बलिदानको व्यापार १ करोड बढी, यस्तो छ दसैँमा प्रदर्शन भएका चलचित्रको व्यापार
काठमाडौं । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले २ दिनमा १ करोड ५ लाख ६५ हजार रुपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । उक्त चलचित्रले पहिलो दिन असोज १३ गते नेपालभर प्राप्त गरेको २४४ ‘शो’बाट ५७ लाख १९ हजार ३४० रुपैयाँ र दोस्रो दिन २१३ शोबाट ४८ लाख ४६ हजार रुपैयाँको व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् । यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको २ दिनमा ५९ लाख ५८ हजार रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रले असोज १३ गते १३४ शोबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ र दोस्रो दिन ३४ लाख ७३ हजार रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रले पहिलो दिन र दोस्रो दिन समान ‘शो’ पाएको छ । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेकाे चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् । प्रदर्शनरत तेस्रो चलचित्र ‘माइतीघर’ ले प्रदर्शनको २ दिनमा ३८ लाख ६३ हजार रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रले असोज १३ गते पहिलो दिन १४४ ‘शो’बाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ र दोस्रो दिन १३० ‘शो’बाट १९ लाख ६७ हजार रुपैयाँको व्यापार गरेको तथ्याङ्क चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा छ । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् । पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएको छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।
नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन : प्रहरी कार्यालय मुग्लिन
काठमाडौं । बडादसैँको नवौँ दिन आज नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । दसैँ सुरु भएसँगै पहिराेका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाध रूपमा सवारी साधन सञ्चालनमा छन् । हिजो अस्तिको तुलनामा सवारी साधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार दसैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिनेगरी काम गरिरहेका छन् । मङ्गलबार साँझ ७:३० बजे इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाए सँगै ८:४० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको थियो । गएरातिसम्म सवारी साधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ । तुइन खोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।
मनकामना केबलकार ३ दिन बन्द गरिने
काठमाडौं । मनकामना केबलकार आजदेखि ३ दिन बन्द गरिने भएको छ । केबलकारको व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।
दसैँपछि मनसुन थप सक्रिय भई अति भारी वर्षा हुने, सावधानी अपनाउन अनुरोध
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दसैँ (असोज १७ गते) पछि मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ । विभागकी मौसमविद् विनु महर्जनले भने, ‘हालको मौसम विश्लेषणअनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भाग हुँदै प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको छ । त्यो नेपालमा प्रवेश गर्न लागेको र यही १७ गते यहाँ आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ ।’ उनले न्यून चापिय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशका विभिन्न भूभाग खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताए । ‘तसर्थ, नेपालमा यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव र स्थानीय वायु विकसित हुँदा नेपालमा मौसम बदली भइरहेको छ,’ उनले भने । असोज १७ (एकादशी) मा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । असोज १९ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । दसैँको अन्तमा मनसुन सक्रिय समेत हुने सम्भावना रहेकाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरोका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने देखिएको विभागले जनाएको छ । मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।
महिला नेतृत्वको लेकबेसी सहकारीले बिक्री गर्याे ३५० खसी बोका
काठमाडौं । नवलपरासीको हुप्सेकोट गाउँपालिका-४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसी बोका बिक्री गरिएको छ । लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसी बोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसी बोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसी बोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिइन् । ‘असोज ६ गतेदेखि खसी बोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ । हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ,’ उनले भनिन्, ‘प्रतिकिलो ज्युँदो सरदर ५७० रुपैयाँसम्म बिक्री गरिएको छ ।’ संस्थामार्फत वर्षभरि नै खसी बोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्षित गरी बढी सङ्ख्यामा बिक्री भएको हो । ‘गत वर्षको दसैँमा १५ सय खसी बोका बिक्री गरिएको थियो, त्यस बापत करिब २ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो,’ परियारले भनिन्, ‘यस वर्ष भने पहिले जति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।’ गाउँमा उत्पादित खसी बोका बजारसम्म पुर्‍याउनका लागि सहकारीले विगत ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ । कृषकहरूले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषि उपजको बजारीकरण गर्दै आएको छ । यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषकहरू खुसी भएका छन् । पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वर्षदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजार मूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माको भनाइ छ । ‘सहकारीले घरमै आएर खसी बोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ,’ उनले भनिन् । सेयर सदस्यबाहेक अन्य कृषकहरूको पनि खसी बोका खरिद गर्ने गरिएको छ । ठूला व्यापारीदेखि स्थानीयसमेत खसी बोका लिन सहकारीमा आउने गरेका छन् । हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रा पालक कृषकहरूको सङ्ख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौं खसी बोका काठमाडौं, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ । बाख्रापालन गर्ने कतिपय महिलाहरूले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
बढी भाडा दर असुल गर्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गर्छौ: यातायातमन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवं कानुनको प्रतिकूल हुने गरी निर्धारित भन्दा बढी भाडा दर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् । चाडबाडको मौका छोपी बढी भाडा दर असुल्ने गरेको, टिकटको कालोबजारी गरेको लगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे । हालको देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रुपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरे । यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न उनको आग्रह छ ।
नवरात्रको अन्तिम दिन: आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा वा दसैँ घरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजाआराधना गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।
कर्णालीका ३ जिल्लामा ५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध
काठमाडौं । कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । यहाँका जाजरकोट, रुकुम पश्चिम र डोल्पामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । नलगाड नगरपालिका-१२, १३ सँगै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-४, ५, ६ मा पूर्ण रूपमा सञ्चार सेवा अवरुद्ध भएको हो । यस्तै, बारेकोट गाउँपालिका-५ मा रहेको रतनकोटस्थित टावरमा समस्या आएपछि बारेकोट गाउँपालिकाको अधिकांश भाग सञ्चार सेवाबाट वञ्चित भएको छ । रुकुम पश्चिमको गोतामकोट, जाजरकोटको नायकवाडा तनकोटको टावरमा समस्या आएपछि यहाँका नागरिक दसैँको मुखैमा आफन्तसँग कुरा गर्न नपाएको नलगाड नगरपालिका प्रमुख डम्मर रावतले जानकारी दिए । सञ्चार सेवा अवरुद्ध भएको जानकारी जिल्ला हुँदै प्रदेश कार्यालयमा पु¥याए पनि समाधान नभएको उनले बताए । यस्तै, सोही टावरको सहायताले डोल्पाको मुडकेचुलामा रिले गर्ने भएकाले डोल्पाको मुडकेचुलामा समेत सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । नेपाल टेलिकम जाजरकोटका प्राविधिक प्रकाश उपाध्ययका अनुसार समस्या आएको ठाउँमा काम भइरहेको छ । गोतामकोट टावर मर्मत गरेर नायकवाडा मर्मत हुने उनले जानकारी दिए ।