विकासन्युज

प्रभु इन्स्योरेन्सको १७ प्रतिशत बोनस पास, ५० प्रतिशत हकप्रद सेयर निष्काशन हुने

काठमाडौं, १२ कात्तिक । प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस दिने निर्णय पास भएको छ । शुक्रबार सम्पन्न बैंकको २१औँ वार्षिक साधारणासभाले बोनस पश्चात ५० प्रतिशत (२ः१) हकप्रद शेयर निष्काशन गर्ने बैंक सञ्चालक समितिको प्रस्ताव समेत पारित गरेको छ । साथै उक्त सभाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन पनि पास गरेको छ । बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैयाँ हुनेछ । कम्पनीले आर्थिक वर्षमा १४ करोड ९३ लाख २ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष ०७२/०७३ मा ७६ करोड १७ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्ममा २४ करोड २७ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० दशमलब ३० प्रतिशत बृद्धि भएको छ । कम्पनीले बिगत वर्षदेखिनै मुलुकका दुर्गम जिल्लाहरुमा कृषि शाखाहरुको स्थापना गरि बीमा सेवा विस्तार गरेको छ ।हाल मुलुकभर कम्पनीका केन्द्रिय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु संचालनमा रहेका छन् । आगामी दिनमा कम्पनीको सेवा विस्तारको लागि आवश्यक क्षेत्र पहिचान गरि शाखा बिस्तार गर्ने तथा कम्पनीलाई आवश्यकता अनुसार अझ बढी आधुनिकिकरण गर्दै लैजाने कम्पनीको योजना रहेको छ । भविष्यमा आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा दिने तथा शेयरधनी महानुभावहरुलाई अधिकतम प्रतिफल दिने लक्ष्य लिएको छ ।

एनएमबी बैंकको सिइओ पाैडेलकाे कार्यकाल चार महिना थप, चैतदेखि लागू हुने गरी केसी नियुक्त

उपेन्द्र पाैडेल काठमाडौं, १२ कात्तिक । एनएमबी बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पाैडेलकाे कार्यकाल करिब चार महिना अवधिकाे लागि थप गरेकाे छ । उनकाे कार्यकाल मंसिर ८ गते सकिदै थियाे । विहीबार बसेकाे बैंक सञ्चालक समिति बैठकले पौडेलको कार्यकाल फागुन मसान्तसम्म थप  गरेकाे हाे। साथै बैंकले अागामी चैत १ गतेदेखि लागू हुने गरी सुनिल केसीलाई प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त गरेको छ । केसी हाल बैंकको डेपुटी सिइओ पदमा कार्यरत छन् । पौडेलले विगत १७ वर्षदेखि एनएमबीको प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका रुपमा स्थापना भएको एनएमबी उनकै नेतृत्वमा बाणिज्य बैंकमा स्तरोन्नति भएको थियाे । अाफ्नाे कार्यकालमा सन्ताेषजनक काम भएकाे पाैडेलले बताए । अाफ्नै नेतृत्वमा प्राविधिक रूपमा बैंककाे चुक्ता पूँजी ८ अर्ब रूपैयाँ हुने हुनले बताए । शुरू भएका केही काम सम्पन्न हुने क्रममा रहेकाेले र ती कार्य सम्पन्न गर्न सजिलाेकाे लागि बैंकले थाेरै समय थप गरेकाे उनले बताए। पाैडेल हाल नेपाल बैकर्स संघकाे अध्यक्ष समेत छन् । अागामी मंसिर पहिलाे साता हुन लागेकाे संघकाे साधारणासभाले नयाँ नेतृत्व चयन गर्दैछ । सुनिल केसी को हुन केसी ? केसीले सन १९९० मा स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यसपछि उनी एक वर्ष तत्कालिन एनआइसी बैंकमा आवद्ध भए । त्यसको केहि समयपछि नै केसी पुनः स्ट्याण्डर्ड चाटर्ड बैंकमै फर्किए । दुई पटक गरेर उनले स्ट्याण्डर्ड चाटर्ड बैंकमा १८ बर्ष काम गरेका थिए । एनएमबी बैंकमा भने उनी ८ वर्ष अघि डिजिएमका रुपमा प्रवेश गरेका थिए र जीएम हुँदै हाल डेपुटी सिईओका रुपमा काम गरिरहेका छन् । केसीले भारतबाट एमबीए गरेका छन् । बैंकभित्र ट्रेजरी, कर्पाेरेट बैकिङ, फाइनान्स, अपरेशन लगायत क्षेत्रमा बढी काम गरेकाे अनुभव उनीसँग छ ।

