विकासन्युज

सेयर बजार अलटाइम हाइ, १२ महिनायताकै उच्च

काठमाडौं । पछिल्लो समय सकारात्मक माहोल बनेपछि सेयर बजार निरन्तर उकालो लागिरहेको छ । निरन्तर उकालो लागिरहेको पुँजी बजार मंगलबार पनि उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८२ प्रतिशत अर्थात् ८१.७७ प्रतिशत बढेर २ हजार ९७४.५० अंक पुगेर बन्द भएको छ । जुन १२ महिनायताकै उच्च हो । यसअघि २०८१ साउनमा ३ हजार अंकमा पुगेपछि बजार निरन्तर ओरालो लागेको थियो। लगानीकर्ता देव गुरागाईं माहोल सकारात्मक भएपछि लगानीकर्ताहरू सक्रिय भएको बताउँछन् । उनका अनुसार यो आर्थिक वर्ष बजार अलटाइम हाइ नै हुने र त्यही लाइनमा बजार रहेको छ ।  ‘मौद्रिक नीति खुकुलो आएको छ । यसले मनोवैज्ञानिक प्रभाव लगानीकर्ताहरूमा परेको छ । ब्याजदर सस्तो छँदैछ, तरलता फालाफालको अवस्था छ । अर्थतन्त्र सुधार हुने र मौद्रिक नीतिले सहजीकरण गरेको छ भन्नेमा हामी आशावादी छौं,’ उनले भने ।  उनका अनुसार गत वर्षको नाफाबाट कम्पनीहरुले लाभांश वितरण गर्ने समय सुरु भइसकेकाले पनि लगानीकर्ताहरु थप बजारमा आकर्षित भएका छन् । ‘लाभांश खानुपर्छ भन्ने हिसाबले पनि लगानीकर्ताहरू तातेका देखिन्छन्,’ गुरागाईंले भने ।  मंगलबार २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै आज दिनभरिमा ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार कित्ता सेयर १ लाख ७७ हजार १०१ पटक खरिदबिक्री हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, शिवम् सिमेन्ट र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशत बढेको छ । साथै, आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । यस कम्पनीको ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  यस्तै, शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड १ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४६ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सले जनाएको छ ।  मंगलबार सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूह २.१० प्रतिशत, विकास बैंक समूह २.२६ प्रतिशत, फाइनान्स समूह १.९४ प्रतिशत, होटल एण्ड तथा पर्यटन समूह ३.४४ प्रतिशत, जलविद्युत समूह १.९० प्रतिशत, लगानी समूह ३.२४ प्रतिशत, जीवन बीमा समूह ४.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.६३ प्रतिशत, लघुवित्त समूह ४.०७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५६ प्रतिशत, निर्जीवन बीमा समूह २.५६ प्रतिशत, अन्य समूह ३.३६ प्रतिशत र व्यापार समूह १.०१ प्रतिशत बढेको नेप्सेको तथ्याङ्क छ । 

वर्ष दिनमा शहरी विकास मन्त्रालयले गर्‍यो के काम ?

काठमाडौं । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा ९७ वटा स्वास्थ्य भवन निर्माण गरेको बताएको छ । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी गराएको हो ।  मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा अन्तर्राष्ट्रियस्तरको त्रि.वि. क्रिकेट स्टेडियममा प्यारापिट र फ्लड लाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै ५ वटा सभा हल निर्माण, २१ वटा सरकारी कार्यालय भवन, ९७ वटा विद्यालय भवन निर्माण, ३२ वटा पार्क निर्माण, १३ वटा बसपार्क निर्माण, ५७ सार्वजनिक भवन निर्माण, २७८ किमी ग्रामिण सडक कालोपत्रे, ६१८ किमी शहरी सडक कालोपत्रे, २९६ किमि नाला निर्माण, २७८ वटा झोलुङ्गे पुल निर्माण, २२ वटा स्थानीय सडक पुल निर्माण, ५५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण, २.९ किमी तटवन्ध निर्माण, थप ९ वटा गाउँपालिका र नगरपालिका केन्द्रमा सडक पुगेको र ४ हजार ७ सय ४७ हेक्टरमा सिंचाई भएको मन्त्रालयको दाबी छ ।  मन्त्रालयकाअनुसार गत आ.व.मा ११ हजार वटा सुरक्षित नागरिक आवास निर्माण गरिएको छ भने फोहोरमैला व्यवस्थापन गर्न हालसम्म २ वटा व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भइसकेको जनाएको छ । एउटा निर्माण भइरहेको बताएको छ । पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीले वर्षदिनको प्रगति ५८.०६ प्रतिशत रहेको बताए । मन्त्रालयको विनियोजित बजेट ६८ अर्ब १४ करोड ३६ लख ६८ हजार १ सय २३ थियो ।  जसमा वित्तीय प्रगति ३९ अर्ब ५६ करोड ५२ लाख ७० हजार रहेको बताउनु भयो । शहरी विकास मन्त्रालयमा आयोजनाको प्रकृति अन्य मन्त्रालयको भन्दा फरक प्रकृतिको रहेको बताए । २०८१—०८२ मा ७ हजार ४ सय ३५ वटा कार्यक्रम रहेकोमा ४ हजार ५ सय कार्यक्रम नयाँ रहेको बताए ।  

