चिनियाँ वैज्ञानिकहरूले बनाए पृथ्वीको हीराभन्दा कडा हीरा
काठमाडौं । चिनियाँ अनुसन्धानकर्ताहरूले सय- माइक्रोन स्केलको षट्कोणीय हीरा संश्लेषण गर्न सफल भएका छन् । यो मुख्यतः उल्कापिण्डहरूमा पाइने सामग्री हो र पृथ्वीमा पाइने सामान्य हीराभन्दा कडा छ । अनुसन्धानकर्ताहरूका अनुसार बुधबार नेचर जर्नलमा प्रकाशित यो अध्ययनले सुपरहार्ड सामग्रीको सीमालाई पुनःपरिभाषित गर्ने वाचा गरेको छ । वैज्ञानिकहरूले बनाएको यो हीरा निश्चित बल लगाउँदा सजिलै चिप्लन र सर्न सक्छ, जसले गर्दा यसको शक्ति सीमित हुन्छ । परिणामस्वरूप वैज्ञानिकहरूले अर्को प्रकारको सुपर हीरामा आफ्नो ध्यान केन्द्रित गरेका छन् । प्रकाशित अध्ययनमा संलग्न चिनियाँ शोधकर्ताहरूले ग्रेफाइटलाई षट्कोणीय हीरामा रूपान्तरण गर्ने नयाँ विधि प्रस्ताव गरे । नियन्त्रणयोग्य उच्च–तापक्रम, उच्च–दबाब र अर्ध–हाइड्रोस्टेटिक अवस्थाहरूमा तिनीहरूले ग्रेफाइट एकल क्रिस्टलहरूलाई सङ्कुचित र तताएर अन्ततः उच्च–शुद्धताको षट्कोणीय हीरा प्राप्त गरेका हुन् । षट्कोणीय हीरा संश्लेषण गर्ने पहिलेका प्रयासहरू अत्यन्त कडा गठन आवश्यकताहरूका कारण धेरै हदसम्म असफल भएका थिए । उच्च–तापक्रम र उच्च–दबाबको अवस्थामा अन्तिम परिणाम षट्कोणीय हीराको नभई घनाकार हीराको गठन हुने गर्छ । चिनियाँ अनुसन्धान टोलीले उच्च शुद्धता षट्कोणीय हीराको सफल संश्लेषणलाई उनीहरूको उच्च शुद्धता प्राकृतिक ग्रेफाइट एकल क्रिस्टलहरूको छनोटका साथै नमूनाहरूमा परिवर्तनहरू निगरानी गर्न उच्च–दबाव इन–सिटु एक्स–रे अवलोकनको प्रयोगलाई श्रेय दिइएको पेपरका लेखकहरूमध्ये एक र बेइजिङस्थित सेन्टर फर हाइ–प्रेसर साइन्स एन्ड टेक्नोलोजी एडभान्स रिसर्चका अनुसन्धानकर्ता याङ लिक्सियाङले बताए । यो अध्ययनले हीराजस्तै सामग्रीहरूमा भविष्यको अनुसन्धानका लागि पद्धतिगत आधार राख्छ । यो संश्लेषित षट्कोणीय हीराले सुपरहार्ड सामग्री र उच्च–अन्तका इलेक्ट्रोनिक उपकरणहरूको विकासका लागि नयाँ मार्गहरू प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।
जलवायु परिवर्तनको असर उड्डयन क्षेत्रमा देखिँदा नेपालको चिन्ता, क्षेत्रीय पहलको आह्वान
जापान । हवाई उड्डयन क्षेत्रमा जलवायु परिवर्तनको असर स्पष्ट रूपमा देखिन थालेकोप्रति नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एसिया–प्रशान्त क्षेत्रीय ६० औं महानिर्देशकस्तरीय सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जलवायु र उड्डयनबीचको सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराएका हुन् । ‘उड्डयन र वातावरण’ शीर्षकको सत्र सञ्चालन गर्दै अधिकारीले हिमाल पग्लनु, बाढी, हिमताल विस्फोट र अनिश्चित मौसमका कारण नेपालको उड्डयन क्षेत्रमा देखिएका समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै भने, 'नेपालले विश्वको कार्बन उत्सर्जनमा झिनो भूमिका निभाउँछ, तर असर सर्वाधिक हामीजस्तै मुलुकले भोग्नुपरेको छ ।' उनले उड्डयनलाई आर्थिक इञ्जिनका रूपमा चिनाए पनि यसले जलवायुमा पार्ने प्रभाव नकार्न नसकिने भन्दै अब वस्तुपरक, समन्यायिक र समावेशी समाधान खोज्नुपर्नेमा जोड दिए । नेपालजस्ता मुलुकका अनुभवलाई अन्तर्राष्ट्रिय नीतिमा स्थान दिनुपर्ने उनको आग्रह थियो । सत्रमा उनले नेपालले आफ्ना विमानस्थलहरूमा नवीकरणीय जलविद्युत प्रयोग गर्दै ‘हरित विमानस्थल’ को अवधारणा अगाडि सारेको जानकारी गराउँदै अन्य देशहरूलाई पनि समान न्यायोचित रूपान्तरण र नवप्रवर्तनमा जोड दिन आग्रह गरे । सम्मेलनमा भारत, इन्डोनेसिया लगायतका देशका प्रतिनिधिहरूले पनि उड्डयन क्षेत्रको दिगोपनाका लागि हरित नीति, वैकल्पिक इन्धन र क्षेत्रीय क्षमतावृद्धिमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । महानिर्देशक अधिकारीले सत्रको समापन गर्दै भने, 'हाम्रो उड्डयन गतिविधि सानो होला, तर हामीले भोगेका असरहरू साना छैनन् । समानता, नवप्रवर्तन, र साझा प्रतिबद्धता नै अगाडि बढ्ने मार्ग हुन् ।'
सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड भएको छ । नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई असार १३ गते देखि २७ गते सम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत माग गरिए भन्दा अधिक मात्रामा दरखास्त प्राप्त भएको थियो । उक्त निष्कासनमा प्राप्त आवेदकहरुको विवरण अनुसार बाँडफाँड समितिको बैठकले तयार पारेको बाँडफाँड तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा धितोपत्र बोर्डबाट कुनै कैफियत तथा निर्देशन प्राप्त नभएकोले सोहि तालिकालाई अन्तिम रुप दिइ धितोपत्र बोर्डको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम बिहीबार बाँडफाँड गर्ने कार्य सम्पन्न भएको छ । योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लिबजार, काठमाण्डौंमा योजना व्यवस्थापकका प्रतिनिधिहरु, कोष प्रवद्र्धकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग प्रतिनिधि तथा केही लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गर्ने कार्य सम्पन्न भएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने
काठमाडौं । निर्वाचन आयोगले दलहरूको स्वमूल्यांकन गर्ने भएको छ । त्यसका लागि आयोगले राजनीतिक दल स्वमूल्यांकनसम्बन्धि कार्यविधिको मस्यौदा तयार गरेको छ । मस्यौदाअनुसार दलहरुको स्वमूल्यांकनका लागि अंकभार प्रस्ताव गरिएको छ । आयोगले संगठनात्मक संरचनामा ६ वटा सूचकहरु राखेको छ । जसमा ८ अंकको अंकभार राखेको छ भने दलहरुले गरेको आन्तरिक व्यवस्थापनतर्फ १४ ओटा सूचकहरु राखेको छ । ती सूचकको अंकभार २२ राखिएको छ । दलको जिम्मेबारी अन्तर्गत ८ ओटा सूचकहरु राखिएको छ जसअन्तर्गत अंकभार १५ राखिएको छ । लैगिक तथा समावेशी व्यवस्थातर्फ ७ ओटा सूचकहरु राखिएको छ, जसको अंकभार १० तोकिएको छ । दलको कोष व्यवस्थापन र लेखा परीक्षण अन्र्तगत १५ ओटा सूचकहरु राखिएका छन् । जसको अंकभार आयोगले २० तोक्ने प्रस्ताव गरेको छ भने निर्वाचनामा सहभागिता र प्रतिनिधित्व सम्बन्धमा आयोगले १२५ ओटा सूचकहरु तोकेको छ । अंकभार १५ नै राखिएको छ । राजनीतिक दलसँग सम्बन्धित अन्य व्यवस्थातर्फ १० ओटा सूचक तोकिएको जसमा १० अंकभार राखिएको छ । स्वमूल्यंकन सूचकमा दलको संगठनात्मक संरचना तथा पदाधिकरी सम्बन्धि व्यवस्थामा विधानमा उल्लेख गरेको हुनुपर्ने, दलका केन्द्रिय तहका समितिहरु रहेको हुनुपर्ने, दलको प्रदेश÷स्थानीय तहका समितिहरु रहेको हुनुपर्ने, दलको संचीय र प्रदेश तहका समितिका पदाधिकारीको निर्वाचन प्रत्येक पाँच वर्षमा भएको हुनुपर्ने, संघीय सांसद् वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गरेको हुनुपर्ने सुचकहरु आयोगले निर्धारण गरेको छ । यी सूचकहरु पालना गरे, नगरेकोबारे आयोगले स्वमूल्यांकनका क्रममा हेर्नेछ । त्यस्तै, आन्तरिक व्यवस्थापनको सूचकमा दलले वितरण गरेको सदस्यको विवरण अद्यावधिक गरी राखे नराखेकोदेखि दलको नियमित बैठक भए/नभएसम्मको आयोगले हर्नेछ । दलको जिम्मबारी सूचकतर्फ दलको केन्द्रीय र प्रदेश समितिको पदाधिकारी हुनका लागि योग्यता तोकिएकोमा त्यो पूरा गरे ÷नगरेकोदेखि दलले वेवसाईटमार्फत दलका विवरण सार्वजनिक गरे/नगरेकोसम्म आयोगले