विकासन्युज

सेयर बजारमा सामान्य अंकको सुधार, दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, १८ कात्तिक । लगातार ६ दिनसम्म बन्द भएर खुलेको सेयर बजारमा सामान्य अंकको सुधार भएको छ । सो दिन बजारमा निकै उतार चढाव देखिएको छ । बजार खुलेको एक घण्टामा घटेर १७५३ अंकमा पुगेको बजारलाई बन्द हुँदा भने केही टेवा पुगेको छ । सो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलब ४८ अंकले बढेर १७६२ मा पुगेको छ । बिहीबार ५३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोही दिन १२१ कम्पनीको ८७ लाख कित्ता सेयर कारोबार भएको हो । बजारमा सबैभन्दा बढी सिभिल बैंकको ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, छिमेक लघुवित्तिक विकास बैंकको ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक र एभरेष्ट बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्था र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, भिवोर सोसाइटी विकास बैंक र सिर्जना फाइनान्स (वित्तिय संस्था) का लगानीकर्ताले क्रमशः ८.९८ र ७.८८ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक २५ अंकले उकालो लागेको छ । त्यस्तै, बैंक र फाइनान्स समूह सामान्य अंकले बढेका छन् । सबैभन्दा बढी बिमा समूहको परिसूचक ३१ अंकले घटेको छ । त्यस्तै, अन्य समूह, होटल र हाइड्रोपावर समूह क्रमशः ९, ७ र ६ अंकले घटेका छन् ।

पुष्पकमल दाहालद्धारा भारतीय राष्ट्रपति मुखर्जीलाई महाविद्यावारिधि प्रदान

काठमाडौं, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गरेका हुन्। काठमाडौं विश्वविद्यालयद्वारा बिहीबार आर्मीअफिसर्स क्लबमा आयोजित सो विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवम् सो विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, सोही विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजु श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो । सो समारोहमा मन्त्रिगण, नेपालका लागि भारतका राजदूत रणजीत राय, राष्ट्रपति मुखर्जीका भ्रमणमा रहेएका सदस्य समेत सो विशेष कार्यक्रममा सहभागी थिए । रासस

विजय लघुवित्तको २० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं, १८ कात्तिक । विजय लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रश्ताव राखेको थियो । राष्ट्र बैंकले स्वीकृति दिएको कम्पनीको सो प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।

भारतले नहरमा पानी बन्द गरिदिएपछि नवलपरासीमा विद्युत् उत्पादन बन्द

नवलपरासी, १८ कात्तिक । नहरमा पानी बन्द गरिएपछि नवलपरासीमा रहेको विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन पुगेको छ । भारतले यस वर्ष पनि नहर मर्मत सम्भार गर्नका लागि भनी नहरमा पानी बन्द गरेका कारण जिल्लाको गुठीसूर्यपरामा अवस्थित विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन पुगेको हो । पन्ध्र मेगावाट क्षमता रहेको विद्युत् उत्पादन गृहमा नहरमा पानी हुँदाको अवस्थामा समेत चार मेगावाट मात्र विद्युत् उत्पादन हुँदै आएको थियो थियो । यद्यपि अहिले नहरको सरसफाइ तथा मर्मतका लागि २५ अक्टुबरदेखि २५ नोभेम्बरसम्म भारत सरकारले पानी नहरमा बन्द गरेपछि विद्युत् उत्पादन बन्द हुन गएको हो । विद्युत् उत्पादन बन्द भएपछि गृहले अहिले विद्युत् आपूर्ति गर्न भारतबाट १३२ किलो भोल्ट बिजुली किनेर ३३ किभी र ११ किभी मा ट्रान्सफर गरी आपूर्ति गरेको गृहका निमित्त प्रमुख वीरेन्द्र शाहले बताए । गृहमा जडित तीन वटा टर्वाइनमध्ये टर्वाइन नम्बर ३ मात्र सञ्चालनमा रहे पनि भने अन्य १ र २ नम्बरको युनिट वर्षौंदेखि बिग्रिएका कारण बन्द अवस्थामा छन् । टर्वाइन नम्बर १ पूर्णरुपले बिग्रिएको अवस्थामा छ भने लामो समयदेखि बिग्रेको अवस्थामा रहेको टर्वाइन नं २ को मर्मत कार्य पूरा भइसकेकाले अब नहरमा पानी आएपछि सञ्चालन ल्याउने तयारी गरिएको छ । अब केही सातापछि नहरमा पानी आएपछि ३ र २ नम्बरको दुईटै टर्वाइन सञ्चालनमा ल्याई करिब आठ मेगावाट विद्युत् उत्पादन गर्ने गृहले लक्ष्य लिएको छ । भारत सरकारले सन् १९६६ मा विद्युत् उत्पादन गृहको प्रोजेक्ट सुरु गरी सन् १९७९ मा मात्र सञ्चालनमा ल्याएको थियो । भारत र नेपालको सम्झौताअनुसार उत्पादन गृह १९८१ सालमा भारतले नेपाललाई हस्तान्तरण गरेको थियो । पच्चिस वर्षमा उत्पादन गृहमा जडित सम्पूर्ण टर्वाइन, जेनेरेटर र मेसिनसहित प्रविधि फेर्न पर्नेमा अहिले ३६ वर्ष भइसक्दा पनि सामान्य मर्मतका भरमा विद्युत् उत्पादन गृह सञ्चालन हुँदै आएको छ । रासस

