निर्जीवन बीमाको व्यापार ६.७७ प्रतिशतले बढ्यो, २ कम्पनीको व्यापार खस्कियो
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूले ४३ अर्बभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गरेर ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । आव २०८१/८२ मा बीमा कम्पनीहरूले आर्जन गरेको व्यापार अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले बढेको छ । कम्पनीहरुले आव २०८०/८१ मा २८ लाख ४९ हजार ९३४ वटा बीमालेख जारी गर्दै ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । सबैभन्दा धेरै व्यवसाय भित्र्याउनेमा शिखर अगाडि गत आवमा शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले भने नेपाल इन्स्योरेन्स अगाडि रहेको छ । समीक्षा वर्षमा शिखर इन्स्यारेन्सले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको । जुन अघिल्लो वर्षको तुलनामा ५.९२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ४७ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । धेरै व्यवसाय भित्र्याउने दोस्रो कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले गत आवमा ५ अर्ब २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले आफ्नो व्यवसाय ४.४७ प्रतिशतले बढाएको छ । तेस्रो धेरे व्यवसाय आर्जन गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्यारेन्स रहेको छ । सिद्धार्थ प्रिमियरले गत आवमा ४ अर्ब ३१ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.१९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षमा कम्पनीले ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको व्यवसाय १०.१४ प्रतिशतले बढेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आवमा ३ अर्ब ८६ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । गत आवमा नेको इन्स्यारेन्सले ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड ४८ लाख रुपैयाँ, युनाइटेड अजोडले २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, सानिमा जीआईसीले २ अर्ब ७० करोड ३२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड ७४ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । दुई कम्पनीको व्यवसाय घट्यो समीक्षा वर्षमा राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको व्यापार घटेको छ । अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कुल बीमा संकलन गरेकोमा गत आवमा १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । समीक्षा वर्षमा कम्पनीको व्यापार १३.४८ प्रतिशतले घटेको हो । त्यस्तै, समीक्षा वर्षमा नेशनल इन्स्योरेन्सको व्यापार ११.४४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा गत आवमा १ अर्ब ६ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ ।
डिशहोम र सिद्धार्थ हस्पिटालिटीबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा
काठमाडौं । डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गरेको छ । यस साझेदारीअन्तर्गत डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २० प्रतिशत छुट तथा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन् । डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत आवासमा २० प्रतिशत छुट र फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट रहेको छ । ‘सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो र यस साझेदारीमार्फत हामीले हाम्रो ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौं,’ डिशहोमका सीईओ तारा मानन्धरले बताए । डिशहोम भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि माइ डिशहोम एपमा उपलब्ध छ। ग्राहकहरूले एपमार्फत कार्ड हेरी सबै सहभागी आउटलेटहरूको सूची हेर्न सक्ने र सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा कार्ड देखाएर छुट लिन सक्ने जनाइएको छ।
