गुल्मीको पश्चिमी क्षेत्रमा एकैपटक ४ पक्की पुल निर्माण, नागरिकमा खुसी
गुल्मी । गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ । यस पटकदेखि चाडबाडको समयमा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता लामो समयको प्रतीक्षापछि सधैँका लागि टरेको छ । जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रभित्र रहेका खोलामा चारवटा पक्की पुल निर्माण भएसँगै त्यस क्षेत्रमा नागरिक निकै खुसी बनेका छन् । दसैँ, तिहार जस्ता चाडबाडको समयमा घरमा आउँदा सधैँ खोला तर्नुुपर्ने चिन्ताले पिरोलिरहने त्यस क्षेत्रका नागरिकले पुल बनेपछि सहज तरिकाबाट यात्रा गर्न पाएका छन् । उक्त क्षेत्रमा लामो समयको प्रयासपछि आर्थिक वर्ष २०८१/८२ मा एकै पटक चार पक्की पुल निर्माणसम्पन्न भएर सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएका पक्की पुलमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चारवटा रहेका छन । निर्माणसम्पन्न गरिएका पुलमा फूलबारी खोलाको पुल रु तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल रु तीन करोड १३ लाख ८४ हजारमा निर्माण सम्पन्न गरिएको हो । उक्त पुल निर्माणको काम पन्थ निर्माण सेवाद्वारा गरिएको थियो । त्यसैगरी सुनिल समिर निर्माण सेवाद्वारा हुलाके खोला पुल रु पाँच करोड ७९ लाख ५३ हजार र धनार्जी खोला पुल रु सात करोड ४८ हजार लागतमा निर्माणसम्पन्न भएकोे मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा त्यस क्षेत्रका नागरिकले ठूलो समस्या भोग्दै आउनुपरेको स्थानीय कृष्णप्रसाद अर्यालले बताए । पुल नहुँदा वर्षौंदेखि खोलाको बीचबाट सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । वर्षातको समयमा बाढी आउँदा कतिपय सवारीसाधन खोला तर्ने क्रममा बीचैमा अड्किने र कतिपय समयमा बाढीले बगाउने जस्ता समस्या झेल्नुपर्ने अवस्था थियो । त्यसकारण यात्रुलाई वर्षौंदेखि आवत–जावत गर्न सास्ती व्यहोर्दै आउनुपरेको थियो । पुल निर्माण नहुँदा उक्त क्षेत्रका राजनीतिक दल र नेतृत्वले समेत नागरिकबाट पटकपटक ठूलै आलोचना खेप्नुपरेको थियो । अहिले चारवटा पक्की पुल एकैचोटि निर्माणसम्पन्न भएर सहज रुपमा सवारीसाधन सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक निकै खुसी बनेको इस्मा–१ गुरुवाका स्थानीय दधिराम पन्थीले बताए । उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार स्थानीय तहसँगै बागलुङ र प्यूठानसम्मका नागरिकलाई समेत सहज बनेको मालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । 'पुल नहुँदा नागरिकले लामो समयदेखि पटकपटक समस्या र दुर्घटनाको जोखिम व्यहोर्दै आउनुपर्ने बाध्यता जस्तै बनेको थियो, अब खोलामा पक्की पुल बनेपछि विगतका समस्या समाधान गरिदियो, कालोपत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रमा विकासले पनि नयाँ आयाम थप्ने भएको छ', गिरीले भने । तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फुलबारी, सिमलटारीलगायतका स्थानमा व्यापारिक चहलपहल बढ्न थालेको इस्मा–६ का अगुवा कृषक कृष्णप्रसाद घिमिरेले बताए । जिल्लाको आधाजसो जनसङ्ख्या ओगटेको पश्चिमी क्षेत्रमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकमा सहज यात्रासँगै थप खुसी पनि थपिएको छ । रासस
बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा
काठमाडौं । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ । विभागले वारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौं उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ ।
पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्रै रकम जम्मा गर्न अनुरोध
काठमाडौं । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरूपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. १९६०१००१०२०७०००४ मा मात्र रकम जम्मा गर्न अनुरोध गरेको हो । सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचार मुक्त नेपालको पवित्र माग सहित यही भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकम विभिन्न गैर सरकारी संघ संस्थाहरूमा जम्मा भइरहेको मन्त्रालयले जनाएको छ ।
मुग्लिङ-नागढुङ्गा सडकखण्ड अन्तर्गत फिस्लिङमा पहिरो, सडक अवरुद्ध
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १:४५ बजे मुग्लिङ-नागढुङ्गा सडकखण्ड अन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा ३ घण्टा लाग्ने छ । पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ-मुग्लिङ सडक खण्डमा भने अहिलेसम्म अवरोध नभएको उनले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले सावधानी पूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले आज सूचना जारी गरी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू-क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी भोलि आइतबार र पर्सी सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएको हो । मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाउँदै हाल देशका विभिन्न भागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
