विकासन्युज

जेनजी आन्दोलनमा ३ सय बढी नेताको घरमा आगजनी र तोडफोड, कुन पार्टीलाई कति क्षति ?

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा राजनीतिक पार्टी र शीर्ष नेताहरूका घरमा गरिएको आगजनी तथा तोडफोड गरिएको छ । जेनजी आन्दोलनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालयदेखि शीर्ष नेताहरुका घरमा आगजनी र तोडफोड गरेका हुन् । नेकपा एमालेका महासविच शंकर पोखरेलका अनुसार जेनजी आन्दोलनमा पार्टीको एउटा केन्द्रीय कार्यालय, ७ वटा प्रादेशिक कार्यालय र ६४ वटा जिल्ला कार्यालयमा क्षति पुगेको छ । साथै, जेनजीहरु आन्दोलनकारीहरुले एमाले पार्टीका १५८ जना भन्दा बढी शीर्ष नेताको घरमा आगजनी र तोडफोड गरिएको उनले बताए ।  नेपाली कांग्रेसका नेता रामहरी खतिवडाका अनुसार जेनजी आन्दोलनबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्ला पार्टी कार्यालयमा क्षति पुगेको छ । राष्ट्रियस्तरका १२५ जना नेता तथा कार्यकर्ताको घर तथा निवास जलाइएका छन् ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयसहित ३१ वटा पार्टी कार्यालय र १८ जना शीर्ष नेताका घरमा आगजनी र तोडफोड गरिएको छ ।  जनता समाजवादी पार्टी (जसपा) नेतृ रेखा यादवका अनुसार जसपा पार्टी कार्यालयमा क्षति नपुर्याएपनि केन्द्रीय कार्यालयमा रहेका सबै सामानहरु बाहिरि निकालेर सबै जलाइएका छन् । जसपा पार्टी कार्यालय भाडामा सञ्चालन भइरहेको थियो । जसपाका शीर्ष नेताहरुमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु रावत र सुनिता शाहको घरमा आगजनी गरिएको उनले बताइन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता गणेश पराजुलीका अनुसार जेनजी आन्दोलनबाट रास्वपाको डडेल्धुरा र नुवाकोट जिल्ला पार्टी कार्यालयमा आक्रमण गरेर सामानहरू जलाइएका छन् भने अर्घाखाँची कार्यालयमा होडिङ बोर्ड तोडफोड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य हरिप्रसाद पराजुलीका अनुसार नेकपा एस पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरिएको छ भने १० वटा जिल्ला पार्टी कार्यालयमा तोडफोड गरिएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहित ११ जना शीर्ष नेताको घरमा आगजनी तथा तोडफोड गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राम प्रकाश चौधरीका अनुसार पार्टीका कुनै पनि कार्यालयमा क्षति भएको छैन । तर, शीर्ष नेताहरूमा शरतसिंह भण्डारीको घरमा भने आगजनी गरिएको उनले बताए ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता गोपाल दाहालका अनुसार राप्रपा पार्टीको सुर्खेत, दाङ, चितवन, कञ्चनपुर जिल्ला पार्टी कार्यालय जलाइएका छन् भने केन्द्रीय कार्यालयमा सामान्य क्षति पुर्याएको छ । पार्टीको कोशी प्रदेश सांसद सविना बजगाईं, लुम्बिनी प्रदेश सांसद मेनुका खाँण र दमक नगरपालिकाका मेयर राम कुमार थापाको घरमा आगजननी गरिएको छ ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरी, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा आगजनी र तोडफोड गरिएको छ ।  सम्बन्धित सामग्री : जेनजी आन्दोलनले कांग्रेसलाई १ अर्बको क्षति, ५० कार्यालय ध्वस्त जेनजी आन्दोलनले एमालेलाई ३ अर्बको क्षति, ९४ कार्यालयमा आगजनी जेनजी आन्दोलनमा माओवादीका ३१ कार्यालयमा आक्रमण हुँदा १५ करोडको क्षति