मनसुनमा उच्च सतर्कता : कर्मचारीलाई अत्यावश्यक बाहेक बिदा नदिने निर्णय

काठमाडौं । विपद्भर कर्मचारीहरू अत्यावश्यक काममा बाहेक विदामा नबस्ने भएका छन् । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सचिवस्तरीय बैठकले  मनसूनजन्य विपद् व्यवस्थापनका लागि संयन्त्रहरू परिचालन गर्दै विपतभरि कर्मचारीहरू अत्यावश्यक बाहेक अरु बेला विदामा नबस्ने गरी निर्णय भएको छ ।  मन्त्रालय÷निकाय, सुरक्षा निकाय, विकास साझेदार, संयुक्त राष्ट्र संघीय निकाय, रेडक्रस अभियान तथा गैरसरकारी एवं सामुदायिक संस्थाहरूले आवश्यक पूर्वतयारी तथा खोज, उद्धार र राहतका कार्यहरू गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्रभावकारी ढंगले गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।  लाइफलाइन सडकमा भएका अवरोध तत्काल हटाउने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने गरी निर्णय भएको छ ।  यस्तै, डेङ्गी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै सङ्घीय मन्त्रालय, निकाय तथा सबै प्रदेश सरकार एवं स्थानीय तहका कार्यालयहरूले डेङ्गी संक्रमण गराउने लामखुट्टेको वासस्थान र लार्भा खोज तथा नष्ट गर्ने उद्देश्यले श्रावण, भाद्र र आश्विन तीन महिना हरेक शुक्रवार बिहान ९ः३० बजेदेखि सरसफाई कार्यक्रम तथा प्रचार प्रसार अभियान सञ्चालन गर्ने, सर्पदंशबाट हुने मृत्यूदर घटाउन सचेतना, जोखिम न्युनिकरण र उपचारको प्रभावकारी व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय भएको छ ।  यस वर्ष मधेस प्रदेशभर मनसुन याममा पानी नपरेको वा ज्यादै कम पानी परेको कारणले सिँचाइ सुविधा समेतको अभावमा धानबाली लगाउन कठिनाई भएको, वर्षा कम भइ जमिनमुनीको पानी नआउँदा मधेस प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकार भइ आम जनतामा सुख्खाजन्य विपद् उत्पन्न भएकोले खानेपानी तथा सिँचाइको तत्काल समस्या समाधानका लागि आवश्यक पहल र समन्वय गर्न गृह मन्त्रालयले मधेस प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय भएको छ । निर्णयमा भनिएको छ- ‘मनसुनको कारणवाट उत्पन्न हुनसक्ने सम्भावित विपद्लाई मध्यनजर गरी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरू अत्यावश्यक काममा वाहेक कार्यस्थल नछाडने र बिदामा नबस्ने, जिल्लास्थित कार्यालय प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरी बिदा नबस्ने, संघीय मन्त्रालयहरूले अत्यावश्यक बाहेक प्रदेशका निकायमा कार्यरत कर्मचारीहरूलाई भौतिक रूपले उपस्थित हुने गरी बैठक/गोष्ठीमा आमन्त्रण नगर्ने ।’ स्थानीय स्तरको पहलवाट समाधान हुन नसक्ने खानेपानी, कृषि तथा सिंचाईजन्य समस्या समाधानका लागि प्रदेश तथा नेपाल सरकारबाट गर्नुपर्ने कार्यहरूको सम्वन्धमा मधेस प्रदेशका सबै जिल्लाका विपद् व्यवस्थापन समितिको बैठकबाट आवश्यक निर्णय गराई गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र विवरण उपलब्ध गराउने निर्णय समेत भएको छ ।   

