विकासन्युज

टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने, पुँजी ४६ करोड पुर्याउने

काठमाडौं । टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ्ग विधिबाट साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सभा २०८२ बैशाख ११ गते उद्योग परिसर गैडाकोटमा दिउसो साढे १२ बजे बोलाएको छ । सभामा आईपीओ निष्काशनबाट प्राप्त रकम प्रयोग सम्बन्धि छलफल गरिनेछ । कम्पनीको जारी पुँजी ४२ करोड ९१ लाख ११ हजार रुपैयाँबाट ४६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको जारी पुँजीमध्ये ७९.३४ प्रतिशत संस्थापक समूह र २०.६५ प्रतिशत सर्वसाधारण सेयरधनी समूहको कायम गर्नेछ । यस्तै, १ जना महिला संचालक सहित संस्थापक समूहबाट ५, सर्वसाधारण समूहबाट १ र स्वतन्त्र सञ्चालक १ जना गरी कुल ७ जनाको सञ्चालक समिति बनाउने र सोही बमोजिम नियमावली संसोधन गर्नेछ ।  

एलआईसी नेपालले घोषणा गर्यो बोनसदर, ४०५ रुपैयाँ लोयल्टी पनि पाउने

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा प्राधिकरणले स्वीकृत गरेपछि एलआईसी नेपालले आर्थिक वर्ष २०८०/८१ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेको हो । सो प्रतिवेदनलाई प्राधिकरणले चैत १७ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ । कम्पनीले जीवन बीधा, जीवन साथी, जीवन श्री योजनामा ५ देखि ९ वर्ष अवधिको ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिको ५३ रुपैयाँ बोनस तोकेको छ । कम्पनीले सावाधिक बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ देखि ३४ वर्ष अवधिको ६१ रुपैयाँ, ३५ देखि ४४ वर्ष अवधिको ६३ रुपैयाँ र ४५ वर्षदेखि माथिको ६५ रुपैयाँ बोनसदर तोकेको छ । यस्तै, जीवन आन्नद बीमा योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको प्रतिहजार ६० रुपैयाँ बोनसद तोकेको छ । यस्तै, बाल सावाधिक ३४९ बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र ३० वर्षदेखि माथिको प्रतिहजार ६४ रुपैयाँ बोनसदर प्रदान गर्ने जनाएको छ । यस्तै, धन वृष्टि योजनामा कम्पनीले १० वर्ष अवधिको ५५ रुपैयाँ र १५ वर्ष अवधिको ५७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, धन फिर्ता बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । बाल ममता र बाल स्नेह योजनामा कम्पनीले १५ वर्षसम्म अवधिको प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ बोनसदर प्रदान गर्नेछ । जीवन तरंग र नयाँ जीवन तरंग बीमा योजनामा कम्पनीले १० वर्ष अवधिको प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको ५१ रुपैयाँ र २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ । जीवन बचत योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको प्रतिहजार ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको प्रतिहजार ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष माथिको प्रतिहजार ६३ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यस्तै, जीवन लाभ योजनामा कम्पनीले १० वर्ष अवधिको प्रतिहजार ५१ रुपैयाँ, १५ वर्ष अवधिको प्रतिहजार ५३ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ र २५ वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ बोनसदर प्रदान गर्नेछ । यस्तै, बाल समृद्धि योजनामा कम्पनीले १५ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ र लघु सावधिक योजनाको सबैमा ४१ रुपैयाँ तोकेको छ । साथै कम्पनीले ‘जीवन सरल’ योजनाअन्तर्गत थप लोयल्टीको व्यवस्था गरेको छ । कम्पनीका अनुसार ५ हजार रुपैयाँसम्म बीमा शुल्कमा २५५ रुपैयाँ, ५ हजारदेखि २० हजार रुपैयाँ बीमा शुल्कसम्म ३१० रुपैयाँ, २० हजार १ देखि ५० हजार रुपैयाँ बीमा शुल्कसम्म ३६५ रुपैयाँ र ५० हजार १ र सोभन्दा माथि बीमा शुल्कमा ४०५ रुपैयाँ लोयल्टी पाउनेछन् ।

