विकासन्युज

तरलता घटाउन ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले मंगलबार ९० अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो ।  ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।  यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।  

सुमेरु पोलिमर्सले आईपीओ निष्काशन गर्ने, सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हाे । कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा गत असोज १२ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

सूर्यज्योति लाइफले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा सहयोग गर्‍यो डेढ करोड रुपैयाँ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले राष्ट्र र समुदायका लागि आवश्यक परेको हरेक समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशभरका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड हुँदा भएको ठूलो क्षतिपछि नेपाल सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ । राष्ट्र पुनर्निर्माणको यस महान अभियानमा सहभागी हुँदै सूर्यज्योति लाइफले उक्त कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोगको चेक कम्पनीका सञ्चालक चुडामणि देवकोटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले मंगलबार अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेका छन् । कम्पनीले विगतमा पनि विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रका लागि निरन्तर सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले हाल गरिएको यो योगदानले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता राष्ट्रिय अभियानमा सूर्यज्योति लाइफ सधैं अग्रसर रहने प्रतिबद्धता जनाएका छन् ।

मनसुन बुधबारदेखि बाहिरिने, धान भित्र्याउन छैन कुनै बाधा

काठमाडौं । प्राकृतिक विपद्का घटनाबाट बढी जनधनको क्षति व्यहोर्ने मुलुकको सूचीमा नेपाल पनि गर्दछ । वैज्ञानिक ढङ्गले मौसम पूर्वानुमानका लागि यथेष्ट र आधुनिक उपकरण जडान भई नसकेको नेपालमा पूर्वसूचना प्रणालीको विकास र विस्तार पनि प्रभावकारी ढङ्गले हुन सकिरहेको छैन । जसले गर्दा गर्दा मुलुकले बर्सेनि ठुलो जनधनको क्षति व्यहोर्दै आइरहेको छ ।  गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले एकचोटि फेरि यही कुराको चरितार्थ गरेको छ । मुलुकका सबै क्षेत्रमा प्रभावकारी ढङ्गले पूर्वसूचना प्रवाह हुन नसक्दा जलवायुजन्य विपद्बाट हुने क्षति कम गर्न नसकिएको विज्ञहरूले विश्लेषण गरेका छन् ।  जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले जल तथा मौसम विज्ञान विभागको पूर्वसूचना प्रणाली थप बलियो र व्यवस्थित बनाउन राज्यले लगानी गर्नुपर्ने  आवश्यकता रहेको बताए । उनले पूर्वसूचना प्रणाली बलियो नभएकै कारण मुलुकले बढी मात्रामा आर्थिक र गैर आर्थिक क्षति व्यहोर्नुपरेको बताए ।  मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभाव कायमै रहने उल्लेख गर्दै उनले कुनै पनि बेला विपद्जन्य प्रकोपको सम्भावना रहेको बताए । यद्यपि चालु वर्ष त्यस्तो सम्भावना नरहेको उनको भनाइ छ । उप्रेतीले अगामी बुधवारदेखि नेपालबाट मनसुन बाहिरिने उल्लेख गर्दै त्यसपछि धानबाली भित्र्याउन कुनै बाधा नपर्ने पनि बताए । उनले हालैको अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट भएको हानी नोक्सानीको तथ्याङ्क सङ्कलन प्रभावकारी ढङ्गले हुनुपर्नेमा जोड दिए ।  आउँदो बुधवारदेखि मनसुन बाहिरिने र तत्काल पश्चिमी वायुको समेत प्रभाव नरहेकाले तत्काल ठुलो पानी पर्ने सम्भावना समेत नरहेको उनको भनाइ छ ।  हानि नोक्सानीको ठोस तथ्याङ्क पेस गर्न नसक्दा नेपालले पाउँदैन क्षतिपूर्ति  संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनले जलवायु परिवर्तनबाट प्रत्यक्ष असर परेको मुलुकका लागि हानि–नोक्सानी कोष सञ्चालनमा ल्याएको छ । यो कोष विकसित देशहरूले जलवायु परिवर्तनका कारण सृजित क्षतिपूर्तिको रूपमा विकासोन्मुख र अति जोखिममा रहेका मुलुकहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो । जलवायुजन्य विपद्का कारण हुने हानि नोक्सानीमा विकासोन्मुख मुलुकले यस कोषबाट क्षतिपूर्ति पाउने गर्दछन् ।  यो कोषको व्यवस्थाअनुसार कुनै पनि देशले क्षतिपूर्ति पाउनका लागि जलवायुजन्य विपद्बाट भएको हानि–नोक्सानीको प्रमाणित तथ्याङ्क, डेटा प्रणाली, तथा राष्ट्रिय स्तरको दस्तावेजीकरण तयार गर्नुपर्छ । ठोस र प्रमाणिक तथ्याङ्क नहुँदा नेपालले उक्त कोषबाट लाभ लिनसक्ने अवस्था नरहेको उप्रेतीको भनाइ छ । उनले नेपालमा विपद् सम्बन्धी तथ्याङ्क मुख्यतया आर्थिक क्षतिको विवरणमा मात्र सीमित रहेका कारण कुनै पनि प्रकारको क्षतिपूर्ति पाउन नसकेको बताए । नेपालले विपद्को हानि सङ्कलन गर्दा भौतिक र आर्थिक तथ्याङ्क मात्र सङ्कलन गर्ने तर गैर आर्थिक क्षतिको दस्तावेजिकरण गर्न नसक्दा यस्तो समस्या हुने गरेको बताए । उनले अन्तर्राष्ट्रिय सहयोगमा पहुँच बढाउन आर्थिक र गैर आर्थिक हानि नोक्सानीको तथ्याङ्क प्रभावकारी रूपमा सङ्कलन गर्नुपर्नेमा जोड दिए ।  यद्यपि हालैको जलवायुजन्य विपद्मा एकद्वार सूचना प्रणालीको प्रभावकारी प्रयोगले सूचनाको प्रवाह सहज बनेको र थप क्षति रोक्न मद्दत गरेको उनको भनाइ छ । उनले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम विज्ञान विभागसँगको समन्वयमा पूर्वसूचना प्रणालीलाई वैज्ञानिक आधारमा सञ्चालन गरेको कारण थप क्षति हुन नपाएको बताए । उनले विपद्को पूर्वानुमान, सम्भावित क्षति मूल्यांकन र जोखिम सञ्चारमा जोड दिएको तथा समयमै सवारी साधनको आवागमन रोकेर ठुलो क्षति हुन नपाएको बताए । 