रसुवाको चन्दनबारीमा नेपाल टेलिकमको टुजी सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले दुर्गम भेगसम्म दूरसञ्चार सेवा विस्तार गर्ने अभियानअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा पर्ने चन्दनबारीमा टुजी बीटीएस सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा रहेको उक्त क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले विशेष महत्त्व बोकेको छ। धार्मिक तीर्थस्थल गोसाइँकुण्ड जाने तिर्थालु र पदयात्रीलाई लक्षित गर्दै टेलिकमले धुन्चेदेखि गोसाइँकुण्डसम्मको पदमार्गमा पर्ने चन्दनबारीमा सेवा सञ्चालन गरेको हो । नयाँ टुजी सेवा सञ्चालनसँगै धुन्चे, देउराली, चन्दनबारी, लौरीविनायक हुँदै ४ हजार २०० मिटर उचाइमा रहेको गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको कम्पनीले जनाएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा लाग्ने मेलामा हजारौं श्रद्धालु पुग्ने गर्दछन्। नयाँ सेवा सञ्चालनले तीर्थालु, पर्यटकसहित स्थानीय बासिन्दालाई सञ्चारमा सहजता पुग्ने विश्वास गरिएको छ । नेपाल टेलिकमले हिमाली तथा विकट क्षेत्रमा सेवा विस्तार गर्ने सरकारको नीतिअनुरूप कम प्रतिफल र उच्च लागतका बाबजुद पनि यस्तो सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ । आगामी दिनमा उच्च हिमाली क्षेत्रतर्फ फोरजी नेटवर्क सेवा विस्तार गर्ने योजना समेत रहेको टेलिकमले जानकारी दिएको छ।
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
मध्यविन्दु (नवलपरासी) । बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका- २ दाउन्ने खण्ड अवरुद्ध भएको हो । दाउन्नेको पैसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए । लगातारको वर्षाले गत सोमबार बिहानदेखि अवरुद्ध भएको दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुनःअवरुद्ध हुने गरेको छ । आज बिहानदेखि सडक पुनःअवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा ट्रकहरू फसेर समस्या हुने गरेको छ,’ उनले भने, ‘पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले धेरै समस्या हुने गरेको छ ।’ दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका- २ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ । बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।
कपिलवस्तुको जनता क्याम्पस अध्यक्षमा विष्णु पौडेल
काठमाडौं । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालीका वडा नम्बर २ पिपरामा रहेको जनता क्याम्पसको सञ्चालक समिति अध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भएका छन् । वाणगंगा नपा वडा नम्बर २ का वडाअध्यक्ष तथा बाणगंगा नगरपालिकाका प्रवक्ता समेत रहेका पौडेलको अध्यक्षतामा १५ सदस्यीय क्याम्पस सञ्चालक समिति गठन गरिएको स्थानीय समाजसेवी गोपाल खरेलले जानकारी दिए । समितिको उपाध्यक्षमा रत्नबहादुर कार्की चयन भएका छन् । सदस्यहरूमा हरिप्रसाद पाण्डे, रमेश पन्थी, हरिप्रसाद घिमिरे, कृष्ण गैरे, शिवकुमार कार्की, कृष्णबहादुर कार्की, भीमसेन कार्की, नवराज बैदाली, विष्णुमाया थापा र उदयराज चौधरी चयन भएको खरेलले बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयको सम्बन्धनप्राप्त उक्त क्याम्पसमा बीबीए इन कृत्रिम बौद्धिकता (एआई )पढाइ हुने बताइएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबारका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला २ हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला २ हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।
