अफ थाइल्यान्ड’ विषयको सम्झौता स्वीकृत गरेको छ । यस्तै नेपाल सरकार र थाइल्याण्ड सरकारबीच हस्ताक्षर हुने पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी ‘मेमोरेन्डम अफ अन्डस्ट्यान्डीङ (एमओयु) विटविन द मिनिस्ट्री अफ कल्चर, टुरिजम एन्ड सिभिल एभिएसन अफ द गभर्मेन्ट अफ नेपाल एन्ड द मिनिस्ट्री अफ टुरिज्म एन्ड स्पोर्टस् अफ द किङ्डम अफ थाइल्यान्ड अन टुरिज्म कोपरेसन’ विषयक समझदारीपत्र स्वीकृत भएको छ । प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले मङ्गलबार उनीसँग शिष्टाचार भेट गरेका थिए । सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र थाइल्याण्डबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ । दुुई मुलुकबीचको संस्कृति र जनता–जनताको सम्पर्क दुुई वर्ष वर्षभन्दा बढी पुरानो मानिन्छ । नेपाल र थाइल्याण्ड बौद्ध धर्मको दर्शनद्वारा नजिकबाट जोडिएका छन् । राजा जनक दुई मुलुकको संस्कृतिको एक पुल मानिन्छन् । नेपाल र थाइल्याण्डले संस्कृति, पर्यटन, व्यापार, लगानी, कृषि, मानव संसाधन विकासलगायत साझा हितका विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको सहयोगका साथ बहुआयामिक सम्बन्धका क्षेत्रमा काम गर्दै आएका छन् । उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई सही दिशामा आकार दिन र मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । दुई देशबीच फराकिलो र गहिरो सहयोगका लागि प्रचुर सम्भावना रहेका छन् । क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि बिमस्टेक प्रक्रियालाई बढावा दिने नेपालको प्रतिबद्धता व्यक्त हुँदै आएको सन्दर्भमा बिमस्टेकको सफलता यस क्षेत्र र बाहिरका सबै सदस्य राष्ट्रको हितमा हुने ठानिएको छ । छैटौं शिखर सम्मेलनको आयोज राष्ट्र हुनुका नाताले बिमस्टेक प्रक्रियालाई सफलतापूर्वक सञ्चालन गर्न थाइल्याण्डको नेतृत्वदायी भूमिका रहनेछ भने बिमस्टेक शिखर सम्मेलनको आयोजक राष्ट्रमा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण हुनु कूटनीतिक महत्वको विषय रहनेछ ।
नविल बैंकमा नेतृत्व परिवर्तन, सेयर बजारमा शून्य प्रभाव
काठमाडौं । नबिल बैंकको उच्च नेतृत्व परिवर्तन हुँदा यस कम्पनीको सेयर मूल्यमा शून्य प्रभाव परेको छ । सेयर बजार खुल्नुअघि नै बैंकको मूल नेतृत्व परिवर्तन भएको सूचना बैंकले सार्वजनिक गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदबाट दिएको राजीनामा स्वीकृत भएको बैंकले औपचारिक रूपमा जनाएको छ । साथै बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कामु सीईओको जिम्मेवारी पाएका छन् । नबिल बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा दुई जना कार्यरत थिए, मनोज ज्ञवाली र सुजित शाक्य । बैंकले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको छ । बुधबार नविल बैंकको सेयर प्रतिकित्ता ४७७ देखि ४८५ रुपैयाँसम्ममा कारोबार भएको छ । कारोबार बन्द हुन्दा प्रतिकित्ता ४८१ रुपैयाँ मूल्य कायम भएको छ । मंगलबारको तुलनामा यो मूल्य ८७ पैसाले बढी हो । बुधबार नेप्से परिसूचक भने ४०.४७ अंकले बढेर २६२३ भएको छ । यस वर्ष नविलको सेयर मूल्य प्रतिकित्ता ७०० सम्ममा कारोबार भएको छ । न्यूनतम मूल्य भने ४१९ रुपैयाँसम्म झरेको थियो । यतिबेला सेयर किन्नेका लागि नविल कम जोखिमयुक्त र बढी लाभदायक हुने जानकारहरु बनाउँछन् ।