जेनजी आन्दोलन : २३ अर्ब २२ करोडको बीमा दाबी, डेढ अर्ब भुक्तानी

काठमाडाैं। गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका क्रममा हुलदंगाबाट क्षतिग्रस्त सम्पत्तिको बीमा कम्पनीहरुले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी (अग्रिम भुक्तानीसहित) गरेका हुन् ।  प्राधिकरणका अुनसार आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ ।  १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमाबाट कम्पनीहरुमा २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो । आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको प्राधिकरणले जनाएको छ ।  तथ्यांकअनुसार कूल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिब १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । यसैगरी, मोटर बीमामा २ हजार २०६ वटा दाबी परेको र दाबी रकम करिब ३ अर्ब ४१ करोड ६ लाख रूपैयाँ रहेको छ । बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब  २४ करोड ९१ लाख रूपैयाँ दाबी भुक्तानी भएको छ । आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको तथ्यांक प्राधिकरणमा प्राप्त भएको जनाएको छ ।  यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको छ भने दाबी रकम करिव रू. ३८ करोड ३ लाख रहेको छ । बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ८७ लाख दाबी भुक्तानी गरेका छन् । आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएका छन् । यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिव रू. १ करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् । अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिव रू. ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिव रू. ५ लाख ५० हजार दाबी भुक्तानी भएको  प्राधिकरणले जनाएकाे छ । अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् । नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमैं सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समयसीमा, दाबी छानविनको पारदर्शिता र बीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ । साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको छ । बीमितहरूको अधिकार सुनिश्चित गर्नका लागि दाबी भुक्तानी सम्बन्धी कार्यमा थप सुधार ल्याउँदै तीब्रता दिन समेत प्राधिकरणले बीमा कम्पनीहरूलाई निर्देशन छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष सुजितकुमार शाक्यको अध्यक्षतामा बसेको उक्त साधारणसभामा सञ्चालक समिति, सेयरधनी तथा व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । कम्पनीको रजिस्टर्ड कार्यालय नक्साल, काठमाडौंमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  साधारणसभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७८९४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस निर्णयअनुसार कम्पनीले सेयरधनीहरूलाई कुल ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा ४२ लाख ६३ हजार १५७ रुपैयाँ ८९ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ । नबिल इन्भेष्टमेन्टले हालसम्म लगानी व्यवस्थापन, पोर्टफोलियो म्यानेजमेन्ट, मर्चेन्ट बैंकिङ, म्युचुअल फण्ड सञ्चालन लगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आगामी वर्षहरूमा पनि लगानीकर्ताको हितमा अझ प्रभावकारी सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

स्टार्टअप वर्ल्ड कप २०२५ का लागि नेपाली स्टार्टअप सिलिकन भ्यालीतर्फ

काठमाडौं । स्टार्टअप वर्ल्ड कप २०२५ को विश्व प्रतिस्पर्धाका लागि नेपालका विजेता डिएल सर्फका संस्थापक अर्जुन घिमिरे अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेका छन् । स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुपले संयुक्त रूपमा आयोजना गरेको नेपालकै सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतियोगिताको विजेता बनेको डिएल सर्फले अब विश्वका १०० देशका स्टार्टअप च्याम्पियनसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्नेछ । घिमिरेले अक्टोबर १७ देखि २२ सम्म अमेरिकाको सान फ्रान्सिस्कोमा हुने ग्लोबल फिनालेमा भाग लिनेछन् । प्रतियोगिताको विजेताले एक मिलियन अमेरिकी डलर ९नेरु १४ करोड ४० लाख बराबर० पुरस्कार पाउनेछ । बिहीबार स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल च्याम्पियन अर्जुन घिमिरेलाई बिदाई गरे । हालसम्म स्टार्टअप हब नेपालले पाँच नेपाली स्टार्टअपलाई विश्वकै प्रतिष्ठित सिलिकन भ्यालीसम्म पुर्‍याउन सफल भएको आयोजकले जनाएको छ । यस वर्ष पनि डिएल सर्फले विश्व स्तरमा नेपाली नवप्रवर्तनको झण्डा फहराउने अवसर पाएको छ । स्टार्टअप वर्ल्ड कपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेसएक्ससँग सम्बन्धित पिगासस टेक भेन्चरले गरेको हो । यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले नवप्रवर्तक उद्यमीहरूलाई ग्लोबल एक्सपोजर, लगानी र सञ्जाल विस्तारको अवसर प्रदान गर्छ । वर्ल्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत यो प्रतियोगिता नेपालमा भित्र्याएको हो ।