पुनरकर्जा २०० प्रतिशतले बढ्यो, भूकम्प पीडितले लिए १ वर्षमा ११ करोड ऋण

काठमाडौं, १८ कात्तिक । उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमासमेत सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग चालू आर्थिक वर्षमा करिब दुई सय प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७२/७३ को भदौसम्म सहुलियत दरमा प्रदान गरिने यस्तो कर्जा ६७ करोड १० लाख रुपैयाँ मात्र थियो । आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ सो कर्जाको उपयोग भएको छ । चालू आवमा प्रभाव भएको कर्जामध्ये १ अर्ब ६१ करोड ५२ लाख रुपैयाँ साधारण कर्जा हो भने ३७ करोड ४४ लाख निर्यात कर्जा भएको राष्ट्रले जानकारी दिएको छ । अघिल्लो वर्ष ६१ करोड ८० लाख रुपैयाँ साधारण पुनरकर्जा र ५ करोड ३० लाख रुपैयाँ निर्यात कर्जा रहेको थियो । विपन्न वर्गअन्तर्गत न्यून आयस्रोत भएका, सामाजिक रूपमा पिछडिएका जनजाति, महिला, शारीरिक अपाङ्गतता भएका र सीमान्तकृत समुदायलाई लक्षित गरी राष्ट्र बैंकले निर्देशन अनुसार बैंकहरुले पुनरकर्जामा लगानी बढाएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरू आफैले प्रत्यक्ष रूपमा २ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । अधिकांश वाणिज्य बैंकले लघुवित्त कारोबार गर्न आफ्नै सहायक कम्पनी खोलेर दोहोरो फाइदा लिने प्रचलन बढेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो । यसअघि अधिकांश निजी बैैकहरूले लघुवित्त कम्पनीमार्फत लक्षित वर्गमा कर्जा प्रवाह गर्दै आएका थिए । लघुवित्तले वाणिज्य बैंकबाट ४ प्रतिशत ब्याजदरमा कर्जा लिएर २० प्रतिशतसम्ममा लगानी गर्दै आएको तथ्य बाहिर आएपछि वाणिज्य बैंकहरूले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कुल कर्जाको ५ प्रतिशतमध्ये २ प्रतिशत आफै लगानी गर्न दिएको थियो । केन्द्रीय बैंकको निर्देशनसँगै केही वाणिज्य बैंकले प्रत्यक्ष लगानीका लागि तयारी शुरू गरे पनि अधिकांशको तयारी शून्य देखिएको छ । विपन्न वर्गलाई कर्जा प्रवाह शुरू गर्नुअघि विभागीय कार्यालय स्थापना, कर्मचारी व्यवस्थापनलगायत सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले तोकेकै समयमा निर्धारित प्रतिशतको लगानी पुर्याउन निजी बैंकहरूलाई गाह्रो हुने देखिएको छ । सरकारी बैकहरूले यसअघि नै ग्रामीण तथा विपन्न वर्गमा प्रशस्त कर्जा प्रवाह गरिरहेका छन् । ‘हाम्रो कुल कर्जाको ४ देखि ५ प्रतिशत अंश विपन्न वर्ग कर्जाअन्तर्गत पर्ने भएकाले तोकिएको समयमा राष्ट्र बैंकको निर्देेशन पालना गर्न सरकारी बैंकलाई खासै समस्या नभएपनि निजी बैंकलाई भने यो कार्य गर्नु चुनौतीपूर्ण रहेको छ । बैंकहरूले अहिलेसम्म लघुवित्तीय संस्थामार्फत विपन्न वर्ग कर्जा प्रवाह गर्दै आएको र दुर्गम तथा ग्रामीण क्षेत्रमा पूर्वाधार नभएकाले तत्काल लगानी गर्न सक्ने अवस्था नरहेको तथा चुनौती पूर्ण भएको सानिमा बैंकका सीईओ भुवन दाहालले बताए । तर, राष्ट्र बैङ्कको निर्देशनलाई अस्वीकार गर्न नसकिने भएकाले अधिकांश निजी वाणिज्य बैंकहरू विस्तारै तयारीमा लागेको उनले बताए । सानिमा बैंकले राष्ट्र बैंकको निर्देशन आउनुअघि नै विपन्न वर्गमा कर्जा प्रवाह शुरू गरिसकेकाले अहिलेसम्म अधिकांश तयारी पूरा भइसकेको उनले जानकारी दिए । निजी बैङ्कहरूले विभिन्न समस्या देखाउँदै नयाँ व्यवस्था एकै पटक पालना गर्न नसक्ने बताएपछि राष्ट्र बैंकले निर्देशनलाई केही खुकुलोसमेत पारेको छ । नयाँ व्यवस्थाअनुसार बैंकहरूले असोज मसान्तसम्म कुल कर्जाको १ दशमलव २५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नु पर्नेछ । त्यसैगरी पुस अन्त्यसम्ममा १ दशमलव ५ प्रतिशत, चैत मसान्तसम्ममा १ दशमलव ७५ प्रतिशत र २०७४ असार मसान्तसम्ममा तोकिएको २ प्रतिशत पुर्याउनु पर्नेछ । यसबाहेक भूकम्पपीडितहरुलाई राहत प्रदान गर्न राष्ट्र बैंकबाट शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्थाअन्र्तगत भूकम्प पीडितलाई सो ब्याजमा कर्जा प्रभाव गर्ने व्यवस्था आएको एक वर्ष अर्थात भदौ मसान्तसम्ममा ११ करोड ७८ लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरुले उत्पादनशील क्षेत्रमा पनि कम लगानी गरेका छन् । कुल  कर्जाको २० प्रतिशत कर्जा उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था छ । भदौसम्म वाणिज्य बैंकहरुको यस्तो कर्जा १६.६३ प्रतिशत पुगेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए ।

