विकासन्युज

गुल्मीका भण्डारीले कृषिबाटै कमाए ३ लाख, २ सय बोट कागतीको उत्पादन बेच्न बाँकी

काठमाडौं । गुल्मीको धुर्कोट–५ बस्तुका कृषक निमकान्त भण्डारीले कृषिकर्मबाटै यस वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका छन् । ६८ वर्षको उमेरमा पनि भण्डारी कृषि पेशामै सक्रिय छन् । भण्डारीका छिमेकी रमेश भण्डारीका अनुसार निमकान्तले यस वर्ष भैँसी बिक्रीबाट मात्रै ८० हजार रुपैयाँ कमाएका छन् । यस्तै, उनले दुईवटा बोका बिक्रीबाट ३९ हजार रुपैयाँ आम्दानी गरेका छन् । केरा बेचेर ५५ हजार र खुर्सानीबाट २५ हजार रुपैयाँ आम्दानी गरेका छन् । निमकान्तले गत सिजनको सुन्तला बिक्रीबाट ८७ हजार रुपैयाँ आम्दानी गरेका थिए । उनी भन्छन्, 'यस वर्ष सवा लाख जतिको सुन्तला बेचिएला ।' उनले आफ्नै खेतमा उत्पादन भएको धान र मकै बेचेर पनि ५० हजार रुपैयाँ कमाएको बताए । साथै, सुकेको घाँस र पराल ३० हजार रुपैयाँमा बिक्री भएको निमकान्तको दाबी छ । उनको बारीमा १०५ गाज केरा, ८ सय बोट सुन्तला र २ सय बोट कागती रहेका छन् । उनले अकबरे खुर्सानीको खेतीसमेत गरेका छन् । उनको गोठमा विभिन्न जातका भैँसी र बाख्रासमेत रहेका छन् ।

करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंको सञ्चारग्रामस्थित न्युनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा उनले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।  सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले अन्य सरकारी कर्मचारीहरुले पेन्सन लगायतका सुविधा समेत पाउने भएकाले करारमा रहेका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको तर्क समेत गरे । उनले सबै सञ्चारकर्मीहरुलाई सो कोषको दायरामा ल्याउन सरकार लागि परेको पनि बताए ।  सञ्चारमन्त्री खरेलले भने, ‘मैले सचिवज्युलाई म आएलगत्तैको हप्तामा यो कुरा राखेको पनि छु कि कसरी हामीले अव सामाजिक सुरक्षा कोषको दायरामा पत्रकारलाई, सञ्चारकर्मीलाई ल्याउन सकिन्छ । अब कसरी व्यवहारिक रुपमा सकिन्छ त ? यसको व्यवहारिक पाटो पनि हेर्दै कम्तिमा शुरुवात गरेर अगाडि बढियो । र एउटा फाउण्डेशन, बेसलाईन बनाइयो भने अगाडि बढन सकिन्छ ।’ मन्त्री खरेलले सामाजिक सुरक्षा कोषको दायरामा अनौपचारिक क्षेत्रलाई समेट्ने कामलाई सरकारले जोड दिएको पनि जानकारी दिए ।   

