विकासन्युज

अवतरणका क्रममा नेपाल एयरलाइन्सको टायर पड्क्यो, दुर्घटना हुनबाट जोगियो

काठमाडौं, २८ भदौ । भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाज आज दुर्घटना हुनबाट जोगिएको छ । गमका प्रवक्ता रामहरि शर्माका अनुसार अवतरणका क्रममा जहाजको पछिल्लो टायर पड्कन पुगेको थियो । निगमको एयरबस ३२० लुम्बिनी जहाजलाई आज मध्याह्न १२ः४५ बजे अवतरण गर्न खोजिँदा यस्तो घटना भएको हो । टायर पड्केको भए पनि सहज रुपमा अवरण गरिएको र यात्रु तथा चालक दलका सदस्य सुरक्षित रुपमा बाहिर निकालिएको प्रवक्ता शर्माले जानकारी दिए । भण्डारणमा जगेडा टायर रहे आजै साँझसम्म टायर मर्मत गर्न सकिने र नभए बुधदेखि अपराह्नसम्म आयात गरेरै भए पनि फेरिने उनले बताए। धावनमार्ग मै जहाज रहेका कारण केही समय आन्तरिक तथा बाह्य उडानमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यसअघि गत आइतबार भारतको राजधानी नयाँदिल्लीमा निगमकै अर्को जहाज एयरबस ए ३२० सगरमाथा जहाजको पनि टायर पड्केको थियो । उक्त जहाज हाल मर्मतको क्रममा रहेको छ । रासस

कृषिको विकास नभएसम्म आर्थिक विकास असम्भवः कृषिमन्त्री चौधरी

काठमाडौं, २८ भदौ । कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताएका छन् । फ्लोरिकल्चरल एसोसिएसन नेपालको २४औँ वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रमा आमूल परिवर्तन गरी कृषकलाई आत्मनिर्भर गर्न सरकारले कृषकका लागि नयाँ कार्यक्रम ल्याउने योजना गरिरहेको बताए । बेरोजगार युवालाई कृषि क्षेत्रमा आकर्षित गरी परिचालन गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको र कृषि क्षेत्रमा सरकारले ७० प्रतिशत लगानी गरिरहेको उनले बताए । कृषि बिमा, कृषि निवृत्तिभरण तथा कृषि ऋण उपलब्ध गराउन सरकारले योजना बनाइरहेको मन्त्री चौधरीले बताए । “नेपालमा अझैसम्म किसान आयोग बन्न सकेको छैन । यसै वर्षभित्र किसान आयोग गठन गरी नीति निर्माण गर्छौँ,” उनले भने । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले ७५ जिल्लामा पुष्प व्यवसाय विस्तार गर्न सक्ने सम्भावना रहेकोले सरकार व्यवसायीको चुनौती सामना गरी व्यावसायिक विस्तार गर्ने कुरामा साझेदारी गर्न तयार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले पुष्प व्यवसाय छरिएर रहेको अवस्थामा रहेकामा हाल आएर व्यवसायका रुपमा विकास भएकामा खुसी व्यक्त गरेका छन् । एसोसिएसनका अध्यक्ष दिलीप बादेले पुष्प व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएको बताए । विसं २०११ मा सुरु भएको पुष्प व्यवसायले हाल वार्षिक २२ करोड रुपैयाँको कारोबार गर्दै आएको छ । नेपालले विदेशबाट १० करोड रुपैयाँको पुष्प व्यवसायसँग सम्बद्ध वस्तु आयात गर्दै आएको छ भने तीन करोड रुपैयाँभन्दा बढीको निर्यात गर्दै आएको बताइएको छ । रासस

मदिरा बिक्री गर्ने एकचालीस व्यक्तिमाथी कारबाही

सप्तरी, २८ भदौ । जिल्ला प्रहरी कार्यालयले दुई हप्तायता अवैध रुपमा मदिरा बिक्री वितरण गर्ने ४१ जनालाई कारबाही गरेको छ । मदिरा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँबाट बरामद गरिएका करिब तीन हजार ५०० लिटर मदिरा नष्ट पनि गरिएको छ । पक्राउ पर्नेहरुलाई ५ हजार देखि ३० हजारसम्म जरिमाना असुल गरिएको र मदिरा बनाउनका लागि प्रयोग गरेका भाडावर्तन, साइकल लिलामीको लागि राजबिराजस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले बताए । मदिरा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनका लागि स्थानीय जनता र सञ्चारकर्मीले समेत सहयोग गर्नुपर्ने उनले जोड दिए । रासस

