विकासन्युज

नेप्से परिसूचक ६ अंकले बढ्यो, चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, ११ कात्तिक । बिहीबार सेयर बजारमा निकै उतार चढाव देखियो । कारोबार शुरु भएको केही बेरमै नेप्से परिसूचक ओरालो लागे पनि करिब २ घण्टा पछि विस्तारै उकालो लागेर १७६३ अंकमा पुगेको थियो । त्यस पछि फेरी सामान्य गिरावट आएको थियो । बजार बन्द हुँदा नेप्से ६ दशमलब ०९ अंकले बढेर १७५९ अंकमा रोकिएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक उकालो लागे पनि सेयर कारोबारमा भने गिरावट भएको छ । बुधबार ८१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने बिहीबार ६९ करोड रुपैयाँको कारोबार भएको छ । सो दिन १३६ कम्पनीको १० लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार करिब ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ९.८७, सिभील बैंकको ९.८० र सिर्जना फाइनान्स (वित्तिय संस्था) को ९.४३ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन विकास बैंक, हाइड्रोपावर, बैंकिङ् र अन्य समूहको परिसूचक क्रमशः १८, १५, ८ र १ अंकले उकालो लागेका छन् ।बीमा, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः ४१, १५ र २ अंकले ओरालो लागेका छन् ।

भारतीय दूतावासद्वारा रु दुई करोड ६३ लाख सहयोग

जुम्ला, ११ कात्तिक । साना जलविद्युत् घुघुती जुम्लाको पुनःनिर्माणका लागि भारतीय दूतावासले रु दुई करोड ६३ लाख सहयोग गर्ने भएको छ । विसं २०४० मा ५०० घरधुरीका जीर्ण विद्युत्को क्षमता अभिवृद्धिका लागि दूतावासले यो सहयोग गर्ने भएको हो । ३३ वर्षअघि ५०० उपभोक्ताका लागि निर्माण भएको २०० किलोवाट बत्ती घटेर १०० किलोवाट पुगेको छ । अहिले उपभोक्ता बढेर दुई हजार ७०० पुग्दा विद्युत्भार कटौतीको चरम मार खेप्नुपरेको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर महतले जानकारी दिए। “यही समस्यालाई गम्भीरताका साथ लिएर हामीले भारतीय दूतावासमा सहयोगका लागि अनुरोध गरेका थियौँ, सोहीअनुसार साना जलविद्युत् पुनःनिर्माणका लागि दूतावासले सहयोग गर्ने भएको छ र सम्झौता पनि भइसकेको छ” – उनले भने । राजेश ट्रान्सफर्मर उद्योग प्रालि धनगढीबाट आएको विज्ञ टोलीका प्रमुख पुस्करलाल दुवेदीले विद्युत्को लगत स्टिमेट तीन करोड १० लाख १० हजार लाग्ने प्रतिवेदन समितिलाई बुझाएको बताए । रासस