कार्गो दिवस साउन १३ गते मनाइने, ढुवानी क्षेत्रको सुधारमा नीतिगत छलफल हुने

काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) को आयोजनामा ३१औं कार्गो दिवस यही साउन १३ गते मंगलबार राजधानीको हायात रिजेन्सी होटल, काठमाडौं मनाइने भएको छ। ‘लजिस्टिक विकास र बीबीआईएन कनेक्टिभिटीका ’ शीर्षकमा केन्द्रित यो कार्यक्रम नेपाल इन्टरमोडल यातायात विकास समिति तथा विभिन्न वायु सेवा प्रदायक कम्पनीहरू, बन्दरगाह व्यवस्थापन निकाय, बैंक, तथा अन्य व्यवसायिक संस्थाहरूको सहकार्यमा आयोजना गर्न लागेको हो । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेफा वरिष्ठ उपाध्यक्ष तथा ३१औं कार्गो दिवसका संयोजक नरेश कुमार अग्रवालले कार्गो दिवसको औचित्य, उद्देश्य र कार्यक्रमका विविध पक्षबारे जानकारी दिए । उनका अनुसार कार्गो दिवसको सुरुवात नेफामा आबद्ध सदस्यहरूबिच पारिवारिक सम्बन्ध र भाइचाराको सञ्जाल विस्तार गर्नका लागि गरिएको हो। यद्यपि पछिल्ला वर्षहरूमा लजिस्टिक तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या, चुनौती र सम्भावनाको गहन छलफल गर्ने रणनीतिक थलोको रूपमा यो दिवस स्थापित हुँदै आएको छ। अग्रवालका अनुसार नेपालमा प्रत्येक वर्ष जुलाई २९ तारिखमा कार्गो दिवस मनाइँदै आएको छ, जुन विश्वव्यापी आपूर्ति श्रृंखला र लजिस्टिक व्यवस्थाको सुदृढीकरणमा नेपालको सक्रिय सहभागिता र प्रतिबद्धता दर्शाउने दिवस पनि हो । 'नेपालजस्तो स्थलरुद्ध मुलुकमा लजिस्टिक प्रणाली सशक्त हुनु आवश्यक छ,' उनले भने, 'यसले उत्पादन लागत घटाउने, समयमै आयात–निर्यात सुनिश्चित गर्ने र आर्थिक प्रतिस्पर्धा बढाउने काम गर्छ ।' कार्यक्रम तीन सत्रमा सञ्चालन हुनेछ। पहिलो सत्रमा उद्घाटन समारोहसहित ‘नेफा वार्षिक अवार्ड २०२५’ वितरण गरिनेछ । यो अवार्ड नेपाली लजिस्टिक्स क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई दिइनेछ, जसमा नेफा सदस्यहरू, सरकारी तथा गैरसरकारी संस्था, अनलाइन र अफलाइन एयरलाइन्स, सुख्खा बन्दरगाह सञ्चालक, लामो समयदेखि कार्यरत कर्मचारी र उत्कृष्ट बस्तुगत संघरमहासंघहरू समावेश छन् । साथै, कार्यक्रमलाई सफल बनाउन योगदान दिने निकायहरूलाई मायाको चिनो प्रदान गरिनेछ । दोस्रो सत्रमा ‘लजिस्टिक विकास र बीबीआईएन कनेक्टिभिटीका ’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । उक्त सत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा बोर्डका उच्च अधिकारीहरू, एशियन डेभलपमेन्ट बैंक–नेपाल मिशनका प्रतिनिधि, विमान सेवा प्रदायक, सिपिङ्ग कम्पनी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहभागिता रहनेछ ।  सो सत्रमा नेपालमा लजिस्टिक पूर्वाधारको वर्तमान अवस्था, बीबीआईएन (बंगलादेश, भुटान, भारत, नेपाल) सन्दर्भमा कनेक्टिभिटीका सम्भावना, नीतिगत समन्वय, ढुवानी मार्ग विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहज बनाउन आवश्यक पहलहरूबारे गहिरो छलफल गरिनेछ । तेस्रो सत्र अन्तर्गत ‘फेलोसिप एण्ड ट्रेड मिट’ कार्यक्रम सञ्चालन गरिनेछ, जसमा सरकारी, निजी तथा अन्तर्राष्ट्रिय लजिस्टिक प्रतिनिधिहरूबिच कार्यपत्र प्रस्तुति, भिडियो डकुमेन्ट्री प्रदर्शनी तथा नेटवर्किङ अवसरहरू प्रदान गरिने आयोजकले जनाएको छ । कार्गो दिवसले लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न, नीति निर्माण प्रक्रियामा सरोकारवालाको आवाज समेट्न र आपूर्ति श्रृंखला व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ । संयोजक अग्रवालले भने, 'यो दिवस केवल उत्सव होइन, नीति निर्माणदेखि कार्यान्वयनसम्मको संवाद स्थापित गर्ने साझा मञ्च हो ।' नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा ढुवानी सहज बनाउन र अन्तर्राष्ट्रिय बजारसँग नेपाली उद्योगी व्यवसायीलाई प्रतिस्पर्धात्मक रूपमा जोड्न लजिस्टिक्स पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै आयोजकले यस क्षेत्रमा सरकारले ठोस नीति र लगानीका माध्यमबाट सहयोग पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएको छ । कार्यक्रममा वाणिज्य, उद्योग, पर्यटन, बैंकिङ, बिमा, प्रविधि, उत्पादन र ढुवानी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहनेछ । कार्गो दिवसले नेपाललाई विश्वव्यापी लजिस्टिक नेटवर्कमा मजबुत रूपमा उभ्याउने विश्वास आयोजकको छ ।  

कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा

काठमाडौं ।  गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा पुगेको छ । भन्सार विभागका अनुसार आयात र निर्यात दुवै तथ्याङ्क हालसम्मकै उच्च छन् । गत आवमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा भने आयातित कच्चा भटमास तेल (क्रुड सोयाबिन आयल) र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल) रहेको देखिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले कुल रु २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आवमा रु १८ खर्ब चार अर्ब १२ करोड २७ लाख बराबरको वस्तु आयात हुँदा रु दुई खर्ब ७७ अर्ब तीन करोड बराबरको निर्यात भएको छ । त्यसबाट नेपालले रु १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ । विभागका निर्देशक किशोर बर्तौलाका अनुसार गत आवको आयात र निर्यात दुवै हालसम्मकै उच्च हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा आयात १३ दशमलव २५ र निर्यात ८१ दशमलव ८० प्रतिशतले बढेको विभागको तथ्याङ्कबाट देखिएको छ । समग्र वैदेशिक व्यापार १९ दशमलव २४ प्रतिशतले बढ्दा व्यापार घाटा छ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ६९ र निर्यातको हिस्सा १३ दशमलव ३१ प्रतिशत रहेको छ । नेपालले सबैभन्दा धेरै वैदेशिक व्यापार गर्ने मुलुक भारतसँग गत आवमा रु १० खर्ब ७१ अर्ब २० करोड बराबरको आयात र रु दुई खर्ब २४ अर्ब ६८ करोड ४३ लाख बराबरको निर्यात गरेको छ । त्यसबाट भारतसँग मात्र रु आठ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख बराबर नेपालले व्यापार घाटा व्यहोरेको छ । त्यस्तै चीनबाट रु तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाख बराबरको वस्तु आयात हुँदा रु २६ अर्ब ३० करोड बराबरको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्सलगायत मुलुकहरुसँग नेपालले बढी व्यापार घाटा व्यहारेको छ । नेपालले सबैभन्दा धेरै व्यापार नाफा गरेका मुलुकमा अफगानिस्तान, डेनमार्क, रसियन फेडेरेसन, रोमानिया, अस्ट्रिया, लाओसलगायत मुलुक छन् । सबैभन्दा धेरै अफगानिस्तानसँग रु ६८ करोड ६१ लाख १७ हजार र डेनमार्कसँग रु ३३ करोड ८९ लाख १३ हजार व्यापार नाफा गरेको विभागको तथ्याङ्कबाट देखिन्छ । बढी आयात भएको वस्तुको पहिलो स्थानमा पेट्रोलियम पदार्थ देखिएको छ । गत आवमा रु एक खर्ब २८ अर्ब ७६ करोड १६ लाख बराबरको डिजेल, रू ६४ अर्ब १२ करोड ७४ लाख बराबरको पेट्रोल र रु ६२ अर्ब ५८ लाख ७२ हजार बराबरको खाना पकाउने ग्यास आयात भएको छ । यस्तै रु ३५ अर्ब ५४ करोड ७३ लाख बराबरको स्मार्टफोन, रु १८ अर्ब ६२ करोड बराबरको विद्युतीय कार आयात भएको छ । विभागको तथ्याङ्कअनुसार गत आवमा रु एक खर्ब आठ अर्ब ९५ करोड ३३ लाख बराबरको कच्चा भटमास तेल र रु २९ अर्ब दुई करोड १९ लाख बराबरको कच्चा सूर्यमुखी तेल आयात भएको छ । नेपालले बढी निर्यात गर्ने वस्तुमा पनि भटमास तेल र सूर्यमुखी तेल शीर्ष स्थानमा छन् । सबैभन्दा बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल रु एक खर्ब छ अर्ब ७९ करोड १२ लाख बराबरको निर्यात भएको छ । त्यस्तै, सूर्यमुखी तेल रु १२ अर्ब ३२ करोड ६५ लाख बराबरको निर्यात भएको छ । कार्पेट रु १० अर्ब ७७ करोड ६८ लाख, अलैँची रु सात अर्ब ६८ करोड ३७ लाख, छुर्पी रु चार अर्ब ५१ करोड र चिया रु चार अर्ब २१ करोड बराबरको निर्यात भएको छ । विभागका निर्देशक बर्तौलाका अनुसार गत आवमा यी वस्तुको नेपालले निर्यात गरेको भन्दा बढी आयात छ । त्यस्तै मूल्य अभिवृद्धि पनि न्यून रहेको उनको भनाइ छ । “आयातित भटमास र सूर्यमुखी तेल नै बढी निर्यात भएको देखिन्छ, यस क्षेत्रले रोजगार सिर्जना र मूल्य अभिवृद्धिमा खासै ठूलो योगदान गरेको देखिँदैन”, उनले भने । दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को सुविधाका रुपमा नेपालका व्यवसायीले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् । साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराइरहेका कारण त्यसलाई नेपाली व्यवसायीले अवसरका रुपमा लिएको देखिएको छ । विगतमा नेपालबाट पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको भए पनि विसं २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिएको छ । रासस

