विकासन्युज

स्याफ्रुबेँसी रसुवागढी सडक पुनः बन्द

रसुवा । नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा क्षति पुर्याएको छ । बन्द सडक खुलाउन काम सुरु भैसकेको जनाइएको छ ।              ल्हेन्दे खोलामा बुधबार विहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्ग क्षति भएका कारण साना ठूला सबै प्रकारका सवारीसाधन टिमुरे खण्डको आवतजावत पूर्ण रूपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।            जिल्ला विपद् व्यवस्थापनका अध्यक्ष समेत रहेका उनले चिनियाँ भूभागमा भारी वर्षा भइरहेका कारण पटकपटक आउने बाढीप्रति पूर्वसावधानी अपनाउँदै नदी किनारको तटीय क्षेत्रमा बसोबास नर्गन जिल्लावासीलाई आग्रह समेत गरे ।  गए रातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएको समेत प्रजिअ पौडेलले जानकारी दिए । ल्हेन्दे खोलाको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै छ भन्ने जानकारी गए रातिनै तटीय क्षेत्रमा जानकारी गराइएको थियो ।    

त्रिविको केन्द्रीय विभाग बल्खुस्थित कानून संकायको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । त्रिभूवन विश्वविद्यालयको केन्द्रीय विभाग बल्खुस्थित नवनिर्मित कानून संकायको भवन उद्घाटन गरिएको छ । बुधबार बल्खुस्थित विभागको कानून संकायको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले गरेका हुन् ।  उद्घाटन कार्यक्रममा बोल्दै कानून संकायका डीन प्रा. डा. कृष्णप्रसाद बस्यालले भवन निर्माणमा सहयोग गर्नुहुने सबैलाई धन्यावाद दिए । उनले शैक्षिक संस्थालाई शैक्षिक चरित्रअनुरूप निर्माण गर्नुपर्नेमा अझ धेरै प्रयास आवश्यक रहेको धारणा राखे । कानून शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक शिक्षकको अभाव रहेको उल्लेख गर्दै उपलब्ध जनशक्तिको सेवा प्रवाहलाई अनुसन्धानको विषय बनाउनु आवश्यक रहेको बताए । हाल कानून संकायअन्तर्गत ६ वटा आंगिक क्याम्पस, एक सम्बन्धन प्राप्त क्याम्पस र एक पब्लिक क्याम्पससहित कुल ८ कलेजहरूमा कानून विषयको पठनपाठन भइरहेको पनि जानकारी दिए । उनले भने, ‘शैक्षिक संस्थालाई साच्चिकै शैक्षिक संस्थाजस्तो बनाउन हामीले सकिरहेका छैनौं । हामीले कानून शिक्षाको सन्दर्भमा आचरण र नैतिकता थप ध्यन दिनुपर्ने अवस्था सिर्जना हुन आएको छ । कानूनि शिक्षा अध्ययन गर्ने विद्यार्थीको अत्याधिक चाहाना र आवश्यकताको बोध हुँदाहुँदै पनि तद्अनुसार शिक्षकहरुको प्रबन्ध गर्न सकिरहेका छैनौं ।’ उनले विश्वविद्यालयको आफ्नै नयाँ भवनबाट पठन पाठन हुँदा कानूनी शिक्षाको सुधार हुने विश्वास समेत व्यक्त गरे । 