रुसी छुट, अमेरिकी शुल्क र भारतको कठिन तेल यात्रा
काठमाडौं । यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका अमेरिकी निर्यातमाथि थप २५ प्रतिशत शुल्क लगाएका छन्, जसले कुल शुल्क ५० प्रतिशत पुर्याएको छ । उनले भारतको रुसी तेल खरिदलाई कारण दिँदै मंगलबार भने, ‘उनीहरू रुसी तेल किनिरहेका छन् जसले युद्ध मिसिनलाई इन्धन दिइरहेका छन् र यदि उनीहरू यस्तो गर्दैछन् भने... म खुसी हुने छैन ।’ भारतले रुसबाट आउने कच्चा तेल किनेको भन्दै अमेरिकाले शुल्कको चेतावनी दिएपछि भारतका लागि यो सुलभ स्रोत जोखिममा परेको छ । ‘यद्यपि अमेरिका भारतलाई रुसमाथि दबाब दिन आग्रह गरिरहेको छ, उसले नरम नीति अपनाइरहेको छ,’ रिस्टाड इनर्जीका प्रमुख तेल विश्लेषक मुकेश सहदेवले बताए । ‘हामीले देखिरहेको कुरा के हो भने भू-राजनीतिक खिचातानीले तेलका आधारभूत सिद्धान्तहरूलाई कमजोर बनाइरहेको छ,’ उनले भने । अन्ततः भारतको रुसी तेल खरिद न त प्रतिबन्धित छ, न त नयाँ अभ्यास हो । नयाँ दिल्लीले अघिल्लो पटक जी सेभेनले तोकेको मूल्य सीमाभित्र कच्चा तेल खरिद गर्दा पश्चिमी शिपिङ र बीमा उपकरण प्रयोग गर्न ह्वाइट हाउसबाट अनुमति पाएको थियो– जसको उद्देश्य विश्वव्यापी आपूर्ति संकट रोक्नु र मस्कोको युद्धकोष घटाउनु थियो। अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्दै भारतीय अधिकारीहरूले यो खरिदलाई राष्ट्रिय हितको विषय भन्दै बारम्बार बचाउ गरेका छन् । ‘हामी जहाँबाट सकिन्छ, त्यहींबाट खरिद गर्छौं । हाम्रो प्रतिबद्धता भारतीय उपभोक्तासँग छ,’ भारतीय पेट्रोलियममन्त्री हरदीप सिंह पुरीले जुलाईमा सीएनबीसीका ड्यान मर्फीलाई बताएका थिए । ‘युक्रेन युद्धको कारणले जी सेभेन देशहरूले रुसी तेलमा प्रतिबन्ध लगाउँदा हामीलाई हाम्रो अमेरिकी मित्रहरूसहित रूसी तेल किन्न सल्लाह दिएका थिए तर मूल्य सीमा भित्र रही,’ उनले थपे । उनीका अनुसार व्यवहारमा रुसबाट खरिद गरेर भारतले विश्व अर्थतन्त्रमा तेल मूल्यलाई स्थिर पार्न मद्दत गर्यो र यसैले विश्व स्थायित्वमा योगदान पुर्यायो । यदि भारतले आजैदेखि रुसी कच्चा तेल किन्ने कार्य रोक्ने हो भने ‘विश्वभरको कच्चा तेल मूल्य प्रतिब्यारेल २०० डलरभन्दा माथि जान सक्छ,’ एक भारतीय पेट्रोलियम स्रोतले बताए । तेल आयातमा विश्वको तेस्रो ठूलो देश भारतको परिष्करण क्षमता करिब ५.२ मिलियन ब्यारेल प्रतिदिन छ– जसमा जामनगर प्लान्ट मात्रबाट १.२४ मिलियन ब्यारेल प्रतिदिन उत्पादन हुन्छ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले २०३० सम्म भारतको मागमा थप १ मिलियन ब्यारेल प्रतिदिनको वृद्धिको भविष्यवाणी गरेको छ । धेरै भारतीय परिष्करण कारखानाहरू उच्च सल्फरयुक्त कच्चा तेल प्रशोधन गर्न अनुकूल बनाइएको छन्- जस्तै पर्सियन गल्फ र रुसको उरल्स क्षेत्रबाट आउने तेल। यद्यपि रुसी तेल बाल्टिक र ब्ल्याक सागरका टाढा बन्दरगाहहरूबाट लोड गरिन्छ, जसले गर्दा युक्रेनयुद्ध अघिको समयमा यो लाभदायक विकल्प थिएन । भारतले कहिलेकाहीं रुसी तेल लिइरहन्थ्यो– तर केप्लरअनुसार सन् २०२१ मा भारतले दैनिक औसत १ लाख ब्यारेल ल्याउँथ्यो भने २०२५ मा यो संख्या १७.९६ लाख पुगेको छ । युरोपेली ग्राहकहरूको माग घटेसँगै रुसले दिएको भारी छुटले भारतलाई आकर्षित गर्यो । साथै जहाँ मध्यपूर्वीय तेलहरू प्रायः दीर्घकालीन सम्झौतामा आधारित हुन्छन्, रुसी तेलहरू स्पट बजारमा बेचिन्छन्– जसले मात्रा, ढुवानी र मूल्यमा मोलतोलको सुविधा दिन्छ । केपलरका प्रमुख विश्लेषक सुमित ऋतोलियाका अनुसार, ‘भारतीय परिष्करणकर्ताहरूले यी ग्रेडहरूको लागि आफ्नो प्रणाली परिमार्जन गरेका छन्, विशेषगरी जटिल प्लान्टहरूमा जुन माध्यमिक गन्धकयुक्त तेलहरूबाट उच्च उत्पादन दिन डिजाइन गरिएका छन् ।’ ‘रूसी तेललाई पूरै प्रतिस्थापन गर्नु सजिलो काम होइन– यो कार्य लगिस्टिक रूपमा कठिन, आर्थिक रूपमा पीडादायक र भू-राजनीतिक रूपमा जटिल छ,’ उनले थपे। भारतको केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न आर्थिक वृद्धिमा असर नपार्ने उपाय खोजिरहेको छ । युरोपमा रुसी तेलको वैकल्पिक खोजी गर्दा देखिएको जस्तै मूल्यवृद्धिले भारतलाई पनि असर गर्न सक्छ । तर कठिन भनेको असम्भव भने होइन । सीएनबीसीका अनुसार भारतका परिष्करणकर्ताहरूले स्पट बजारमा तेल किन्न ‘धेरै टेन्डर’ जारी गरेका छन् । तेस्रो स्रोतका अनुसार रुसी छुट यति आकर्षक छ कि भारत र चीनले तत्कालै आपूर्ति छोड्ने सम्भावना छैन– र यदि भारतले रुसी तेल कम लिन्छ भने चीनले त्यो भाग सम्हाल्न सक्नेछ । भोर्टेक्साका विश्लेषक इभान म्याथ्युजका अनुसार, ‘मध्यपूर्वीय तेल प्रायः दीर्घकालीन सम्झौतामा खरिद गरिन्छ, त्यसैले तत्काल थप खरिद गर्न लचकता हुँदैन । त्यसैले भारतले पश्चिम अफ्रिका र दक्षिण अमेरिका तर्फ मोडिन सक्छ ।’ ‘अमेरिकाबाट आयात बढ्छ कि बढ्दैन भन्ने कुरा अमेरिकी शूल्क र व्यापार वार्ताको सन्दर्भमा हेर्न बाँकी छ,’ उनले थपे । प्रायः अमेरिकी तेल कम सल्फरयुक्त हुन्छ। केप्लरका अनुसार भारतले जनवरीदेखि जुलाईसम्म दैनिक औसत २ लाख ८५ हजार ब्यारेल अमेरिकी तेल लिएको थियो । अब हेर्न बाँकी छ– भारतले ट्रम्पको कुरा सुन्छ कि सुन्दैन र रुसी तेललाई पूर्ण रूपमा बहिष्कार गर्छ कि गर्दैन । यद्यपि, ओपेक प्लसका एक सदस्यका अनुसार सेप्टेम्बर उत्पादन वृद्धि गर्ने निर्णय लिँदै गर्दा रुसी आपूर्तिको अनिश्चितता पनि विचारमा राखिएको थियो । रिस्टाडका सहदेवले भने, ‘हाल आपूर्तिको जोखिम मागमाथिको अमेरिकी शूल्क दबाबभन्दा बढी देखिन्छ। अमेरिका अहिले एकैसाथ धेरै ब्रिक्स राष्ट्रहरूसँग उल्झिरहेको छ– जुन रणनीति वाशिङ्टनबाट अपेक्षित स्थायित्व र स्पष्टतामा बाधा हुन सक्छ ।’ ट्रम्पले सीएनबीसीसँगको टेलिफोन कुराकानीमा भने, ‘हामी भारतसँग निकै थोरै व्यापार गर्छौं, किनभने तिनका शूल्कहरू धेरै उच्च छन् ।’ भारतका पूर्व वित्तसचिव सुभाष गर्गका अनुसार अमेरिका–भारतबीच व्यापार सम्झौता हुने सम्भावना कम छ किनभने तिनीहरूको प्राथमिकतामा गहिरो मतभेद छन् । उनले भारतलाई चीनसँगको आर्थिक सम्बन्ध पुनर्विचार गर्न सल्लाह दिएका छन् । फिडेलिटी इन्भेस्टमेन्ट्सका जुरियन टिमरका अनुसार भारतीय बजारले विकासको सम्भावना देखाउँछ र चीनको जस्तो व्यवहार गर्दैन । जान्नैपर्ने कुरा ट्रम्पले भारतमाथि थप २५ प्रतिशत शुल्क घोषणा गरेका छन्, जसले अमेरिकी निर्यातमाथिको कुल शुल्क ५०५ पुर्याएको छ । रुसी तेल किनेर भारतले ‘युद्ध मिसिनलाई इन्धन दिएको’ आरोप लगाइएको छ । रुसी तेल छाडेमा विश्व बजारमा कच्चा तेलको मूल्य २०० डलर प्रति ब्यारेलभन्दा बढी पुग्न सक्छ । यूबीएसका अनुसार भारतको ८ अर्ब डलर बराबरको निर्यात उच्च शुल्कको जोखिममा छ। यद्यपि भारतको जम्मा २ प्रतिशत निर्यात मात्र अमेरिका जान्छ । सिरियामाथि अमेरिकाको ‘४१ प्रतिशत ट्यारिफ’ , सिरियाको ‘पुन:निर्माण यात्रा’ असजिलो बनाउँदै ट्रम्प
विदेशी सेवा भुक्तानी सजिलो बनाउँदै राष्ट्र बैंक, अब ८ हजार अमेरिकी डलरको सटही सुविधा पाइने