सेयर बजारमा ७८.८३ अंकको गिरावट, २५ सयमा रोकियो बजार

काठमाडौं । आइतबार सेयर बजारमा भारी अंकले गिरावट आएको छ । जेनजी आन्दोनल, बाढी पहिरो र सुनको मूल्यमा भएको वृद्धि लगायत कारण सेयर बजार ओरालो लागेको लगानीकर्ताहरु बताउँछन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.०५ प्रतिशत अर्थात् ७८.८३ अंकले घटेको छ ।  २ हजार ४ हजार ९३ अंकमा झरेको सेयर अन्तिम समयमा भने २ हजार ५०३.८३ अंकमा बन्द भएको छ । लगानीकर्ताहरुले २५ सय विन्दुलाई बटम लाइनका रुपमा लिएका छन् ।  आज दिनभरीमा ३२४ कम्पनीको सेयर कारोबार हुँदा २४२ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । नेप्सेका अनुसार १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर ६७ हजार पटक किनबेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज बैंकिङ समूह २.३० प्रतिशत, विकास बैंक समूह २.९३ प्रतिशत, फाइनान्स समूह ३.६७ प्रतिशत, होटल तथा पर्यटन समूह ४.८४ प्रतिशत, जलविद्युत समूह ३.७९ प्रतिशत, लगानी समूह ३.१३ प्रतिशत, जीवन बीमा समूह २.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.९४ प्रतिशत, लघुवित्त समूह २.८८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९९ प्रतिशत, निर्जीवन बीमा समूह २.३२ प्रतिशत, अन्य समूह ४.७९ प्रतिशत र व्यापार समूह २.८५ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।  आइतबार नेपाल पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक ३८ करोड ७ लाख ४७ हजार रुपैयाँ बराबर कारोबार भएको छ । यस्तै, एनएलजी इन्स्योरेन्सको ३७ करोड १७ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ४६ लाख रुपैयाँ र सीईडीबी होल्डिङ्गको २२ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  बुटवल पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशत घटेको छ । यस्तै, नेपाल पुनर्बीमाको ९.१५ प्रतिशत, राधी विद्युत पावरको ८.५० प्रतिशत, सीईडीबीको ८.४५ प्रतिशत र विन्धवासिनी हाइड्रोको ८.२७ प्रतिशत सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । 

झडपमा ५८ पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी

काठमाडौं । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानको आक्रमणको जवाफमा गरिएको कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको बताएका छन् । काबुलमा आइतबार पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले यस्तो बताएका हुन् ।  उनका अनुसार जवाफी कारबाहीमा २० पाकिस्तानी चौकीमा कब्जा गरिएको थियो, तर झडप सकिएपछि ती फिर्ता गरिएका थिए । जबिहुल्लाह मुजाहिदको दाबीमा अहिलेसम्म पाकिस्तानको कुनै प्रतिक्रिया आएको छैन । यद्यपि गृहमन्त्री मोहसिन नकवीले शनिबार राति दाबी गरेका थिए कि अफगानिस्तानको कारबाहीको प्रभावकारी जवाफ दिइएको छ । प्रवक्ताले झडपको क्रममा ९ जना तालिबानका सदस्य मारिएको र २० भन्दा बढी घाइते भएको पनि पुष्टि गरेका छन् । जबिहुल्लाह मुजाहिदले आरोप लगाएका छन् कि आईएसआईएसको प्रमुख पाकिस्तानमा छ र यो संगठन हाल पनि खैबर पख्तूनख्वाह र बलुचिस्तान प्रान्तहरूमा सक्रिय छ । उनले अफगानिस्तानबाट आईएसआईएस नरहेको दावीसमेत गरे । आईएसआईएसका प्रशिक्षण केन्द्र पाकिस्तानमा स्थापित रहेकाले अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनु आवश्यक रहेको उनले बताए । उनले अफगानिस्तानका विदेशमन्त्रीको भारत यात्रा कुनै देशको विरोधमा नभएको र यसमा आपत्ति जनाउन पनि नहुने बताए ।

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर, आफैँले दिएका सुझाव कार्यान्वयनमा चुक्दै अर्थमन्त्री

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट आएको तीन महिना बित्न लाग्दा कार्यान्वयनको अवस्था पोहोरको कमजोर देखिएको छ । सुस्त सरकारी कार्यशैली, पछिल्ला दिनमा भएका आन्दोलनको प्रभाव चालु बजेटमा देखिएको हो ।  सरकारी खर्च, आम्दानीको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार सरकारले असोज २५ गतेसम्म कुल राजस्व लक्ष्यको १४.७९ प्रतिशत उठाएको छ । अघिल्लो वर्षको यस अवधिमा सरकारले कुल राजस्व १६.६६ प्रतिशत उठाइसकेको थियो । खर्च प्रणाली पनि सरकारको उस्तै कमजोर देखिएको छ । असोज महिना सकिनै लाग्दा अहिलेसम्म सरकारले कुल बजेट १७.२ प्रतिशत खर्च गरेको छ । अघिल्लो आवको यही अवधिमा सरकारले १७.६८ प्रतिशत बजेट खर्च भएको थियो । कुल बजेट मध्ये चालु आवको समीक्षा अवधीमा तलब भत्तासहितमा हुने खर्च अर्थात चालुतर्फ विनियोजित बजेटको २०.११ प्रतिशत बजेट खर्चेको छ भने विकास बजेट एकदमै कम अर्थात विनियोजितको ८ प्रतिशत मात्रै खर्चेको छ ।  रोचक कुरा त, उच्चस्तरीय आर्थिक सुधार आयोगका अध्यक्ष भएर सरकारलाई केही महीनापहिल्यै सरकारी प्रणालीमा रहेका समस्याहरू सुधारका लागि प्रतिवेदन बुझाएका उनै रामेश्वर खनाल अहिले अर्थमन्त्री छन् । उनै अर्थमन्त्री खनाल आफैँले बनाएका सुझावसहितको प्रतिवेदनलाई कार्यान्वयन गर्ने तहमा पुगेपनि केही गर्न सकेका छैन् । बजेट कार्यान्वयनमा समेत आफैँले देखाएका समस्यालाई समाधान गर्न खनाल चुक्दै गएको सरकारी निकायले उपलब्ध गराएको तथ्यले प्रष्ट पारेको छ ।    

