विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै ३५ अर्बको प्रतिबद्धता
काठमाडौं । पछिल्ला वर्षहरूमा वैदेशिक लगानी बढेर गएको छ । उद्योग विभागकाअनुसार पछिल्लो तीन महिनामा मात्रै ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । गत साउनदेखि असोज मसान्तसम्ममा ३ सय ११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । चालु आर्थिक वर्षमा सात वटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ भने गत असोजमा मात्र ७५ वटा साना उद्योगमा २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । हालसम्म विभागले सात हजार ५५० वटा उद्योगमा खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत गरिसकेको छ । गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ । पछिल्ला वर्षमा आएको वैदेशिक लगानीको प्राप्ति हेर्ने हो भने गत आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक लगानी आप्रवाह ४१.८ प्रतिशतले वृद्धि भएको छ । सो वर्ष १५ अर्ब २ करोड पुगेको थियो । त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी मुलुकमा भित्रिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा उद्योग विभागबाट स्वीकृत कुल विदेशी लगानी ७४ अर्ब ९७ करोड रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड बराबरको विदेशी लगानी स्वीकृत भएको थियो । २०८२ असारसम्ममा ६ खर्ब ५१ अर्ब ४५ करोड बराबरको कुल विदेशी लगानी उद्योग विभागबाट स्वीकृत भएको थियो ।
अझै निर्वाचनको वातावरण बनेको नबनेको दाहालको आरोप
महेन्द्रनगर (धनुषा) । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । सरकारले मङ्गलबार राजनीतिक दलहरूसँग गरेको वार्ताले सरकार विस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास दिए पनि अझै निर्वाचनको वातावरण बनी नसकेको उनको भनाइ थियो । अध्यक्ष दाहालले अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्ने बताए । वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै अध्यक्ष दाहालले समाजवादी मोर्चामा रहेका पार्टीहरू एकता प्रक्रियातर्फ अगाडि बढेको उल्लेख गरे । छठ पर्वपछि वामपन्थी एकताको नयाँ परिस्थिति देखिने उनले विश्वास व्यक्त गरे ।
जेनजी प्रदर्शनको क्रममा नष्ट भएको घर हेर्न गए केपी ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाटले ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक उनी श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा पुगेका हुन् । यसअघि ओली पत्नी शाक्य भने यसअघि नै सो निवासमा पुगी अनुगमन गरेकी थिइन् । ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरुले बताएका थिए । ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्त्वका धेरै सामग्रीहरू जलेर नष्ट भएको बताएकी थिइन् । ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गरेका थिए ।
बागमती सरकारले तीन महिनामा ७ अर्ब ६४ करोड राजस्व सङ्कलन
बागमती । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ३४ प्रतिशत अर्थात् ७ अर्ब ६४ करोड ५० लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकामा साउनदेखि असोजसम्ममा लक्ष्यको १४ दशमलव २१ प्रतिशतअर्थात् ४ अर्ब ३८ करोड ८३ लाख १३ हजार मात्र राजस्व सङ्कलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए । उनका अनुसार चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट ७ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकमा तीन महिनाको अवधिमा त्यसको करिब १३ दशमलव ३१ प्रतिशत अर्थात १ अर्ब दुई करोड ५२ लाख २६ हजार राजस्व सङ्कलन भएको छ । यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/८३ मा ८ अर्ब २५ करोड अनुमान गरिएकामा असोजसम्म २१ दशमलव १७ प्रतिशत अर्थात १ अर्ब ७४ करोड ६१ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा १ अर्ब १५ करोड ४६ लाख आठ हजार सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकामा रु ४२ करोड ११ लाख ३३ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सङघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा तीन महिनाको अवधिमा २ अर्ब ३३ करोड ९९ लाख १६ हजार मात्र प्राप्त भएको सूचना अधिकारी पौडेलले बताए । यस्तै चालु आव २०८२/८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा तीन महिनाको अवधिमा ८७ करोड आठ लाख २० हजार मात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारी साधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षति लगायतका कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको सूचना अधिकारी पौडेलको भनाइ छ ।
आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्कीको दावी
भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा बुधबार यहाँ आयोजित शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग–समूहको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्न जिम्मेवारी पाएको विदितै छ । सरकारसँग नेपालको संविधानअनुसार जेनजीको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनुपर्ने दायित्व छ । लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ ।’ गत भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाको अनाहकमा ज्यान गएको र सयौँको सङ्ख्यामा घाइते भएको घटनाले आफू अत्यन्त दुःखी भएको उनले बताइन् । नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाइने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरिन् । सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयले सरकार यस संवत्को संवद्र्धन, प्रवद्र्धन र व्यावहारिक रुपमा लागू गर्न तत्पर रहेको स्पष्ट भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयमा नेपाल संवत्को प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै यसको अनुगमनका लागि प्रतिष्ठानसँग सहकार्य गर्नेसमेत बताइन् । शङ्खधर साख्वाःको समाज र देशप्रतिको अतुलनीय योगदान तथा सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप ९३६ सालमा थालनी भएको नेपाल संवत् कुनै राजाको शक्ति वा युद्धको विजयबाट नभई व्यापारीको त्याग र परोपकारको आधारमा लोकस्तरबाट उत्पत्ति भएको भएकाले यो उच्च महत्व र लोककल्याणको विरासत बोकेको संवत् भएको चर्चा उनले गरिन् । नेपाली समाजमा गरिबी र असमानताको अन्त्य गर्दै जनताको आर्थिक स्तर वृद्धि गर्न साख्वाःले देखाएको मार्गमा लाग्नु आवश्यक रहेको औँल्याउँदै प्रधानमन्त्री कार्कीले शङ्खधर साख्वाःले जस्तै व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई आत्मसात गरी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभिष्ट पूरा हुने बताइन् । कार्यक्रममा उनले साख्वाःको शालिकमा माल्यार्पण गर्नुका साथै प्रतिष्ठानद्वारा प्रकाशित बुलेटिन विमोचन गरेकी थिइन् ।
सुन–चाँदीको मूल्यमा एकैदिन दशककै ठूलो गिरावट
काठमाडौं । तिहारको बेलामा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय स्तरमा मंगलबार सुनको मूल्य ६.३ प्रतिशतले घट्यो, जुन पछिल्ला दशकभन्दा बढी अवधिमा सबैभन्दा ठूलो एक दिनको गिरावट हो। चाँदीमा पनि ७.१ प्रतिशतको गिरावट दर्ता भएको छ । बुधबार पनि एसियाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । सुनको मूल्य २.९ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार ४.२६ अमेरिकी डलरमा पुगेको छ भने चाँदी पनि २ प्रतिशतभन्दा बढी घटेर ४७.६ डलरमा पुगेको छ । यस वर्ष सुन र चाँदीको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको थियो । लगातारको यो तीव्र वृद्धि देखेर धेरै लगानीकर्ताहरूले यसको स्थायित्वबारे शंका गर्न थाले — कतै यो वृद्धि अस्थायी बबल (आर्थिक भाषामा कुनै वस्तु जस्तै सुन, चाँदी, घरजग्गा वा सेयर — को मूल्य वास्तविक मूल्यभन्दा धेरै बढ्ने अवस्थालाई बबल भनिन्छ।) त होइन भन्ने । यही आशंका र मुनाफा सुरक्षित गर्न चाहने मनोवृत्तिका कारण धेरैले आफ्नो लगानी फिर्ता लिन थाले । त्यसको सीधा असर बजारमा पर्यो र सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट देखियो । सुनचाँदीको मूल्य घट्नुका पछाडि धेरै कारणहरू छन् । पहिलो- चीन र अमेरिकाबीच पछिल्ला हप्ताहरूमा भएका सकारात्मक व्यापार वार्ताले विश्व बजारमा थोरै स्थिरता ल्याएको छ, जसका कारण लगानीकर्ताहरूले सुरक्षित आश्रय मानिने सुन र चाँदीबाट पैसा निकाल्न थालेका छन् । दोस्रो- अमेरिकी डलर हाल बलियो बन्दै गएको छ । जब डलरको मूल्य बढ्छ, तब अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीजस्ता धातुहरू किन्ने लागत विदेशी लगानीकर्ताहरूका लागि बढ्ने हुँदा माग घट्ने हुन्छ । तेस्रो कारण- प्रविधिक रूपमा पनि सुन र चाँदीका मूल्यहरू अत्यधिक बढिसकेका थिए, जसले बजारमा ओभरबाय (अत्यधिक मात्रामा खरिद हुने अवस्था) को संकेत दिएको थियो । यस्तो अवस्थामा सानो नकारात्मक संकेत वा मुनाफा असुल्ने मनोवृत्तिले पनि ठूला गिरावट ल्याउन सक्छ । चौथो कारण- अमेरिकी सरकारी शटडाउनको सम्भावना हो, जसले बजारमा अनिश्चितता बढाएको छ। लगानीकर्ताहरूले आफ्नो पोजिसन घटाउँदै जोखिम कम गर्न खोजिरहेका छन् । यी सबै कारणहरू मिलेर अहिले सुन र चाँदीमा देखिएको गिरावट केवल अस्थायी प्रतिक्रिया नभई बजारको स्वाभाविक सुधारको संकेत पनि हुनसक्छ । विश्लेषकहरूका अनुसार यदि विश्व अर्थतन्त्र स्थिर रह्यो भने आगामी महिनाहरूमा मूल्यवान धातुहरूको मूल्य फेरि सन्तुलनमा फर्किन सक्छ । डलर कमजोर, सुन बलियो ! विश्व बजार किन सुनतिर दौडिरहेको छ ?
झापामा थपिए २ हजार ६२२ मतदाता
काठमाडौं । झापा जिल्लामा २ हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता संख्या ६ लाख ८२ हजार ९९३ पुगेको छ । यसअघि झापामा ६ लाख ८० हजार ३७१ जना मतदाता थिए । अन्तरिम सरकारले अध्यादेश मार्फत निर्वाचन कानुन संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाता सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ । 'मतदाता सूचीमा नाम लेखाउन आउने क्रम चलिरहेको छ,' सूचना अधिकारी न्यौपानेले भने, 'एकै दिन तीन सय जनासम्म मतदाता सूचीमा नाम दर्ता गराउन आउँछन् । नयाँ पुस्तामा निर्वाचनमा भाग लिने उत्सुकता बढेको पाइएको छ ।' यही कात्तिक २ गतेसम्म थपिएका मतदाता संख्या २ हजार ६२२ पुगेको हो । कात्तिक ३० गतेसम्म नयाँ मतदाताले आफ्नो नाम दर्ता गर्न पाउने समयसीमा तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तो छ आजको मौसम
काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार बुधबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । मौसम बुलेटिनका अनुसार आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।