सिटिजन्स बैंकको नाफा १.२९ अर्ब रुपैयाँ, वितरणयोग्य नाफा २६.४५ प्रतिशत बढ्यो
काठमाडौं । सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप संकलन ११.७६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ८९ अर्ब २३ करोड ६६ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्ष बैंकको कर्जा लगानी १०.१८ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५३ अर्ब ३४ करोड ३६ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७२ करोड ३८ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकको सेवाशुल्क तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ३४ करोड ७० लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.१२ प्रतिशत बढेर ८ अर्ब १२ करोड ४४ लाख १० हजार रुपैयाँ, सञ्चालन नाफा २.३२ प्रतिशत घटेर २ अर्ब ९ लाख ७५ हजार रुपैयाँ गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २६.४५ प्रतिशत बढेर ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ५.२५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ३२ लाख ४२ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता ४.३२ प्रतिशत थियो । गत वर्ष बैंकको चुक्ता पुँजी ३.९९ प्रतिशत बढेर १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ र जगेडा कोष ९.६० प्रतिशत बढेर ७ अर्ब ४० करोड ९४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी, खुद शुल्क तथा कमिसन आम्दानी, खुद व्यापारिक आम्दानी, अन्य सञ्चालन आम्दानीमा केही वृद्धि, कर्मचारी खर्चमा केही कमी र अन्य सञ्चालन खर्च र परिशोधन तथा ह्रास खर्चमा केही वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धिका कारणले खुद नाफामा गत वर्षको सोही त्रैमासको तुलनामा कमी आएको बैंकले जनाएको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ०.५४ रुपैयाँ घटेर ८.७६ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ९.३० रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १५५.४२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ । अघिल्लो वर्ष ४.१० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.९४ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ५.८१ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.९४ प्रतिशत, आधार दर ६.२५ प्रतिशत र कस्ट अफ फण्ड ४.४९ प्रतिशत रहेको छ । व्यवसाय विविधिकरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको उद्देश्य तथा स्थानीय तहका दुर्गम क्षेत्रमा खोलिएका शाखा, शाखा रहित बैंकिङ्ग, विस्तारित काउन्टर र डिजिटल सेवा सुविधाका विभिन्न माध्यमबाट ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच वृद्धि गर्दै लैजाने, ग्राहक मुखी नयाँ सेवा तथा सुविधामा आवश्यकता अनुसार वृद्धि गर्ने र ग्राहक सेवा सुविधा अझ चुस्त दुरुस्त र स्तरीय बनाउँदै लगिने योजना रहेको बैंकको भनाइ छ ।
विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका
दमौली (तनहुँ) । म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि विपन्नलाई घर निर्माण गर्ने भएको छ । गाउँपालिकाले चालु आव २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको विशेष अनुदान योजनाअन्तर्गत अधिकतम १२ जना आर्थिक रूपमा विपन्न नागरिकलाई घर बनाएर हस्तान्तरण गर्न लागेको हो । नमुना आवास कार्यक्रमअन्तर्गत अधिकतम १२ वटा घर निर्माण गर्ने निर्णय अनुसार गाउँपालिकाका वडा नम्बर १ देखि वडा ७ मा रहेका लक्षित गाउँपालिकाको आर्थिक विपन्न वर्गलाई नमूना आवास कार्यक्रम कार्यविधि (२०८० को दफा (३) अनुरूप मापदण्ड तथा सूचीभित्र पर्ने स्थानीय नागरिकलाई घर बनाएर हस्तान्तरण गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । निवेदनसँग जग्गाधनी प्रमाणपुर्जा प्रतिलिपि, नागरिकताको प्रतिलिपि तथा सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिस संलग्न गर्नुपर्ने अधिकारीले बताए । नयाँ आवास पाउने नागरिकको मापदण्डभित्र सामान्य प्रकृतिका श्रम (दैनिक जीविकोपार्जन गर्ने तथा कृषिमा आधारित) बाहेक परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो आयस्रोत नभएको वा अति गरिब तथा न्यून वर्गमा पर्नुपर्नेछ । त्यस्तै विगत आव २०८१/८२ मा निवेदन दर्ता गरी छनोटमा नपरेका व्यक्तिले पुनः निवेदन दिनुपर्ने अधिकारीको भनाइ छ । म्याग्दे गाउँपालिकाले गत आव २०८१/८२ मा ४८ जना विपन्न जनतालाई घर हस्तान्तरण गरेको थियो । वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत आर्थिक रूपमा विपन्न वर्गलाई नमूना आवास कार्यक्रमअन्तर्गत आवास निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिएको थियो । म्याग्देका सात वटै वडाबाट छानिएका अतिविपन्न व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिएको थियो । घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य रहेका परिवारलाई लक्षित गर्दै आवास कार्यक्रम सञ्चालन गरिएको अधिकारीको भनाइ छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा घर निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिए । घर पाएका लाभग्राहीले दश वर्षसम्म ती घर बेचबिखन, धितो राख्न वा भाडामा दिन नपाउने व्यवस्था गरिएको छ । आफू निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० वटा घर बनाउँछौँ भन्ने प्रतिबद्धताअनुसार अहिलेसम्म ४८ वटा घर बनेको श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले नेपालको संविधानमा आवासको हकलाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरिएको हुँदा नागरिकको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको गाउँपालिकाले उक्त आवासको हक कार्यान्वयन गरेको बताए । रासस
प्रधानमन्त्री ओली स्वदेश फिर्ता, कांग्रेस पार्टीका मन्त्रीले गरे स्वागत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गरे । सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना भएको हो । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा उनले एक उच्चस्तरीय गोलमेच बैठकको सह अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा सम्बोधन गरेका थिए । एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्टित विकासशील देशले सो सम्मेलनमा भाग लिएका थिए । सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्टित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल भएको जनाइएको छ । ती मुलुकको अन्तर्राष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्टित विकासशील देशहरूले अन्तर्राष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना गरिरहेका छन् । प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको छ । सम्मेलनले सदस्य राष्ट्रहरूले झेल्नु परिरहेको समस्या समाधानका लागि रणनीतिक साझेदारीसहित लगानी वृद्धि गरी चुनौती सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आँकलन गर्न सहयोग पुर्याउने ठानिएको छ । यसैगरी यी देशलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न सम्मेलनको भूमिका बनेको छ । यसअघि भूपरिवेष्टित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अष्ट्रियाको भियनामा भएको थियो । करिब १० वर्षअघि भएको सो सम्मेलनमा ‘अल्माटी कार्ययोजना कार्यान्वयनको समीक्षासहित नयाँ र उदीयमान चुनौतीको सामना गर्न साझेदारी र अवसरका सन्दर्भमा अन्तर्राष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरू’का विषयमा छलफल भएको थियो । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा दिव्यासिंह शाह,उच्च पदस्थ सरकारी अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मीसमेत सहभागी भएका थिए ।
आज जनै पूर्णिमा रक्षा बन्धन धारण गरेर मनाइँदै, राखी बाँधिँदै
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधि पूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसकारण रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षा बन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षा बन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षा बन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायक लगायत वाग्मती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । क्वाँटीको परम्परा जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायाममा खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघा खोकीजस्ता रोग पनि निको हुने उनले सुनाए । तराई क्षेत्रमा राखी बाँधिँदै नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ । काठमाडौंको उत्तर पूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुष सागर र गङ्गासागर, जुम्लाको दान साधु एवं नवलपरासीको त्रिवेणी धामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज बिहानैदेखि मेला लाग्ने गर्छ ।
कोशी र बागमतीमा भारी वर्षा हुने, मनसुन पश्चिममा नेपालको तराई नजिक
काठमाडौं । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भाग र मधेश प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
उच्च भन्सार शुल्क लगाउने ट्रम्पको घोषणापछि पुटिनसँग मोदीको वार्ता, भने- भारतमा स्वागत छ
