चीनले सगरमाथामा पर्वतारोहण केन्द्र बनाउने, एक अर्ब ६० करोड रुपैयाँं खर्च गर्ने
काठमाडौं १८, कात्तिक । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी आधार शिविरनजिकै अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा गरेको छ । चीनले तिब्बतमा पर्यटनको थप विकास गर्न विकट हिमालको काखमा आधारभूत प्रबन्धसहितको सुविधासम्पन्न केन्द्र बनाउन लागेको हो । चीनको तिब्बत स्वायत्त प्रदेशको कङ्खर टाउनसिपमा आगामी वर्ष सन् २०१७ देखि निर्माण सुरु गरेर दुई वर्षपछि सन् २०१९ मा सप्पन्न गर्ने समाचार चीनको सरकारी प्रकाशन चाइना डेलीले लेखेको छ । सगरमाथाको उत्तरी मोहोडादेखि उत्तरतिरको भूभागमा ८४ हजार ३ सय २० वर्गमिटर क्षेत्रफलमा निर्माण हुने यो केन्द्रका लागि चीनले दस करोड चिनियाँ युआन (एक अर्ब ६० करोड रुपैयाँं)खर्च गर्नेछ । समाचारमा जनाइए अनुसार निर्माण हुने अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्रमा पर्वतारोही, हिउँमा चिप्लेटी खेल्ने खेलाडी, प्याराग्लाइडर र पथप्रदर्शकहरुलाई खानाको व्यवस्था हुनेछ । स्वास्थ्य सेवा, ट्राभल्स एजेन्सी र हेलिकप्टर उद्दार सेवासमेत केन्द्रमा उपलब्ध हुनेछ । अहिलेसम्म तिब्बतमा उच्च अक्षांशमा परेका तथा हिमालमा फसेका व्यक्तिलाई हेलिकप्टरबाट उद्दार गर्ने व्यवस्था छैन । यस्तो अवस्थामा चीनको अनुरोधमा नेपालले हेलिकप्टरद्वारा उद्धार गर्दै आएको छ । कान्तिपुर दैनिकबाट । तिब्बत स्वायत्त प्रदेशको खेलकुद ब्युरोका उपनिर्देशक निमा छिरिङलाई उद्धृत गर्दै समाचारमा जनाइए अनुसार केन्द्रभित्र पर्वतारोहण संग्रहालय, कार भाडामा लगाउने व्यावसायिक कक्ष, कार मर्मत स्थल, मोटरसाइकल र साइकल भाडामा पाइने स्थल, रेष्टुरेन्ट र सुत्ने लजहरूसमेत बनाइनेछ । कङ्खर टिङ्ग्री काउन्टीका पाँच टाउन्सिपमध्येको एक हो । नेपालसँग सीमा जोडिएको कङ्खरबाट सगरमाथा, चोयु, शिशापङ्मा, ल्होत्से र मकालु हिमालको सुन्दर दृश्य देखिन्छ । यस क्षेत्रको पर्यटकीय तथा आर्थिक र सांस्कृतिक विकास गर्नका लागि चीनले अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउन लागेको बताइएको छ । केन्द्र बनिसकेपछि साबिकभन्दा अधिक पर्वतारोही र पर्यटकहरु सो क्षेत्रमा आउने अपेक्षा चीनले गरेको छ ।
भीभीआईपी उडानले आकाशमै ट्राफिक जाम, उडान तथा अवतरणमा तीन घण्टासम्म होल्ड
काठमाडौं १८, कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनैभर परेको थियो। आन्तरिक र बाह्य उडानका वायुसेवाले एकदेखि तीन घन्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको समाचार विहिबारको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। विमानस्थलमा एउटामात्र धवनमार्ग, आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि एउटै रुट र दैनिक दुइसयभन्दा बढी उडान विमानस्थलले थेग्न नसक्दा यस्तो वातावरण उत्पन्न भएको अधिकारीहरुले बताएका छन्। यद्यपी तीन दिन अगाडि नै उडान प्रभावित हुने सुचना जारी गरिसकेकोले धेरै ठुलो प्रभावन नपरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। उक्त कारणले कतिपय आन्तरिक उडान रद्ध भएका थिए भने अन्तर्राष्ट्रिय उडान तथा अतवरण ढिला भएको थियो।
करिब पाँच अर्ब २८ करोडको लागतमा सम्पन्न माथिल्लो मादीको परीक्षण चाँडै हुने
