उर्जामा लगानी बढ्दै , जलविद्युतमा २० अर्ब चिनियाँ लगानी थपिँदै,
काठमाडौं २१, कार्तिक २१ । १ सय २ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजनामा चीनको हाइड्रो चाइना कर्पोरेसनले लगानी गर्ने भएको छ । शतप्रतिशत लगानी रहने गरी चीनको उक्त कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)स्वीकृतिका लागि सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । ‘२० अर्ब ३८ करोड रुपैयाँ लगानी गर्ने गरी कर्पोरेसनले प्रस्ताव पेस गरेको हो,’ उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले भने, ‘औद्योगिक प्रवद्र्धन बोर्डको बैठक राख्ने तयारी भइरहेको छ । बोर्ड बैठकमा उक्त कम्पनीको एफडीआई स्वीकृतिका लागि एजेन्डा पेस हुनेछ ।’ विद्युत् विकास विभागबाट सर्वेक्षण लाइसेन्स लिई उक्त कम्पनीले वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनसमेत पेस गरिसकेको छ । विद्युत् विकास विभागमै विद्युत् उत्पादनका लागि अनुमति माग गरी प्रक्रिया अघि बढिसकेको जनाएको छ । विद्युत् व्यापार सम्झौता ९पीपीए० का लागि समेत आवश्यक प्रक्रियाहरू अगाडि बढेपछि कर्पोरेसनले एफडीआई स्वीकृतिको माग गरेको हो । उद्योग विभागका अनुसार उक्त जलविद्युत् रसुवाको गुल्जुङ र गोल्टाङ गाविसमा निर्माण हुनेछ । जलविद्युत् आयोजनाका लागि स्थिर पुँजी २० अर्ब २१ करोड ५० लाख रुपैयाँ रहने प्रस्ताव छ । चालु पुँजी ६ करोड ५० लाख रुपैयाँ रहनेछ । हाइड्रो चाइना कर्पोरेसन चीनको एक ठूलो जलविद्युत् कम्पनीमा पर्छ । यो कम्पनीले हालसम्म बनाइसकेको र बनाउन लागेको सहित १६ गिगावाट विद्युत् उत्पादनको योजना छ । कर्पोरेसनका १० वटा सहायक कम्पनी छन् । १० हजार २ सय जनाले रोजगारीको अवसर पाएका छन् । यसमध्ये ५ हजार ७ सय जना त प्राविधिक मात्रै छन् । चीनबाहेक अन्य मुलुकमा समेत यो कम्पनीले जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको छ । जलविद्युतमै नेपालमा पनि लगानी विस्तार गर्ने तयारी हो ।सन् २०२० सम्ममा गर्जेजले बनाएका आयोजनाबाट ८० हजार मेगावाट बिजुली उत्पादन हुनेछ । जलविद्युतमा थ्री गर्जेजपछि हाइड्रो चाइनाले ठूलो लगानी गर्न लागेको हो । यसबाहेक चीनकै ठूलो सिमेन्ट उत्पादनक होङसीले लगानीको स्वीकृति बोर्डबाट लिइसकेको छ । ३६ अर्ब रुपैयाँ लगानी गर्न अनुमति पाएको हो । होङ्सीले नेपालको शिवम सिमेन्टसँग मिलेर लगानी गर्ने गरी अनुमति पाएको हो । दैनिक १२ हजार टन उत्पादन गर्ने लक्ष्य छ । एक हजार जनालाई रोजगारी दिने प्रतिबद्धता छ ।कान्तिपुर दैनिकबाट ।
घुमफिर वर्षको प्रवद्र्धन गर्न पर्यटकीय प्याकेज, संस्थाको सहकार्यमा पर्यटकीय प्याकेज