पूर्वराजाका समर्थकले आगजनी गर्दा जडीबुटी कम्पनीमा २८ करोडको क्षति

काठमाडौं । ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनीले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै हो। जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो । यसका पछाडि वर्षौदेखि संस्था र सरकारका लगानी तथा मेहेनत छ । विडम्बना, त्यही संस्था गत शुक्रबारदेखि भग्नावशेषमा परिणत भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधर प्रदर्शनकारीले आगजनी गर्दा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड खण्डहर बनेको हो । भवन खण्डहर छ । त्यहाँ रहेका उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) सुविधासहितका दुई वटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् । प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट २८ करोड रुपैयाँ बराबरको क्षति हुन पुगेको छ । हाल त्यही खण्डहर भवनमा रहेका भग्नावशेष र खरानी पन्छाउने काम जारी छ । त्यो दिन सम्झिँदा कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवको मन भक्कानिन्छ । जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको यस कम्पनीलाई आफ्नै आँखा अगाडि खरानी भएको देख्दा उनको मन रोएको छ । महाप्रबन्धक यादव भन्छिन्, ‘मैले आफैँले त्यो नयाँ मेसिन राखेको थिएँ । अब यो लेभलसम्म आयो भनेर कति खुसी थियौँ । तर आँखा अगाडि नै त्यो सबै संरचना जलेको देख्दा आँखाबाट आँसु नै आयो । मन थाम्न सकिँन । यस्तो हुन पुग्यो ।’ जिएमपीअनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरणहरू जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । यद्यपि चाँडै नै कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको विश्वास छ । उनले भनिन्, ‘सबै जलेर खरानीमा परिणत भएको छ । कम्पनी फेरि सुरुआत गर्नु त पर्छ तर सुरुआती चरणमा म्यानुअल (हातबाट) फिलिङमै जानुपर्ने भयो । कम्पनी विविध चुनौतीका बीच एक लेभलमा अगाडि बढिरहेको थियो, शाखा पनि विस्तार गरिसकेका थियौँ । हामी सबै कर्मचारी उत्साहित थियौँ तर हुलदङ्गाको चपेटामा परेर सबै गुम्यो । अब सरकारले यसलाई गम्भीर भएर सोचिदिनुपर्छ ।’ पहिलाकै अवस्थामा कम्पनीलाई ल्याउन कठिन भए पनि प्रयास र समन्वय भइरहेको छ । कम्पनीले देशभरिमा रहेका शाखा कार्यालयबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । ‘यो संस्था अप्रिय दुर्घटनाको सिकार हुन पुग्यो । सातवटै प्रदेशमा शाखा राख्ने भनेर विभिन्न ठाउँमा काम भइसकेको छ । लुम्बिनी प्रदेशमा मात्र जान बाँकी थियो । जाजरकोटमा पनि हालैमात्र शाखा विस्तार गरेका थियौँ । गोरखामा पनि सुरु गर्ने तयारी थियो । अब जिल्लामा रहेका शाखाबाट उत्पादन गर्ने कोशिस गर्छौं तर जति माग थियो त्यसलाई भने धान्न सकिँदैन,’ महाप्रबन्धक यादवले भनिन् । उनका अनुसार अस्थायी संरचना तयार गरेर भएपनि उत्पादन सुरु गर्ने र यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ । यादवले भनिन्, ‘छानविन आफ्नो ठाउँमा छ । आफ्नो तर्फबाट सम्बन्धित निकायसँग पहल गरिरहेका छौँ । व्यवसाय गर्ने संस्था हो । आफैँ कमाउने आफैँ खाने संस्था हो । अर्थतन्त्रमा यसको पनि योगदान हुन्छ । त्यसैले उत्पादन रोकिनुहुन्न । आशा छ हामी चाँडै बौरिने छौँ । सञ्चोको उत्पादन पुनः हुनुपर्छ भनेर लागिरहेका छौँ, यसमा सबैबाट सहयोग पाउने छौँ ।’ विसं २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको छ । कम्पनीले सञ्चो, भिक्स, हिमालय मसाज तेल, सञ्चो जटा केश तेललगायत उत्पादन गर्दै आएको छ ।