हेर्नेछ । यस्तै दलको एक छुट्टै कोष रहे/नरहेको, दलको बैंक खाता सञ्चालन भए/नभएको, राजनीतिक दलले पच्चीस हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंकिङ चेक वा बैंकिङ ट्रान्सफरमार्फत मात्र गर्ने गरिएको छ वा छैन त्यसबारे पनि आयोगले स्वमूल्यांकनका क्रममा हेर्नेछ । यस्तै, दलले एक लाख रुपैयाँ भन्दाबढी सहयोग लिँदा सहयोग गर्ने व्यक्ति वा संगठनबाट त्यसको स्रोत खुलाउन लगाएको वा नलगाएकोबारे समेत हेर्नेछ । राजनीतिक दलको आन्तरिक कार्यविधिलाई व्यवस्थित गर्दै कामकारबाहीलाई पारदर्शी र जिम्मेवार बनाउनका लागि दल आफैंले आफ्नो मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्न संस्थागत प्रबन्धको लागि निर्वाचन आयोगले मस्यौदा तयार गरेको र सबैको सुझावलाई समेटेर कार्यविधिलाई अन्तिम रुपमा दिइने आयोगका अधिकारीहरुको भनाइ रहेको छ ।
पानी उमालेर मात्र पिउन उपभोक्तालाई महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । बर्खाको समयमा जताजतै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बिक्री गर्नसक्ने भन्दै कामपाले उपभोक्तालाई उमालेर मात्रै पिउने पानी प्रयोग गर्न आग्रह गरेको हो । कामपाका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले पानीजन्य जोखिम कम गर्नका लागि कामपाले पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको जनाउँदै उपभोक्ताले पनि पानी उमालेर मात्र पिउनुपर्नेमा जोड दिए । कामपाले गत असारमा मात्रै गरेको अनुगमनका क्रममा १५९ मापदण्डविपरीत पिउने पानी बोकेका जार नष्ट गरेको उनले जानकारी दिए । अनुगमनका क्रममा कामपाले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी सहरबासीको आवश्यकता पूरा गराउन पानीको प्रशोधित सेवा दिने व्यवसायीका सवारीसाधन तथा जारको नियमित अनुगमन गरिरहेको जनाएको छ । अनुगमनका क्रममा मापदण्डविपरीत भेटिएका जारलाई कामपाले अनुगमनकै क्रममा नष्ट गरेको विभागका प्रमुख न्यौपानेले उल्लेख गरे । कुच्चिएका, फुटेका र भित्रको पानी नदेखिने अपारदर्शी जार प्रयोग नगर्न पनि कामपाले सबैलाई आग्रह गरेको छ । कमजोरी पाइएका पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत प्रशोधित जार बिक्री नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिलबीजक गाडीमा लिएर हिँड्न निर्देशन दिइएको न्यौपानेले जानकारी दिए । त्यसैगरी, कामपाले हैजा नियन्त्रणका लागि समुदाय तहमा पुगेर नागरिकले पिउने पानीको नमूना परीक्षण गर्ने तयारी गरेको छ । पानीको नमूना परीक्षणसँगै कामपाको प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम सुरु गर्ने तयारी भइरहेको कामपा महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि ‘फोकल पर्सन’ ऋषि भुसालले जानकारी दिए । उनका अनुसार विगतको वर्षमा भन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमितजस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्नसक्ने अनुमान गर्दै कामपाले नियन्त्रणका लागि काम थालनी गर्न लागेको हो । यसअघिका वर्षहरूमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी भेटिएका थिए ।
