विकासन्युज

सिँचाइका रूग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रूग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया-५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको हो । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता गरेको थियो । ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।  आयोजनाले पटक-पटक सूचना प्रकाशन गर्दा समेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै जासो नदिएको जनाएको छ । ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्तिले आयोजना कार्यालयमा उपस्थित हुन बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।  पेस गरिएका प्रमाण नियम सङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ ।    सिँचाइ विभाग अन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीय सहित २५ आयोजनाका ठेक्का रूग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो । 

आज देशभर मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

नारायणी डेभलपमेन्ट बैंकको २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १ लाख ९२ हजार ७७७ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  बैंकको उक्त सेयरका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।  यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिदका लागि आवेदन नदिए सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।  बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका–१० चितवनमा रहेको छ ।    

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

काठमाडौं । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् ।  उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको अमेरिकास्थित राजदूतावासले जनाएको छ ।  भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बीमामा सूचीकृत, सरकारी अस्पताल जाने बढ्दै

काठमाडौं । बागलुङ जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भएका छन् । ती परिवारका १ लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष १ लाख २६ हजार बीमामा आबद्ध भएकामा हाल १५ हजार बढेर १ लाख ४१ हजार ५०९ जना पुगेका छन् । ९ वर्षअघि सुरु भएको स्वास्थ्य बीमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बीमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बीमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवाविन्दुमा थएिको स्वास्थ्य बीमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार यसमा १ लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् ।  ‘स्वास्थ्य बीमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन् । क्रमशः स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढिरहेको छ,’ पौडेलले भने, ‘यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बीमा गर्न थालेका हुन् ।’ २ लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बीमा गर्न थालेको पौडेलको भनाइ छ । स्वास्थ्य बीमा कार्यक्रमअनुसार ५ जनासम्मको परिवारका सदस्यले वार्षिक ३ हजार ५०० रुपैयाँ तिर्नुपर्ने र ५ जनाभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रति सदस्य ७ सय रुपैयाँका दरले शुल्क बुझाइ एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिक १ लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बीमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बीमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताए । 

विश्व बैंकको साढे २९ करोड अनुदानमा सडक स्तरोन्नति गरिँदै

काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिकामा विश्व बैंकको २९ करोड ४६ लाख ४३ हजार ७२३ रुपैयाँको अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका-६ चानदेवदेखि वडा नं २ काठमाडौं डाँडासम्मको १३.६ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए । उनका अनुसार ५ मिटर चौडाइमा कालोपत्रको कार्य गरिने छ भने सडकको चौडाइ नालासहित ८ मिटरदेखि १० मिटरसम्म हुनेछ ।  ‘सडक कालोपत्र कार्यका लागि डुकुचु/अनक/जोशी जेभीसँग गत वैशाख महिनामै ठेक्का भइसकेको छ । अब केही दिनभित्रै निर्माणकार्य सुरु हुन्छ,’ अध्यक्ष रानाले भने ।  सडक निर्माणको कार्य आगामी जेठ महिनाभित्रै पूरा गर्ने समयसीमा निर्धारण गरिएको छ । सडक कालोपत्र भएमा पूर्वमा सुदूरपश्चिम प्रदेश सदरमुकामतर्फ जाने सडक र पश्चिममा जिल्ला सदरमुकाम, बेलौरी-कलुवापुर राजमार्गसम्मको पहुँचमा सहज हुनेछ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीका अनुसार निर्माणकार्य अगाडि बढाउन जग्गाको समस्या भएका क्षेत्रमा प्रभावित परिवारसँग छलफल भई समाधानको प्रयास भइरहेको बताए ।

नेपालको अपराजित यात्रा, ओमानलाई ३८ रनले हरायो

काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।  ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान २/२ विकेट लिए ।  सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा २ चौका र १ छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले २ छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।  ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान २/२ विकेट लिए । यसअघि नै टी-२० विश्वकपमा स्थान बनाइसकेको नेपाल ८ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ । अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।

हलेसी डेकोरले सुरु गर्‍यो डिजिटल बिलिङ प्रणाली

काठमाडौं । हलेसी डेकोरले आफ्नो व्यापारिक यात्राको १५औं वर्ष पूरा गर्दै अब डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको छ । कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानि, बेडसिटलगायतका सामग्री ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको हलेसी डेकोरले निरन्तर १५ वर्षको सफल सेवालाई पारदर्शी र विश्वसनीय कारोबारतर्फ रूपान्तरण गर्ने उद्देश्यसहित यो प्रणाली सुरु गरेको हो । ‘व्यापारमा इमान्दारिता, हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारासहित सुरु गरिएको नयाँ अभियानअन्तर्गत अबदेखि कम्पनीका सबै कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत हुनेछन् ।  साथै प्रत्येक सामानमा एमआरपी (अधिकतम खुद्रा मूल्य) स्पष्ट रूपमा उल्लेख गरिनेछ। यसले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई अझ सुरक्षित, प्रमाणित र विश्वासिलो बनाउने कम्पनीको दाबी छ । हलेसी डेकोरले १५ वर्षको अनुभव, उचित मूल्य, ग्राहकअनुकूल सेवा र ‘बिक्री पछिको सेवा हाम्रो जिम्मेवारी’  भन्ने अडानका साथ पारदर्शी व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।