कुलमानको समर्थनमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन (फोटोफिचर)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गरिएको छ । महिला र पुरुषहरूको समूहले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि जम्मा भएर सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले घिसिङको समर्थनमा नारा लगाउँदै सरकारको निर्णयको खण्डन गरेका छन् । सरकारले घिसिङको काम सन्तोषजनक नभएको भन्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको छ । प्रदर्शनकारीहरूले घिसिङको बर्खास्ती निर्णयको विरोध गर्दै उक्त निर्णय पुनरावलोकन गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार घिसिङको नेतृत्वमा प्राधिकरणले राम्रो काम गरेको थियो र उनलाई हटाउनु न्यायसंगत छैन । यस विरोध प्रदर्शनको क्रममा विभिन्न राजनीतिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरू पनि उपस्थित भएका थिए ।
प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने
काठमाडौं । आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने भएको छ । बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आधा घण्टा स्थगन गरिएको थियो । विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक बस्ने समय परिवर्तन भएको सूचना प्रकाशित गरेको छ । सूचनामा भनिएको छ, ‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलका सांसदहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका थिए ।
एनआईसी एशिया बैंकले मनायो ग्लोबल मनी विक, ४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित
काठमाडौं । एनआईसी एशिया बैंकले देशभरका विद्यार्थी तथा युवाहरूलाई लक्षित गर्दै वित्तीय साक्षरताका विभिन्न कार्यक्रम आयोजना गरी ‘ग्लोबल मनी विक २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित यस अभियानअन्तर्गत बैंकका सातै प्रदेशका शाखाहरूले ८० भन्दा बढी कार्यक्रम सञ्चालन गरेका थिए । जसबाट ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवा लाभान्वित भए । विशेषगरी, वित्तीय साक्षरताको पहुँच न्यून रहेका बाजुरा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुलालगायतका जिल्लाहरूमा समेत वित्तीय शिक्षाका कार्यक्रम सञ्चालन गरिएका थिए । यस अभियानलाई थप प्रभावकारी बनाउन बैंकले वित्तीय साक्षरतासम्बन्धी सामग्रीहरू पनि निर्माण तथा प्रकाशन गरेको छ । बैंकले यी कार्यक्रममार्फत बालबालिका, विद्यार्थी तथा युवालाई वित्तीय ज्ञान, सीप र जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास लिएको छ ।
सेवा सुविधामा विभेद गरिएपछि अपर तामाकोशीका कर्मचारी चार दिनदेखि आन्दोलित
