विकासन्युज

श्रीनगर एग्रीटेकको आईपीओ बिक्री खुला, १० हजार कित्ता आवेदन दिन मिल्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आज असोज २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री पश्चात् आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोष र १ लाख २३ हजार ९७५ कित्ता कर्मचारीलाई बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले बाँकी रहेको २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँको २५ लाख १० हजार ४९३ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए कात्तिक ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । 

राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आइतबार (असोज २६ गते)देखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरी सार्वजनिक गरेको छ । बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण बचत र विशेष बचत र एनसीबीएल समुन्नत बचत खातामा १ प्रतिशत, सुपर बचतमा १ प्रतिशतदेखि १.१५ प्रतिशत तोकिएको छ ।  एनसिबिएल प्रिमियम बचत खाातामा १ प्रतिशत, अनिवार्य नियमित बचतमा ४ प्रतिशत र क्रमिक बचतमा ३.२० प्रतिशतदेखि ३.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम १.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । त्यसैगरी बैंकले कर्जातर्फ न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा कृषि तथा कृषि परियोजना कर्जा (आवधिक÷चालुपूँजी) न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यवसायिक आवधिक कर्जाको लागि ६.८५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, व्यावसायिक कर्जा (चालु पूँजी) ७.५० प्रतिशत, इन्फास्ट्रक्चर डेभलपमेन्ट कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, लघु तथा गरिबी निवारण कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, साना तथा मझौला कर्जा ६.५० प्रतिशत निर्धारण गरिएको छ । यस्तै हायर पर्चेज कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, पर्यटन प्रवद्र्धन कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, तरलता व्यवस्थापन कर्जा ६.९९ प्रतिशत, महिला सशक्तीकरण कर्जा ४.९९ प्रतिशत, एनसीबीएल सहज कर्जा ६ प्रतिशत, उज्यालो नेपाल कर्जा ६.९९ प्रतिशत, दीगो तथा सबल सहकारी कर्जामा ७.२५ प्रतिशत, सदस्य सम्बन्धी कर्जा ६ प्रतिशत र मुद्दती निक्षेप कर्जामा थप २ प्रतिशत तोकिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । अपाङ्ग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुने गरी प्रदान गरिने छैन ।

सिटि होटलको हकप्रद सेयरमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । सिटि होटलको हकप्रद सेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ । गत भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०।८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  साथै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

रिभर फल्स पावरको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । रिभर फल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ । भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका ७० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

राष्ट्र सेवक सहकारीको सम्पत्ति ५७ करोड भन्दा बढी

काठमाडौं । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको सम्पत्ति दायित्व ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । शनिबार आयोजित संस्थाको २७औँ वार्षिक साधारणसभामा सहकारीको कुल सम्पत्ति दायित्व आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ३८ लाख ५७ हजार ४५४ रुपैयाँ पुगेको अध्यक्ष जीवन काफ्लेले बताए ।  संस्थाको अघिल्लो आव २०८०/८१ मा ४८ करोड ४ लाख रुपैयाँ रहेकामा गत आवमा त्यसमा सुधार गर्न सफल भइएको र चालु आव २०८२/८३ मा यसलाई वृद्धि गरेर ६३ करोड ९० लाख १७ हजार ३०२ रुपैयाँ पुर्‍याइने लक्ष्य रहेको बताए ।  गत आवमा वार्षिक लक्ष्यको ९४ प्रतिशत अर्थात् ५१ करोड ४३ लाख ५ हजार ५६९ रुपैयाँ आम्दानी गरेको उनले बताए ।  यस्तै, सहकारीको निक्षेप ४४ करोड ४३ लाख ११ हजार ७०९ रुपैयाँ रहेको छ भने ऋण लगानी ३५ करोड ८८ लाख ७२ हजार ९९४ रुपैयाँ रहेको छ । विसं २०५५ साउन ४ मा स्थापित सहकारीमा हाल १ हजार ८९३ जना सेयर सदस्य रहेका  छन् ।   यस सहकारीले गत आवमा नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कारसमेत प्राप्त गरेको संस्थाका सचिव ओमराज सुवेदीले बताए । 