सुनामीको चेतावनीपछि फुकुशिमा आणविक प्लान्ट खाली गरियो

जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले फुकुशिमा दाइची र फुकुशिमा दाइनी आणविक प्लान्टका कामदारहरूलाई सुरक्षित रूपमा उद्धार गरी उच्च स्थानमा सारिएको जनाएको छ । सन् २०११ मा जापानमा आएको ९.० रेक्टर स्केलको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण फुकुशिमा दाइची प्लान्टमा ठूलो आणविक दुर्घटना भएको थियो । टेप्कोका अनुसार अहिले प्लान्टमा कुनै क्षति भएको छैन र सुनामीसम्बन्धी चेतावनीहरूमा निरन्तर निगरानी राखिएको छ । यसै साता कम्पनीले घोषणा गरेको थियो कि इन्धनको भग्नावशेष पूर्ण रूपमा हटाउन १२ देखि १५ वर्षसम्म ढिला हुन सक्नेछ, जसले गर्दा रेडिएसनको स्तर घटाउन पर्याप्त समय मिलोस् । अमेरिकी भूगर्भीय सर्वेक्षण अनुसार बुधबार रूसको पूर्वी तटीय क्षेत्रमा ८.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि  सुनामीको चेतावनी जारी गरिएको हो । यूएसजीएसका अनुसार भूकम्पको केन्द्र कमचाट्का प्रायद्वीपमा रहेको पेट्रोपावलोव्स्क सहरदेखि करिब १३६ किलोमिटर पूर्वमा भुइँबाट १९ किलोमिटर गहिराइमा रहेको थियो ।

घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

चितवन । भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौंको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए ।   अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्रा डा सुनिलमणि पोखरेल अस्पतालमा गत आव २०८१/८२ मा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएको जानकारी दिनुभयो । यसमध्ये चार हजार ३८३ (५२ दशमलव ४५ प्रतिशत)को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५ दशमलव २८ प्रतिशत)को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ (२ दशमलव २६ प्रतिशत)को जटिल प्रसूति भएको थियो । अघिल्लो आव २०८०/८१ मा नौ हजार ३५५ र त्यसअघि आव २०७९/८० मा ११ हजार ८९४ गर्भवतीले प्रसूति सेवा लिएका थिए । डा पोखरेलले भने, 'केही वर्षअघि वार्षिक १६ हजारसम्मले यहाँ सेवा लिएका थिए । अहिले क्रमशः घट्ने क्रममा गएको छ ।' देशभरकै तथ्याङ्कमा ३० प्रतिशत हाराहारी घटेको भन्दै उनले बच्चा जन्माउने उमेरका युवायुवती विदेशिएको बताए ।  विगतमा गाउँगाउँ र छिमेकी जिल्लाबाट प्रसूति सेवा लिन आउनेको सङ्ख्या धेरै हुने गरेको भन्दै डा. पोखरेले पछिल्लो समय जिल्ला र नगरहरुमा प्रसूति सेवा विस्तार भएसँगै भरतपुर अस्पतालको चाप घटेको बताए । उनले भने, 'नगर अस्पताल र बर्थिङ सेन्टरमा प्रसूति सेवाको विस्तार भएपछि भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या घट्दै छ ।' निजी अस्पतालमा सङ्ख्या बढेर सरकारी अस्पतालमा घटेको नभई स्थानीयस्तरमा नै सेवा पाएकाले यहाँ घटेको उनको भनाइ छ ।   

४२ दिनका लागि आज २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार २५ अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप तान्न लागेको हो ।  अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्न लागेको हो । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदर अनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।  बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । मौद्रिक नीतिपछि बजारमा लगानी ब्यापक बढ्ने अपेक्षा गरिएपनि त्यसो हुन सकिरहेको छैन । जसकारण अधिक तरलतापछि निक्षेप खिच्न बाध्य भइरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । उनीहरुकाअनुसार राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याएपनि सरकारको वित्त नीति कार्यान्वयन प्रभावकारी हुन नसक्दा लगानीको वातावरण बन्न सकिरहेको छैन ।  

क्यानको बोर्ड बैठक बस्दै, एनपीएलको हिसाबकिताबबारे छलफल हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साउन १५ गते बिहीबार बोर्ड बैठक बस्ने भएको छ । उक्त बैठकमा लामो समयदेखि अल्झिएको नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाब किताबका बारेमा छलफल हुने क्यानका एक पदाधिकारीले जानकारी दिए । क्यानको केन्द्रीय कार्यालय, मूलपानीमा बिहान ९ बजेदेखि सुरु हुने बैठकका लागि क्यानले मंगलबार एजेन्डा पठाएको ती पदाधिकारीले बताए ।  उनले भने, ‘मूलतः  हाम्रो भोलिको बैठकमा एनपीएलकै हिसाबमा केन्द्रित हुने छ ।’   त्यसबाहेका आगामी वर्षका कार्य योजना, खेलाडीहरूको श्रेणी विभाजन पुनरावलोकनसहित १२ एजेण्डामा छलफल हुने जानकारी ती पदाधिकारीले दिए ।