मतदाता नामावली दर्ता गराउनेको भीड

घोराही । यहाँ मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लाग्न थालेको छ । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी एक सय ३३ जना नयाँ मतादाता थपिएको कार्यालयले जनाएको छ । एक सय ६३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन अग्रिम फारम भरेको र बायोमेट्रिक बाँकी रहेको पनि कार्यालयको भनाइ छ । मतदाता नामवली दर्तालाई पालिकास्तरमा बढाउन सके जिल्लामा उल्लेख्य मात्रामा नयाँ मतदाता थपिने कार्यालयका सूचना अधिकारी कुँवरले बताए । पालिकास्तरमा मतदाता नामावली दर्ता सङ्कलनको माग गरेका कारण २०७९ को दाङमा निर्वाचनमा ५४ हजार नयाँ मतदाता थपिएका थिए । गत २०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट एक लाख ३४ हजार सात सय ३३ क्षेत्र नम्बर २ बाट एक लाख ३३ हजार सात सय ४८ र क्षेत्र नम्बर ३ बाट एक लाख ४६ हजार चार सय ७५ गरी कूल चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेका थिए ।

‘इभी माइक्रो’ दुर्घटनामा  १६ जना घाइते

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको मप्र०२–००१ ज ००७२ नम्बरको सो गाडी भित्रि बाटोबाट हाइवेतर्फ निस्कदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सीमा खसी दुर्घटना हुँदा गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका हुन् । घाइतेलाई उद्वार गरी उपचारको लागि स्थानीय साम्भी पोलिक्लिन तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।   

१५ अर्बको बिजुली निर्यात, छिनछिनमा बत्ति जान थालेपछि कुलमानले गरे अनुगमन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको  विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।  काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देश भरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरू लगायतका विषयमा जानकारी लिए ।  देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ति जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवं प्राविधिक सुधारका विषयमा छलफल गरे ।  बाढी, पहिरोले क्षति पुर्याएका संरचनाको मर्मत सम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउनु पर्ने बताउँदै  घिसिङले छिनछिनमा बत्ति जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोही बमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह गरे । उनले विद्युतगृह, प्रसारण लाइन तथा सब स्टेसनलाई पूर्ण क्षमतामा चलाउन,विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मर्स्याङ्दी करिडोर २२० केभी, हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँद यामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे । प्राधिकरणका कार्यकारी मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराए । कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोही बमोजिम काम भइरहेको बताए । दैनिक १ हजार मेगावाट विद्युत निर्यात, १५ अर्बको विद्युत निर्यात देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा १ हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म अवधिमा करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ । त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी १ हजार १६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

मुद्दा हार्ने भएपछि गोली हानी न्यायाधीशको हत्या

काठमाडौं । अल्बानियाको राजधानी तिरानाको एक अदालतमा सोमबार वयान दिन अदालतमा पुगेका एक व्यक्तिले गोली चलाउँदा मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशको मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणबाट अन्य दुई जना घाइते भएको बताइएको छ । पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजाले ती व्यक्तिको मुद्दाको सुनुवाइ गरिरहेका बेला अभियुक्तले गोली चलाएको बताइएको छ । प्रहरीले गोली हान्ने व्यक्तिलाई तुरुन्तै पक्राउ गरिएको बताएको छ ।  ‘गोली लागी घाइते भएका न्यायाधीशलाई अस्पताल लगिएको तर बाटोमै उनको मृत्यु भएको थियो,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। मुद्दाको अर्को पक्षका एक बाबुछोरालाई पनि गोली हानिएको थियो जसबाट उनीहरू घाइते भएका थिए । उनीहरूलाई अस्पताल लगिएको उनीहरूको स्वास्थ्य अवस्था स्थिर भएको प्रहरीले चिकित्सकलाई उद्धृत गरी जानकारी गराएको छ। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार यो मुद्दा सम्पत्तिको विवादबारे थियो र ती व्यक्तिले आफुले मुद्दा हार्ने देखपछि न्यायाधीशलाई गोली हानेका थिए । अल्बानियाका प्रधानमन्त्री एडी रामाले घटनालाई ‘दुखद’ भन्दै बन्दुकसँग सम्बन्धित अपराधका लागि कडा सजाय हुने बताए । उनले यस्ता अपराधका लागि आक्रमणकारीविरुद्ध सबैभन्दा कडा कानुनी कारबाहीको माग गरिएको बताए ।  राष्ट्रपति बजराम बेगजले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई ‘सम्पूर्ण न्याय प्रणालीमाथि भयानक आक्रमण’ को संज्ञा दिए ।  अल्बानियाली कानून अनुसार अवैध रूपमा बन्दुक राख्नेलाई तीन वर्षसम्मको जेल सजाय हुन्छ।