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

काठमाडौं । मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना प्राचीन घरहरू । गाउँभित्र साँघुरो गल्ली र त्यसभित्र चाहार्दै जाँदा एक दर्जन बढी शाखा गल्लीगल्ली । त्यही जैविक तथा सांस्कृतिक विविधताले भरिएको छ मुस्ताङको मार्फा । यही पृष्ठभूमिलाई समेट्दै त्यही गाउँ जन्मिएकी एक सर्जक स्वर्गाीय बसन्ती लालचनले तीन दशक अघि ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ गीत रचना गरेकी थिइन् । ज्योति गुरूङको स्वर रहेको त्यही गीतले नेपालभरी मार्फालाई गुञ्जायो, त्यसपछि त मुस्ताङको मार्फा नआउने पनि मुस्ताङमा मार्फा गाउँ छ भन्ने थाहा पाए । आजभोलि सडक सञ्जाल सहज हुँदै जान थालेपछि मुस्ताङको मार्फा गाउँ नपस्ने कुनै पर्यटक हुँदैनन् । सडकमार्गमा सवारी रोकेर मार्फा गाउँमा लुकेर रहेको भौतिक तथा सांस्कृतिक सम्पदा नियाल्न पर्यटक घण्टौँ बिताउँछन् । क्या राम्रो स्याउबारी मार्फा गावैमा गीतले भने जस्तै अहिले मार्फा गाउँको स्याउ बगानमा स्याउ देख्न पाइँदैन । पुस र माघ महिनामा स्याउ बगैँचा व्यवस्थापन गरिएका यहाँका स्याउ बगानमा स्याउको फूल फूल्ने तयारीमा छ । बर्सेनि असोज कात्तिकमा स्याउ बगान ‘पोस्ट हार्भेस्ट’ गरिसकेपछि यहाँ स्याउ बगान उजाडमय हुन्छन् । बर्सेनि भदौदेखि असोज र कात्तिक महिनामा मुस्ताङ आउने पर्यटकले मुस्ताङको मार्फा स्याउ बगानमा लटरम्म स्याउ फलेको देख्न सक्छन् । हिउँदयाम सकिँदै गर्दा र वसन्त ऋतुको आगमनसँगै मुस्ताङको मार्फा गाउँमा आन्तरिक पर्यटकको उपस्थिति थेगिनसक्नु छ । राष्ट्रिय गौरवको ९बेनी—जोमसोम० सडक नजिकै पर्ने मार्फा गाउँमा त्यहाँको पुरानो मौलिक कलासंस्कृति र त्यहाँका प्राचीन घरको संरचना र त्यही घर भित्रभित्र रहेको साँघुरो गोरेटो गल्ली बाटो पुग्ने पर्यटकका यो निकै अविष्मरणीय क्षण हुनेछ । मुख्य सडकमार्गबाट पश्चिम करिब दुई सय मिटरको भिरालो सतहमा अवस्थित मुस्ताङको मार्फा गाउँमा प्रत्येक दिन दिउँसोदेखि साँझसम्मै पर्यटकको निकै बाक्लो भीडभाड रहन्छ । सडकमार्ग स्तरोन्नति र विस्तारले मुस्ताङको मार्फा गाउँको पर्यटकीय गतिविधिलाई झनै चलाएमान बनाइदिएको छ । मुक्तिनाथ दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटक एक पटक मार्फा गाउँको अवलोकन गर्न छुटाउँदैनन् । सूर्यविनायक नगरपालिका भक्तपुरबाट मुक्तिनाथ दर्शन गर्न परिवारका सदस्यसहित मुस्ताङ आएका बलराम गौतम मुस्ताङको मार्फा गाउँको सांस्कृतिक सम्पदा देखेर आफू मोहित भएको बताउँछन् । पहिलो पटक मुस्ताङ आएका गौतमले मार्फा गाउँको परम्परागत सदियौँ वर्ष पुराना, ढुङ्गा र माटोले बनेका घर, प्रत्येक घरका छतमाथि राखिएका दाउराको चाङ र अनि गाउँभित्रको साँघुरो गोरेटो गल्ली चाहार्दा निकै आनन्दित तुल्याएको अनुभूति सुनाए । ‘मार्फा गाउँको मुख्य विशेषता भनेका यहाँको प्राचीन घर र साँघुरो गल्ली रहेछ । साँघुरो गल्लीभित्र होटल र समथिङ पसलनै रहेछन्, सडकमार्गमै पर्ने भएकाले यहाँ घुम्न निकै सजिलो पनि रहेछ,’ उनले भने । मुस्ताङको मार्फा गाउँमा करिब एक सय भन्दाबढी घरधुरी छन् । जहाँका स्थानीयले कृषि र पर्यटन व्यवसाय अपनाएको पाइन्छ । स्याउ लगायतका अन्नबाली उत्पादन गरेर मनग्ये आम्दानी गर्ने मार्फाली समुदायले पर्यटन व्यवसायलाई पनि मुख्य आम्दानीको रूपमा