मधेस संकटमा सहयोग गर्न संघसंस्थालाई समाज कल्याण परिषद्को आह्वान

काठमाडौं । समाज कल्याण परिषद्ले सुख्खा र खडेरीको गम्भीर समस्यामा परेको मधेस प्रदेशमा राहत र पुनःस्थापनाका कार्यक्रम अघि बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई आह्वान गरेको छ । परिषद्का अध्यक्ष तथा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मंगलबार मन्त्रालयमा संघसंस्थाका प्रतिनिधिहरूसँगको छलफलमा यस्तो आग्रह गरेका हुन् । उनले परिषद्सँग साधारण सम्झौता गरिसकेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई आफ्नो चालु परियोजनाको अधिकतम २० प्रतिशत बजेट (१० करोड रुपैयाँसम्म) आपतकालीन राहतका लागि प्रयोग गर्न सकिने गरी परियोजना संशोधन गर्न निर्देशन दिए । यस्ता संशोधन प्रस्ताव परिषद्ले द्रुत प्रक्रियाबाट स्वीकृत गर्ने उनले प्रतिबद्धता जनाए । मन्त्री सुडीले चालु परियोजनामा छुट्याइएको न्यूनतम १ प्रतिशत आपतकालीन खर्च स्थानीय तहसँग समन्वयमा प्रयोग गर्न र त्यसको विवरण परिषद्लाई जानकारी गराउनुपर्ने प्रावधान कार्यान्वयन गर्न आग्रह गरे । साथै, नयाँ परियोजना प्रस्ताव परेमा द्रुत प्रक्रिया अवलम्बन गरी कार्यान्वयन गरिने पनि स्पष्ट पारे । उनले भने, 'कहिल्यै नभएको गरी अहिले मधेस प्रदेश सुख्खाग्रस्त भएको छ । खोला, पोखरी, हातेपम्प सुकिसकेका छन् । राज्यकै आधा जनसंख्या भएको यो क्षेत्रमा अहिले जिउधनको अस्तित्व नै संकटमा छ ।' प्रधानमन्त्रीले पनि सबै निकायलाई सहयोग गर्न आह्वान गरिसकेको उनले स्मरण गराए । परिषद्का सदस्यसचिव मनोज भट्टले तत्काल पानी वितरण र सिँचाइका लागि काम गर्नुपर्ने भएपनि दीर्घकालीन रणनीतिका लागि तथ्यांक संकलन आवश्यक रहेको बताए । उनले तथ्यांकमा आधारित काम गर्न, कार्यक्रम दोहोरिन नदिन र पारदर्शिता कायम गर्न आग्रह गरे । अन्तर्राष्ट्रिय संघसंस्थाहरूको छाता संगठन एआईएनका अध्यक्ष डा. एसपी कलौनीले संघसंस्थाहरूले खानेपानी र सिँचाइमा काम सुरु गरिसकेको जानकारी दिए । उनले सरकारी निकायहरूसँग सूचना आदानप्रदान सहज बनाउन परिषद्ले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए । कलौनीका अनुसार, सेभ द चिल्ड्रेन नेपालले सर्लाहीमा ५३४ घरधुरीलाई १० हजार लिटर पानी वितरण गरेको छ । अक्सफामले रौतहट र सर्लाहीका ४ स्थानमा ४ सय घरधुरीलाई सहयोग गरेको छ । प्लान इन्टरनेशनल नेपालले धनुषामा १ हजार घरधुरीलाई पानीको जार वितरण गरेको छ । वर्ल्डभिजन नेपालले महोत्तरी, सर्लाही र रौतहटमा ५०० भन्दा बढी घरधुरीलाई साना सिँचाइ सहयोग पुर्‍याएको छ । इस्लामिक रिलिफले रौतहट र बारामा १,०५० घरधुरीलाई डिप बोरिङ सेवा प्रदान गरेको छ । यसअघि नै बेलायत सरकारद्वारा सञ्चालित स्टार्ट फन्ड नेपाल परियोजना राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मधेसका ८ वटै जिल्लामा सञ्चालन भइसकेको छ । यो परियोजनाले खानेपानी र सिँचाइमा काम गरिरहेको छ । मन्त्री सुडीले भने, 'मधेस प्रदेशलाई सरकारले आधिकारिक रूपमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । त्यसैले परिषद्सँग आबद्ध सबै संघसंस्थाले तत्काल राहत कार्यमा जुट्नुपर्छ । स्थानीय तहसँग समन्वय गरी काम गर्न म सबैलाई आह्वान गर्दछु ।'