दोलखा । खाइपाइ आएको सेवा सुविधामा विभेद गरिएको भन्दै मुलुककै ठूलो ५४६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कम्पनीमा कार्यरत दोलखा जिल्लावासी र अन्य जिल्लाका कर्मचारीहरूबीच सेवा सुविधामा विभेद गरिएको भन्दै चार दिनदेखि उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । उक्त विभेद अन्त्य गर्न आयोजनाको व्यवस्थापन पक्ष र जिल्लावासी करार कर्मचारी संघर्ष समितिबीच गत असोज ६ गते समहति भएको थियो । सो सहमति अनुसार गत माघ मसान्तभित्रै सबै कर्मचारीको सेवा सुविधामा एकरुपता गरिनुपर्ने भए पनि हालसम्म पनि सहमति कार्यान्वयन नगरिएको दोलखा जिल्लावासी करार कर्मचारी संघर्ष समितिका संयोजक रामबहादुर खड्काले जानकारी दिए । असोज ६ गते भएको सहमति कार्यान्वयन गर्न पटक–पटक पत्राचार गर्दा कम्पनीले बेवास्ता गरेपछि आफूहरू संघर्षमा उत्रिन बाध्य भएको उनको भनाइ छ । ‘हामीले यही चैत ७ गते एउटा विज्ञप्ति जारी गरेर चैत १० गतेभित्र पुरानो सहमति कार्यान्वयन गर्न कम्पनी व्यवस्थापनलाई आग्रह गरेका थियौँ । तर, उहाँहरूले त्यसलाई पनि बेवास्ता गर्नुभयो,’ संयोजक खड्काले भने, ‘हामीले विनम्रतापूर्वक ध्यानाकर्षण गराउँदा उल्टै हामीलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै लाञ्छनाहरू लगाउने काम भयो । त्यसकारण हामी संघर्षमा उत्रिन पर्यो । अब हामीसँगको सहमति कार्यान्वयन नभएसम्म यो सङ्घर्ष जारी रहने छ ।’ सहमति कार्यान्वयनका लागि दबाब सृजना गर्न उनीहरूले अहिले दोलखाको बिगु गाउँपालिका–१ गोंगरस्थित आयोजनाको कार्यालयका सम्पूर्ण कामकाज ठप्प पारी शान्तिपूर्ण धर्ना तथा विरोध सभा गरिरहेका छन् । यस्तै, कम्पनीको कुनै पनि सवारीसाधन चल्न समेत दिइएको छैन । तर, ‘प्लान्ट अप्रेशन’मा भइपरी आउने आपतकालीन अवस्थामा भने सवारी चल्न दिइने संघर्ष समितिका संयोजक खड्काको भनाइ छ । उनका अनुसार ‘प्लान्ट’ सञ्चालनमा कुनै अवरोध गरिएको छैन । छलफल भए पनि कुरा मिलेन, कर्मचारी झनै उत्तेजित कर्मचारीहरू संघर्षमा उत्रिएपछि आयोजनाको व्यवस्थापन पक्षले वार्ता समिति नै बनाएर संघर्षरत कर्मचारीहरूसँग सघन वार्ता र छलफल गरेको थियो । तर, सो छलफलले कुनै निष्कर्ष दिन सकेन । तर, व्यवस्थापन पक्षले छलफलका क्रममा उठ्दै नउठेको विषयलाई सञ्चार माध्यममा प्रचार गरी कर्मचारीहरूमाथि गलत लाञ्छना लगाएको भन्दै उनीहरू थप आक्रोशित र उत्तेजित बनेका छन् । खासगरी कर्मचारीहरूसँगको पहिलो चरणको वार्तापछि आयोजना व्यवस्थापन पक्षले विभिन्न सञ्चार माध्यमहरूमा ‘आयोजना सञ्चालक समितिको बैठक बस्न नसकेका कारण माग पूरा गर्न नसकेको र जारी कर्मचारी आन्दोलनले पुनर्निमाणमा असर परेको’ भनी दिएको स्टेटमेन्टले कर्मचारीहरूमा थप आक्रोश पैदा गरेको संयोजक खड्काले बताएका छन् । उनले असोज ६ गतेको सहमतिपछि पनि विभिन्न मितिमा पाँच पटक सञ्चालक समितिको बैठक बसेको दाबी गरेका छन् । यस्तै, उनले आफूहरूको आन्दोलनका कारण आयोजनाको काममा अवरोध नभएको पनि स्पष्ट गरेका छन् । आयोजनाको ‘राइट सेटलिङ बेसिन’ तथा रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण तथा पुनर्निमाण कार्य व्यवसायीले निरन्तर गरिरहेको र सो कार्यका लागि कम्पनीका अन्य जिल्लाका कर्मचारीहरूबाट कामको अनुगमन र निरीक्षण भइरहेको जानकारी उनले दिएका छन् । ‘प्लान्ट अप्रेशन’ निरन्तर चलिरहेको र निरन्तर चलिरहने भनाइ उनको छ ।
नेपाल सुपर लिगको टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे
काठमाडौं । नेपाल सुपर लिग २०२५ को तेस्रो संस्करणमा डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ र ‘आइएमई पे’ आधिकारिक टिकटिङ पार्टनरका रूपमा आबद्ध भएका छन् । चैत्र १६ देखि वैशाख १३ सम्म दशरथ रंगशालामा आयोजना हुने यो प्रतिष्ठित फुटबल प्रतियोगितामा दर्शकहरूले खल्ती वा आइएमई पे एपमार्फत सजिलै टिकट खरिद गर्न सक्नेछन् । यस साझेदारीले खेल प्रेमीहरूलाई सहज रूपमा आफ्नो सिट सुरक्षित गर्न र मनपर्ने टोली तथा खेलाडीलाई रंगशालाबाट प्रत्यक्ष रूपमा हौसला प्रदान गर्न थप सुविधाजनक बनाउनेछ । नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले खल्ती र आइएमई पे जस्ता विश्वसनीय डिजिटल वालेटहरूसँग सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित रहेको बताए । ‘हाम्रो लक्ष्य फुटबल दर्शकहरूलाई अझ सहज, इन्टरेक्टिभ र पहुँचयुक्त अनुभव प्रदान गर्नु हो,’ उनले भने । आइएमई पेका कार्यकारी अधिकृत प्रविन रेग्मीले डिजिटल प्रविधिमार्फत नेपाली फुटबललाई सशक्त बनाउन पाउँदा गर्व लागेको बताए । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस साझेदारीलाई ऐतिहासिक बताउँदै डिजिटल माध्यमबाट टिकट बुकिङलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल सुपर लिग २०२५ मा ललितपुर सिटी, काठमाडौं रेजर्स, बुटवल लुम्बिनी, झापा, चितवन, पोखरा थन्डर र धनगढी गरी ७ क्लब भिड्दैछन् । डिजिटल टिकटिङ साझेदारीको यस नयाँ प्रयासले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
काठमाडौं टेक्निकल स्कूल: किताबको भारी बोक्नु पर्दैन, ३ घण्टाको परीक्षा दिनु नपर्ने
काठमाडौं । आजभोलि शिक्षा र सीपका विषयमा बजारमा धेरै बहस हुन्छ । किताब भित्रका कुरा घोकाउन मात्र नेपालको शिक्षा केन्द्रित भएको गुनासो आइरहेका बेला बजारमा प्राविधिक शिक्षालयहरू सञ्चालनमा आइरहेका छन् । यसैमध्येको एक हो, काठमाडौं टेक्निकल स्कूल (केटीएस) । जुन काठमाडौंको सुकेधारामा अवस्थित छ । हामी स्कूल भन्नेबित्तिकै सामान्यतः किताबको भारी बोकेर पढ्न जाने बुझ्छौं । आखिर हो पनि । नेपालमा नेपालीले लिने शिक्षा भनेको किताब बोकेर पढ्न जाने नै हो । अझ भनौं वर्षभरि पढेर तीन घण्टाको परीक्षा दिएर विद्यार्थीको मूल्यांकन हुन्छ । तर यो स्कूल भने यस्ता खालका स्कूलभन्दा बिल्कुल फरक हो । यहाँ न नर्सरी, यूकेजी पढाइ हुन्छ । न त १० पढेर एसईई परीक्षा दिनुपर्छ । यो त्यस्तो स्कूल हो, जसले सीपयुक्त दक्ष जनशक्ति अर्थात कामदार उत्पादन गर्छ । कुनै पनि काम गर्न अथवा जागिर खोज्न वा पाउन व्यक्ति पढेलेखेको मात्र भएर पुग्दैन । साथमा सर्टिफिकेट भएको तर हातमा सीप नभएको युवाले अब जागिर पाउँदैनन् । हातमा सर्टिफिकेट पनि भएको साथै हातमा सीप पनि भएको एउटा दक्ष कामदार उत्पादन गर्नु यो केटीएसको उद्देश्य हो । व्यक्तिको आफ्नो रुचि चाहना भएको विषयमा उसले कुनै पनि सीप अब नेपालमै सिक्न सक्छ । नेपाली बजार अथवा विश्व बजारमा सीपयुक्त शक्ति उत्पादन गर्ने लक्ष्यका साथ आजभन्दा दुई वर्ष पहिलेदेखि सुरु भएको यो स्कूलको उद्घाटन मंगलबार भएको छ । काठमाडौंको सुकेधारा चोकबाट करिब पाँच मिनेटको पैदलमा पुगिन्छ, केटीएस अर्थात काठमाडौं टेक्निकल स्कुल । जहाँ स-सानादेखि ठूला पाँचवटा भवन छन् । भर्खरै निर्माण गरिएका यी भवनमा विद्यार्थीहरू आफूले चाहेको सीप सिक्न सक्छन् । यहाँ भएका पूर्वाधार, उपकरणदेखि