व्यवसाय चलाउँदै आइरहेका छन् । बर्सेनि पर्यटक आगमन बढेसँगै पछिल्लो समय बेनी-जोमसोम मुख्य सडकमा स्याउ बगैँचा मासेर कङ्क्रिट होटल निर्माण गर्नेसमेत होडबाजी चलेको छ । मार्फा गाउँको पुरानो भौतिक संरचना मासिन नहुने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बताए । सडकमार्गमा कङ्क्रिट घर बनेपनि मार्फाको प्राचीन बस्तीको भौतिक तथा सास्ंकृतिक संरचना मासिएमा मार्फा गाउँको अस्तित्व सङ्कटमा पर्ने गाउँपालिका अध्यक्ष लालचनको भनाइ छ । मुस्ताङको पर्यटकीय गाउँ मार्फाको मुख्य सडकमार्गबाट अलग्गिएर गाउँतर्फ मोडिएर करिब पाँच सय मिटर बढी साँघुरो गल्लीमा पैदलयात्रा गरेपछि उत्तरतर्फको मुख्य राजमार्ग सडकमा निस्किन सकिन्छ । त्यहाँको भिरालो सतहमा एकआपसमा लस्करै जोडिएका प्राचीन घरभित्र दर्जनौँ शाखा गल्ली छन् । मार्फा र यहाँको साँघुरो गल्लीभित्र दर्जनौँ स्वदेशी तथा विदेश चलचित्र र म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । यहाँ छायाँङ्कन भइसकेका चलचित्र, म्युजिक भिडियो र सामाजिक सञ्जालमा पोष्ट भएका दृष्यहरूले मार्फा गाउँको पर्यटनलाई थप उचाइमा पुर्‍याएको छ । पोखराबाट पहिलो पटक मुस्ताङ आउनुभएका सुरज कुँवरले मार्फा गाउँको सांस्कृतिक सौन्दर्यता अद्भूत भएको बताए । ‘हामीले बजारमा यस प्रकार सांस्कृतिक विविधता देख्न पाएका थिएनौँ, जुन यहाँ प्रत्यक्ष साक्षात्कार गर्न पाईयो,’ कुँवरले थपे, ‘साँच्चै मुस्ताङको मार्फा गाउँ पुरानो सांस्कृतिक विविधतायुक्त पुरानो नेपाल देख्न पाइयो ।’ उनले मार्फा गाउँ सम्बन्धिको ‘क्या राम्रो स्याउ बारी’ भन्ने गीत सानै छँदा सुनेपनि बमौसममा आएकाले स्याउ फलेको दृष्य देख्न नपाइएको बताए । मार्फा गाउँभित्र एक दर्जन बढी साँघुरा शाखा गल्ली छन् । मार्फा गाउँलाई थप पर्यटन प्रवर्द्धन गर्नका लागि पछिल्लो समय त्यहाँका गल्लीलाई विभिन्न प्रकारले नामाकरण गरिएको छ । त्यहाँका शाखा गल्लीमा कतिपयलाई चलचित्रको नामसँग जोडिएको छ । मार्फा गाउँभित्र जेरी गल्ली, कबड्डी गल्ली, टिकटक गल्ली र झाँक्री गल्ली लगायतका विभिन्न नामले गल्लीको परिचय खुल्ने गरी स्याउ आकृतिको साइनबोर्ड टाँसिएको छ । मार्फा गाउँभित्र चाहार्ने पर्यटकका लागि स्थानीय थकाली, गुरूङ र तिब्बतीय संस्कृति झल्किने मौलिक पोसाक लगाएर फोटो भिडियो खिच्न पाइने व्यवस्था मिलाइएको छ । मार्फा गाउँमा साँझपख स्थानीय मौलिक पोसाक लगाएर फोटो खिच्न पर्यटक लालायित हुने गर्छन् । साँघुरो गल्लीमा पर्यटकको गुल्जार हुँदा एकआपसमा ठोक्किँन पुग्छन् । मुस्ताङको मार्फा गाउँभित्र एक बौद्ध धार्मिक गुम्बा छ । गाउँभित्रै जापानीज भिक्षु इकाई कावागुची बसेको पाँच सय वर्ष पुरानो घर छ । गाउँ नजिकैको एक थुम्कोमा घरपझोङ गाउँपालिकाले एप्पल पार्कसमेत निर्माण गरिसकेको छ । साँझपखको समयमा सडक बत्तीको उज्यालोले मार्फा गाउँको सौन्दर्यतालाई थप उजागर गरिदिन्छ । मार्फा गाउँमाथिको अग्लो पहाडसँगै जोडिएको गुफामा पुगेर त्यहाँको परिदृष्य अवलोकन गर्न सकिन्छ । मार्फा गाउँमा आधा दर्जन स्याउबाट बनाइने ब्राण्डी उत्पादन गर्ने प्रशोधित डिस्टिलरी छन् । मार्फामा नेपाल सरकारको स्वामित्वमा रहेको शीतोष्ण बागबानी विकास केन्द्र नामक कृषि फार्म छ । जसले मुस्ताङका किसानलाई कृषिखेती सिकाउने र बिरूवा उत्पादन गरेर सेवा पुर्‍याइ रहेको छ ।

