बुटवल-नारायणगढ दाउन्ने सडक एक वर्षमै ६३ पटक बन्द
काठमाडौं । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो एक वर्षमा उक्त सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ । यीमध्ये अधिकांश घटना भारी वर्षासँगै आएको पहिरो वा खसेको माटोले सडक अवरुद्ध हुँदा भएका थिए । सडक मर्मतका क्रममा ठूला उपकरण जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि घण्टौसम्म बाटो थुनिएको थियो । दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर, घ्युखोला, त्रियासी मोडलगायत क्षेत्रमा बढीजसो सडक अवरुद्ध भएको पाइएको छ । बुटवल-नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो । जम्मा १४ किलोमिटर दूरी रहेको दाउन्ने क्षेत्रमा गत आर्थिक वर्ष विगतको भन्दा धेरै पटक सडक अवरुद्ध भएको प्रमुख बन्जाराले बताए । ‘वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटानका कारण तथा घाम लागेका दिनमा खाल्डा खुल्डी र धुलोले दाउन्ने क्षेत्र सधैँजसो समस्याग्रस्त बनिरहेको छ,’ उनले भने । गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीवासको विनयी खोला पुल भाँचिएपछि यस क्षेत्रको यातायात थप अस्तव्यस्त बनेको थियो । सो अवधिमा निर्माण गरिएको अस्थायी डाइभर्सन पटकपटक खोलाले बगाउँदा यातायात अवरुद्ध हुने गरेको थियो । गत असार १९ गतेदेखि विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएपछि सो समस्या टरेको छ । दाउन्ने सडक खण्ड विस्तारका लागि गत चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र वैशाख १ देखि ३१ गतेसम्म रातिको ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो । अहिले दाउन्ने खण्डमा पर्खाल लगाउने, कल्भर्ट निर्माण र सडक ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए । नारायणगढ-बुटवल सडक खण्डको ११४ किलोमिटर अन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित ६ र जोखिम बढी रहेको क्षेत्र मानिने दाइउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । यही साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने छ ।
हिमालयन बैंकमा लगानी गर्ने आज अन्तिम मौका
काठमाडौं । हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ । असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको एफपीओमा लगानीकर्ताहरुले आजसम्म लगानी गर्न सक्नेछन् । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता बिक्री खुला गरेको हो । बैंकको हाल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ । जसमा ७२.९९ प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार रुपैयाँ संस्थापक समूह र २७.०१ प्रतिशत अर्थात् ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार रुपैयाँ सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था छ । सोही बमोजिम बैंकले सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई एफपीओ जारी गर्न लागेको हो । बैंकको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओमा आवेदन दिनका लागि लगानीकर्ताहरुले न्यूनतम १० कित्ता सेयरका लागि १ हजार ५७० रुपैयाँ जोहो गर्नुपर्नेछ । बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो । विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ । यसअघि विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षा मापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको थियो । यस्तै, विभागले आज बिहान ५ः३० बजे अर्को सूचना जारी गर्दै इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ । विभागले सो आसपास वर्षाको मात्रामा क्रमशः वृद्धि भइरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।
आज देशभर बदली हुने, कोशी, मधेस, बागमती, गण्डकी र कर्णालीमा भारी वर्षा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध शक्ति दुरुपयोगको मुद्दा दर्ता