लर्निङ मेट्रियलहरू पनि त्यही खालका छन् । कक्षाकोठा पनि प्रविधिसहितका आधुनिक डिजाइनका छन् । ‘जबसम्म पूर्वाधार राम्रो हुँदैन, राम्रो सिकाइको वातावरण हुँदैन, वातावरण नबनेसम्म विद्यार्थीहरू खुसी भएर सिक्दैनन्,’ यो मान्यताले पनि हामीले पूर्वाधारमा विशेष जोड दिएका छौं र सोही अनुसार पूर्वाधार तयार पारेका छौं,’ स्कूलका अध्यक्ष मनोज शर्मा पौडेलले भने । अन्य स्कूलभन्दा फरक केटीएस नेपालमा रहेका अन्य स्कूलभन्दा फरक रहेको छ । अन्य स्कूलमा पाठ्यक्रममा भएको कुराको सिकाइ हुन्छ भने यहाँ त्यसको अभ्यास हुन्छ । किनकि यो सिकाइ रोजगारीसँग जोडिएको छ । बजारसँग जोडिएको विषय भएकाले यो विद्यालयले कोर्सको डिजाइन पनि सोहीअनुसार निर्माण गरेको स्कुलका अध्यक्ष पौडेलले जानकारी दिए । यो स्कुलले नेपालको परिवेशअनुसार पाठ्यक्रम निर्धारण गरेको छ । एक हप्तादेखि ६ महिनासम्मका तालिमको डिजाइन भइरहेको छ । सीप पाइसकेको जनशक्तिलाई बजारमा कसरी जोड्ने, रोजगारीका ठाउँहरू के-के छन् ? भन्ने विषयमा यो स्कुलको मुख्य भूमिका र जोड हुन्छ । सरकारले १० वर्षमा १० सीपयुक्त जनशक्ति तयार पार्ने महत्वकाक्षी लक्ष्य राखेको छ त्यसमा कम्तीमा पनि १० प्रतिशत योगदान दिने योजना बनाएको छ । यस्ता छन् कोर्स केटीएसले हाल हस्पिटालिटी, केयर गिभिङका तालीम सञ्चालन गरिरहेको छ । हस्पिटालिटीअन्तर्गत कुलिनरी आर्ट्स, वारिष्ठा, बार ट्रेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिमहरु सञ्चालन गरिरहेको छ । यस्तै, केयर गिभिङअन्तर्गत जेष्ठ नागरिकहरूको हेरचाह र नर्सिङ होममा गरिने कामका लागि सीप सिकाइरहेको छ । औपचारिक रूपमा मंगलबारदेखि उद्घाटन भएपनि यो स्कूलले दुई वर्षको अवधिमा ४ सय दक्ष युवा उत्पादन गरी बजारमा पठाइसकेको छ । तीमध्ये कतिपय युवाहरू विदेशमा काम गरिरहेका छन् भने कतिपयले स्वदेशमै रोजगार पाइरहेका छन् । यहाँ तीन महिना, ६ महिनादेखि एक वर्षसम्मका कोर्सहरू उपलब्ध छन् । यो स्कुलले नेपालमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद (सीटीईभीटी)का कोर्ष सञ्चालन गरिरहेको छ भने युकेको सीटी एण्ड गिल्ट्स र अस्ट्रेलियाको सीआईबीटीसँग मिलेर विभिन्न कोर्सहरू डिजाइन गरी सीप सिकाइरहेको छ । नेपाली उद्योगसँगै मिलेर विभिन्न कोर्सहरू तयार गरिने स्कुलले जनाएको छ । यस्ता विद्यार्थीले पाउँछन् पढ्न कुनै पनि कोर्स अथवा शिक्षा लिन निश्चित क्राइटेरिया छुट्याइएको हुन्छ । यो स्कूलमा सीप सिक्न आउने युवाहरूको शैक्षिक योग्यता कस्तो र कतिसम्मको हुनुपर्छ भन्ने प्रश्नमा अध्यक्ष पौडेल भन्छन्, ‘यो कोर्सअनुसार निर्धारण गरिएको छ । कतिपय सीपको लागि बेसिक योग्यता चाहिन्छ भने कतिपय कोर्सका लागि साक्षरसम्म भए मात्र पनि पुग्छ । यस्तै, कतिपय कोर्सको लागि भने न्यूनतम कक्षा १२ पास गरेको वा ब्याचलर्ससम्म पास भएको विद्यार्थी हुनुपर्छ । अहिले यो स्कूलमा १० जना शिक्षक छन् भने अरू विशेष तालिमका दिन विभिन्न कम्पनीबाट मान्छे बोलाएर सिकाइन्छ । आफ्नै विद्यार्थी पनि शिक्षक छन् । पहिलो ब्याचमा पढेका कतिपय विद्यार्थीहरू पनि अहिले आफै ट्रेनर बनेका छन् । केयर गिभिङमा आकर्षण नेपाली युवाहरूको आकर्षण केयर गिभिङमा बढिरहेको छ । इजरायल, जापान, अष्ट्रेलियालगायतका