काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्दै झूटो आरोप लगाएको दाबी गरेका छन् ।
मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग भेटका क्रममा उनले तीनकुने घटनाको जस्तै पर्साको मुद्दालाई सरकारले ढाकछोप गर्न खोजेको आरोप लगाए ।
सभापति लामिछानेले सरकारले नियोजित रूपमा आफूविरुद्ध मुद्दा लगाएको जिकिर गरे । उनले भने, ‘तीनकुने घटना सबै नाङ्गो भइसकेपछि पनि सरकारले ढाकछोप गर्न खोजिरहेको छ । सरकार अब पर्साको मुद्दा लुकाउन खोज्दै छ ।’
उनका अनुसार, पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको हो । ‘मैले संसद्मा उपस्थिति जनाउन पाउनुपर्छ भनेर सभामुखसँग भेट गरेको हुँ । संसद्को विषय संसद्बाटै टुंग्याउनुपर्छ भन्ने मेरो आग्रह हो,’ उनले भने ।
लामिछानेले आफू जन्मनुअघि हजुरबुबाको सम्पत्ति र आफ्नो विवाहअघि श्रीमतीको सम्पत्ति समेत कसुर मान्दै राजनीतिक प्रतिशोधस्वरूप सांसद पद निलम्बन गर्न खोजिएको आरोप लगाए ।
उनले सभामुखलाई भने, ‘सरकारले मुद्दा दर्ता गराएर कसैलाई पनि निलम्बन गर्न सक्छ । यसले प्रतिशोधको रुप लिन्छ । यो हतियार प्रयोग गरेर सरकार परिवर्तन गर्न खोज्ने काम हुन सक्छ ।’
सभापति लामिछानेले आफू अदालतको सम्मान गर्ने व्यक्ति भएकाले कानूनी प्रक्रियालाई पूरा गर्न केही समय राजनीतिक कार्यक्रममा सहभागी नभएको स्पष्ट पारे ।
उनले भने, ‘सरकारले पर्साको मुद्दालाई हतियार बनाएर राखेको छ । यो मुद्दामा हदम्याद छैन । सरकार लुकाएको छ भन्छ, तर हामी सबै नाङ्गो देखिरहेका छौँ । तीनकुने घटनामा पनि सरकारले यस्तै ढाकछोप गर्न खोजेको थियो ।’
उनले बिहीबार एकैदिन देशका चारवटा अदालतमा उपस्थित हुनुपर्ने अवस्था आएको भन्दै त्यसलाई असम्भव बताएका छन् ।
‘म चितवनका जनताले दुईपटक निर्वाचित गराएर पठाएको सांसद हुँ । सरकार मलाई थुन्न खोज्न सक्छ, तर सत्य लुक्दैन । पर्साको ढाकछोप सरकारले जति गरे पनि नाङ्गो भइसकेको छ,’ उनले भने ।