मार्चमा १ लाख २१ हजार बढी विदेशी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ८ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो । बोर्डको विवरणमा वर्षको पहिलो ३ महिनामा २ लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ७९ हजार ९ सय र फेब्रुअरीमा ९६ हजार ८ सय पर्यटक नेपाल आएका थिए । मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार ४१२ पर्यटक नेपाल आएका थिए । यस्तै, चीनबाट ११ हजार ४४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ । श्रीलङ्काबाट ८ हजार ८८६ र बेलायतबाट ५ हजार ९९५ जना आएका छन् । मार्चमा दक्षिण एसियाली मुलुकका मात्रै ३५ हजार २८७ पर्यटक आएका छन् ।

एसइईको रिजल्ट असार ७ गतेभित्र सार्वजनिक गर्ने, नतिजामा उत्तीर्णदर ७० प्रतिशत पुर्याउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको परीक्षा चैत १९ गते सम्पन्न भएको हो । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘यसवर्षको परीक्षा शान्तिपूर्ण र मर्यादित रह्यो, अर्मयादित काममा संलग्न भएका केही निरीक्षक निष्कासित समेत भए ।’ यस वर्षको परीक्षामा ५ लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए । जसमा सबैभन्दा काठमाडौंमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङ्गमा ४३ जना थिए । जापानको एक परीक्षाकेन्द्रमा २९ जनाले एसइई दिए । साथै काठमाडौंको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थी सहभागी भएका थिए । बोर्डले यसवर्ष परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ । परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । विसं २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।

भारतको सहयोगमा १० परियोजना निर्माण हुने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल ६२ करोड ५ लाख रुपैयाँ परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा यी परियोजना नेपाल सरकारका स्थानीय निकाय जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ । यी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को कार्यान्वयनले नेपालका जनतालाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधा प्रदान गर्न मद्दत गर्नेछ । सन् २००३ यता भारतले आज समझदारी पत्रमा हस्ताक्षर भएका १० वटा परियोजनासहित नेपालमा ५७३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र नेपालका ७ वटै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक उपयोगिताको सिर्जनाका क्षेत्रमा ४९५ परियोजना पूरा गरेको छ । बाँकी परियोजना विभिन्न चरणहरूमा सञ्चालन भइरहेको छ ।

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१) मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमा आएका जनताको गुनासोलाई यथासक्य चाँडो सम्बोधन गर्न निर्देशन समेत दिए । हटलाइन सेवामा कार्यरत रामकृष्ण पौडेलले गुनासो आउने वित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी गराएर समस्या समाधान गर्दै आएको बताए । हटलाइनमा फागुन महिनामा मात्र १ हजार ९०२ वटा उजुरी दर्ता भएको उनले बताए । उनका अनुसार चैत महिनामा १ हजारभन्दा बढी गुनासो आइसकेका छन् । हटलाइनमा प्राप्त गुनासोमध्ये ट्रान्सफर्मर जलेको, पोल ढलेको, विद्युत् आपूर्तिमा अवरोध, भोल्टेज कम आउनुजस्ता विषय बढी छन् । फोनबाहेक फेसबुक, भाइबरलगायतका डिजिटल माध्यमबाट सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन् । सबैभन्दा बढी गुनासो बागमती र मधेस प्रदेशबाट आएका छन् । गुनासो सम्बोधन गर्न थप जनशक्ति परिचालन गरिएको हटलाइनमा कार्यरत एकबहादुर महर्जनले जानकारी दिए । मन्त्रालयमा नै सिधैँ गुनासो गर्न पाउने व्यवस्था भएपछि जिल्लास्थित कार्यालयमा हुने ढिलासुस्ती कम हुँदै गएको छ ।