नमुना विद्यालय निर्माण गर्न एडिबीद्वारा १२ अर्ब ऋण तथा अनुदान दिने घोषणा

काठमाडौँ, १८ कात्तिक । एसियाली विकास बैंक (एडिबी)ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ । बैंकले उक्त ऋणमध्ये पाँच करोड अनुदानस्वरुप उपलब्ध गराइने मनिलास्थित उक्त बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न उपलब्ध गराइने उक्त ऋण र अनुदान दुईसयवटा नमुना विद्यालय भवन निर्माणमा उपयोग गरिनेछ । साथै, ती नमुना विद्यालय भवन विपद् जोखिम सामना गर्नसक्ने हुनेछन् । रासस

बिराटलक्ष्मी विकास बैंकको १९ प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्विकृति

काठमाडौं, १८ कात्तिक । बिराटलक्ष्मी विकास बैंकको १९ प्रतिशत लाभांश दिने निर्णयलाई नेपाल राष्ट्र बैंकले स्विकृति दिएको छ । बिराटलक्ष्मीले लगानी कर्तालाई १८ दशमलब ५० प्रतिशत बोनस सेयर र शुन्य दशमलब ९७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको थियो । अब बिराटलक्ष्मी विकास बैंकको साधारण सभाले पारित गरेपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर प्राप्त गर्नेछन् । बैंकको चुक्ता पुँजी ४२ करोड ५३ लाख रुपैँया रहेको छ । बैंकको सेयर प्रति कित्ता ४ सय रुपैंयाँमा कारोबार भैरहेको छ ।

जानकी मन्दिरको भेटीले मात्रै २ नम्बर प्रदेश धान्न सक्दैन

महोत्तरी, १८ कात्तिक । जनकपुरस्थित जानकी मन्दिरको भेटीबाट प्राप्त हुने आम्दानीले २ नम्बर प्रदेश धान्न नसकिने सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवम पूर्वमन्त्री हरिनारायण यादवले बताएका छन । पार्टी प्रशिक्षण एवम् क्षेत्रीय भेलालाई सम्बोधन गर्न महोत्तरीको गौशाला आएका पूर्व कृषिमन्त्री यादवले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै सङ्घीयताअनुसार कायम भएको दुई नम्बर प्रदेशमा वन, जङ्गल, औद्योगिक क्षेत्र, पर्यटन क्षेत्र लगायतका आम्दानीका स्रोत नभएकाले यस क्षेत्रका प्रमुख स्थल मानिने जनकपुरस्थित जानकी मन्दिरबाट प्राप्त हुने आम्दानीले मात्र यो प्रदेशलाई धान्न नसकिने बताएका हुन । आफुहरुले जनसङ्ख्याका आधारमा प्रदेश गठन गरिनुपर्ने माग गर्दै आएकाले तराईमा दुई प्रदेश आवश्यक रहेको उनले प्रतिक्रिया दिए । एक अर्को प्रसङ्गमा यादवले आफूहरुको आन्दोलन मधेस मुक्तिका लागि मात्र नभई देशका सम्पूर्ण आदिवासी, जनजाति, मुस्लिम, पिछिडिएको हरेक समुदायको संविधानमा समान हकअधिकार स्थापित गराउनका लागि रहेको बताए । सो हकअधिकार संविधानलाई संशोधन गरी उनीहरुको माग पूरा गरिनुपर्ने अतिआवश्यक रहेको उनले बताए । प्रधानमन्त्रीको चुनावपूर्व भएको सम्झौताअनुरुप छठसम्म आफूहरुको माग सम्बोधन नगरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिई नयाँ शिराबाट आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।