इरानद्वारा दोस्रो आणविक विद्युत परियोजना निर्माण शुरु

इरान, २५ भदौ । इरानले शनिबार रसियाली सहयोगमा दोस्रो आणविक विद्युत् परियोजना निर्माण शुरु गरेको छ । इरानद्वारा विश्व शक्ति राष्ट्रको पहलमा भएको आणविक हतियार सम्झौतापछि शुरु गरिएको यो ठूलो आणविक परियोजना हो । आणविक विद्युत् परियोजना निर्माणका लागि आठ अर्ब पाँच करोड अमेरिकी डलर लाग्ने बताइएको छ । परियोजनाबाट जम्मा एक हजार ५७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । इरानको दक्षिणी बन्दरगाह सहर बुसेहरमा निर्माण हुने यो आणविक परियोजनाअन्तर्गत दुईवटा ‘पावर प्लान्ट’ निर्माण गरिनेछन् । उक्त ‘पावर प्लान्ट’ निर्माण आगामी १० वर्षभित्र पूरा गर्ने उद्देश्य रहेको बताइएको छ । परियोजनाअन्तर्गत दोस्रो प्लान्ट निर्माण सन् २०१८ पछि शुरु गरिनेछ । इरानमा यो बृहद् विद्युत् परियोजनाको निर्माण इरानले आणविक सम्झौताबाट पाएको सुविधाको परिणाम मानिएको, इरानी वरिष्ठ उपराष्ट्रपति इशाक जहानगिरीले उक्त परियोजनाको समुद्घाटन समारोहमा बताए । उनले आगामी दिनमा यस्ता सामरिक महत्वका परियोजना निर्माणमा रसियासँग हातेमालो गर्दै अघि बढ्ने बताए । इरानले रसियासँग सहकार्य गर्दै यसअघि सन् २०११ मा पनि करिब एक हजार मेगावाट विद्युत् उत्पादन गरेको छ । इरानसँग कोइला तथा अन्य पेट्रोलियम पदार्थको प्रयो गरी ७५ हजार मेगावाट विद्युत् निर्माण निर्माण गर्न सक्ने क्षमता रहेको छ । इरानले आगामी १५ वर्षभित्र २० हजार मेगावाट विद्युत् आणविक शक्तिद्वारा निर्माण गर्ने लक्ष्य राखेको छ । रासस/एपी

ग्योलेक्सी नोट सेभेनलाई उडान समयमा प्रयोग गर्न प्रतिबन्ध

इन्डोनेसिया, २८ भदौ । इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया नामक प्रसिद्ध विमान सेवा प्रदायक कम्पनीले आफ्ना उडानमा सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन चार्ज गर्न वा अन्य कुनै सेवा लिन प्रतिबन्ध गरेको उक्त विमान सेवाका अधिकारीले बताएका छन् । उक्त कम्पनीले यो निर्णय अमेरिकी सङ्घीय प्राधीकरण प्रशासन (एफएए) ले मोबाइल फोनको ब्याट्रीमा प्राविधिक समस्या देखाउँदै सोही मोडेलको स्मार्टफोन प्रयोग नगर्न हवाई यात्रुलाई आग्रह गरेपछि आएको विमान कम्पनीका कर्पोरेट कम्युनिकेसन उपप्रमुख बेनी एस। बुटारबुटारले बताए । गरुडा इन्डोनेसियाले सम्पूर्ण यात्रुलाई उडानका समय मोबाइल फोन चलाउन नदिएको एफएएका सल्लाह अनुसार सामसुङ ग्यालेक्सी नोट सेभेनमा प्रतिबन्ध लगाएको एक विज्ञप्ति जारी गरी जनाएको छ । गरुडा इन्डोनेसियाले यसै सल्लाहअनुसार विमानमा यात्रामा रहँदा सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन वा रिचार्जसमेत नगर्न आग्रह गरेको हो । उक्त मोबाइललाई आफ्नो झोलामा राखेर उडानका समय हिँडाउन भने विमानले रोक नलगाएको बताइएको छ । रासस/सिन्ह्वा