पोखरा, १७ कात्तिक । कास्कीको निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिमतिर परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलावाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजना निर्माणको ९९ प्रतिशत काम सकिएकाले परीक्षण उत्पादनको तयारीमा लागेको आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिए। विद्युत् गृहबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तथा लेखनाथमा निर्माण गरिएको सव–स्टेसनमा जोडिएका उपकरणको समेत परीक्षण गरिने उनले बताए । परीक्षण उत्पादनपछि एक महिनासम्ममा मर्मत गर्ने र मङ्सिर अन्तिमदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । आयोजनाको चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि सकिएको छ । उक्त आयोजनाको लागत करिब रु पाँच अर्ब २८ करोड रहेको छ । विसं २०६९ पुसबाट आयोजना निर्माण सुरु गरिएको थियो । रासस
भारतीय राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणको तयारी अन्तिम चरणमा
पोखरा, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ । अगामी कात्तिक १९ गते भारतीय राष्ट्रपति मुखर्जीको यहाँ हुने भ्रमणलाई भव्य र सफल बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत गठित स्वागतद्वार निर्माण र सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समिति एकजुट भई आ–आफ्नो जिम्मेवारी अनुसार कामलाई तीव्रता दिएका छन् । क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार उपसमितिले तोकिएको जिम्मेवारीलाई विहिवार बेलुकासम्म सम्पन्न गर्ने गरी क्रियाशील बनेका छन् । सुरक्षा सम्बन्धी आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको बताउँदै उनले राष्ट्रपति मुखर्जीको अगामी कात्तिक १९ गते हुने पोखराको भ्रमणका लागि सवारी आवागमनको पूर्व अभ्यास विहिवार गर्न लागिएको जानकारी दिए । राष्ट्रपति मुखर्जीको आगमनलाई लक्षित गरी पोखरामा विभिन्न ठाउँमा स्वागतद्वार निर्माण, सरसफाइ सौन्दर्यीकरणका काम भइरहेको पनि क्षेत्रीय प्रशासक बरालले जानकारी दिए । राष्ट्रपति मुखर्जीको भ्रमणलाई लक्षित गरी बिग्रेभत्केका सडकको मर्मत गरिएको छ भने विभिन्न नौ ठाउँमा स्वागतद्वार राख्न लागिएकोमा सात ठाउँको स्वागतद्वार निर्माण सम्पन्न भइसकेको पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले बताए । उनले राष्ट्रपति मुखर्जीको सवारी हुने मुख्य मार्गमा त्यहाँका स्थानीयवासी समेतको सहकार्यमा सरसफाइ कार्य पनि अघि बढाइएको बताए । राष्ट्रपति मुखर्जीको सम्मानमा स्थानीयवासीले पोखरा विमानस्थलबाट राष्ट्रपति मुखर्जी आराम गर्न जाने विरौटास्थित पोखरा ग्रान्ड होटेलसम्मका बाटोको दुबैतर्फ दुबै देशका झन्डासहित भरिएका पानीका घडा राखेर स्वागत गर्ने कार्यक्रम रहेका छन् । स्वागत व्यवस्थापन उपसमितिका संयोजक गणेशबहादुर श्रेष्ठका अनुसार पोखरा विमानस्थलदेखि राष्ट्रपति मुखर्जी जाने रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म उनको सम्मानमा विभिन्न जातजातीबाट विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिने कार्यक्रम छ । स्वागतका लागि सम्बन्धित टोल तथा समुदायमा आवश्यक पत्राचार भइसकेको जानकारी दिँदै उनले राष्ट्रपति मुखर्जीको सम्मानमा स्वस्तीवाचनका लागि लेखनाथ नगरपालिका क्षेत्रबाट समेत बटुकहरुको उपस्थिति गराइने भएको जानकारी दिए । प्राप्त कार्यक्रम अनुसार राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ः४५ बजे पोखरा विमानस्थल आइपुग्ने कार्यक्रम छ । विमानस्थलबाट केही समय आराम गर्नका लागि पोखरा ग्रान्ड होटलमा जाने र अपरान्ह ३ः०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकहरूको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाडौं फर्कने कार्यक्रम रहेको क्षेत्रीय प्रशासक बरालले जानकारी दिए । रासस
ऋण खोजेर लघुजलविद्युत् आयोजना पुनःनिर्माण, चार लाख रुपैयाँ लगानी