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार टेलिफोनमार्फत अत्यन्तै सौहार्दपूर्ण र फलदायी संवाद भएको जानकारी दिएका छन् । उक्त वार्तामा युक्रेनको ताजा परिस्थितिबारे छलफल हुनुका साथै भारत-रुस द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि विचारविमर्श भएको बताइएको छ । ‘मेरो मित्र राष्ट्रपति पुटिनसँग अत्यन्तै राम्रो र विस्तृत संवाद भयो । युक्रेनसम्बन्धी पछिल्ला घटनाक्रमहरूबारे जानकारी दिएकोमा म उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री मोदीले भने, ‘म यस वर्षको उत्तरार्द्धमा उहाँलाई भारतमा स्वागत गर्न प्रतीक्षारत छु ।’ उक्त संवाद यस्तो समयमा सम्पन्न भएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि उच्च भन्सार शुल्क लागू गर्ने निर्णय सार्वजनिक गरेका छन् । राष्ट्रपति ट्रम्पले बुधबार भारतले रुसी तेलको आयातलाई कारण देखाउँदै भारतीय वस्तुहरूमाथि लाग्ने भन्सार दर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गरेका थिए । युक्रेनसँगको युद्धमा रुसी तेललाई प्रमुख आर्थिक स्रोत मानिन्छ । बिहीबारदेखि प्रारम्भिक रूपमा २५ प्रतिशत भन्सार लागू भइसकेको छ भने बाँकी थप २५ प्रतिशत आगामी तीन हप्ताभित्र लागू हुने तय गरिएको छ । भारतले रुसी तेल आयातबाट अर्बाैं डलर बचत गर्दै आन्तरिक इन्धन मूल्यलाई स्थिर राख्न सफल भएको छ, जसले आम नागरिकलाई राहत मिलेको छ । रुस भारतको प्रमुख रक्षा साझेदार रहँदै आएको छ र दुबै राष्ट्र बीचको मित्रवत् सम्बन्धको इतिहास सोभियत संघकालदेखि नै गहिरो रहेको छ । यसैबीच, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बिहीबार मस्कोमा राष्ट्रपति पुटिनसँग शिष्टाचार भेट गरेका थिए । क्रेमलिनले राष्ट्रहरूलाई रुससँग व्यापारिक सम्बन्ध तोड्न बाध्य पार्ने प्रयासहरूलाई ‘अवैध’ भनी टिप्पणी गरेको छ, यद्यपि त्यसमा कुनै राष्ट्रको नाम उल्लेख गरिएको छैन । क्रेमलिनका अनुसार, राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच युक्रेनसम्बन्धी शिखर वार्ता आगामी केही दिनभित्र हुने अपेक्षा गरिएको छ ।
जापानमा घरेलु खर्च १.३ प्रतिशत कढ्यो, गाडी र विद्युत् महसुलमा उच्च
काठमाडौं । जापानमा घरेलु खर्च गत वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले वृद्धि भएको छ, जुन लगातार दोस्रो महिना वृद्धि भएको देखिएको हो । गाडी किन्न र विद्युत् महसुलमा गरिएको खर्चले यो वृद्धि सम्भव भएको जापानी सरकारले जनाएको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, दुई वा दुईभन्दा बढी सदस्य भएका परिवारले औसत २ लाख ९५ हजार ४१९ येन (करीब २ हजार अमेरिकी डलर) खर्च गरेका थिए । विभागका अनुसार, यातायात र सञ्चार क्षेत्रमा खर्च ८.६ प्रतिशतले बढेको छ भने ऊर्जा र पानीमा गरिएको खर्च ६.३ प्रतिशतले वृद्धि भएको छ । यो गर्मीको मौसममा एयर कन्डिसनरको बढी प्रयोगका कारण भएको बताइएको छ । तर, खाद्यान्नमा खर्च भने २.१ प्रतिशतले घटेको छ, जुन पछिल्ला तीन महिनामा पहिलो गिरावट हो। विशेष गरी चामलको खर्चमा १२.१ प्रतिशतको गिरावट आएको छ, जसको कारण सरकारले यसअघि आफ्ना भण्डारबाट चामल रिलिज गरेपछि उपभोक्ताहरूले सस्तो वा कम चामल किनेको मानिएको छ । घरेलु खर्च जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधाभन्दा बढी हिस्सा ओगट्ने भएकाले, यसलाई देशको निजी उपभोगको प्रमुख सूचकका रूपमा लिइन्छ ।
मलेसियामा ५८ प्रतिशतले एआई प्रयोग गर्छन् किनमेलमा
काठमाडौं । मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धि मत्ता (एआई) प्रयोग गर्न तिव्र रूपमा आकर्षित भइरहेका छन् । हालै सार्वजनिक भएको एक सर्वेक्षणअनुसार ५८ प्रतिशत मलेसियालीले किनमेल गर्दा कृत्रिम बुद्धि मत्ताको सहारा लिने गरेका छन्, जुन संख्या विश्वको औसत ३७ प्रतिशतभन्दा धेरै हो । आद्येन खुद्रा प्रतिवेदन २०२५ अनुसार, मलेसियाली उपभोक्ताहरू किनमेल गर्दा नयाँ वस्तुका बारेमा जानकारी लिन, सुझाव पाउन तथा राम्रो निर्णय गर्न कृत्रिम बुद्धि मत्ताको प्रयोग गर्दै आएका छन् । सर्वेक्षणले मलेसियामा ७१ प्रतिशत व्यक्तिहरूले भोजन, लुगा तथा अन्य सामानको विचार लिन कृत्रिम बुद्धि मत्ताले सहयोग गरेको देखाएको छ । यस्तै, ६९ प्रतिशतले आफूले नचिनेका नयाँ सामग्री र ब्रान्ड चिन्न यसले मद्दत गरेको बताएका छन् । त्यस्तै, १८ प्रतिशतले आफूले कल्पना गरेको उत्कृष्ट वस्तुको विचार कृत्रिम बुद्धि मत्ताबाट पाएको बताएका छन्। साथै, ६० प्रतिशतले भविष्यमा यस्ता उपकरणमार्फत सिधै सामान खरिद गर्न इच्छुक रहेको बताएका छन् । प्रतिवेदनमा भनिएको छ,“हामी अहिले सहज प्रविधिबाट बुद्धिमान प्रविधितर्फ जाँदैछौ । अबको समयमा कृत्रिम बुद्धिमत्ता व्यक्तिगत किनमेल सहायकका रूपमा कार्य गर्नेछ- जसले लुगा मिलाउने, नयाँ सामग्री देखाउने र व्यक्तिगत रूपमा सुझाव दिने कार्य गर्नेछ ।’