सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट
काठमाडौं । यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार रुपैयाँ घटेर दुई लाख ३९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । हिजो मंगलबार प्रतितोला दुई हजार ९०० घटेपछि दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार पुनः तोलामा सात सय घटेर दुई लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला दुई हजार ९२० रुपैयाँमा किनबेच भएको चाँदी आज बढेर दुई हजार ९६५ रुपैयाँ पुगेको हो । अन्तरराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिनिधि सभा विघटन मुद्दा प्रधानन्यायाधीश राउतको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन
काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्न सर्वोच्च अदालतमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधि सभाबाट नयाँ सरकार गठन नहुने अवस्था सिर्जना भयो । फलस्वरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । सोही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको हो ।
सोल्टी होटलको लाभांश घोषणा
काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते बिहान १० बजे काठमाडौंमा ५१ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जस अनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल हुँदै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा बुधबार अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले निर्वाचन सफल बनाउन चरणबद्ध वार्ता र छलफल जारी रहेको सन्दर्भमा बुधबार त्रिपक्षीय बैठक आह्वान गरिएको जानकारी दिए । आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माणका क्रममा सरकारले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सम्बद्ध पक्षसँग औपचारिक र अनौपचारिक वार्ता र छलफल गर्दै आएको छ ।
कुमारी बैंकद्वारा 'कुमारी' तृष्णा शाक्यलाई ७ लाख ३८ हजार छात्रवृत्ति रकम हस्तान्तरण
काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ । बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि प्रत्येक वर्ष एक लाख रुपैयाँका दरले छात्रवृत्ति कोष खडा गरी रकम संकलन गर्दै आएको छ । यस छात्रवृत्ति कार्यक्रमको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउने रहेको बैंकले जनाएको छ । सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले यस वर्ष सो कोषमा जम्मा भएको कुल रकम ७ लाख ३८ हजार ८११.९५ रुपैयाँ निवर्तमान कुमारी तृष्णा शाक्यलाई छात्रवृत्तिका रूपमा हस्तान्तरण गरेको हो ।
स्वास्थ्यकर्मीको पारिश्रमिक ज्ञान, सीप र अनुभवलाई आधार गर्न अफिनको माग
काठमाडौं । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्यकर्मीको पारिश्रमिक ज्ञान, सीप र अनुभवलाई आधार हुनुपर्ने माग राखेको छ । अफिनले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । स्वास्थ्यकर्मीको पारिश्रमिक सहित अफिनले ७ बुँदे माग राखेको छ । स्वास्थ्य र शिक्षा क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्ने नीति लिनुपर्ने, निजी अस्पताल र शिक्षण संस्थासम्बन्धी निर्देशिकाका संशोधन, अफिनको अनिवार्य सहभागिता सुनिश्चित र समन्वयका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै कक्षको माग गरिएको छ । त्यस्तै विपन्न र असहाय बिरामी पहिचानका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने र सक्षम निजी अस्पतालहरूलाई स्वास्थ्य शिक्षण कार्यक्रम सञ्चालनका अवसर दिनुपर्ने अफिनको माग गरेको छ । निजी स्वास्थ्य क्षेत्रले करिव ४ सय १ अस्पतालमार्फत २० हजार शैय्यामा स्वास्थ्य सेवा प्रदान गर्दै करिव एक लाखभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको र राष्ट्रको कुल जनसंख्याको ६५ प्रतिशतलाई आधुनिक तथा प्रविधिमैत्री स्वास्थ्य सेवा दिँदै आएको अफिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष पदमबहादुर खड्काले हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूले पारिश्रमिकको विषयलाई लिएर केही मेडिकल कलेजमा आन्दोलन गरेका घटनाप्रति अफिनले चिन्ता व्यक्त गरिएको छ ।
बैतडीमा अठार जनामा डेङ्गी सङ्क्रमण
बैतडी । बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए । स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जिल्लाका अन्य स्थानीय तहमा डेङ्गीका बिरामी फेला नपरेका जनाएको छ । गत वर्ष जिल्लामा १०६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । हाल लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जिल्लाभरि सञ्चालन भएको छ । एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने गर्दछ । डेङ्गीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जोड दिए । डेङ्गी सङ्क्रमण हुँदा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्ने जस्ता कडा खालका लक्षणसमेत देखापर्ने गर्दछन् । यस्ता खालका लक्षण देखिएमा डेङ्गी जाँच गर्नु आवश्यक रहेको र जाँच नगरिकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या निम्तिने भएकाले योतर्फ सबैले सचेत हुनुपर्नेमा स्वास्थ्य कार्यालयले जोड दिएको छ । रासस
खानेपानीका स्थानीय योजनामा बजेट अभाव
पाँचथर । जिल्लामा पालिका तथा वडा स्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका योजनामा बजेट अभाव भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ यादवका अनुसार १३ वटा खानेपानी योजनामा बजेट अभाव भएको हो । संघीय सशर्त अनुदानमा निर्माण तथा मर्मत भइरहेका फिदिम, लुम्फाबुङ, लुङरुपा, पौवासारताप, खाल्डेखोल्सी, दुर्दिम्बा, सूर्यधन, इम्बुङ, रानीटार, रवि बजार, माङ्जाबुङ, फाक्तेपलगायत खानेपानी योजनामा बजेट अपुग भएको हो । आर्थिक वर्ष २०८२/०८३ मा यी योजनालाई बजेट नभएपछि कार्यालयले प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयलाई पत्राचार गरिएको छ । बाढी पहिरोका कारण खानेपानीका केही योजनामा क्षति भएको छ । गत आवमा विपदबाट क्षतिग्रस्त मुख्य १५ वटा योजनाको सोही वर्षभित्र मर्मतका लागि १० करोड बजेट माग गरिएको थियो तर मन्त्रालयले एक करोड बजेट मात्र निकासा गरेको उनले बताए ।