सरकारी कार्यालयका प्रमुखलाई आजै कार्य स्थल पुग्न निर्देशन
काठमाडौं । सरकारी कार्यालयका प्रमुखहरूलाई आजै कार्य स्थल पुग्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयका जिल्ला स्थित कार्यालय प्रमुखहरूलाई असोज १८ भित्र अनिवार्य रूपमा कार्य स्थल पुग्न निर्देशन दिएको हो । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म वर्षाको सम्भावना रहेकाले आ-आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ अर्थात् आजसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन भनिएको हो । कार्य स्थल पुगेर पूर्वतयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार सूचना निकालेको संघीय मामिला मन्त्रालयले जनाएको छ । ‘सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन हुन अनुरोध छ,’ मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ ।
हमास शान्ति वार्ताका लागि तयार, आक्रमण रोक्न इजरायललाई ट्रम्पको आग्रह
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा आक्रमण रोक्न गरेको आव्हानको स्वागत गर्दै हमासले गाजामा युद्धको अन्त्य गर्न र बन्धकहरूलाई मुक्त गर्न तत्काल वार्ता सुरु गर्न तयार रहेको शुक्रबार बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा ट्रम्पको शान्ति प्रस्तावले लामो द्वन्द्व र शत्रुता रोक्न, ७२ घण्टा भित्र बन्धकहरूको रिहाइ गर्ने गाजाबाट क्रमिक इजरायली फिर्ती र हमासको निशस्त्रीकरणको आह्वान गरेको छ । योजनाले हमास र अन्य गुटहरूको ‘गाजामा कुनै भूमिका छैन’ भन्ने कुरामा जोड दिँदै यस क्षेत्रको प्रशासन ट्रम्पको नेतृत्वमा रहेको युद्धको संक्रमणकालीन अवस्था पछि सम्बन्धित निकायले लिने जनाएको छ । गाजा पट्टीमा इजरायली आक्रमणको तत्काल अन्त्यबारे राष्ट्रपति ट्रम्पको शान्ति योजना उत्साहजनक रहेको हमासका प्रवक्ता ताहेर अल-नुनुलाई उदृत गर्दै एएफपीले जनाएको छ । हमास कैदी आदान-प्रदान गर्न, युद्धको अन्त्य गर्न र गाजा पट्टीबाट (इजरायली) सेनाको फिर्ती सुनिश्चित गर्न तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको उनले बताए । नेतान्याहुको कार्यालयले जवाफमा इजरायलले सबै बन्धकहरूको रिहाइका लागि ट्रम्पको योजनाको पहिलो चरणको तत्काल कार्यान्वयनका लागि तयारी गरिरहेको जनाएको छ । राष्ट्रपति ट्रम्पको दृष्टिकोणसँगको समन्वयमा इजरायलले तय गरेको सिद्धान्त अनुसार युद्ध अन्त्य गर्न पूर्ण सहयोगी भुमिका खेल्नै नेतान्याहुको कार्यालयले जनाएको छ । संक्षिप्त भिडियो सन्देश जारी गर्दै ट्रम्पले गाजा वार्तामा सबै पक्षलाई निष्पक्ष व्यवहार गरिने भन्दै यो घटनाक्रम भएको दिनलाई विशेष दिनको रूपमा प्रशंसा गरे । शुक्रबारको घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायबाट आशावादी बनाई प्रतिक्रियाको लागि आकर्षित गरेको छ । प्रमुख मध्यस्थकर्ता कतार र इजिप्ट दुवैले हमासको बयानलाई स्वागत गर्दै यसले द्वन्द्वको अन्त्य सुनिश्चित गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले “सबै पक्षलाई यो अवसरको उपयोग गर्न आग्रह गरेको उहाँका प्रवक्ताले बताए । फ्रान्सका इमानुएल म्याक्रोन, जर्मनीका फ्रेडरिक मेर्ज र बेलायतका कीर स्टारमर सबैले यसलाई शान्तितर्फको ठूलो कदमका रूपमा स्वागत गरेका छन् । टर्कीले हमासको प्रतिक्रियाले गाजामा तत्काल युद्ध विराम स्थापना गर्ने अवसर प्रदान गरेको बताएको छ ।
विपद् व्यवस्थापनमा खटिए महानगर प्रहरी
काठमाडौं । गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौं महानगर प्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ । कुनै बस्तीमा डुबानका कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी समेत महानगरले गरेको जनाइएको छ । कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ । विपद् व्यवस्थापन विभागका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार गएरातिदेखिको निरन्तर वर्षाका कारण काठमाडौंलगायत देशका अधिकांश स्थानको अवस्था संवेदनशील रहेको छ । काठमाडौंको हकमा भने नगर प्रहरी परिचालन गरीसकिएको छ भने आवश्यकताअनुसार अन्य तयारी अवस्थामा रहेको प्रमुख जोशीले जानकारी दिए । महानगरले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर नजान आग्रह गरेको छ । महानगरका जनप्रतिनिधि सम्भावित जोखिमयुक्त स्थानको अवलोकनमा खटिएको पनि जनाइएको छ । विशेषगरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ । अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान रोक्न बोरामा ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको जोशीले बताए ।