काठमाडौं २१, कात्तिक । नेपालको आन्तरिक पर्यटक प्रवद्र्धन गर्न घुमफिर वर्षको औचित्य पुष्टि गर्न नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय संस्थाको सहकार्यमा पर्यटकीय प्याकेज निर्माण गर्न थालेको छ । नेपालमा विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक प्याकेज बनाउन थालिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । उनका अनुसार पर्यटकीय गतिविधि बढाउन र व्यवसायीक प्याकेज लिएर पर्यटकीय गन्तव्यमा जाने उत्साह बढाउन पनि बोर्डले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटकीयगतिविधि बढाउने अभियान गरेको हो । पर्यटन बोर्डले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा प्याकेज सार्वजनिक गरेको हो । यस्तो पर्यटकीय प्याकेजमा पर्यटकीय संस्थाले बनाएर प्रवद्र्धन गर्न अनुरोध गरेका र बोर्डसँगको सहकार्यमा निर्माण भएकै प्याकेज रहेको पनि बोर्डले जानकारी दिएको छ । धेरैले घुमफिर वर्षलाई नै दृष्ट्रिगत गरेर प्याकेज ल्याउन अनुरोध गरेकोले औपचारिक रूपमै पर्यटकीय प्याकेज ल्याउन थालिएको नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीले बताए । उनका अनुसार बोर्डले नेपालको सबै अञ्चलको पर्यटकीय स्थलहरूलाई समेटेर प्योकज ल्याउने प्रयास गरेको छ । व्यवसायीलाई पनि संघीयताको संरचना अनुसार नै प्याकेज निर्माण गर्न अनुरोध गरिएको जानकारी पनि सुवेदीले दिए । आन्तरिक पर्यटकीय प्याकेज ल्याउने र पर्यटन प्रवद्र्धन गर्ने विषयमा सबै पर्यटकीय गन्तव्यको महत्व बराबरी नै हुने भएपनि घुम्न जानेको रोजाइमा गन्तव्य पहिचान छिटो हुने बोर्डको भनाइ छ । बोर्डले तयार पारेको पहिलो चरणको प्याकेजमा हलेसी महादेव दर्शन टुर, जनकपुरधाम, पाथिभरा मन्दिरको भ्रमण, खप्तड टुर, लुम्विनी–स्वर्गद्वारी भ्रमणका टुुर, रारा टुर रहेका छन । यी पर्यटकीय प्याकेज नाट्टा र सोट्टोको सहकार्यमा तयार भएका हुन । ट्रेकिङ, राफ्टिङ, होमस्टे, क्यानोनिङसहितका पर्यटकीय प्याकेजपनि सम्वन्धित संस्थाको सहकार्यमा आउने बोर्डले जानकारी दिएको छ । बोर्डले आफ्नो वेवसाइटमार्फत यस्तो प्योकजको जानकारी दिने र सम्वन्धित पर्यटकीय संस्थामार्फत प्याकेज खरिद गर्न सकिने बताएको छ । पर्यटन बोर्डले र पर्यटन व्यवसायीको संयुक्त पहलमा नेपालभरका सबै पर्यटकीय गन्तव्यमा भ्रमण प्याकेज तयार पार्दै जाने जानकारी पनि दिएको छ । पर्यटकीय गन्तव्यको घुमघाम र भ्रमणका लागि न्युनतम एक दिनदेखिको पर्यटकको रुची अनुसारको महिना दिनसम्मको पर्यटकीय प्याकेज तयार पार्ने पनि उल्लेख छ । घुमफिर वर्ष २०७३ संचालमा रहेको र आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पनि यस्तो प्याकेज आवश्यक भएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्यले जानकारी दिए । उनका अनुसार हाल जुनसुकै गन्तव्यमा जान पनि स्वतन्त्र रूपमा जाने गरिएकोमा त्यसलाई ट्राभल एजेन्सीमार्फत जाने र पर्यटकीय प्याकेजका रूपमा बिक्री गरिने पनि बताए । सबै पर्यटकीय गन्तव्यको भौगोलीक अवस्था, हावापानी, बस्ने, खाने सुविधा र भैपरि आउनसक्ने यात्राका समस्यासहितका विषयमा स्पष्ट जानकारीसहितको प्याकेज नै आन्तरिक पर्यटकको अहिलेको आवश्यकता भएको पनि नाट्टाको भनाइ छ । आन्तरिक पर्यटन भ्रमणको प्याकेजका रूपमा एउटा व्यवसायीक संस्थाले बनाएको प्याकेजलाई अर्कोसँग गरेर प्रचार गर्ने पनि उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।