काठमाडौं । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ । उनले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) घोषणा गर्दै संसदमा सेना पठाएका थिए, जसले देशमा गम्भीर राजनीतिक संकट निम्त्यायो । उनलाई जनवरी महिनामा पक्राउ गरिएको थियो । तर, कानुनी प्रक्रिया अनुसार मार्च महिनामा उनलाई अस्थायी रूपमा रिहा गरिएको थियो । पछिल्लो साता फेरि सबुत नष्ट गर्ने सम्भावना देखिएकाले पुन: पक्राउ गरिएको हो । अनुसन्धानकर्ताहरूका अनुसार युनले प्रधानमन्त्री र रक्षा मन्त्रीले समर्थन गरेको झूटो कागज तयार पारेका थिए र त्यसलाई पछि नष्ट गर्न खोजिएको थियो । साथै, मार्शल ल घोषणा गर्नुपर्ने कानुनी प्रक्रिया उनले पूरा गरेका थिएनन् । अदालतमा सुनुवाइका क्रममा युनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको र शरीरमा कमजोरी रहेको बताउँदै रिहाइको माग गरेका थिए, तर जुलाई १८ मा अदालतले उनको अनुरोध अस्वीकार गरेको छ । हाल उनलाई तापक्रम निकै बढेको बेलामा, पंखा मात्र भएको तर एयर कन्डिसनर नभएको कोठामा एक्लै राखिएको छ । रासस
बैंकिङ कसुरमा दोषी ठहरिएकी तेजुमाया गुरूङ फरार अवस्थामा सुकेधाराबाट पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको विसं २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा तीन लाख ५० हजार रुपैयाँ जरिवाना, तीन दिन कैद र क्षतिपूर्तीवापत १६ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरूङ फरार रहेकी थिइन् । निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो ।
नदीमा सतर्कता तह पार हुनेगरी बाढी आउन सक्ने, जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरुलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यहि श्रावण ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो । इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता अनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ । विभागका अनुसार श्रावण ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुनेछ । पूवी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीहरूमा बाढी आउन सक्ने सम्भावना अत्यधिक छ । कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वीनेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्ला तटिय क्षेत्र प्रभावित हुनेछन् भने ४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटिय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च रहेको छ । यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही लगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ । पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना छ भने महाकाली क्षेत्रमा श्रावण ४ गते बेलुकादेखि ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जलतथा मौसम विज्ञान विभागलाई उदृत गर्दै इप्पानले जानकारी दिएको छ । मौसम सम्बन्धी पूर्वसूचनाहरु लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुलाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनिकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ । गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जन भन्दा बढी जलविद्युत आयोजनाहरुमा ठूलो क्षति पुर्याएको घटनाका साथै विगतका वर्षहरुमा पनि बाढी पहिरोले जलविद्युत आयोजना निर्माणमा संग्लग्न धेरै कर्मचारीहरुले ज्यान गुमाउनुका साथै आयोजनामा निकै ठूलो भौतिक क्षति भई वर्षौसम्म विद्युत उत्पादन बन्द गर्नुपरेको घटनालाई स्मरण गराउँदै आगामी दिनमा यस्ता घना दोहोरिन नदिन इप्पानले आग्रह गरेको छ । इप्पानले विपदको बेलामा सबैभन्दा पहिला मानविय क्षति हुन नदिन जलविद्युत आयोजनाका प्रवर्द्धकहरुलाई आग्रह गरेको छ । त्यसका लागि सबै नदि करिडोरका माथिल्लो भागमा निर्माण भएका जलविद्युत आयोजनाहरुले बाढी आएको देखिसकेपछि तल्लो तटीय क्षेत्रमा निर्माण भएका आयोजनाहरुलाई समयमै बाढीको सूचना दिएर सञ्चालनमा रहेका