विभिन्न देशमा राम्रो तलवमा काम पाइने भएकाले युवाको आकर्षण यतातिर बढेको स्कूलका अध्यक्ष पौडेलले जानकारी दिए । विदेशमात्र नभए नेपालमै पनि काम पाइने र केयर गिभिङ नै सञ्चालन गर्ने मनसायले यो सीप सिक्न युवाहरू आकर्षण रहेको उनले बताए । यसका लागि सीटीईभीटीले तयार पारेको कोर्सहरू नै राम्रो रहेको उनले बताए । यसै कोर्सलाई स्तरीकरण गर्न बाहिरको कोर्स पनि यसमा समावेश गरिएको छ । उनी भन्छन्, ‘सीटीईभीटीको कोर्स राम्रो भएपनि ग्लोबल्ली रूपमा बाहिरको कोर्स बढी प्राथमिकतामा पर्दो रहेछ, त्यसैले यो कोर्समा हामीले छोटो छोटो कोर्स बाहिरको पनि समावेश गरेका छौं ।’ केटीएस खुल्नुको उद्देश्य यो स्कुलको मुख्य उद्देश्य नेपाली युवाहरूलाई सीप सिकाएर विश्व बजारमा काम गर्न सक्ने बनाउनु हो । यसका लागि यो स्कुलले विभिन्न रोजगारदाताहरूसँग सहकार्य गरेको छ । हस्पिटालिटी क्षेत्रमा काम गरिरहेका कम्पनीहरू साझेदारी गरी उनीहरूलाई चाहिने जनशक्ति स्कूलले उत्पादन गर्नेछ । नेपालमा प्रत्येक वर्ष पाँच लाखभन्दा बढी युवाहरू रोजगारको लागि बजारमा जान्छन् । तीमध्ये सबैभन्दा धेरै नेपाली देश बाहिर जान्छन् । नेपालमै केही गर्न खोज्नेहरूसँग पनि सीप हुँदैन । सीप नसिकेर विदेश गएकाहरू न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यतामा छन् । अध्यक्ष पौडेल यो स्कुलले यो समस्याको अन्त्य गरी बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने बताए । ‘बजारमा रोजगारका अवसर धेरै छन् । तर रोजगारदाताले जसलाई खोजिरहेको छ त्यस्ता कामदार बजारमा भेटिँदैनन्,’ उनी भन्छन्, ‘उपयुक्त जनशक्ति नपाउँदा रोजगारदाताले खोजे जस्तो कामदार पाइरहेको छैन । अब हाम्रो उद्देश्य, नेपालमा उत्पादन भइरहेको जनशक्तिलाई सीपयुक्त बनाइ बजारसँग जोड्ने ल्याउने हो ।’ उनी नेपालमा युवाहरूलाई सीप सिकाउन विभिन्न प्रयास भइरहे पनी यो पर्याप्त नभएको बताउँछन् । ‘अहिले कुनैपनि युवाले कोर्स सकिसकेपछि भोलिपल्टै रोजगारीमा जोडिन सक्ने खालको सीप पाइरहेका छैनन् । यस्तो अवस्थामा अब नीजि क्षेत्रबाटै यसको सुरुवात गर्नुपर्छ भन्ने हिसाबले यो स्कूलको सुरुवात गरिएको हो,’ अध्यक्ष पौडेलले भने । योजना हस्पिटालिटी र केयर गिभिङबाट सुरु गरेको कोर्सलाइ बिस्तारै प्रविधि, इलेक्ट्रोनिक भेहिकल लगायतका इनोभेटिभ क्षेत्रमा पनि जनशक्ति तयार पार्ने अध्यक्ष पौडेल बताउँछन् । यो स्कूलले प्रत्येक वर्ष १० हजार विद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको छ । काठमाडौंमा सुरु भएको यो स्कुलमा विद्यार्थीको आकर्षण बढे सातवटै प्रदेशका मुख्य सहरमा पनि सञ्चालन गर्न सकिने उनले बताए। उनी यसका लागि भौतिक संरचना निर्माण गरेरभन्दा पनी डिजिटल माध्यमबाट युवाहरूलाई सीप दिन सकिने बताउँछन् । ‘पहिलो वर्षमा १० हजारको टार्गेट राखेका छौं, विस्तारै यो संख्यालाई बढाउँदै लान सकिन्छ,’ अध्यक्ष पौडेल भन्छन्, ‘यसका लागि हामी विदेशबाट काम गरे फर्केका युवाहरूलाई पनि सीप सिकाउन सक्छौं, काम गरिरहेकाहरूलाई पनि सीप सिकाउने हाम्रो योजना छ ।’ १० करोडको लगानीमा स्थापना केटीएस १० करोड रुपैयाँ लगानीमा निर्माण गरिएको जनाइएको छ । आईएमई ग्रुप र आईएक्सआई कर्पको लगानीमा स्कूल सञ्चालनमा ल्याइएको हो