साझाका ५ वटा सटल बस काठमाडौंदेखि नारायणगढसम्म
काठमाडौँ । दशैंको बेला उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सहजता प्रदान गर्न साझा यातायातले सटल बस सेवा सञ्चालनमा ल्याएको छ । यस वर्ष सवारीसाधनको कमी हुने र सडकको अवस्था पनि बिग्रिएको हुनसक्ने भएकाले यात्रुहरूलाई सुरक्षित र व्यवस्थित यात्रा गराउने उद्देश्यले यो सेवा सुरु गरिएको साझा यातायातले जनाएको छ । साझा यातायाताका अनुसार काठमाडौं-नारायणगढ रुटमा मात्रै यो सेवा उपलब्ध हुनेछ । मंगलबारदेखि सुरु भएको यो सेवा दशैंअवधिभरि जारी रहनेछ । दैनिक पाँचवटा बसले यो रुटमा सेवा दिनेछन् । बसहरू हरेक दिन बिहान ७ बजेदेखि प्रत्येक एक घण्टाको फरकमा कलंकीबाट छुट्ने छन् । साझाका अनुसार बिहान ७ बजे, ८ बजे, ९ बजे, १० बजे, ११ बजे र १२ बजेसम्म बसहरू काठमाडौंबाट प्रस्थान गर्नेछन् । यात्रुले सिटमा मात्र बस्न पाउने, उभिएर वा मुडामा बसेर यात्रा गर्न नपाउने साझाले जनाएको छ । टिकटबिना यात्रा गर्ने यात्रुहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने संस्थाले स्पष्ट पारेको छ । प्रारम्भिक दिनमा यात्रुको संख्या केही कम भए पनि, अहिले फोनमार्फत सोधपुछ र अनलाइन बुकिङ गर्नेहरूको संख्या बढेको साझा यातायात व्यवस्थापन अधिकृत शंकर बस्यालले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार टिकटको मूल्य सरकारी दररेटअनुसार निर्धारण गरिएको छ । यात्रुहरूले अनलाइन माध्यमबाट पनि टिकट बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । नारायणगढसम्मको भाडा एकतर्फी ३०० रुपैयाँ तोकेको उनको भनाइ छ । यात्रुले अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ । यात्रुहरूको सुरक्षाका लागि बसमा सीसीटीभी जडान गरिनुका साथै ट्राफिक समन्वय अधिकारीहरूसँग पनि सहकार्य गरिएको छ । बस्यालका अनुसार विगतमा यातायात व्यवसायीहरूको आन्दोलनका बेला पनि साझाले उपत्यकाभित्र र बाहिर बस सञ्चालन गरेर यात्रुहरूलाई सहयोग गरेको थियो । चीन सरकारको अनुदानमा १०० वटा विद्युतीय बस ल्याउने योजना साझाको छ । साझा यातायात नेपाल सरकारको ९९ प्रतिशत लगानी रहेको एक सार्वजनिक यातायात संस्था हो । हाल साझा यातायातसँग १ सय ११ वटा बस सञ्चालनमा छन् । उपत्यकाभित्र चल्ने बसहरूका लागि आफ्नै परिसरभित्र २० वटा चार्जिङ स्टेशन पनि निर्माण गरिएका छन् । यात्रुहरूले साझालाई सुरक्षित र भरपर्दो यात्राका लागि मन पराएको प्रतिक्रिया साझाले पाएको छ । जसले गर्दा धेरै यात्रुहरूले अन्य सार्वजनिक यातायातभन्दा साझालाई प्राथमिकता दिने गरेको बस्यालले बताए ।
शिक्षा मन्त्रालयमै बस्न थाले मन्त्री पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन मन्त्रालयमै बस्न थालेका छन् । केशरमहल स्थित् शिक्षा मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन सचिवलाई भनेका थिए । मन्त्रीको आग्रह अनुसार मन्त्रीलाई मन्त्रालयमै बस्ने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सुत्ने बेड, खाना पकाउने किचेन लगायत सबै व्यवस्था गरिसकेपछि मन्त्री मन्त्रालयमै बस्न थालेका हुन् । शिक्षा मन्त्रालयले सिंहदरबारभित्र रहेको कार्यालय जेनजी आन्दोलनबाट नष्ट भएपछि केशर महलबाट सेवा प्रवाह गरिरहेको छ । ‘सेवामा असर नपर्ने गरी मन्त्रीलाई आवासको व्यवस्था गरेको शिक्षा मन्त्रालयले बताएको छ ।
अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ । पछिल्लो समय निर्वाचन गराउन, आगलागी र तोडफोडको पुन: निर्माणका लागी वित्तीय व्यवस्था गर्नुपर्ने दवावमा रहेको सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद् बैठकबाटै यस्तो निर्णय भएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायतका निकायको खर्चमा अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको हो । नेपाल सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय बैठकमा राष्ट्रपति वा प्रधानमन्त्रीको नेतृत्वमा हुने प्रतिनिधिमण्डलमा १० धेरै सदस्य रहन नपाउने निर्णय मन्त्रिपरिषदले गरेको छ । सरकारले तालिम तथा गोष्ठीहरू सकेसम्म अनलाइन गर्ने र भौतिक उपस्थितिमा गर्नै पर्ने अवस्थामा सरकारी हलहरूमा गर्ने निर्णय गरेको छ ।