मोबाइल हराए के गर्ने? आइएमइआई सुरक्षित राख्नुहोस्
तपाईँले बोक्ने गरेको मोबाइल सेट हराए नेपाल टेलिकम,एनसेल वा कुन दुरसंचार प्रदायक कम्पनीको सिम लिनु भएको हो त्यहाँ जानु पर्देन। मोबाइल हराएमा ट्रयाकिङका लागि तपाईँले सिधै नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ । तपाईँले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ ।तर त्यसका लागि तपाईँले आफ्नो मोबाइल सेटको इएमइआइ नम्बर भने उपलब्ध गराउनु पर्छ । प्रत्येक मोबाइल सेटको इएमइआइ नम्बर फरक हुन्छ । इएमइआइ नम्बर मोबाइलको परिचय दिने १५ वा १७ अङ्कको संख्या हो । यो विशेषगरी मोबाइलको पछाडिको भागमा अर्थात ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ । त्यस्तै मोबाइलमा *#06# डायल गरेर पनि आफ्नो इएमइआइ नम्बर पत्ता लगाउन सकिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा नेपाल प्रहरीले हराएका मोवाइल सेटहरु खोजी गर्ने गरेको छ। आइएमइआई नम्बर सुरक्षित राख्नका लागि तपाइले त्यसलाई इमेल वा डायरीमा टिपेर राख्नुपर्ने हुन्छ।
नाकाबन्दीको समयमा अगाडि सारिएका योजना अलपत्र, अधिकांश योजना कागजमै थन्कियो
काठमाडौं २१, काठमाडौं । गत वर्ष भारतले गरेको ५ महिना लामो नाकाबन्दीका बेला पेट्रोलियम आपूर्तिका वैकल्पिक योजना अघि सारिए पनि तीमध्ये अधिकांश योजना अलपत्र छन् । आपूर्ति मन्त्रालयले नाकाबन्दीको समयमा पेट्रोलियम भण्डारण क्षमता विस्तार, व्यवस्थित वितरणमा ग्यास कार्ड र चीनसँग पेट्रोलियम पदार्थ आयत गर्नेजस्ता सुधारात्मक योजना बनाएपनि कार्यान्वयनमा आउन सकेको छैन् । भारतले गरेको नाकाबन्दीबाट पाट सिक्नुपर्ने भन्दै तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनले कम्तीमा १० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण निर्माण गर्ने, असहज अवस्थाको बेलामा ग्यास कार्डमार्फत तथा सफ्टवेयरमार्फटत पेट्रोलियम पदार्थ वितरणको व्यवस्था गर्नुका साथै चीनबाट दीर्घकालका लागि पेट्रोलियम पदार्थ आयात गर्ने योजना बनाएका थियो । यी योजनाहरु अलपत्र अवस्थामा छन् । कारोबार दैनिकबाट ।
कांग्रेस नेतृ सुजाता कोइरालाई स्तन क्यान्सर, उपाचार गर्न सरकारसँग एक करोड माग
