विकासन्युज

सारथी लॉजिस्टिक्सको विराटनगर शाखा उद्घाटन, देशभर २५ शहरमा सेवा विस्तार

काठमाडौं । सारथी लॉजिस्टिक्स विराटनगरमा नयाँ शाखाको उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको महत्वपूर्ण चरण सुरु गरेको छ । उद्घाटन समारोहमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी प्रमुख शहरमा बुकिङ सेवा प्रारम्भ भएको औपचारिक घोषणा गर्‍यो । कम्पनीले सेवा विस्तार गरेका गन्तव्यहरूमा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा र त्रिशूलीजस्ता मुख्य सहरहरू रहेका छन् । कार्यक्रममा सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले भने, 'हामी आज विराटनगरजस्तो व्यापारिक केन्द्रमा सेवा विस्तार गर्न पाउँदा गर्वित छौं । हाम्रो लक्ष्य देशभरका सहर तथा गाउँलाई प्रभावकारी रूपमा जोड्ने, किफायती र प्रविधिमैत्री सेवा प्रवाह गर्ने र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिने हो ।' उनले छिट्टै देशका अन्य मुख्य सहरहरूमा पनि सेवा विस्तार गर्ने योजना रहेको जनाए । उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, साझेदार, विशिष्ट व्यक्ति र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सारथी लॉजिस्टिक्सले पारदर्शिता, भरपर्दो सेवा र राष्ट्रिय गौरवको भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नहर छ, पानी छैन

सिरहा । लहान–१० स्थित ग्रामीण चोकबाट उत्तरतर्फ खुट्टी नदीसम्म सहरी क्षेत्रमा फैलिएको खुट्टी सिँचाइ नहरको अवस्था अत्यन्तै दयनीय बनेको छ । प्रदेश सरकारको रु आठ करोड ७२ लाख लगानीमा २०७८ सालमा निर्माण भएको नहर हाल अलपत्र अवस्थामा पुगेको छ । सिँचाइका लागि निर्माण गरिएको नहर अहिले ठाउँठाउँमा जमेको फोहर, झारपात र ढल मिसिएको पानीले दुर्गन्ध फैलाउने अवस्थामा पुगेको छ । स्थानीयवासी तथा खुट्टी नहर सिँचाइ सङ्घर्ष समितिले पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको जनाइएको छ ।  सङ्घर्ष समितिका संयोजक धर्मराज चौधरी, सदस्य हेमन्त यादव, अजय चौधरीलगायतले मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी समक्ष सोमबार  गुनासो पोख्दै नगर मर्मत गर्न आग्रह गरेका छन् ।  उनीहरूले नहर सञ्चालनका लागि छुट्याइएको रु १५ लाख अपार्याप्त रहेको जनाउँदै पुनः ध्यानाकर्षण गराए । मन्त्री लेखीले किसानहरूको समस्या सम्बन्धित मन्त्रालय र विभाग बढी जिम्मेवार रहेको औँल्याउँदै आफूबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

काँक्रेविहार । भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ । भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन  भनेको हो ।  जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, 'जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, नदीको किनारमा रहेका बस्तीका स्थानीयवासीलाई सर्तक रहन आग्रह गरिएको छ । प्रहरीलाई पनि यसबारे खबर गरिएको छ ।' डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सहत केही बढेकाले सर्तक रहन आग्रह गरेको बताए ।   

शुभ लक्ष्मी कोषको १६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटलले शुभ लक्ष्मी कोष म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन १२ गते बसेको बैठकले शुभ लक्ष्मी कोषका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को नफाबाट करसहित १६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । यसअघि अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा शुभ लक्ष्मी कोषका इकाईधनीहरूलाई करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गरेको थियो ।  लक्ष्मी सनराईज बैंक कोष प्रवर्द्धक र लक्ष्मी सनराईज क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको गत वर्षको लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल वितरण गरेको हो । शुभ लक्ष्मी कोष खुलामुखी योजना हो । साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १२ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । शुभ लक्ष्मी कोषका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन १६ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