एमालेको युवा संघलाई र्‍याली र सभा गर्न जिल्ला प्रशासन काठमाडौंले लगायो रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले निकटको युवा संघले शनिबार र्‍याली गर्ने र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको छ । युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली आयोजना गर्ने घोषणा गरेको थियो । तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुस र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् । ‘आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ । अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरू नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ,’ प्रशासनको सूचनामा उल्लेख छ ।

दैनिक पर्यटन आगमन १६ सयबाट ४२ सयसम्म पुग्यो : सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका छन् । नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण सभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै सुरक्षाको प्रत्याभूति बिना पर्यटन क्षेत्र आत्मबलपूर्वक अघि बढ्न नसक्ने बताए । उनले भने, ‘जेनजी आन्दोलनका क्रममा नेपालको पर्यटन क्षेत्रमा पनि क्षति भएको छ । त्यसका लागि हामीले पर्यटन क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ ।’ जोशीले निजी क्षेत्र र सरकारी निकाय मिलेर पर्यटन क्षेत्रको पुनरुत्थानका लागि समन्वित प्रयास आवश्यक रहेको पनि बताए । उनका अनुसार जेनजी आन्दोलन भएको अवधिमा औसत दैनिक पर्यटन आगमन १६ सयमा झरेको थियो, तर पछिल्लो समय उक्त संख्या पुनः बढ्दै गएको छ । ‘सेप्टेम्बर ८ र ९ पछि १६ सयमा झरेको पर्यटक आगमन फेरि दैनिक औसत ४२ सयसम्म पुगेको छ,’ उनले भने, ‘हामीले नेपाल भ्रमण सुरक्षित रहेको र सबै कुरा सामान्य अवस्थामा आइसकेको सन्देश दिनका लागि पर्यटन बोर्डले निरन्तर काम गरिरहेको छ । सीईओ जोशीले विगतका अनुभव उद्धृत गर्दै हरेक १० वर्षमा मुलुकले कुनै न कुनै संकटको सामना गर्नुपरेको उल्लेख गरे । उनले यस्तो परिस्थितिमा पनि काम गर्न सक्ने एक स्थायी संरचना विकास गर्नुपर्नेमा जोड दिए ।

कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।  बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा-नोक्सान बाँडफाँट विवरणलगायत सबै अनुसूचीहरू पारित गरेको छ । त्यसैगरी, आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति गठनसमेत गरिएको छ । संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित भएका छन् । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस अनुसार एन.बी.एस.एम एण्ड एसोसिएट्सलाई लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ। कार्यक्रममा सेयरधनीहरूले विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको जवाफ अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । सीईओ थकालीले बैंक निरन्तर रूपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई अझ दिगो र प्रतिस्पर्धी बनाउँदै सेयरधनीलाई उत्कृष्ट प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।

कुमारी बैंक र जीआईजेड नेपालबीच सम्झौता, विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गरिने

काठमाडौं । नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक र जर्मन अन्तर्राष्ट्रिय सहकार्य संस्था (जीआईजेड) बीच नेपालका लागि दिगो विद्युतीय यातायात विकास (सेटफरनेपाल) परियोजनाअन्तर्गत सम्झौतामा हस्ताक्षर भएको छ ।  यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात—विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको (ईएमबीएस) स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ । सेटफरनेपाल परियोजना जीआईजेड नेपाल र ग्लोबल ग्रीन ग्रोथ इन्स्च्यिूट (जीजीजीआई) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो।  यो परियोजना अन्तर्राष्ट्रिय जलवायु वित्तीय संयन्त्र (एमएएफ) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ र यस कार्यक्रमले करिब ३ हजार ५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउनेछ ।  आर्थिक सिमाबद्धतालाई ध्यानमा राखी यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ ।  यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउनेछ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्ट अनुदानको व्यवस्था गर्नेछ, जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउनेछ । विगत २४ वर्षदेखिे कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ ईकाईहरु तथा ३१७ एटिएममार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।  जीआईजी जर्मनीको एक सरकारी विकास सहयोग संस्था हो। यसको मुख्य उद्देश्य विभिन्न देशहरूमा सतत विकास, सुशासन, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सुधारमा सहयोग पुर्‍याउनु हो । जीआईजीका सबै कार्यक्रमहरू जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुन्छन् र यसले नेपालका विकास साझेदारहरूसँग मिलेर दीगो र आत्मनिर्भर विकासलाई प्रोत्साहित गर्ने लक्ष्य लिएको छ ।