जावलाखेलमा १० औं गोदावरी मेला संचालनमा, मेला ४ दिन सम्म लाग्ने

काठमाडों, ११ कात्तिक । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा ४ दिने गोदावरी मेला बुधबारबाट सुरु भएको छ । ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिन सम्म चल्ने १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको समुद्घाटन नेपाल सरकार कृषि बिकास राज्यमन्त्री राधिका तामाङले गरेकी हुन् । बुधबार भएको उद्घाटनसत्रमा कृषिबिकास सचिब उदय चन्द्र ठाकूर, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कृषि बिकास मन्त्रालय खाद्य सुरक्षा, कृषि व्यवसाय प्रबद्र्धन तथा बाताबरण महासाखाका सहसचिब लेखनाथ आचार्य, कृषि बिभाग महानिर्देशक डा युवक ध्वज जीसि, राष्ट्रिय योजना आयोगका सहसचिब बाल कृष्ण घिमिरे, बनस्पति बिभागका महानिर्देशक राजदेव प्रसाद यादबले आ–आफ्नो बिचार ब्यक्त गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथी तथा कृषि बिकास राज्य मन्त्री राधिका तामाङले फ्लोरिकल्चर क्षेत्रले लामो फड्को मारेको बताउँदै महिलाहरुलाई रोजगारीको सृजना गरेको बताइन । दिपावली तथा छट पर्ब लक्षित गोदावरी मेलामा प्रतिश्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक स्टल गरि ४२ वटा स्टल रहेका छन् । गोदावरी मेलामा सहभागि नर्सरीहरुमा पहिलो स्थान संझना नर्सरी, दोस्रोस्थान अरुण नर्सरी र तेस्रोस्थान एसआर नर्सरी आउन सफल भएका थिए । यसैगरि प्रतियोगितामा उत्कृष्ट इन्कर्भ, उत्कृष्ट रिफ्लेक्स र उत्कृष्ट मिनिएचर गरि ३ वटा बिधामा सम्झना नर्सरी, उत्कृष्ट स्पाइडरमा अरुण नर्सरी र उत्कृष्ट कट फ्लावरमा आरएनए फ्लोरा फार्मले पुरस्कार प्राप्त गरेका छन् । विजयी नर्सरीहरुलाइ राज्यमन्त्री तामाङले नगद शील्ड तथा प्रमाणपत्र प्रदान गरेकी थिइन । रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने मुल नाराका साथ मेला आयोजना गर्न लागेको फ्यानको मुख्य उदेस्य तिहार पर्बको आकर्षणको रुपमा रहेको गोदावरी फूलको ब्यबसाय प्रवद्र्धन गर्नु रहेको बताउँदै फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले मेलामा ३५ लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्ने लक्ष रहेको बताए । मेला प्रदर्शनीको आयोजनाबाट प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प ब्यबसायको बिकास, बिस्तार तथा प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पुगेको बताउँदै फ्यानका उपाध्यक्ष तथा मेला संयोजक रामजी तिमिल्सीनाले नेपाल बाताबरणीय बिबिधता तथा तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पुष्प ब्यबसायको बिकास तथा प्रबद्र्धनको सम्भाबना प्रचुर रहेको बताए । आर्थिक बर्ष २०७२/७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प ब्यबसायले ४१ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको बताउँदै फ्यानका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले हाल सम्म ३९ जिल्लामा यसको कारोबार हुदै आएकोे बताए । यो कार्यक्रम नेपाल सरकार कृषिबिकास मन्त्रालयको पुष्प प्रवद्र्धन नीति कार्यान्वन कार्यक्रम अन्तर्गत संचालन भएको हो ।

यामाहाका दसैं अफरका सातौं विजेता घोषित, श्रेष्ठले पाए जापान घुम्ने अवसर

काठमाडौं, ११ कात्तिक । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजको दशैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’मा चित्रबहादुर श्रेष्ठ सातौं विजेता भएका छन् । नविन अटो सेन्टर, नारायणघाटबाट यामाहा रे जी खरिद गरेका उनले अघिल्ला ६ जना विजेताले झैं जापान भ्रमण गर्ने अवसर पाएका छन् । गत साता टिकापुरका रतिराम चौधरी विजेता घोषित भएका थिए । उनले जानकी ट्रेडर्स एन्ड सप्लायर्सबाट एसजी आरआर खरिद गरेका थिए । उनीहरुसँगै अघिल्ला विजेताहरु पुकार शर्मा, रवि भोमी, आशिष भुजेल, अरुण फुयाँल र धु्रव प्रसाद बेल्बासेले जापान भ्रमण गर्न जान पाउने भएका छन् । एमएडब्लुले दशैंको अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको हो जसअन्तर्गत यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ छुट पाउनुका साथै हरेक साता एक जना भाग्यशालीले जापान भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । उनीहरुले जापानमा यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्नेछन् । यो योजना तिहारसम्म जारी रहनेछ । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजेडआर रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, ११ कात्तिक । सरकारले छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अबदेखि ती मुलुकका राष्ट्रप्रमुख आउने दिन सरकारी बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । दक्षिणी छिमेकी भारतका राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गतेदेखि तीनदिने नेपाल भ्रमणमा आउँदै छन्। बैठकले नेपाल घरेलु तथा साना उद्योग विकास समितिको रिक्त अध्यक्षमा सिन्धुली झाँगाझोली निवासी दीपेन्द्र आचार्यलाई नियुक्त गरेको छ । यस्तै थानकोट–चित्लाङको गणेशमान मार्गको स्तरोन्नति गर्ने सरकारले निर्णय गरेको छ । संविधान संशोधन र राजनीतिक सहमतिबारे पत्रकारको जिज्ञासामा सरकारका प्रवक्ता कार्कीले सो विषय मन्त्रिपरिषद्मा छलफल नभएको बताए ।