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब ३ अर्ब ब्याज

काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ । कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ रुपैयाँ ब्याज वितरण गरेको सूचना अधिकारी डा. रोशन कोजुले जानकारी दिए । कोषले गत आवमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा गत चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत ५ गतेदेखि असार मसान्तसम्म पाँच प्रतिशतले ब्याज दिएको हो । कोषमा हालसम्म औपचारिक क्षेत्रका छ लाख तीन हजार ४२६, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५७३, अनौपचारिक ७२० र स्वरोजगार ४२२ गरी कुल २३ लाख ९० हजार १४१ योगदानकर्ता सूचीकृत भएका छन् ।   कोषमा ८६ अर्ब ८६ करोड रुपैयाँ योगदान सङ्कलन भएको छ । कोषले विभिन्न सुविधा योजनाअन्तर्गत योगदानकर्तालाई १५ अर्ब ७७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।  

ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।' यसैबीच वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै २१ लाख ६४ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-१५ बस्ने २९ वर्षीया जुनु रानाथापामगर र बर्दियाको गुलरिया नगरपालिका-२ घर भई हाल काठमाडौं-३२ बस्ने ३३ वर्षीय सुदीपकुमार यादव रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । उनले भने, 'पक्राउ परेकामध्ये जुनुले स्लोभाकिया पठाइदिने भन्दै  तीन लाख १० हजार र सुदीपले सर्बिया पठाइदिने भन्दै १८ लाख ५४ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।' पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

नेपाल लाइफले रच्यो इतिहास, उत्कृष्ट प्रतिवेदनका लागि पायो सिल्भर अवार्ड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड अन्तर्गत जीवन बीमा विधामा सिल्भर अवार्ड प्राप्त गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनी जीवन बीमा क्षेत्रमै पहिलोपटक यो अवार्ड प्राप्त गर्ने कम्पनी बनेको छ। आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट भएको भन्दै नेपाल लाइफलाई यो सम्मान प्रदान गरिएको हो । अवार्ड प्रदान गर्ने समारोह राजधानीको होटल र्‍याडिसनमा आयोजना गरिएको थियो, जहाँ माननीय महालेखापरीक्षक तोयम रायाले नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाललाई अवार्ड प्रदान गरे । नेपाल लाइफको प्रतिवेदनमा आर्थिक पारदर्शिता, पर्याप्त खुलासा, सुशासन, जवाफदेहिता तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रस्तुति रहेको भन्दै प्रशंसा गरिएको छ । अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई प्राप्त सफलताले थप जिम्मेवारी थपिएको उल्लेख गर्दै वित्तीय अनुशासन र पारदर्शिताप्रति कम्पनीको अटुट प्रतिबद्धता दोहोर्याए । करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको नेपाल लाइफले ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा र सुशासन कायम राख्ने प्रतिवद्धता जनाएको छ ।