विकासन्युज

पार्टीलाई देशकै ठूलो बनाउनु छ, व्यवस्था बदल्न आन्दोलनको विकल्प छैन: अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउने गरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । झापाको धुलावारीमा राप्रपा मेची नगरको पाँचौँ नगर अधिवेशनमा उनले पार्टी निर्माणमा योगदान गर्न नसक्नेहरू आफैँ किनारा लाग्ने बताए ।  ‘पार्टीलाई देशकै ठूलो बनाउनु छ । त्यसका लागि सबैले प्रयास गरौँ । यसमा योगदान नगर्ने र विचार नमिल्नेहरू आफ्नो बाटो लाग्दा हुन्छ,’ उनले भने, ‘भ्रष्टाचार र प्रलोभनमा नपर्ने र विचार मिल्नेहरू मात्र पार्टीभित्र रहन्छन् ।’ अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा लागेका सबै दलका नेताहरूका फाइल खोलेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुदृढीकरणमा उजुरी दिइएको पनि बताए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य खुश्बु ओलीले २०४६ सालपछिका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिइन् । उनले सही पार्टी र सही नेतृत्व भए १० वर्षमा देश बन्ने धारणा राखिन् ।  कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरेन्द्र कुमार खड्का, धर्म, सांस्कृतिक विभाग कोशी प्रदेशका अध्यक्ष ध्रुव शिवाकोटी, झापा अध्यक्ष केशव कुमार ओझा लगायतले मन्तव्य राखेका थिए । अधिवेशनले चन्द्र निरौलाको नेतृत्वमा आगामी चार वर्षे कार्यकालका २१ सदस्यीय नगर समिति चयन गरेको छ ।

महेन्द्रनगरमा साढे २ अर्ब राजस्व संकलन, बक्यौता नतिर्नेको बैंक खाता रोक्का

काठमाडौं । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ । कार्यालयका प्रमुख कर अधिकृत डमरु प्रसाद पराजुलीका अनुसार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ४१ करोड ७९ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  अघिल्लो आवमा कार्यालयले २ अर्ब ३९ करोड ४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।  प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१/८२ मा ८५ करोड ८ लाख ६५ हजार रुपैयाँ आयकर सङ्कलन भएको छ । अघिल्लो आवमा ७५ करोड १ लाख ७२ हजार रुपैयाँ आयकर सङ्कलन भएको थियो ।  त्यसैगरी, ब्याज करमा पनि २२ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा २ करोड ८९ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा २ करोड ५२ लाख ५० हजार रुपैयाँ सङ्कलन गरेको थियो ।  घरबहाल कर १२.५ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा १ करोड ३७ लाख ८० हजार रुपैयाँ घरबहाल कर सङ्कलन गरेको छ ।  अघिल्लो आवमा १ करोड २२ लाख ७७ हजार रुपैयाँ घरबहाल कर सङ्कलन गरेकामा कार्यालयले भ्याटमा ६० करोड ८८ लाख ६१ हजार रुपैयाँ र अन्तःशुल्कमा ९० करोड ९१ लख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ‘यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ,’ प्रमुख कर अधिकृत पराजुलीले भने, ‘अन्तःशुल्क कर बराबरी छ समग्रमा गत आवको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’ कार्यालयको १३ करोड रुपैयाँ राजस्व बक्यौता रहेको छ । ‘भ्याटमा ९ करोड रुपैयाँ र आयकरमा ४ रुपैयाँ र करोड बक्यौता बाँकी छ,’ उनले भने, ‘बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ ।’ बक्यौता रकम नतिर्ने करदातालाई पटकपटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्र पत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताए । पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्र पत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैंक खाता रोक्का समेत हुन सक्ने उनको भनाइ छ । 

आज ५ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । सङ्घीय संसदका विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए । यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘मधेसी आयोगको वार्षिक प्रतिवेदन (आव २०८०/८१) माथि’ छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल’ गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यक्रम छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन मितिमा ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची छ ।

पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता, बुहारी भने हाम फालेर बच्न सफल

काठमाडौं । पर्वतको मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । एक तले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन्  उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्ना साथ हाम फालेर बच्न सफल भएको मोदी-३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए । उनका अनुसार स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगि सकेपछि यथार्थ विवरण आउने जानकारी दिए । गए रातीदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ । 

स्थानीय र विदेशमा रहेका नेपालीले माबिलुङ्ग इनर्जीको आईपीओमा आजसम्म आवेदन दिन सक्ने

काठमाडौं । माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ । असार २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ३ करोड ८५ लाख ८२ हजार रुपैयाँको ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभाको मादी नगरपालिका वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २, ३, ७, ८, ९ का स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । साथै, सर्वसाधारणलाई छुट्याइएको १५ करोड ४ लाख ७० हजार रुपैयाँको १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसँगै माबिलुङ्ग इनर्जीको वेवसाइट, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादी नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको आँदबारी शाखा र आयोजनाको पावरहाउस रहेको संखुवासभाको मादी नगरपालिका-७ बाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

१५ करदाता ठूला र मध्यम स्तरीय करदाता बनेपछि लक्ष्य प्राप्त हुन सकेन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा ९ अर्ब ४५ करोड ९५ लाख ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा २ अर्ब ५८ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राजस्व सङ्कलनको वृद्धि दर भने ३५.५७ प्रतिशत रहेको बताए ।  ‘आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयलाई ८ अर्ब ७१ करोड ८२ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो,’ उनले भने, ‘कार्यालयले गत आव भरिमा वार्षिक लक्ष्यको १०९ प्रतिशत लक्ष्य हासिल गरेको छ । कार्यालयले विभागबाट निर्धारित कार्यात्मक सूचकका आधारमा ‘एक प्लस’ स्तर प्राप्त गर्न सकेका छौँ ।’ विभागले आव २०८०/८१ का लागि भने ९ अर्ब ४१ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, सो अवधिमा कार्यालयले वार्षिक लक्ष्यको ७२.९३ अर्थात् ६ अर्ब ८७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । प्रमुख कर अधिकृत चौलागाईंले कार्यालयले बक्यौता रकम असुलीमा कडाइ गरेकाले पनि लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गर्न सफल भएको बताए । ‘चैत महिनामै राजस्व नबुझाउने करदाताको बैंक खाता, घरजग्गा, आयात-निर्यात रोक्का गरियो । जसबाट राजस्व सङ्कलनको लक्ष्य पुग्नमा धेरै मद्दत पुग्यो,’ उनले भने, ‘कार्यालयले सघन बजार अनुगमनको दायरा विस्तार र करदाता शिक्षालगायत चेतना मूलक कार्यक्रमले पनि राजस्व बढ्न सकेको हो ।’ कार्यालयले गत आवमा अन्तःशुल्क करतर्फ ३ अर्ब ९ करोड ५७ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा ४ अर्ब १३ करोड ७३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै कार्यालयले गत आव भरिमा आयकरतर्फ २ अर्ब ८९ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा ३ अर्ब १० करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवमा मूल्य अभिवृद्धि करतर्फ भने २ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा २ अर्ब १२ करोड ९१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रमुख कर अधिकृत चौलागाईंले मूल्य अभिवृद्धि कर लक्ष्यअनुसार सङ्कलन नहुनुमा १५ वटा करदाताको कारोबारको सीमा नाघेर ठूला करदाता कार्यालय र मध्यम स्तरीय करदाता कार्यालयमा गएकाले पनि सो लक्ष्य प्राप्त हुन नसकेको बताए । 

शाइन रेसुङ्गा बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र खरिद गर्ने आज साउन ४ गते अन्तिम दिन रहेको छ । असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।  बैंकले १० वर्ष अवधि रहेको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।  जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६० लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

तेह्रथुम पावरको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो

काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताहरुले अब साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा, कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।