६० प्रतिशत कर्जा घरजग्गा धितोमा, दुई महिनामै १० खर्ब नाघ्यो

काठमाडौं, ११ कात्तिक । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलव ६२ प्रतिशत कर्जा घर जग्गाको धितोमा रहेको छ । चालू आर्थिक वर्षको दोस्रो महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुले १७ अर्ब ३६ करोड कर्जा प्रभाव गरेका छन् । सो कर्जामध्ये १० खर्ब ५२ अर्ब घरजग्गा धितोमा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । भदौ एकै महिनामा यस्तो धितोमा ३१ अर्बको कर्जा प्रवाह भएको हो । अघिल्लो महिना साउनसम्म यस्तो धितोमा कर्जा १० खर्ब २१ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको भदौसम्म यस्तो कर्जा ८ खर्ब १४ अर्बमात्र थियो । गएको वर्षको भदौसम्म वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रभावित कुल कर्जामध्ये ४९ दशमलव ४ प्रतिशत घरजग्गाको घितो कर्जा रहेको छ । २०७३ भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा दु्ई खर्ब ६० अर्ब एक करोड कर्जा भएको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हो । उपत्यकालगायत देशका अन्य स्थानमा समेत पछिल्लो समय घर घरजग्गाको कारोबार बढ्दै गएकाले घरजग्गाको कर्जा प्रवाह पनि बढेको हो । गएको वर्ष अर्थात असार मसान्तसम्म यस्तो कर्जा २ खर्ब ५० अर्ब ८७ कर्जा प्रभाव भएको थियो । राजधानीलगायत देशका सहर केन्द्रित विभिन्न स्थानमा भौतिक पूर्वाधार निर्माणका कार्य तिव्र गतिमा बढी रहेको छ । सुविधासम्पन्न क्षेत्रमा बसाइको आकर्षणले बढेकाले जग्गा तथा घर खरीदविक्री पनि ह्वात्तै बढेको छ । जसका कारण यस क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कर्जा विस्तार हुँदै गएको हो । कुल कर्जाको १५ प्रतिशत कर्जा एकै क्षेत्रमा मात्र खर्च हुनु भनेको यसको विकास तथा विस्तारित रुपनै हो । साथै, जग्गामा गरिएको लगानीले आकर्षक प्रतिफल दिने भएकाले पनि वित्तीय संस्थाबाट कर्जा निकालेर भएपनि भूकम्पयता मानिसहरु उपत्यका लगायतका सुविधा सम्पन्न स्थानमा जग्गा किन्न तथा घर बनाउन हौसिएका छन् । जग्गाको कारोबार बढिरहेको भूमिसूधार तथा व्यवस्थापन विभागका निर्देशक सुशीलप्रसाद आचार्य बताँउछन । काठमाडौंसँग जोडिएको ललिपुर तथा भक्तपुरमा पनि जग्गा तथा घर खरीद÷विक्रीकर्ताहरू आउने क्रम बढिरहेको छ । अहिले बैंहरूले घरजग्गा खरीदका लागि कम दरमै ऋण दिइरहेकाले पनि कारोबार बढेको घरजग्गा एजेण्ट संघका नेपाल (रियान)का केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद खरेल बताँउछन् । हाल बैंकहरुले साढे सातदेखि ११÷१२ प्रतिशतसम्म घरजग्गाका क्षेत्रमा ऋण प्रभाव गर्दे आएका छन् । ‘नेपालमा आफूले जम्मा गरेको पैसा सुरक्षित रूपमा राख्ने अन्य विकल्प नहुँदा पनि यसको कारोबार बढेको हो,’ उनले भने, ‘जग्गामा गरेको लगानीले उचित प्रतिफल दिन्छ भन्ने विश्वास बढेको छ ।’

सहयोगी विकास बैंकले २२ प्रतिशत बोनस दिने, ३५ प्रतिशत हकप्रद पनि

काठमाडौं, ११ कात्तिक । सहयागी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी साधारणसभा आगामी मंसिर ११ गते हुने भएको छ । साथै, बैंकको सेयर कारोबार कात्तिक १९ गतेदेखि आगामी मंसिर ११ गतेसम्म बन्द हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी २५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३१ करोड ४६ लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब ३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