एनआईसी एशिया बैंकका ग्राहकलाई 'लेट मेइन' मा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब कोरियन स्किन हस्पिटल 'लेट मेइन' मा विभिन्न सेवा तथा उत्पादनमा छुट सुविधा पाउने भएका छन् । बैंक र लेट मेइनबीच काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज तथा पोखराको चिप्लेढुंगामा सञ्चालित स्किन हस्पिटलका लागि सहकार्य सम्झौता भएको हो । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले लेट मेइनमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यसबाहेक, लेट मेइनमा उपलब्ध कोरियन सौन्दर्य उत्पादनहरूमा ग्राहकहरूले ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको लाभ लिन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ । बैंकले यो सहकार्यले ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउने मात्र नभई डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिएको जनाएको छ । यस विशेष छुट योजनाबाट सौन्दर्य तथा छाला सम्बन्धी सेवा लिने ग्राहकहरू लाभान्वित हुने बैंकको अपेक्षा छ ।
नेपालमा पहिलो पटक इन्टेलिजेन्ट इलेक्ट्रिक एसयूभी 'एमजी आईएम ६' सार्वजनिक, मूल्य ७५ लाख
काठमाडौं । एमजी आईएम ६ ईभी बुधबार सार्वजनिक भएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा एमजी आईएम ६ सार्वजनिक गरिएको हो । एमजी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सार्वजनिक गरेको हो । एमजी आईएम ६ नेपालमा सार्वजनिक भएको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक एसयूभी हो । लक्जरियस, नवप्रवर्तन र लामो रेन्ज क्षमताले आईएम ६ लाई एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी श्रृंखलाको प्रमुख मोडेल बनाएको छ । पारामाउन्ट मोटर्सका सुनीलबहादुर क्षेत्रीले एमजी आईएम ६ सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यो गाडीले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्ने बताए । उनले आईएम ६ ले बजारमा सजिलै प्रतिष्पर्धा गर्न सक्ने पनि दाबी गरे । क्षेत्रीले भने, ‘यो प्रिमियम एसयूभी हो, यसले बजारमा सजिलै प्रतिस्पर्धा गर्नसक्छ । यो गाडी किनेर कोही पनि पछुताउनु पर्ला जस्तो मलाई लाग्दैन ।’ उनले गाडी किनेर कोही पनि पछुताउन नपर्ने पनि बताए । सार्वजनिक गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। गाडी विभिन्न ६ कलरमा उपलब्ध छ । आईएम ६ मा डिजिटल चेसिस रहेको छ जुन उद्योगकै अग्रणी कम्पोनेन्टहरू प्रयोग गरी बनाइएको हो । यसले विलासी गुणस्तरको यात्रा अनुभव दिन्छ । आईएम ६ मा ७५ किलोवाट आवरको एलएफपी ब्याट्री राखिएको छ । जसले एकपटक चार्ज गर्दा ४५० किलोमिटरसम्मको रेन्ज दिने जनाइएको छ । गाडीमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसैगरी गाडीमा ४५० एनएम टर्क रहेको छ । गाडीमा अत्याधुनिक एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम रहेको छ । यसैगरी ३६० डिग्री क्यामेरासमेत जडान गरिएको छ । गाडीमा पाँच सिट क्षमता रहेको छ । आईएम ६ मा अत्याधुनिक ब्याट्री सुरक्षा प्रणाली छ, जसले थर्मल समस्याबाट गाडीलाई जोगाउँछ । गाडीमा रेइनी नाइट मोड र अन टच आईएड जस्ता स्मार्ट फिचरहरू रहेका छन् । पारामाउन्ट मोटर्सका अनुसार यो गाडी अहिले देशभरका सबै अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ तथा बुकिङका लागि उपलब्ध छ । गाडी अर्को सातादेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा पनि राखिने जनाइएकाे छ ।
२९१५ बिन्दुमा झर्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेर २९१५ बिन्दुमा झरेको छ । आज ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९० करोड रुपेयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ७१ करोड, हिमालयन डिस्टिलरीको ६८ करोड, शिवभ् सिमेन्टको ६५ करोड र लुम्बिनी विकास बैंकको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक, ट्रेड टावर र नेपाल फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।