छिमेक लघुवित्तले ५२ प्रतिशत लाभांश दिने

काठमाडौं, १२ कात्तिक । छिमेक लघुवित्त विकास बैंकले सेयरधनीलाई ५२ दशमलब ७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ४० प्रतिशत बोनस र १२ दशमलब ७ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको बिहीबार बसेको १८३औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई बीमा समिति तथा कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ ।

एनबी इन्स्योरेन्सले एकै दिन खोल्यो तीन वटा नयाँ शाखा, सेयर लिलामीबाट ४ कराेड प्रिमियम अाम्दानी

काठमाडौं, १२ कात्तिक । एनबी इन्स्योरेन्सले एकै दिन उपत्यकामा तीन वटा शाखा विस्तार गरेको छ । तिहारको अवसर पारेर एनबी इन्स्योरेन्सले कलंकी, कोटेश्वर र भक्तपुरको सलाघारीमा नयाँ शाखा सुरु गरेको हो । तीनवटै शाखाहरुको उद्घाटन बीमा समितिका अध्यक्ष डा. भक्त बहादुर केसीले गरेका थिए । तीन वटा नयाँ शाखा थपिएपछि एनबी इन्स्योरेन्सको शाखा संख्या १७ वटा पुगेको छ । शाखाको उद्घाटन कार्यक्रममा प्रा.डा.फत्तबहादुर के.सी.ज्यूले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएको बताए । उनले बीमा क्षेत्रको विकास र विस्तार साथै अनुभवी मानव संसाधनको उत्पादन गरेर बीमा क्षेत्रलाई टेवा दिनुका साथै ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्ने तर्फ ध्यान दिन कम्पनीको व्यवस्थापन र संचालक समितिलाई आग्रह गर्नुभयो । त्यसै गरी नेपाल सरकारले अघि सारेको कृर्षि तथा लघु बीमामा पनि आफ्नो सेवा विस्तार गर्न निर्देशन दिए । सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीको शुक्रबार उद्घाटन भएको ३ शाखा सहित १७ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने जानकारी दिए । कम्पनीले हालै १० शेयर बराबर ८ शेयरका दरले प्रदान गरेको हकप्रद शेयरको बांकी शेयर बोलकबोल मार्फत रु.४ करोड ५३ लाख शेयर प्रिमियम प्राप्त गरेको जानकारी दिए ।  हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूंजी रु. २७ करोड पुगेको पनि जानकारी दिंदै निकट भविष्यमा नै कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराए । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले उद्घाटन भएका तीन शाखा मध्ये कोटोश्वर शाखामा शाखा प्रमुखदेखि तल्लो तहसम्मका सबै कर्मचारीहरु महिला रहेका र उक्त शाखालाई महिला शाखाको रुपमा स्थापना गरिएको जानकारी दिए । कम्पनीमा नयां लगानीकर्ताको रुपमा २०७१ साल माघबाट आई एम ई ग्रुप लगायत विभिन्न उद्योगी, व्यावसायी तथा प्रतिष्ठित व्यत्तित्वहरुको प्रवेशसंगै नयां व्यवस्थापनले कम्पनी संचालन गरे पश्चात भए गरेका कार्यहरुको बारेमा समेत जानकारी गराउंदै आ.ब. २०७२।०७३ मा ३५ करोड बीमा शुल्क आर्जन गरेको साथै करिब ४ करोड खुद नाफा आर्जन गरेको जानकारी गराए ।