काठमाडौं २१, कात्तिक । कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका छ। एसियाली महिलाहरूको सञ्जाल आइक्याप (आइक्याप)को सम्मेलनमा मलेसियामा पुगेका वेला चेकअप गराउँदा चिकित्सकले क्यान्सरको आशंका गरेको कोइरालाले बताएकी छिन् । ‘मलेसियामा सम्मेलनमा भाग लिन गएको थिएँ । छोरी र ज्वाइँसँगै मलेसियामा घुम्दा रिँगटा लागेपछि अस्पताल पुगेर चेकअप गर्दा ब्रेस्टमा क्यान्सरको शंका भयो । मेरो त खानदानमा त्यस्ता बिरामी पहिले पनि धेरै थिए,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले मलाई पनि डर लाग्यो । क्यान्सरको शंकैशंका छ । ब्रेस्टमा सिस्ट ९भित्र पानी भरिएको डल्ला० निकाल्न मिल्ने भए निकालिहालौँ भन्ने भएपछि अप्रेसन गराएँ । सिस्ट निकालेँ, अब फलोअपमा जान्छु ।’ सुजाता १० कात्तिकमा नेपाल आएकी थिइन् । उनी अहिले मण्डिखाटारस्थित निवासमा आराममा छिन् । उनले ब्रेस्टको ‘मेमोग्राम’ गराउँदै आए पनि पहिले क्यान्सरको आशंका नगरिएको बताएकी छिन् । दाजु एवं बिपीका जेठा छोरा प्रकाश कोइरालाले पनि सुजाताको ब्रेस्टमा क्यान्सरको आशंका गरिएको बताए । अब सिंगापुर, मलेसिया वा भारतमा उपचार गराउन जाने तयारी भएको उनले जानकारी दिए । ‘महिलाको ब्रेस्टमा क्यान्सरको समस्या धेरै देखिन्छ । मनिषालाई पनि क्यान्सर लागेको शंका नेपालमा नै गरिएको थियो । पछि बम्बई पुगेर पुष्टि भयो,’ प्रकाशले भने, ‘सुजाताले मलेसियामा ब्रेस्टको चेकअप गर्दा क्यान्सरको शंका भयो । अहिले प्रारम्भिक चरणको उपचार भएको छ । डाक्टरको सेकेण्ड ओपिनियनपछि कुन स्टेजको कस्तो समस्या हो टुंगो लाग्छ । यसका लागि छिट्टै सिंगापुर, थाइल्याण्डको बैंकक र भारतको टाटा इन्टिच्युटमा जानेबारे छलफल भइरहेको छ ।’ अब केमियोथेरापी गर्ने भन्नेबारे पनि छलफल भएको तर दोस्रो परीक्षणपछि मात्र केमियाथेरापी गर्न आफूले सुझाव दिएको उनले बताए । पार्टी सभापतिसंग उपचार खर्च माग पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी सुजाताले आफ्नो उपचार खर्च जुटाइदिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । देउवा निकट स्रोतका अनुसार मलेसियाबाट फर्किए लगत्तै सुजाताले उपचार खर्च महंगो हुने भन्दै एक करोड रुपैया जुटाइदिन आग्रह गरेकी हुन् । ‘उपचारमा केही बढी नै खर्च लाग्ने भन्दै उहाँले रकम जुटाइदिन सभापति देउवासँग आग्रह गर्नुभएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘सभापतिले खर्चका लागि सरकारसँग पार्टीले पहल गर्ने बताउनुभएको छ।’ क्यान्सरको परीक्षण र प्रारम्भिक उपचारमा सुजाताले करिब ५० लाख रुपैया खर्च गरेको उनी निकट स्रोतको दाबी छ । थप उपचारमा जाँदा एक करोड रुपैयाँसम्म लाग्ने उनले निकट व्यक्तिहरुलाई बताउने गरेकी छिन्। कोइराला परिवारमा क्यान्सर खानदानी रोग कोइराला परिवारमा क्यान्सर खानदानी रोग जस्तै छ । बिपी कोइरालालाई घाँटी र फोक्सोमा, गिरिजाप्रसादलाई फोक्सोमा, मनिषालालाई ब्रेष्टमा क्यान्सर देखिएको थियो । सुशील कोइरालालाई पनि जिब्रो र फोक्सोमा क्यान्सर भएको थियो । सुशील र मनिषाको क्यान्सर उपचारपछि निको भएको थियो । नयाँ पत्रिका दैनिकबाट ।
अब दरबार हत्याकाण्ड भएको ठाउँ प्रत्यक्ष हेर्न पाइने, त्रिभुवन सदनका सामग्री खोजी गरिँदै