गोरखा, १७ कात्तिक । गोरखाको लापु गाविसका स्थानीयवासीले भूकम्पले गर्दा क्षति पुगेको नौलीखोला पहिलो लघुजलविद्युत् आयोजना ऋण खोजेर पुनःनिर्माण गरेका छन् । पाँच/पाँच हजार रुपैयाँका दरले स्थानीयवासीले पैसा जुटाएपछि १० किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको मर्मत सम्पन्न भएको उपभोक्ता समितिका सदस्य जीव गुरुङले बताए । अठार महिनाअघिको भूकम्पले खोलाबाट आयोजनासम्म पानी ल्याउने कुलो तथा विद्युत्को पावर हाउसमा क्षति पुर्याएको थियो । ऋण खोजेको पैसाले आयोजना मर्मत गरेपछि विद्युत् उत्पादन शुरु भएपछि गाउँ उज्यालो भएको गुरुङको भनाइ छ । उक्त विद्युत् लापु गाविसको वडा नं २, ५ र ९ वडाका १०० टहरोमा जडान गरिएको हो । विद्युत् सुचारु भएपछि गाउँले खुसी छन् । कुटानीपिसानी गर्न, रेडियो सुन्न, टिभी हेर्न र टेलिफोनका टावर सञ्चालनमा सजिलो भएको छ । त्यस्तै उज्यालोमा बसेर विद्यार्थीले पढ्न पाएका छन् । विद्युत् अवरुद्ध हुँदा मट्टितेल बाल्नुपर्ने बाध्यता थियो भने केही गाउँलेले सल्लाको दियालो बाल्ने गरेका थिए । चार लाख रुपैयाँ लगानी गरी विद्युत् आयोजनाको मर्मत गरिएको हो । जिविस गोरखासँग आयोजना मर्मतका लागि बजेटको माग गरिए पनि नपाएपछि गाउँलेले आफैँ आयोजनाको मर्मत गरेका हुन् । भूकम्पले क्षति पु¥याएका ३० भन्दा बढी लघुजलविद्युत् आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन् । रासस
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत
काठमाडौं, १७ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहेएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गरिन्। राष्ट्रपति भण्डारीले उनलाई पुष्पगुच्छाले स्वागत गरेकि हुन्। नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गरेका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरु उपस्थित थिए । भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो । विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीय राष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ प्रस्थान गर्दै छन् । राष्ट्रपतिको सवारी मार्ग विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्मको मार्गमा सर्वसाधारण नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर अतिथिको स्वागतार्थ उभिएका छन् ।
चक्रपथभित्र ‘अघोषित कर्फ्यू’, सडक वरपरका घरको झ्याल ढोका समेत बन्द, मुखर्जीको सुरक्षार्थ नेपाली सेनाको हवाइ गस्ती
काठमाडौं, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज साढे १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन् । उनको आगमनका क्रममा आज काठमाडौंको सवारी आवागमन प्रभावित मात्र नभइ एक प्रकारको अघोषित कफ्र्यू लागेको जस्तै हुने भएको छ । दिनभर भीभीआईपी र भीआईपीहरुको सवारी हुने भएकाले दिनभर चत्रपथभित्र निजी तथा सार्वजनिक सवारी चल्ने सम्भावना छैन भने नेपाली सेनाले हवाइ गस्ती गर्ने तथा सडक छेउका झ्याल ढोका समेत बन्द गर्न लगाइएको छ । ११ः३० बजेदेखि २ बजेसम्मका लागि सवारी हुने बाटोको झ्याल ढोका समेत बन्द गर्न आदेश आएको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन् । भारतीय राष्ट्रपति प्रणम मुखर्जीलाई विमानस्थलमा स्वागत गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी गाडी चल्न नदिने र सर्वसाधारण समेत हिड्न नपाउने भएपछि चत्रपथभित्र एक प्रकारले ‘अघोषित कर्फ्यू’ जस्तै हुने देखिएको छ । उनको साथमा भारतका उच्च पदस्थ अधिकारी पनि आउँने कार्यक्रम रहेको छ । ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी चलाउन रोक लगाउँदै सर्वसाधारणलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाएको छ । ट्राफ्रिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रबहादुर मल्लका अनुसार मुखर्जीको सवारीका समयमा सार्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइनेछ । मुखर्जीको सवारीमा ज्यामरसहितका कार्केड हुनेछ । मोबाइल सिग्नल ज्यामरका कारणले एक सय मिटर वरपरको टेलिफोनसहित डिजिटल सम्पर्क विच्छेद हुनेछ । सुरक्षा प्रवन्ध र ट्राफिक व्यवस्थापनमा सहज होस् भनेर सरकारले आज सार्वजनिक विदा दिएको छ । त्यस्तै मुखर्जी नेपाल आउँदै गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल करिब ५० मिनेट बन्द गरिएकाे छ । मध्यान्ह १२ः१० बजेदेखि १ बजेसम्म आन्तरिक र वाह्य दुबै उडान पुरै बन्द गरिएको छ । मुखर्जीको सुरक्षामा मुखर्जी आउनुभन्दा पहिले र अवतरण गरिसकेपछि पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनैपनि विमान अवतरण र उडान गर्न रोकिएको छ । विमानस्थलले नोटिस फर एयरमेन (नोटाम) जारी गरेर भिभिआइपी आउनुभन्दा केही समय अघिदेखि र पछिसम्म विमानस्थल बन्द गर्ने बताएको छ । त्रिभुवन विमानस्थल मुखर्जीको विमान अवतरण भएको २५ मिनेटपछि मात्रै खुल्ने भएपनि त्रिभुवन विमानस्थलले ‘नोटाम’ अवधी थपिनसक्ने समेत बताएको छ । राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफैले त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छिन् ।
रानी जमरा आयोजना समयमै पूरा नहुने, मुक्त कमैयाको बासोवास स्थान्तरण र रुख कटानमा ढिलाई
धनगढी, १७ कात्तिक । आर्थिक वर्ष २०७३/७४ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण समयमै पूरा नहुने देखिएको छ । मुक्त कमैयाको बासोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको मूल नहरको रेखाङ्कनमा परेकाले उनीहरुलाई स्थानान्तरण गरी व्यवस्थापन गर्नुपर्ने तथा नहरको रेखाङ्कन गरिएको क्षेत्रका रुख कटानी प्रक्रियामा ढिलाइ भएका कारण समयमै सो आयोजना निर्माण पूरा हुन नसक्ने देखिएको हो । आयोजनाका इन्जिनियर प्रकाशराज सत्यालका अनुसार कर्णाली मुहान भएको उक्त आयोजनाको निर्माण कार्य हालसम्म ६० प्रतिशत मात्र पूरा भएको छ । सरकारले विश्व बैंकको सहयोगमा विसं २०६६ बाट निर्माण थालेको सो आयोजनाको इन्टेक (मुहान) तथा ‘लिङ्क क्यानल‘ निर्माण कार्य पूरा भएको छ । इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूल नहर तथा ‘सेटलिङ्क बेसिन’ निर्माण कार्य करिब ७० प्रतिशत पूरा भएको छ । बलचौरदेखि कटासेसम्म मूल नहर, फिडर नहर, तथा पावर हाउस निर्माण कार्य भइरहेको छ । लम्कीतर्फको नयाँ शाखा नहर निर्माणका लागि प्रक्रिया अघि बढाइएको इन्जिनियर सत्यालले बताए । कटासेदेखि मोहनासम्म फिडर नहर, शाखा पुनःनिर्माण तथा सडकमा ग्राभेलको काम निर्माणाधीन छ । सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया, र मोहना नदीमा तटबन्धको लक्ष्य रहेको छ । “हालसम्म २१ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण भएको छ, बाँकी भागमा निर्माण कार्य जारी छ ,” उनले भने । मूल नहर निर्माणको दोस्रो प्याकेजअन्तर्गत निर्माण हुन लागेको विद्युत् आयोजना चार दशमलब ८८ मेगावाटको छ । आयोजना निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्कीचुहा नगरपालिका, पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंपुर, नारायणपुर, मुनुवा गाविसको करिब २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ । अयोजना निर्माणको कुल खर्च सरकार, विश्व बैंकको ऋण र अनुदान तथा उपभोक्ताको श्रमदानसहित १२ अर्ब ६३ करोड २१ लाख रुपैयाँ रहेको छ ।