रोल्पाका ३० उद्योग र घरमा विद्युत् लाइन काटियो

रोल्पा, २८ भदौ । समयमै विद्युत् महसुल नबुझाउँदा रोल्पा जिल्लाका विभिन्न गाविसका ३० ग्राहकको विद्युत् लाइन काटिएको छ । वर्षौंसम्म महसुल नबुझाउने ती ग्राहकको लाइन काटिएको हो । विद्युत्को पहुँच भएका लिवाङ, गजुल, मिझिङ तथा सो आसपासका अन्य गाविसमा जडित साना उद्योग र निजी घरका लाइन काटिएको हो । महसुल नतिरेका ग्राहकलाई सात दिनभित्र सबै रकम भुक्तानी गर्न पत्र लखेको भएपनि उनीहरुले अटेर गरी महसुल नबुझाएका कारण विद्युत् लाइन काट्नु परेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, रोल्पाका प्रमुख ईश्वरबहादुर विष्टले बताए । त्यस्तै, जिल्लाका विभिन्न स्वास्थ्य संस्थाले समेत विद्युत् महसुल नतिरेको पाइएको छ । जिल्लाको होलेरी र सुलिचौर स्वास्थ्य केन्द्रले वर्षौं बितिसक्दा पनि विद्युत् महसुल नतिरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, रोल्पाका अनुसार ग्रा।नं ३०७ को होलेरी स्वास्थ्य केन्द्रले एक लाख ५५ हजार र ग्रा।नं ३०१ को स्वास्थ्य चौकी सुलिचौरले दुई लाख ८१ हजार महसुल रकम बुझाएका छैनन् । यसरी वर्षौंसम्म विद्युत् महसुल नबुझाएका स्वास्थ्य संस्थालाई सात दिनको म्याद राखी भुक्तानीका लागि पत्र लेखिएको भए पनि रकम भुक्तानीका लागि नआएको वितरण केन्द्रका सूचना अधिकारी मुकुन्द पाण्डेले बताए । आफूहरुले दिएको म्याद समाप्त भएपछि बक्यौता भुक्तान गर्न चाहे कानुनअनुसार बुझाउनुपर्ने रकममा २५ प्रतिशत जोडेर असुल गरिने उनले जानकारी दिए । त्यसो पनि नभए लाइन काटिने पाण्डेले बताए । जिल्लामा अन्य धेरै सरकारी कार्यालय र निजी ग्राहकले समेत महसुल बुझाउन बाँकी रहेको कार्यालय प्रमुख विष्टले बताए । उनीहरुलाई पनि छिट्टै कानुनी दायरामा ल्याउने उनले बताए । गत असार मसान्तसम्म जिल्लामा वितरण केन्द्रमार्फत कुल बक्यौता रकम १० लाख ९८ हजार ८०५ रुपैयाँ उठेको थियो । हाल जिल्लामा आठ हजार ७०४ विद्युत् ग्राहक रहेका छन् । हरेक वर्ष जिल्लामा करिब ८०० का दरले ग्राहक बढ्दै गएको उनले बताए । रासस

यी हुन् बढी मूल्य पर्ने १२ तरकारीहरु

काठमाडौं, २८ भदौ । राजधानीको कालीमाटी बजारमा तरकारी छोइ नसक्नु भएको छ । मुख्य बजारमा नै तरकारी छोइनसक्नु भएपछि काठमाडौंका विभिन्न खुद्रा पसलहरुमा तरकारी किन्ने सर्वसाधारणहरु मारमा परेका छन् । मंगलबार कालीमाटी बजारमा १०० रुपैयाँभन्दा बढी मूल्य पर्ने १२ थरिका तरकारीहरु बिक्रि भैरहेका छन् । सबैभन्दा बढी निउँरोको मूल्य प्रतिकेजी ३७५ रुपैयाँ रहेको छ । त्यसैगरि सुकेको प्याज(चिनियाँं) प्रति केजी २८५ रुपैयाँ, सुकेको खुर्सानी प्रति केजी २७५ रुपैयाँ र सुकेको प्याज (नेपाली) प्रतिकेजी २४५ रुपैयाँ रहेको छ । हेर्नुस् बढी मूल्य पर्ने तरकारीहरु :     सो दिन बजारमा फलफूलहरुमा अनार प्रति केजी २४५ रुपैयाँमा किनबेच भइरहेको छ । त्यसैगरि गुलियो सुन्तला र स्याउ प्रति केजी क्रमशः १२५ र ११५ रुपैयाँमा बिक्री भइरहेको छ ।

यी हुन दशैं अघि बोनस पाउने चार वटा बाणिज्य बैंकका भाग्यमानी लगानीकर्ता

काठमाडौं, २८ भदौ । दशैं अघि नै केहि बैंक तथा वित्तिय संस्थाले लगानी कर्तालाई लाभांश वितरण गर्ने भएका छन् । चार वटा बाणिज्य  बैंकहरुले दशैं अघि नै साधारण सभा  सम्पन्न गरेर सेयरधनीलाई लाभांश दिन लागेका हुन् । चुक्ता पुँजी वृद्धि  गर्नै पर्ने केन्द्रिय बैंकको बाध्यकारी नियमका कारण यसपाली अधिकांश बैंकहरुले लगानीकर्तालाई बोनस सेयर दिन लागेका छन् । यद्यपी नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानी कर्ताले भने नगद लाभांश समेत प्राप्त गर्दैछन् । नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक र एनआइसी एसिया बैंकका लगानी कर्ताले दशैं अघि नै लाभांश प्राप्त गर्दैछन् । नबिल बैंकले असोज १८ गतेको साधारण सभाबाट ४५ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्दैछ । नबिलका सेयर धनीले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश पाउँदैछन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश प्राप्त गर्दैछन् । बैंकले असोज ११ गतेका लागि साधारण सभा डाकिसकेको छ । त्यस बाहेक सिटिजन्स बैंक इन्टरनेशनलका सेयर धनीले असोज १६ गते १६ प्रतिशत बोनस सेयर प्राप्त गदैछन् । असोज १८ गतेको साधारण सभाबाट एनआइसी एसिया बैंकका लगानी कर्ताले पनि २७ दशमलब ३७ प्रतिशत बोनस सेयर नै प्राप्त गर्दैछन् ।