झापामा बाढीले ४ करोडको क्षति, साढे २ हजार बालबालिका प्रभावित

काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब २ हजार ५०० बालबालिका प्रभावित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानका २ हजार ५ सय बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईँले जानकारी दिए । ‘प्रभावित बालबालिकालाई शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको छ । सम्बन्धित पालिकालाई पुस्तकको व्यवस्थापन गर्न भनि सकिएको छ,’ उनले भने । अविरल वर्षापछिको बाढीले जिल्लामा करिब ४ हजार ५०० घरपरिवार प्रभावित भएकामा झण्डै ३ हजार ४०० घरपरिवार झापा गाउँपालिकाका रहेको उनले बताए । गत २३ गते यता झापा गाउँपालिका वडा नं १ र २ का करिब १ हजार ७ सय बाढीपीडितलाई राहत प्याकेज वितरण गरिएको उनको भनाइ छ । बाढीपीडितलाई राहतसँगै कृषि, पशु, पूर्वाधारलगायत क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । विपद्जन्य रोगबाट बचाउन मेची प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालयको टोली प्रभावित क्षेत्रमा खटिएको सहायक प्रजीअ प्रसाईँले बताए । पानी जन्य रोग नियन्त्रणका लागि पानी निर्मलीकरण गर्ने, शुद्ध खानेपानीको ट्याङ्ककी राख्ने काम भइरहेको जनाइएको छ । राहत वितरणका लागि विभिन्न व्यक्ति, सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठानले सहयोग गरिरहेका छन् । करिब ४ हजार परिवारलाई वितरण गर्न सकिने गरी खाद्यान्न व्यवस्थापन भइसकेको सहायक प्रजीअ प्रसाईँले बताए । अहिले राहत वितरणका लागि खाद्यान्नको अभाव नरहेको उनको भनाइ छ । जिल्ला विपद् व्यवस्थापन समितिले ‘एकका लागि एक अभियान’सँगको सहकार्यमा एकद्वार प्रणालीमार्फत जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिरहेको छ । एकका लागि एक अभियानका संयोजक महेन्द्र कुमार गिरीले २ हजार परिवारलाई राहत दिन पुग्ने गरी करिब ६० लाख विभिन्न दाताबाट प्राप्त भइसकेको बताए ।  बाढीपीडितलाई राहत प्याकेजअनुसार प्रतिपरिवार चामल १ बोरा, तेल एक लिटर, नुन दुई केजी, आलु ५ केजी, दाल २ केजी, पानी १ कार्टुन, म्याट २ थान र कम्बल २ थान वितरण गरिँदै आएको छ । कनकाईमा ४ करोडको क्षति यसैबीच, गत असोज १८ गते आएको बाढीले झापाको कनकाई नगरक्षेत्रमा करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरक्षेत्रमा बाढीका कारण करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । कनकाईमा कनकाई माई नदीमा आएको बाढीले करिब २५ बिघा जमिन कटान गरेको छ भने करिब ८ सय मिटर सडकमा क्षति पुर्याएको छ । ‘नदी नियन्त्रणका लागि नगरपालिकाले कनकाई र बिरीङ नदीमा तटबन्धन गरेकाले धेरै क्षति हुन पाएन । नगरक्षेत्रमा बाढीका कारण करिब ५० घरपरिवार प्रभावित भएका छन्,’ नगर प्रमुख पोखरेलले भने ।  विभिन्न सामाजिक सङ्घसंस्थासँगको सहकार्यमा राहत वितरणको काम भइरहेको बताउँदै उनले तत्काल कार्यपालिकाको बैठकबाट निर्णय गरेर राहतका कार्यक्रम ल्याइने बताए । 

