बीमा कम्पनीहरुमा २३ अर्ब २३ करोड दाबी, २ अर्ब ७९ करोड भुक्तानी
काठमाडौं । गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको हालसम्म २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ दाबी परेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज ९ गतेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १८७ वटा बीमा दाबीको २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ दाबी परेको छ । कुल दाबीमध्ये हालसम्म बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा देखिएको छ । उक्त कम्पनीले ३९७ वटा दाबीको ५ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । कम्पनीले हालसम्म १ अर्ब २८ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको छ । दोस्रो धेरै क्षतिको दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा ५ अर्ब २४ करोड ४० लाख रुपैयाँ बराबरको ९९ वटा दाबी परेको छ । जसमध्ये हालसम्म कम्पनीले १ करोड ६६ लाख रुपैयाँमात्रै भुक्तानी गरेको छ । तेस्रोमा आइजीआई प्रिडेन्सियल इन्स्योरेन्सले २१५ वटा दाबीको २ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । जसमध्ये हालसम्म कम्पनीले ३१ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको छ । प्राधिकरणका अनुसार शिखर इन्स्यारेन्समा २ अर्ब ४१ करोड २९ लाख रुपैयाँ बराबरको ४३५ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५८ करोड ३० लाख रुपैयाँको ३४२ वटा, नेको इन्स्योरेन्समा १ अर्ब १४ करोड ९० लाख रुपैयाँको २६४ वटा, हिमालयन एभरेष्ट इन्स्यारेन्समा ९७ करोड १४ लाख रुपैयाँको २७१ वटा, सानिमा जिआइसी इन्स्योरेन्समा ९२ करोडको १७६ वटा दाबी परेको छ । जसमा हालसम्म शिखरले ५८ करोड ३२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ७ करोड २४ लाख रुपैयाँ, नेकोले ९ करोड ८० लाख रुपैयाँ, हिमालयन एभरेष्टले २५ करोड ६० लाख, सानिमा जिआइसीले ७ करोड १४ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् । यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सले २३८ वटा दाबीको ६३ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २०८ वटा दाबीको ६३ करोड ६४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २४७ वटा दाबीको ५८ करोड ६९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १०९ वटा दाबीको ४६ करोड ९५ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १११ वटा दाबीको ४६ करोड ९५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । हालसम्म युनाइटेडले १ करोड ७८ लाख रुपैयाँ, एनएलजीले २ करोड १ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६ करोड ११ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । लघु बीमा कम्पनीहरुमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड ४९ लाख रुपैयाँको दाबी परेकोमा हालसम्म २ लाख भुक्तानी गरेको छ । स्टार माइक्रोमा ७२ लाख दाबी परेकोमा हालसम्म भुक्तानी गरेको छैन । त्यस्तै ट्रस्ट माइक्रोमा ६५ लाख र नेपाल माइक्रोमा ५९ लाख रुपैयाँको दाबी परेको छ। जसमा ट्रस्ट माइक्रोले २२ लाख रुपैयाँ र नेपाल माइक्रोले १२ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
निजी अस्पतालका नर्सहरूको आन्दोलनमा स्वास्थ्य क्षेत्रका १४ संघसंस्थाको ऐक्यबद्धता
काठमाडौं । निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको समस्या समाधानका लागि भएको आन्दोलनमा स्वास्थ्य सेवासँग सम्बन्धित सबै ट्रेड युनियन तथा पेशागत संघ संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् । देशभरका निजी अस्पतालमा कार्यरत नर्सको आन्दोलनमा समर्थन जनाउँदै नेपाल नर्सिङ संघ लगायतका स्वास्थ्यकर्मीहरूले राखेको माग उनीहरू समर्थन जनाउँदै ऐक्यवद्धता जनाएका हुन् । विभिन्न १४ वटा संघ संस्थाले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै माग प्रस्तुत गरेका छन् । जसमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०८२ असोज २४ गतेको पत्रमा उल्लेख गरिए अनुसार स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक दिनुपर्ने, तोकिएको समय भन्दा अतिरिक्त कार्य गरेवापत अतिरिक्त भत्ता दिनुपर्ने, ज्यालादारीमा कार्य गराउन नहुने, सक्कल शैक्षिक प्रमाणपत्रहरू राख्न नपाइने, अनुभवको पत्र दिनुपर्ने, सबै स्वास्थ्यकर्मीहरूको तलब भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी दिनुपर्ने परिपत्र तत्काल कार्यान्वयन गर्न माग गरेको छ । यस्तै प्रत्यक्ष मानव जीवनसँग सरोकार राख्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरू माथि विभिन्न समयमा आक्रमण गरी भौतिक तथा मानवीय क्षति पुर्याउने कार्य प्रति पनि गम्भीर रूपमा ध्यानाकर्षण गरेको छ । नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल जनस्वास्थ्य संघ, नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, नेपाल रेडियोलोजिकल सोसाइटी, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल नर्सिङ संघ र नेपाल डेन्टल साईन्स हाइजिनिस्ट एसोसिएसनले संयुक्त रुपमा उपभोक्ता संरक्षण ऐनका स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै दफाहरू स्वास्थ्यसँग सम्बन्धित विभिन्न ऐनहरूसँग बाझिएको हुँदा उक्त बाझिएका दफाहरू बाझिएको हदसम्म खारेज गर्न भनेका छन् । ‘तत्काल यो ऐन संशोधन गरी स्वास्थ्यसँग सम्बन्धित ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूसँग नेपाल सरकारले विगतमा गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष नेपालले गरे माओवादी केन्द्रसँग एकताको सैद्धान्तिक आधार प्रस्तुत (पूर्णपाठ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग सम्भावित पार्टी एकताको सैद्धान्तिक आधार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका छन् । बुधबारदेखि सुकेधारामा सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै नेपालले वाम एकता र समाजवादी क्रान्तिको आवश्यकता भएको बताएका छन् । उनका अनुसार क्रान्ति पूरा गर्न समान विचार, सिद्धान्त र कार्यदिशा भएका कम्युनिष्ट घटकबीच एकता अपरिहार्य छ । नेपालले भने, 'एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य र संगठनात्मक सिद्धान्तमा समानता हुनुपर्छ । यी विषयमा सहमति बिना एकता सम्भव छैन ।' प्रतिवेदनमा समाजवादी मोर्चा वाम एकताको तयारीको चरण भएको उल्लेख गरिएको छ । उनले माओवादीको मार्गदर्शक सिद्धान्त माओवाद नभई माक्र्सवाद–लेनिनवाद हुनुपर्ने धारणा समेत राखेका छन् । नेपालले नेपाली क्रान्तिको जनवादी चरण पूरा भइसकेको र देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको सैद्धान्तिक व्याख्या पनि अध्यक्ष नेपालले गरेका छन् । उनका अनुसार, हाल नेपाली समाजमा आम जनता र दलाल–नोकरशाही पुँजीपति वर्गबीचको अन्तरविरोध नै प्रमुख अन्तरविरोध हो । नेपालका अनुसार माओवादीसँग नेकपा एसका सबै निती, विचार र कार्यक्रम मिल्छन् । यहि आधारमा हामी एकताको चरणमा प्रवेश गरेका हौँ । अध्यक्ष नेपालले भने, 'कम्युनिष्ट एकता आजको आवश्यकता हो । समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्ति चाहिन्छ, र त्यो शक्ति क्रान्तिकारी कम्युनिष्टहरूबीचको एकताबाटै निर्माण हुन्छ ।' तर, उनले पार्टी एकता भावनात्मक रूपमा नभई स्पष्ट सैद्धान्तिक आधारमा हुनुपर्नेमा जोड दिए । उनका अनुसार, पार्टी एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यनीति जस्ता मूलभूत विषयमा समानता अनिवार्य छ । उनले थपे, यी विषयहरूमा समान धारणा र सहमति बनेपछि एकता गर्न ढिलाइ गर्नुहुँदैन । समान विचार, सिद्धान्त, कार्यक्रम र रणनीतिक लक्ष्य भएका कम्युनिष्ट घटकसँग एकताको पहल हामीले नै गर्नुपर्छ । नेपालले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (...) हुनुपर्ने, नेपाली क्रान्ति जनवादी चरण पार गरी समाजवादी चरणमा प्रवेश गरेको मान्नुपर्ने, र माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार्नुपर्ने धारणा दोहोर्यााए । साथै, उनले साम्राज्यवाद, प्रभुत्ववाद र नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिनुपर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार, यी सैद्धान्तिक अवधारणाहरूमा समानता बिना एकता हुन सक्दैन, तर समान धारणा भएका शक्तिसँग एकताको सम्भावना देखिए हामी कहिल्यै नकारात्मक हुने छैनौं ।
एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
काठमाडौं । एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानहरुमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती स्थानका ग्राहकहरुले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवा थप टावरहरुका साथ सुधार गरेको छ । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यहरुलाई तिब्रता दिदै गत १० दिनमा यी २० वटा नयाँ टावरहरु सञ्चालनमा ल्याएको हो । नयाँ टावरहरुको सञ्चालनले ती क्षेत्रका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको छ । एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावरहरु सञ्चालनमा ल्याएको छ र ती स्थानहरु बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार र मोरङको ववियाविर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् । बागमती प्रदेशको हेटौडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको छ । 'हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धताको अनुरूप हाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौं । एनसेलले १० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमा ल्याउँदै आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ । साथै, आगामी दुई दिनभित्र हामी थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा छौं, जसले हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नेछ । यो विस्तार तथा सुधारले फोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने र देशभरका आम ग्राहकहरुलाई भरपर्दो मोबाइल सेवामा पहुँच सुधार गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रष्ट पारेको छ,' एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने । नयाँ टावरका लागि उपकरण आयातमा बन्देजका बेलामा पनि एनसेलले देशका विभिन्न भागमा आफ्ना पुराना उपकरणहरुका प्रयोग गर्दै यो वर्ष ४० भन्दा बढि नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार र सुधार गरेको थियो । फोरजी सेवा विस्तार र सुधार योजना अनुसार, एनसेलले अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावरहरु जडानका लागि काम गरिरहेको छ । यी टावररुको जडान र सञ्चालनले सेवा पहुँच र गुणस्तरलाई थप सुदृढ बनाउने एनसेलले जनाएको छ । आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भईसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढि जनतामाझ यो सेवा पुगेको छ ।
विमानस्थलमा नेपाल टेलिकमको फ्री वाइफाइ सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रु लक्षित फ्रीवाइफाइ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको शुभारम्भ कार्तिक ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको हो । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा फ्री वाइफाइ सेवाको उद्घाटन गरेका थिए । पहिलो चरणमा सेवा आगमन, प्रस्थान, भीआइपी कक्ष तथा प्रतिक्षा क्षेत्र लगायत विमानस्थलका प्रमुख स्थानहरूमा उपलब्ध गराइएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौता अनुसार देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलहरूमा क्रमशः यो सेवा विस्तार गरिँदै जानेछ । यात्रुले वाइफाइ कभरेज रहेको स्थानमा गएर 'NTC_Free_WiFi' नामको नेटवर्क रोजी आवश्यक निर्देशन पूरा गरेपछि निशुल्क इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार यात्रुको सहजता र डिजिटल पहुँच विस्तारका लागि टेलिकमले यो सेवा सामाजिक उत्तरदायित्वका रूपमा सञ्चालनमा ल्याएको हो ।
सरकारले माघ ११ लाई गर्यो राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति घोषणा
काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार आगामी माघ ११ गते आइतबारका लागी निर्वाचन मिति तोक्ने निर्णय गरेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । छ वर्ष पहिलेको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुन २१ बाट सकिनेछ । राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाई सदस्यको कार्यकाल सकिन्छ । ति मध्ये १९ जनाको कार्यकाल फागुन २१ मा सकिँदैछ । कार्यकाल सकिन लागेका मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि फागुन २१ मा निर्वाचन हुनेछ ।
सेयर घट्दा पनि बढ्यो कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५६६ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ४ अर्ब ५७ करोडको कारोबार भएको थियो । बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोको भएको छ । युनियनको २३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड ३१ लाख, बुटवल पावरको २२ करोड ७२ लाख, राधी विद्युतको २२ करोड ३० लाख र हिमालयन रिइन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोको १० प्रतिशत र उपकार लघुवित्तको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ । होटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशतले बढेको छ । अन्य समूह १.२० प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटेका छन् ।
केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान आयात र बिक्री गर्न अदालतले रोक्यो
काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । 'नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नु,' अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ । यो निर्णयसँगै, अदालतको अघिल्लो आदेश उल्लङ्घन गरी नयाँ नाममा गाडी आयात गर्ने गतिविधि कानुनी संकटमा परेको छ । गत २०८२ साउन १५ गते पाटन उच्च अदालतले सीजी मोटर्स बाहेक अन्य कुनै कम्पनीले केवाइसी गाडी आयात नगर्न आदेश दिएको थियो । तर उक्त आदेशलाई बेवास्ता गर्दै केवाइसी गाडीको नाम फेरेर ‘नियोसियारस्टार भी ईभी’ ब्रान्डमा सोही गाडी पुनः आयात गरिएको थियो । अदालतको आदेश छलेर गरिएको यो कदमले व्यवसायिक जगतमा ठूलो विवाद खडा गरेको थियो । यो विवादमा ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ नामक कम्पनी र त्यसकै सञ्चालकहरूद्वारा नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिएको खुलासा भएको थियो । अचम्मको कुरा के भने, दुवै कम्पनीका प्रमुख व्यक्ति उही समूहका रहेका छन्, जसले अदालतको आदेशलाई बेवास्ता गर्दै उही मोडेलका गाडी नयाँ नाममा भित्र्याउने प्रयास गरेका थिए । भन्सार विभागका कर्मचारीहरूले समेत यस विषयमा बेवास्ता गरेको आरोप लाग्दै आएको थियो । यसरी कानुनी आदेशको उल्लङ्घन गरी गरिएको आयातले गाडी खरिदकर्ताहरू भविष्यमा समस्या र कानुनी जोखिममा पर्ने समेत अवस्था देखिएको थियो । केवाइसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको थियो । सीजी मोटर्सले देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गर्दै सार्वजनिक यातायातमा स्वच्छ, किफायती र दिगो यात्राको सुरुवात गरेको थियो । तर पछिल्ला वर्षहरूमा सो ब्रान्डको आधिकारिक विक्रेता अधिकार कब्जा गर्न विभिन्न खेल र विवाद उत्पन्न भएका थिए । केवाइसीको उत्पादक कम्पनी चोंगकुइंग चाइना ले पनि सोही गाडीको नाम ‘नियोसिया’ राखेको पुष्टि भएको छ । मोडेल, बनावट र फिचरहरू उही भए पनि नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे नयाँ कानुनी प्रश्न उठाएको छ । नेपाल उद्योग परिसंघका एक पदाधिकारीका अनुसार, 'अदालतको आदेशपछि उही व्यवसाय नयाँ नाममा दोहोर्याउने कार्य कानुनी शासनका लागि खतरनाक उदाहरण हो । यस्ता घटना दोहोरिए विदेशी लगानीकर्ता र स्थानीय उद्यमी दुवैको विश्वासमा नकारात्मक असर पार्छ ।' अदालतको ताजा आदेशपछि नियोसिया ब्रान्डका गाडी नेपालमा आयात वा बिक्री गर्ने प्रयास तत्कालै रोकिएको छ ।