ब्याट्रीमा चीनमाथिको निर्भरता घटाउँदै टेस्ला, एलजीईएससँग ४.३ अर्ब डलरको सम्झौता

काठमाडौं । दक्षिण कोरियाको एलजी इनर्जी सोलुशन (एलजीईएस) ले अमेरिकी कम्पनी टेस्लालाई ऊर्जा भण्डारण प्रणालीका लागि ब्याट्री आपूर्ति गर्न ४.३ अर्ब डलरको सम्झौता गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । टेस्ला चीनबाट आयातमा निर्भरता कम गर्न खोजिरहेको समयमा यो सम्झौता भएको हो । किनकि अमेरिकी आयातमा लाग्ने भन्सार शुल्कले असर पुर्‍याएको छ । स्रोतका अनुसार लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीहरू एलजीईएसको मिशिगनस्थित अमेरिकी कारखानाबाट आपूर्ति गरिनेछ ।  एलजीईसले एक विज्ञप्तिमा तीन वर्षको अवधिमा विश्वभर ब्याट्री आपूर्ति गर्न ४.३ अर्ब डलरको सम्झौता गरेको जनाएको थियो, तर ग्राहक को हो भन्ने खुलाइएको थिएन, न त ती ब्याट्रीहरू सवारीसाधनका लागि हो कि ऊर्जा भण्डारण प्रणालीका लागि भनेर । कोरियन कम्पनीले गत साता भनेको थियो कि ऊ कृत्रिम बौद्धिकता (एआई) प्रशिक्षणका लागि आवश्यक शक्तिको मागले बढ्दो डेटा केन्द्रहरूको कारण ब्याट्रीको माग बढ्दै गएको सन्दर्भमा ऊर्जा भण्डारण प्रणालीको बिक्री बढाएर कमजोर विद्युतीय सवारीसाधनको मागलाई सन्तुलनमा ल्याउने प्रयास गर्दैछ । ‘हाम्रो सम्झौताअनुसार गोपनीयताको कारण ग्राहकको पहिचान खुलाउन हामी असमर्थ छौं,’एलजीईएसले रोयटर्सलाई बताएको छ । टेस्लाले भने तत्काल कुनै टिप्पणी गरेको छैन । टेस्लाका प्रमुख वित्तीय अधिकृत वैभव तनेजाले अप्रिलमा भनेका थिए कि अमेरिकी भन्सार शुल्कले टेस्लाको ऊर्जा व्यवसायमा ‘असामान्य असर’ पारेको छ, किनभने कम्पनीले ब्याट्री चीनबाट आयात गर्छ । ‘हामी अब चीनबाहेक अन्य आपूर्तिकर्ताबाट आपूर्ति सुरक्षित गर्ने काममा लागिरहेका छौं, तर यसमा केही समय लाग्नेछ,’ उनले भनेका थिए । यसै साता टेस्लाले सामसुङ इलेक्ट्रोनिक्सको टेक्सासस्थित कारखानाबाट चिप्स किन्न १६.