एस डेभलपमेन्ट बैंकको २१ औं साधारण सभा, २० प्रतिशत लाभांश पारित

काठमाडौं, १२ कात्तिक । एस डेभलपमेन्ट बैंकको २१ औं बार्षिक साधारण सभाले २० दशमलब २५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ । बैंकका अध्यक्ष राजीव राजभण्डारीको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारण सभाले सञ्चालक समितिले अघि सारेको २० करोड २५ लाख ८१ हजार ४ सय रुपैंयाँ बराबरको बोनस सेयर दिने निर्णय पारित गरेको हो । अघिल्लो आर्थिक बर्षको नाफाबाट यस्तो बोनस सेयर वितरण गर्न लागिएको हो । साधारण सभाले आगामी कार्याकालका लागि पाँच सदस्यिय सञ्चालक समिति पनि चयन गरेको छ । जसमा योगेन्द्र बहादुर शाक्य, राजिव राजभण्डारी, राजेन्द्र प्रसाद दाहाल संस्थापक समुह चयन भएका छन् । त्यस्तै, बिनोद रत्न तुलाधर र केशब बोहरा साधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा चयन भएका हुन् । संस्थाक समुहका सञ्चालक सबै अघिल्लो कार्यकालकै दोहोरिएका हुन् । बैंकले १२ वटा शाखा र एउटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । गत साउन २१ गते नेपाल इन्भेष्टमेन्ट बैंकसँग अक्वायरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको बैंकले नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पर्खिरहेको बताएको छ ।

चन्द्रागिरि केबलकार भाई टीकाको दिन बन्द, अन्य दिन संचालनमा आउने

काठमाडौं, १२ कात्तिक । चन्द्रागिरि केबलकार भाई टीकाको एक दिन मात्र बन्द हुनेछ । अन्य विदाका दिनमा विहान ७ बजे देखि सांझा ५ः३० बजेसम्म केबलकार यथावत संचालनमा आउने कम्पनीले जनाएको छ । चन्द्रागिरि हिल्स लिमिटेड अन्तर्गत रहेका अन्य सेवाहरु समेत सोहि अनुरुप संचालनमा आउने छन् । चन्द्रागिरि हिल्सका अनुसार चन्द्रागिरि केबलकार सेवा संचालनमा आए देखि २०७३ साल कार्तिक ११ गते सम्म केबलकार चढ्नेको संख्या एक लाख ३२ हजार ९०४ पुगिसकेको छ । सार्वजनिक छुट्टी र विदाका दिनमा चन्द्रागिरि केबलकार चढ्नेको संख्या दैनिक आठ हजार सम्म पुग्ने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकको बढ्दो आकर्षणले चन्द्रागिरि हिल्स नेपालको नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले १९ प्रतिशत लाभांश दिने, पूँजी ३९ करोड रुपैयाँ पुग्ने

काठमाडौं, १२ कात्तिक । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई १९ दशमलब १४२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १८ दशमलब १८२ प्रतिशत बोनस र ०.९६ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई बीमा समिति तथा कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ३३ करोड १२ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३९ करोड १५ लाख रुपैयाँ पुग्ने छ । बिहीबार कम्पनीको प्रत्तिकित्ता सेयर करिब १८४४ रुपैयाँमा कारोबार भएको थियो ।

नागबेली लघुवित्तले ६० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने

काठमाडौं, १२ कात्तिक । नागबेली लघुवित्त विकास बैंकले सेयरधनीलाई ६० प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ । हाल बैंकको चुक्ता पूँजी २ करोड ५० हजार रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ४ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ४४०० रुपैयाँमा कारोबार भएको थियो ।