काठमाडौं । राष्ट्र बैंकले भारत बाहेकका मुलुकबाट हुने सेवा वस्तु आयात बाहेकका आयातमा प्रदान गर्दै आएको डलर सटही सुविधा बढाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र, २०८१ लाई संशोधन गर्दै भारत बाहेकका मुलुकबाट हुने सेवा आयातका लागि अब एक पटकमा ८ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा सम्मको लागि सटही सुविधा दिने भएको हो । नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले प्रतिपटक अमेरिकी डलर ८ हजार भन्दा बढीको विदेशी विनिमयमा दायित्व सृजना हुनेगरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नुपरेमा वा सेवा बापतको भुक्तानी गर्नुपर्ने भएमा नियामक निकायबाट स्वीकृति वा सिफारिस प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै राष्ट्र बैंकले एक पटकमा अमेरिकी डलर १५ हजार भन्दा बढी रकमको सेवा आयात गर्दा नियामक निकायको सिफारिस लिनुपर्ने व्यवस्था गरेको छ । यसअघि १२ हजारभन्दा बढी रकमको सेवा आयात गर्दा मात्र नियामक निकायको सिफारिस लिनुपर्ने व्यवस्था थियो । त्यस्तै, नयाँ संशोधितव्यवस्थाअनुसार राष्ट्र बैंकको स्वीकृतिमा अमेरिकी डलर १५ हजार भन्दा माथिको भुक्तानीका लागि भने नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति अनिवार्य चाहिने छ । नियामक निकाय नभएको वा सिफारिस हुन नसकेको अवस्थामा अमेरिकी डलर ८ हजार भन्दा बढीको भुक्तानीका लागि पनि विभागको स्वीकृति आवश्यक पर्ने केन्द्रीय बैंकले जनाएको छ । यस्तै, सेवा आयात गर्दाको हकमा प्रति पटक अमेरिकी डलर १५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा भन्दा बढी रकमको विदेशी मुद्रा अग्रिम भुक्तानी गर्नुपर्ने भएमा विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्नेछ । विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षाको लागि सेवा आयात गर्न पनि १५ हजार डलरसम्मको लागि सटही सुविधा दिने भएको छ । यस्तो भुक्तानीका लागि राष्ट्र बैंकको स्वीकृत नचाहिने र तोकेको शर्तहरू पूरा गरेपछि वाणिज्य बैंकहरूले नै दिन सक्नेछन् । राष्ट्र बैंकको परिपत्रमा भनिएको छ- विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षा वा मानकीकृत परीक्षणहरू आईईएलटीएस, टोफेल, पीटीई, जिआरई, जीम्याट, स्याट को सेवा आयात नेपाली संस्थाले गर्दा त्यसको भुक्तानीको लागि प्रतिपटक १५ हजार अमेरिकी डलरसम्मको सटही सुविधा तोकेको कागजातको आधारमा वाणिज्य बैंकले प्रदान गर्न सक्नेछन् । यसको लागि नियामक निकायको सिफारिस अनिवार्य हुनेछैन । यस्तै, केन्द्रीय बैंकले निर्यात प्रयोजनको लागि प्राप्त रकमको अग्रिम भुक्तानी प्रमाणपत्र जारी गरी निर्यातकर्तालाई रकम भुक्तानी दिनुपर्ने व्यवस्था लागू गरिएको छ । यसअघि निर्यात रकम भित्रिई अग्रिम भुक्तानी प्रमाणपत्र जारी नभएकाको हकमा २०८२ पुस मसान्तभित्र अग्रिम भुक्तानी प्रमाणपत्र जारी गर्न बाधा नपर्ने सो परिपत्रमा उल्लेख छ । संशोधित व्यवस्थामा सेवा आयातको भुक्तानीका लागि स्थायी लेखा नम्बर पनि अनिवार्य समेत गरिएको छ । भ्रमण, औषधोपचार, उच्च शिक्षा अध्ययन लगायतका लागि आवश्यक पर्ने सटही सुविधा पनि आवश्यकता र औचित्यको आधारमा प्रदान गरिने व्यवस्था गरिएको छ । विदेशी संस्थाबाट जारी कागजात पेश गर्दा भने प्रमाणीकरण अनिवार्य रहेको छ । राष्ट्र बैंकले परिवत्र्य विदेशी मुद्रामा इजाजत प्राप्त वाणिज्य बैंक, विकास बैंक तथा पूर्वाधार विकास बैंकलाई अन्तर बैंक कारोबार गर्न अनुमति दिएको छ, जसको अधिकतम अवधि ७ दिनसम्म तोकिएको छ । नेपाली बीमा कम्पनीहरूले भारतबाट एक्चुअरी, सर्भे र भ्यालुएसन जस्ता विशेषज्ञ सेवाका लागि प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिनेगरी समेत व्यवस्था भएको छ । ‘नेपाली बीमा कम्पनीहरूले विशेषज्ञ सेवाहरु एक्चुअरी, सर्वे र भ्यालुएसन लगायतका लागि प्राकृतिक व्यक्तिलाई गर्नु पर्ने भुक्तानीको सटही सुविधाको लागि नेपाल बीमा प्राधिकरणको सिफारिससमेतको आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्नेछन्,’ राष्ट्र बैंकको संशोधित निर्देशनमा भनिएको छ ।