बालेनलाई ओलीले भने - पहिलेदेखि नै जलाइदिन्छु भन्दैथिए, यो योजनाबद्ध काम हो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा भएको आगजनी घटनालाई योजनाबद्ध कामका रूपमा व्याख्या गरेका छन् । विजया दशमीको अवसरमा मंगलबार गुण्डुस्थित निवासमा पार्टी नेता तथा कार्यकर्तासँग शुभकामना आदानप्रदान गर्दै अध्यक्ष ओलीले देश र इतिहासलाई माया गर्नेले सिंहदरबार जलाउन नसक्ने दाबी गरे । उनले सरकारी सम्पत्तिमाथि भएको आक्रमणलाई योजनाबद्ध र गैरजिम्मेवार गतिविधि भन्दै कडा आलोचना गरे । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै ओलीले 'पहिलादेखि नै सिंहदरबार जलाइदिन्छु भनेर भन्दै आएको' स्मरण गराउँदै आगजनी त्यसकै परिणामस्वरूप योजनाबद्ध ढंगले भएको टिप्पणी गरे । उनले भने, 'सिंहदरबार, संसद भवन जलाउने काम देशप्रेमीले गर्ने होइन । यो अरु घुसपैठ तत्वले गरेको हो । जो पहिलादेखि नै सिंहदरबार जलाइन्छ भनी भन्दै आएका थिए, यही योजनावद्ध कामको परिणाम हो ।' अध्यक्ष ओलीले युवापुस्तामा क्यारेक्टरभन्दा ज्ञानमा मात्र जोड दिइँदा असभ्य र गैरजिम्मेवार व्यवहार बढेको उल्लेख गर्दै राष्ट्रलाई सच्याउने जिम्मेवारी नेपालीकै काँधमा रहेको बताए । उनले हाल नेपाल बद्नाम भएको, धेरै देशले भिसा रोकिदिएको र कामको अवसर बन्द भएको अवस्था राष्ट्रका लागि लज्जास्पद रहेको बताए । 'नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्छ । ठूलो क्षति भए पनि हामी हरेस खानु हुँदैन । देशलाई हामीले नै बनाउने हो,' ओलीले भने ।
झापा इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए सेयर ?
काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार सर्वसाधारणका लागि निष्कासन गरिएको सेयरको बाँडफाँड गरिएको हो । कम्पनीले भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । उक्त अवधिमा १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ता सेयरका लागि आवेदन परेको थियो । हिमालयन क्यापिटलका अनुसार तीमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन सदर भएका छन् भने ३४ हजार ४०३ आवेदन बदर भएका छन् । सदर आवेदनमार्फत १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता सेयरको माग भएको थियो । बाँडफाँड प्रक्रियाअनुसार कुल ४७ हजार ३३९ आवेदकले सेयर प्राप्त गरेका छन् । तीमध्ये ४७ हजार ३३३ जनाले १० कित्ताका दरले ४ लाख ७३ हजार ३३० कित्ता र बाँकी ६ जनाले प्रत्येक १ कित्ताका दरले थप ६ कित्ता सेयर प्राप्त गरेका छन् । कम्पनीको आईपीओको परिणाम हेर्नका लागि लगानीकर्ताले विभिन्न माध्यम प्रयोग गर्न सक्नेछन् । जसअन्तर्गत धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको वेबसाइटमा गई नतिजा हेर्न सकिन्छ । त्यस्तै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको आईपीओ रिजल्ट पोर्टल मार्फत पनि नतिजा हेर्न सकिनेछ । यसबाहेक लगानीकर्ताले मेरो सेयर खातामा लगइन गरी पनि नतिजा जाँच्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि आवेदकले आफ्नो डीपी आईडी र अन्य विवरणहरू प्रविष्ट गर्नुपर्ने हुन्छ ।
काँकरभिट्टाबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात
भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ १० करोड ६१ लाख २८ हजार रुपैयाँ अर्थात् तीन दशमलव ६० प्रतिशतले घटेको छ । यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व शून्य दशमलव ५० प्रतिशत अर्थात् ६४ लाख तीन हजार रुपैयाँले बढेको उनले बताए । कार्यालयको तथ्याङ्कअनुसार गत साउन भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु एक अर्ब ४२ करोड ७२ लाख मूल्य बराबरको १६ हजार ३५२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी ८४ करोड ४२ लाख रुपैयाँ मूल्य बराबरको नौ हजार चार किलोलिटर डिजेल आयात भएको छ । यसैगरी ४० करोड ४९ लाख मूल्यबराबरको चार हजार २३३ मेट्रिक टन एलपी ग्यास, १३ करोड २८ लाख मूल्य बराबरको एक हजार ४८८ किलोलिटर एटिएफ र दुई करोड २२ लाख रुपैयाँ मूल्यबराबरको दुई सय ४८ किलोलिटर मट्टितेल आयात भएको छ ।
ललितपुर-मकवानपुर-सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन
ललितपुर । चाडपर्वमा हुने भीडभाडलाई लक्षित गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ हुँदै मकवानपुर-सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको आवागमनसम्बन्धी विशेष व्यवस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले असोज ७ देखि असोज २१ गतेसम्म (कोजागत पूर्णिमा) सवारी सञ्चालनका लागि समयसीमा तोक्दै आवागमनलाई सहज बनाउन व्यवस्था मिलाएको हो । उक्त अवधिमा ३० टनभार वहन क्षमता र अधिकतम १० चक्के सवारीसाधनमात्र बेलुका ९ः०० बजेसम्म तोकिएका प्रवेश तथा प्रस्थान बिन्दुमा पुगिसक्नुपर्ने प्रावधान गरिएको छ । प्रशासनका अनुसार मकवानपुर जिल्लाबाट ललितपुर प्रवेश विन्दु बगुवा (बागमती गाउँपालिका–२) र ललितपुर जिल्लाबाट प्रस्थान विन्दु टीकाभैरव (गोदावरी नगरपालिका–६) तोकिएको छ । साथै मनसुन वर्षा अझै सक्रिय रहने भएकाले पहिरो तथा अन्य जोखिम कायम रहेको भन्दै प्रशासनले यात्री र चालकलाई सतर्कतासाथ यात्रा गर्न आग्रह गरेको छ । सुरक्षाकर्मीले दिने निर्देशनानुसार मात्र सवारी सञ्चालन गर्न, लेन अनुशासन पालना गर्न र सम्भावित जोखिमलाई ध्यानमा राख्न विशेष अनुरोध गरिएको छ ।
आधा दर्जन कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?
काठमाडौं । विभिन्न ६ कम्पनीले लाभांश घोषणा गरेका छन् । शिवम होल्डिङ्ग्स, सनलाइफ क्यापिटल, नेशनल फण्ड म्यानेजमेन्ट, नबिल स्टक डिलर, हिमालयन ब्रोक्रेज र सुन्धारा सेक्युरिटिजले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । शिवम होल्डिङ्ग्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते बिहान ११ बजे काठमाडौंमा चौथो वार्षिक साधारण सभा डाकेको छ । सनलाइफ क्यापिटलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ९ प्रतिशतका दरले २ करोड १४ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २९ गते बिहान ९ बजे काठमाडौंमा चौथो वार्षिक साधारण सभा डाकेको छ । नेशनल फण्ड म्यानेजमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ८१ करोड रुपैयाँको ४ प्रतिशतका दरले ३ करोड २४ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले १७ लाख ५ हजार रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज ३० गते बेलुका ५ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभाले २० प्रतिशत आईपीओ जारी गर्ने, ५० रुपैयाँ अंकित मूल्यलाई १ सय रुपैयाँ कायम गर्ने लगायत प्रस्ताव पारित गर्नेछ । नबिल स्टक डिलरले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते बिहान ११ बजे काठमाडौंमा चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । हिमालयन ब्रोक्रेज कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २९ गते दिउँसो ३ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले हकप्रद सेयर निष्काशन र मर्जर प्रस्ताव पनि पारित गर्नेछ । सुन्धारा सेक्युरिटिजले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २९ गते बेलुका साढे ५ बजे काठमाडौंमा १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।