निगमको एउटा जहाज कवाडीमा बेचिदै, सिंगापुरमा थन्किएको बोइङ काठमाडौं ल्याइदै

काठमाडौं ११, कात्तिक । नेपाल वायुसेवा निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेचिने भएको छ । निगमले कवाडीमा बेच्न ठिक्क पारेको यो जहाजलाई अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता भिकाएर मूल्यांकनको काम भइरहेको बताएको छ । निगमको सिंगापुरमा थन्किएको यो जहाज मूल्यांकनको लागि आजै काठमाडौं आउने भएको छ । निगमका एक इन्जिनियरले दिएको जानकारी अनुसार २ दिनका लागि भनेर गएका इन्जिनियर अच्चुतराज पहाडीसहितको १ं०/१२ जनाको टीम काठमाडौं तीन दिनसम्मै उतै बसेका छन् । निगम स्रोतका अनुसार सो टोली जहाज लिएरै आजै काठमाडौं आइपुग्ने छन् । केही गरी आज कुनै प्राविधिक कारणले नभ्याए भोली शुक्रबारसम्म त जसरी भएपनि आइपुग्ने जानकारी निगम स्रोतले दियो । निगम स्रोतका अनुसार सिंगापुरमा थन्किएको यो जहाजका लागि ४/५ जना कर्मचारी भने आउने र जाने गरिरहेका छन् । थन्किएको जहाज भएपनि भत्ता लिँदै आउने जाने गरेको आरोप निगमकै एक कर्मचारीको छ । अहिले पनि २/३ जना कर्मचारी गए पुग्ने ठाउँमा दर्जन कर्मचारी पुग्नु भनेको काम भन्दापनि घुमघाम र भत्ताको लोभ भएको पनि उल्लेख छ । वायुसेवा निगमले विक्रीमा राखेको यो बोइङलाई काठमाडौंमा नै ल्याउने र यही राखेर मूल्यांकन गर्ने जानकारी निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले पटक पटक सार्वजनिक रुपमा दिइसकेका छन् । कंसाकारका अनुसार सिगंपुरमा थन्किएकोे जहाज बारम्बार समस्या आएपछि निगमले बिक्रीमा राख्ने निर्णय गरेको हो । यो जहाजलाई निगमले अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता झिकाएर विक्री मूल्य तय गर्ने काम अगाडि बढाएको जानकारी दिएको छ । निगमका अनुसार जहाजको मूल्य १८ देखि २० प्रतिशत मात्रै आउने उल्लेख छ । स्न २००४ पछि यो सिरिजको बोइङ उत्पादन बन्द भैसकेको छ । जहाज नयाँ उत्पादन नभएकोले बजार भाउ अनुसार नभएर यसको हरेक बडि र अन्य उपयोगि सामानका आधारमा मूल्यांकन हुने भएको छ । यस्तो मूल्यांकन अनुसार जहाजको मूल्य ८० करोड देखि एक अर्ब रुपैयाँसम्म आउन अनुमान निगमले गरेको छ । मूल्यांकनकर्ताले अन्तर्राष्ट्रि अभ्यास र जहाजको प्रयोग अनुसार मूल्यांकन गर्ने भएकोले निगमले अनुमान गरेभन्दा निकै कम वा सोही हाराहारीमा पनि हुनसक्ने निमकै एक उच्च कर्मचारीको बुझाई छ । सिंगापुरमा रहेको यो जहाजको ७० देखि ८० घण्टा मात्रै इन्जिनको उडान आवर बाँकी रहेकोले काठमाडौंसम्म मात्रै उडाएर ल्याउन सकिन्छ । यो जहाजको दुईवटै इन्जिनको आयु करीब सकिएको र ओभरहल गर्नुपर्ने बेला भएको छ । इन्जिन मर्मत गनुपर्ने अवस्थामा रहको छ भने हरके १८ महिनामा गर्नुपर्ने इन्जिन बाहेकका मर्मत (सीचेक) पनि गर्नुपर्ने अवस्थामा पुगिसकेको छ । सबै मर्मत गर्दा लागत धेरै लाग्ने र मर्मत गर्न लागेको अधिक खर्चबाट जहाजले लाभ लिन नसक्ने निष्कर्षसहित निमगले यो जहाजलाई विक्री गर्ने निर्णयमा निगम पुगको उल्लेख छ । निगमका अनुसार यो जहाजलाई टेण्डर गरेर विक्री गरिने भएकोले जसले धेरै पैसा दिन्छ उसैलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाइने भएको पनि उल्लेख छ । निगमले विसं २०४४ सालमा करीब २३ लाख अमेरिकी डलरमा खरिद गरेको थियो । वोइङ जहाज विगत २९ वर्षदेखि नियमित रूपमा अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेको छ । निगमले साढे दुई दशकदेखि नियमति संचालन गरिरहेको दुईवटा बोइङ मध्ये एउटा एसीबी भने संचालनमै रहको छ । निगमका अनुसार एउटा बोइङ र दुईवटा एयरवस संचालन गर्दै गर्ने अर्को दुई वटा एयरबसको वाइडवडि किन्ने भएको छ । वाइडवडिको जहाज किन्न टेण्डर गरिसेकोले तिहारपछि टेण्डर खोलिने पनि निगमले जानकारी दिएको छ ।