१४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षणमा मन्त्री घिसिङ, पुलबारे छिट्टै निर्णय गरिने

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् ।  हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगति बारे जानकारी लिनुकासाथै स्थानीयसँग छलफल गरेका छन् । करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७/६८मा पप्पु महादेवखिम्ती संयूक्त उपक्रम (जेभी)सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ ।  लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङ अव यसको विस्तृत रुपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए । उनले भने, ‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्ने बारे तत्काल निर्णय लिनेछौं, जनजीविकासँग जोडिएको रणनीतिक महत्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौं,चाँडै निकास दिन्छौं ।’ स्थानीय बासिन्दाबाट पुल नहुँदा सास्ती बेहोर्नु परेको, व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमासमेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न माग गरिएको थियो । निर्माण व्यवसायीकातर्फबाट २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटीलाई सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संसोधनवमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ ।  हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको विमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी रहेको छ ।  यसैगरी, मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका—२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गर्नुभएको थियो । बाढीका कारण उक्त पुल भाँचिएको थियो । उहाँले पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गरे । मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, गृह सचिव रामेश्वर दङ्गाल, सडक विभागका महानिर्देशक विजय जैशी, झापा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलगायत थिए ।   

मुक्तिनाथ कृषि कम्पनीको ८.४२ प्रतिशत लाभांश घोषणा, ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीको हाल कायम र प्रस्तावित बोनस सेयर वितरण पश्चात हुने जम्मा चुक्ता पुँजी ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।  लाभांश र हकप्रद सेयर प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।  लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनार्थ कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाएर लाभांश प्राप्त गर्न सक्नेछन् । 

टाटा जेन्युइन पार्ट्स मेलामा १५० सीसीको पल्सर जित्ने मौका

काठमाडौं । दशैं–तिहार र छठ पर्वलाई लक्षित गर्दै सिप्रदी अटोपाट्र्स प्रालिले ग्राहकहरूका लागि ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष लक्की ड्र योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा बम्पर उपहार र क्यासब्याक जित्ने अवसर पाउनेछन् ।  १ लाखभन्दा माथि खरिद गर्ने ग्राहकले बजाज पल्सर १५० सीसीको बम्पर उपहारको रूपमा पाउने जनाइएको छ। यसैगरी, ७५ हजार माथिको खरिदमा टीभीएस स्कुटर (१२५ सीसी), २५ हजार माथिको खरिदमा स्मार्ट टिभी, ५ हजार माथिको खरिदमा स्मार्टफोन र हरेक खरिदमा १ हजारसम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ उपलब्ध हुने सिप्रदीले जनाएको छ । टाटा जेन्युइन पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्त्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्ने जनाइएको छ । यसले मर्मत खर्च घटाउने मात्र नभई सवारीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ । नेपालमा टाटा मोटर्सद्वारा उत्पादित र वितरित यी पार्ट्सका एक मात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि रहेको छ ।  योजना केवल दुई हप्ता मात्रै लागू हुने भएकाले ग्राहकहरूले ढिलो नगरी टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा भाग लिन र बम्पर उपहार जित्ने सुनौलो अवसरको फाइदा उठाउन सक्नेछन् ।