काठमाडौं २१, कात्तिक । तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ साल असारमा सप्ताह लगाएर दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काएका थिए । त्रिभुवन सदन भत्काएपछि त्यहाँको इटालगायतका भवनमा प्रयोग हुने सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाएका थिए । तत्कालिन युवराज स्वर्गीय दिपेन्द्रको खाट र मेट्रेसलगायत केही कपडा ज्ञानेन्द्रले जलाउन लगाएका थिए । बाँकी भएका केही सामग्री नारायणहिटीको विभिन्न कक्षमा ज्ञानेन्द्रले नै राख्न आदेश दिएका थिए । त्रिभुवन सदनको विलियार्ड हलमा हत्याकायड हुँदा बिच्छ्याइएको गलैंचामा रगत लत्पतिएको कारण सो गर्लैंचा स्टोरमै राख्न लगाइयो । तर कुन स्टोरमा कस्तो हालतमा छ खुल्न सकेको छैन् । त्रिभुवन संग्राहलय भत्काएको एक दशकपछि बल्ल भित्रुवन सदन तयार भएको छ । तत्कालीन युवराज दीपेन्द्रको कोठा भने नबन्ने भएको छ । ‘हामी सामानको खोजीमा छौं,’ सबै स्टोरमा दरबार हत्याकाण्डमा भएका सामग्री खोजी गरिरहेका छौं ।नारायणहिटी संग्राहलयका प्रमुख रोहितकुमार ढुंगानाले भने । नेपाल समाचारपत्र दैनिकबाट त्रिभुवन सदनका सामग्री खोजी गरिँदै पुनःनिर्माण कार्य सम्पन्न गरिएको त्रिभुवन सदनमा राखिने सामग्रीको खोजी कार्य थालिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहित ढुङ्गानाले त्रिभुवन सदनको भित्री स्वरूप पनि साबिकको बनाउने प्रयास गर्न लागिएको जानकारी दिँदै भने, ‘घटनाका बखत त्यहाँ भएका सामग्री केही फेला परेका छन् र केही बेपत्ता पारिएका छन् । खोजी कार्य थालेका छौँ । त्रिभुवन सदनको भित्री स्वरूपलाई सक्दो दुरुस्त बनाउने प्रयासमा छौँ ।’ गोरखापत्रबाट दैनिकबाट ।
सुरक्षा निकायको जागिर न्यून आकर्षण, प्रशासनिकको तुलनामा ३४ गुणा कम आवेदन
काठमाडौं २१, कात्तिक । सार्वजनिक प्रशासनको तुलनामा सुरक्षा निकायको जागिरमा सर्वसाधारणको आकर्षण न्यून देखिएको छ । सुरक्षा निकायको भर्नामा तुलनात्मक रूपमा थोरै मात्र आवेदन पर्ने गरेको छ । निजामती प्रशासनको भर्नामा सयौँ गुना बढी आवेदन पर्ने गरेको छ । गत वर्ष लोकसेवा आयोगले ४ सय ८५ जना नायब सुब्बा माग गरेकोमा ३ सय ३५ गुना बढी आवेदन परेको थियो । तर, नेपाल प्रहरीले ५ सय ५१ जना असइ माग गरेकोमा ३४ गुना बढी अर्थात् १८ हजार ९ सय ६६ जनाको मात्र आवेदन परेको थियो। नेपाली सेनामा एक सय ५० सेकेन्ड लेफ्टिनेन्ट माग भएकोमा एक हजार ४ सय २२ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीले सोही तहको असईमा ३६ जनाको माग गर्दा ४ हजार एक सय ३१ आवेदन परेको थियो । नेपाल प्रहरीले ८९ जना इन्सपेक्टर माग गरेकोमा २ हजार ८ सय ५४ जनाले मात्र आवेदन दिए । त्यस्तै, ५ सय ५१ जना असई माग गरेकोमा १८ हजार ९ सय ६६ जनाको आवेदन परेको थियो । त्यस्तै, सशस्त्र प्रहरी बलमा ५४ जना इन्स्पेक्टरको माग भएकोमा एक हजार २ सय ४१ आवेदन परेको थियो । असईमा ३६ जनाको माग भएकोमा ४ हजार एक सय ३१ आवेदन परेको थियो । सुरक्षा निकायको तुलनामा निजामती सेवाको भर्नामा उमेर हद फराकिलो हुन्छ । त्यसबाहेक पनि सुरक्षा निकायको जागिर बढी कठिन हुने, करिअर अनिश्चित हुने र निष्पक्ष भर्ना प्रणालीमा विश्वास कम भएकाले आवेदन न्यून पर्ने गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी हेमन्त मल्ल प्रहरीमा निश्चित उमेरहदसम्म मात्र आवेदन दिन पाइने भएकाले निजामतीको भन्दा कम आवेदन पर्ने बताउँछन् । ‘प्रहरीमा भर्ना हुने शारीरिक रूपमा पनि दुरुस्त हुनुपर्छ, सबैजना त्यसका लागि सक्षम हुँदैनन्, त्यसकारण पनि आवेदन कम परेको हुनसक्छ,’ उनले भने । नेपाल प्रहरीले तुलनात्मक रूपमा भर्नामा आवेदन नपरेपछि गत वर्ष प्रहरीको जागिरप्रति आकर्षण बढाउन डकुमेन्ट्री नै बनाएको थियो । नयाँ पत्रिका दैनिकबाट ।
उपचारमा १५ लाखभन्दा धेरै नदिने सरकारी प्रस्ताव, आफूखुसी विदेश जने विशिष्ट व्यक्तिले आफैं खर्च व्यहोर्नुपर्ने
काठमाडौं २१, कात्तिक । अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि सरकारी सहयोग सिलिङ तोक्ने तयारी भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीले उपचार खर्चको नाममा मनपरी रकम लिन थालेपछि बढीमा १५ लाख दिने गरी सिलिङ तोक्ने तयारी भएको हो। ०६८ मा ल्याएको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि संशोधनका लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ। अति विशिष्ट र विशिष्ट व्यक्तिलाई बढीमा १५ लाख तथा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुयाएका व्यक्तिलाई बढीमा पाँच लाख उपलब्ध गराउने गरी कार्यविधि परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय भएको छ। अहिलेको कार्यविधिमा सरकारले चाहेमा जोसुकै व्यक्तिलाई जति पनि खर्च उपलब्ध गराउन सक्ने प्रवधान छ । यसका कारण राज्यको ढुकुटीबाट जथाभावी रकम वितरण भएको भन्दै स्वास्थ्य मन्त्रालयले कार्यविधि परिमार्जनको निर्णय गरेको छ । प्रस्तावित कार्यविधिमा अन्य मन्त्रालयको पनि राय–सल्लाह लिन लागिएको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए । ‘विद्यमान अस्पष्ट नीतिका कारण जोसुकैले जतिसुकै खर्च पनि पाउने अवस्था छ, यसलाई नियमन गर्न र निश्चितताका लागि यो कार्यविधिलाई हामीले स्पष्ट बनाएका छौँ,’ मन्त्री थापाले भने, ‘कार्यविधि परिमार्जनपछि तोकिएको सीमाभन्दा बढीको औषधि उपचार सहायता कुनै पनि व्यक्तिले दोहो(याएर लिन पाउनेछैनन्।’ क–कसले पाउँछन् १५ लाख प्रस्तावित कार्यविधिअनुसार वर्तमान र पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, वर्तमान तथा पूर्वसभामुख, उपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं वर्तमान तथा पूर्वपदाधिकारीहरू । क–कसले दे पाउँछन पाँच लाखसम्म साहित्य, संगीत, कला, राजनीति, सार्वजनिक प्रशासनलगायत राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति । नयाँ पत्रिका दैनिकबाट ।