आयोजनाहरु भए विद्युत प्राधिकरणलाई समेत सोको जानकारी गराई आयोजनाका गेटहरु बन्द गरी सुरक्षित स्थानमा जानका लागि सहकार्य गर्न पनि इप्पानले सबै जलविद्युत प्रवर्द्धकहरुसँग आग्रह गरेको छ । बाढी आएको सूचना सबैभन्दा पहिला मौसम विज्ञान विभागका गेज स्टेशनमा बस्ने कर्मचारीहरुलाई प्राप्त हुने हुँदा जलविद्युत आयोजनाका जिम्मेवार व्यक्तिहरुले उनीहरुसँग समन्वय गरी नदी करिडोरमा बस्ने स्थानिय बासिन्दाहरुको जिउधनको सुरक्षाको लागिसमेत स्थानिय स्तरमा सूचनाको आदान प्रदान गरिदिन पनि सबै जलविद्युत प्रवर्द्धकमा इप्पानले आग्रह गरेको छ । बाढीबाट हुने क्षति न्युनिकरणका लागि पूर्वतयारी गर्दा गर्दै पनि कहिँ कतै मानविय तथा भौतिक क्षति हुन गइहालेमा सो को जानकारी इप्पानमा गराइदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
घरधुरीलाई सेयर बाँड्दै सरकार, मन्त्री खड्का भन्छन्- अब गरिब पनि धनी बन्छन्
काठमाडौं । 'म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शिर झुकाउने छैन, परिणाम देखाउनेछु ।' ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिए । कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारको कार्यकाल पूर्ण हुने दाबी गर्दै, जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए । 'यो सरकार चल्छ, एक वर्ष सम्माननीय केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, त्यसपछि शेरबहादुर देउवा बन्नुहुन्छ, तर सरकार जनताले अपेक्षा गरेको काम गर्छ,' उनले भने । संखुवासभालगायत भोजपुर, धनकुटा र तेह्रथुम गरी चार जिल्लालाई लक्षित गरी नयाँ कार्यालय सञ्चालनमा ल्याइएको हो । उद्घाटन समारोहमा मन्त्री खड्काले ११ वटा जलस्रोत तथा सिंचाइ आयोजनाको ठेक्का खुलिसकेको जानकारी दिँदै, अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको बताए । 'अरुण तेस्रो आयोजनाबाट ९०० मेगावाट विद्युत उत्पादन हुनेछ, जसमा २०० मेगावाट नेपालले पाउँछ । अपर अरुण पनि अगाडि बढिसकेको छ,' उनले जानकारी गराए । साथै, स्थानीय घरधुरीहरूलाई सेयर दिने तयारी भइरहेको भन्दै उनले विपी कोइरालाको समाजवादी मार्गदर्शनअनुसार गरिबलाई धनी बनाउने नीति कार्यान्वयन भइरहेको उल्लेख गरे । मन्त्री खड्काले सिचाइ क्षेत्रमा रोकिएका कामहरूलाई अघि बढाउने प्रयास भइरहेको भन्दै, 'किमाथान्का' मा पुल, भन्सार नाका लगायत पूर्वाधार निर्माणमा भारत र चीन दुबै देशसँग सहकार्य गरिने बताए । नीतिगत क्षेत्रको प्रगति उल्लेख गर्दै मन्त्री खड्काले जलस्रोत र विद्युत् सम्बन्धी विधेयकहरू अगाडि बढिसकेको, मौसम नीति पारित भई विपद् सूचनालाई वडा वडा सम्म पुर्याउने प्रणाली लागू भइसकेको जानकारी दिए । 'मेरो पालामा बंगलादेशमा ४० मेगावाट विद्युत् बेचिएको छ, जसबाट १ अर्ब २५ करोड रुपैयाँ आम्दानी भएको छ,' उनले तथ्य प्रस्तुत गरे । कार्यक्रममा ऊर्जा मन्त्रालयका सिचाइ सचिव सरिता दवाडीले 'चार जिल्लामा सेवा पुर्याउने यो कार्यालय मन्त्रीको दृढताका कारण स्थापना भएको हो,' भन्दै यसले स्थानीय विकासमा ठूलो योगदान पुर्याउने बताए । सिचाइ विभागका महानिर्देशक सञ्जिव बरालले 'संघीय सरकार अन्तर्गतको आयोजना खुल्नु आफैमा चारै जिल्लाका लागि ठुलो उपलब्धि हो,' भनेका थिए । स्थानिय जनप्रतिनिधिहरूले पनि मन्त्री खड्काको नेतृत्वमा जिल्लामा ठूलो बजेट भित्रिएकोमा आभार व्यक्त गरे । खाँदवारी नगरपालिकाका मेयर महेश थपलियाले '५ अर्ब २० करोड बजेट जिल्लामा ल्याएकोमा मन्त्रीज्यूलाई धन्यवाद दिन्छु' भनेका थिए । पाँछखपन नगरपालिकाका मेयर विपिन राईले त मन्त्री खड्कालाई 'हाम्रो लागि भगवानसरह नेता' भन्दै प्रशंसा गरे । संघीय संरचनाअनुसार सशक्त सेवा दिन स्थापना गरिएको ‘सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय’ ले पूर्वी पहाडी जिल्लाहरूमा जलस्रोतको समुचित उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि र समृद्धिमा टेवा पुर्याउने आयोजना प्रमुख धिराज लम्सालले बताए ।