मुआब्जामा बिचौलिया, जग्गाको मूल्य वर्षेनी बढेपनि खरिद गर्ने पक्ष मारमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाको मुआब्जा वितरणमा देखिएको ढिलाइ प्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार वास्तविक पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।  सोमबार महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) अन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षणका क्रममा मन्त्री खड्काले भने, ‘जग्गाको मूल्य वर्षेनी बढ्छ, योजनाको इस्टिमेट भने स्थिर हुन्छ । यस्तो अवस्थामा किन्ने पक्ष मारमा पर्छ । हामीले त्यहाँका बासिन्दालाई विस्थापित गरिरहेका छौं, त्यसैले उनीहरूको बसोबास सुरक्षित र व्यवस्थित गराउनु राज्यको दायित्व हो ।’  मन्त्री खड्काले मुआब्जा वितरण प्रक्रियामा बिचौलियाको संलग्नताले समस्या सिर्जना गर्दै आएको भन्दै यस्तो प्रवृत्ति बन्द हुनुपर्ने चेतावनीसमेत दिए ।  ‘बिचौलियाहरुले फाइदा लिने र राहत पाउनुपर्ने वास्तविक पीडितले उचित मुआब्जा नपाउने अवस्था देशभर छ। यस्तो हुनु हुँदैन,’ उनले स्पष्ट रूपमा भने ।  मन्त्री खड्काले सरकार आयोजनालाई समयमै सम्पन्न गर्न गम्भीर रहेको दोहोर्याए । उनले सरोकारवाला निकायहरूलाई प्रभावकारी समन्वय गरी अझ प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए । आयोजना अहिलेसम्म उल्लेखनीय प्रगतिमा पुगेको र अझ गति बढाउन आवश्यक रहेको उनको भनाइ छ । मन्त्री खड्काले महाकाली आयोजना सुदूरपश्चिमको समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै किसानको खेतसम्म पानी पुर्‍याउन सरकारले कुनै कमी नछोड्ने प्रतिबद्धता व्यक्त गरे ।  ‘किसानको खेतमा पानी पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। कुनै कमजोरी हुन दिइने छैन,’ उनले भने ।  टनकपुर ब्यारेजबाट पानी ल्याएर सञ्चालनमा आएको यो आयोजनाले कञ्चनपुरका ब्रम्हदेव, माला खेती, दोधारा-चाँदनी र त्रिभुवनवस्ती क्षेत्रका ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । हालसम्म ३० किलोमिटर मूल नहर र १२ किलोमिटर शाखा नहर निर्माण भइसकेको छ भने ६५० हेक्टर जमिनमा सिँचाइ संरचना तयार भइसकेको छ। समग्र भौतिक प्रगति २४.२२ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ८३.९७ प्रतिशत प्रगति हासिल भएको छ, जुन अपेक्षाकृत सन्तोषजनक मानिन्छ। निर्माणको गुणस्तर, समय र स्थानीय सहभागिता सुनिश्चित गर्दै आयोजना सफल बनाउन मन्त्री खड्काले जोड दिए । वन क्षेत्रभित्र पर्ने संरचनाका लागि रुख कटान र मुआब्जा वितरणमा देखिएको ढिलाइ हटाउन सम्बन्धित मन्त्रालयहरूसँग समन्वयलाई प्राथमिकता दिइएको छ। 

एशियन लाइफको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । असार २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले अब साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो ।  कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ १६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा चिप्लेढुङ्गा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा, एशियन लाइफका कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।  इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।

सागर डिस्टिलरीलाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं । उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्टिलरी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्ष लागेसँगै बोर्डले कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिएको हो । बोर्डले सो कम्पनीलाई कूल १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो ।  कम्पनीको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार सो कम्पनीलाई सोमबार साधारण सेयर बिक्रीका लागि अनुमति दिइएको हो ।  साधारण सेयर बिक्रीका लागि कूल ७६ कम्पनी प्रतीक्षामा छन् । तीमध्ये ३७ वटा जलविद्युत कम्पनी रहेका छन् । होटल तथा पर्यटनतर्फ ४, विकास बैंक र फाइनान्स कम्पनी १/१ वटा छन् । लगानी कम्पनीतर्फ तीन, उत्पादन तथा प्रशोधनतर्फ १८, माइक्रो इन्स्योरेन्सतर्फ ३ कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतीक्षामा छन् ।

नागको पूजा आराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्ष भर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।  ‘नाग पूजाको प्रचलन वैदिक कालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ,’ उनले भने ।  प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको डा भट्टराईले बताए । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको उनले उल्लेख गरे ।  प्रथम पूजाको अधिकार पाएका भगवान श्री गणेशको एक हातमा नाग छ । भगवान विष्णुको अवतारका रूपमा जन्म लिएका श्री रामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेष नागको अवतारका रूपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि रहेको डा भट्टराईले बताए ।  नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न  किंवदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दयागरी किसानकी छोरीलाई छोडिन् ।  मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास रहिआएको धर्मशास्त्रविद् प्रा डा भट्टराईले जानकारी दिए ।  गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखि गोरखनाथ उठेपछि नागमुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ । संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।