न्यालु सडक नखुल्दा लिमी घुम्न गएका ४० बढी यात्रु अलपत्र

काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमी घुम्न गएका ४० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । सोमबार र मङ्गलबार परेको हिमपातले घुम्न गएका आन्तरिक र बाह्य पर्यटक लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन् । पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा दुई दिन परेको बाक्लो हिमपातले न्यालुको बाटो छिचोल्न नसकेपछि उनीहरू तुम्लिङमा रोकिएका तुम्लिङमा रहेका उब्जन रावतले बताए ।  हिमपातका कारण नाम्खा गाउँपालिका-६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा सवारीसाधनले सडकको हिउँ छिचोल्न नसकेर आफूहरू ५/६ दिनदेखि उतै रोकिनु परेको रावतको भनाइ छ । न्यालु लेकमा परेको तीन फिट बढी हिउँ पन्छाउने कार्य अघि बढ्न सकेको छैन । शनिबार दिउँसो घाम लागेपनि यात्रुले हिउँ पन्छाउन खोज्दा नसकिएको उनले बताए । न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउनका लागि लिमीको तुम्लिङमा टेलिफोन सेवाले काम नगर्दा साढे एक घण्टा पैदलयात्रा गरिसकेपछि सम्बन्धित निकायमा हिउँ पन्छाउन आग्रह गरेको रावत बताउँछन् । हिमपातले बाटो बन्द भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको तुम्लिङमै रहनुभएका पवन रोकायाले बताए । न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउने कार्य सकभर आज हुने नभए सोमबारसम्म पन्छाइसकिने भएको पूर्वाधार विकास कार्यालयका प्रमुख नरेश राज जैसीले बताए । यो सडक पूर्वाधार विकास कार्यालयले हेर्दै आएको छ ।

तिहार नजिकिएसँगै चहलपहल बढ्यो, सानादेखि सपिङ सेन्टरसम्मले ल्याए अफर र छुट

काठमाडौं । तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौंका विभिन्न स्थानका बजारमा अहिले  किनमेल गर्नेको चहलपहल बढेको छ । यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन् । राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमीलगायत स्थानमा तिहारको सामान किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढ्दै जान थालेको छ ।  उपत्यका छाडेर बाहिर जानेहरू लगायतले अहिले माटोका पाला (दियो), झिलिमिली बत्ती, सप्तरङ्गी टीका, मखमली फूलका माला, लक्ष्मी पूजामा प्रयोग हुने सामग्री, भाइ मसला, अमला, ढाकाटोपी, भाँडावर्तन र लुगा कपडा किनमेल गर्ने गरेको असनका व्यापारी भाइकाजी मर्हजनले बताए ।  उनले भने, ‘अहिले यहाँका बजारमा तिहारको किनमेल गर्नेका कारण रौनक बढ्दै गएको छ । तिहारका लागि सामग्री किन्नेको दैनिक रूपमा चाप बढ्दै जान थालेपछि रौनक पनि बढ्दै गएको हो ।’ यसैगरी तिहारलाई लक्षित गर्दै साना ठूला पसल तथा सपिङ सेन्टरसम्मले विभिन्न अफर र छुटसहित सामान बिक्रीमा राखेका छन् । साँझको समयमा यहाँका सडक छेउ र फुटपाथमा पनि तिहारका सामान सजाइएको देख्न सकिन्छ । जहाँ ग्राहकको घुइँचो देख्न सकिन्छ ।  विशेषगरी साँझपख र बिदाका दिनमा बजारमा सामान किन्नेको निकै चहलपहल देखिने गरेको सुन्धारास्थित फुटपाथमा लुगा व्यापार गर्दै आएकी शान्ति भुजेलले बताइन् ।  ‘नयाँ लुगा किन्ने तथा झिलिमिली बत्ती र घर सजावटको सामान किन्नेहरू उल्लेख्य देखिने गरेका छन् । किनमेल गर्नेका कारण अहिले व्यापार पनि राम्रो चल्दै छ,’ उनले भनिन् ।  भाइटीकाका दिनमा प्रयोग हुने भाइ मसला प्याक, ढाका टोपी, टीका सेट, मिठाई र ‘गिफ्ट आइटम’को माग बढ्दै गएको इन्द्रचोकका कपडा व्यापारी अमिर मान श्रेष्ठले बताए ।  उनले भने, ‘अहिले विशेषगरी महिला र बालबालिकाका लागि आकर्षक लुगा तथा शृङ्गार सामग्री र तिहारमा चाहिने ढाका टोपी, टीका सेटलगायत मिठाई पनि बढी बिक्री हुने गरेको छ ।’ चिसो बढ्न थालेपछि जाडोका कपडाको व्यापार बढ्न थालेको व्यापारीहरू बताउँछन् । अहिले यहाँका व्यापारीले जाडोलाई लक्षित गरेर सामान ल्याएर बिक्री गर्न थालेका छन् ।