५ अर्ब डलरको अर्को सम्झौता पनि गरेको छ । दक्षिण कोरियाली कम्पनीहरूले अमेरिकी बजारको माग पूरा गर्न अमेरिकामा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् । दक्षिण कोरियाली सरकारका तीन मन्त्रीस्तरीय अधिकारीहरूले अमेरिकाका वाणिज्य सचिव होवार्ड लुटनिकसँग वाशिङटनमा भेट गरी अगस्ट १ देखि लागू हुने २५ प्रतिशत अमेरिकी आयात भन्सार शुल्क लाग्नु अघि द्विपक्षीय व्यापार सम्झौता टुंग्याउने प्रयास गरेका थिए । अमेरिकामा उत्पादन एलजीईस केही थोरै अमेरिकी कम्पनीहरूमध्ये एक हो जसले ब्याट्री उत्पादन गर्छ । यस ब्याट्री प्रविधिमा चीनका प्रतिस्पर्धीहरू लामो समयदेखि अग्रणी छन्, तर उनीहरूको अमेरिकी बजारमा उपस्थिति कम छ । एलजीईसले यस वर्ष मे महिनाबाट मिशिगन कारखानामा एलएफपी ब्याट्री उत्पादन सुरु गरिसकेको छ । कम्पनीले अमेरिकी बजारमा विद्युतीय सवारीसाधनको माग घट्दो देखेर केही उत्पादन लाइनहरू ऊर्जा भण्डारण प्रणालीतर्फ रूपान्तरण गर्ने योजना बनाइरहेको छ । कम्पनीका अनुसार सम्झौता सन् २०२७ अगस्टदेखि २०३० जुलाईसम्म लागू हुनेछ, जसलाई थप सात वर्षसम्म विस्तार गर्न सकिने विकल्पसमेत राखिएको छ । आपूर्तिको मात्रा पनि ग्राहकसँगको सहमतिमा बढाउन सकिनेछ। सुरुआती लाभ ‘अन्य प्रतिस्पर्धीहरू जस्तै सामसुङ एसडीआई र एसके अन अझै अमेरिकी बजारमा प्रवेश गरिसकेका छैनन्, जसले एलजीईएसलाई पहिलो कम्पनीको लाभ प्रदान गरिरहेको छ,’ सामसुङ सेक्युरिटिजका वरिष्ठ विश्लेषक चो ह्युन–र्युलले भने । ‘अन्यले योजना सार्वजनिक गरे पनि एलजीईस मात्र हाल ठूलो मात्रामा उत्पादन गरिरहेको छ,’उनले थपे । टेस्लाको ऊर्जा भण्डारण तथा उत्पादन व्यवसायले यसको कुल आम्दानीको १० प्रतिशतभन्दा केही बढी हिस्सा ओगटेको छ र सवारी बिक्री घटिरहेको सन्दर्भमा यो टेस्लाको लागि आशालाग्दो क्षेत्र बनेको छ । अमेरिकी सरकारको विद्युतीय सवारी प्रोत्साहन पनि छिट्टै घट्ने तयारीमा छ । ‘भन्सार शुल्क र आपूर्ति सञ्जाल चुनौतीहरूका बाबजुद ऊर्जा व्यवसाय राम्रोसँग बढिरहेको छ,’ टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले गत साता भएको आम्दानी सम्मेलनमा भने, ‘ब्याट्रीको मागको स्तर कति विशाल छ भन्ने धेरैलाई थाहा छैन ।’ टेस्लाले वर्षको अन्त्यसम्ममा आफ्नै पहिलो एलएफपी ब्याट्री उत्पादन केन्द्र अनलाइनमा ल्याउने जनाएको छ, तर नेभाडास्थित त्यो कारखानाले कम्पनीको कुल मागको सानो हिस्सा मात्र पूर्ति गर्ने अनुमान गरिएको छ ।