विकासन्युज

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन । बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७ जना २० वर्ष मुनिका रहेका बताइएको छ । आव २०८०/८१ मा एक हजार १५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । अर्कोतर्फ अझै पनि ‘लाज र डर’का कारण औषधि मार्फत् ज्यान जोखिममा पारेर असुरक्षित गर्भपतन गराउने कायम रहेको छ । यस्ता सेवा लिनेमा किशोरी र सम्बन्धविच्छेद गरेका महिला समेत छन् । जिल्लाका १० स्थानीय तहका २६ स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने गर्दछन् । ती मध्ये बागलुङमा ३ , गलकोटमा चार , जैमिनीमा दुई , ढोरपाटनमा तीन , काठेखोलामा ७ , निसीखोलाा दुई , तमानखोलामा एक , ताराखोलामा दुई , बडिगाडामा एक र बरेङको एउटा स्वास्थ्य संस्था छन् । असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण सेवाग्राहीले सूचिकृत स्वास्थ्य सस्थाबाट गर्भपतन सेवा लिने जनाइएको छ । कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले चालु आर्थिक वर्षको तीन महिनामा १७२ जनाले सूचिकृत स्वास्थ्य सस्था मार्फत् गर्भपतन सेवा लिएको जानकारी दिए । उनका अनुसार जसमा २० वर्ष मुनिका छ जना रहेका छन् । सूचिकृत स्वास्थ्य संस्थामा भन्दा अन्यत्र गर्भपतन सेवा लिने जिल्लामा कायमै रहेको जनाइएको छ । सूचना घिमिरेले भने, 'कतिपयले आफ्नो स्वास्थ्य नै जोखिममा पर्ने गरी असुरक्षित गर्भपतन गराउने गरेको छन् । धेरै समस्या भएपछि सूचिकृत स्वास्थ्य सस्थामा आउने सेवाग्राही समेत हुन्छन् ।' बुर्तिबाङ अस्पतालकी नर्सिङ अधिकृत निरीक्षक पार्वती अर्यालले सूचिकृत स्वास्थ्य सस्थामा दोहोरिएर गर्भपतन सेवा लिन आउनेको पनि सङ्ख्यामा बृद्धि भइरहेको जानकारी दिए । उनका अनुसार पछिल्ला समय परिवार व्यवस्थापनका लागि स्थायी तथा अस्थायी साधन प्रयोग नगर्दा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या मा बृद्धि भएको हो । अस्पतालमा अविवाहित किशोरी पनि गर्भपतन सेवाका लागि अस्पतालमा आउने गरेको जनाइएको छ । 'उमेर पुगेका महिलादेखि अविवाहित किशोरी र अन्य महिला पनि गर्भपतन सेवा लिन आउनुहुन्छ, अशिक्षा र असाबधानीका कारण गर्भपतन गराउनुपर्ने बाध्यतामा उनीहरु हुन्छन्' उनले भने 'असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्यामा अहिले केही कमी आएको छ, तर अस्पताल बाहिर असुरक्षित रुपमा गर्भपतन गराउनेहरु पनि हुन्छन्, लाज र डरले गर्दा उनीहरु अस्पताल आउँदैनन्, औषधि खाएर गर्भपतन गराउँदछन् ।' औषधि पसलमा जथाभावि पाइने गर्भपतनका अनाधिकृत औषधि उपयोग गर्दा महिलाको ज्यान समेत जोखिममा पर्ने गरेको छ । औषधि व्यवस्था विभागले सूचीकृत गरेका औषधि पसलमा मात्र गर्भपतनका औषधि बिक्री गर्न पाइन्छ । तर अनाधिकृत औषधि पसलमा यस्ता औषधि बिक्री वितरण नरोकिएको बताइएको छ । पटक पटक गर्भपतन गराउँदा स्वास्थ्यमा समस्या बजारमा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई असुरक्षित गर्भपतन गराउने र औषधि प्रयोग गर्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा असर पार्ने धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख डा किरण तिवारीले जानकारी दिए । कतिपय महिलाले पटक–पटक गर्भपतन गराउने जनाउँदै यसले स्वास्थ्यमा गम्भीर असर पु¥याउने उनको भनाइ छ । असुरक्षित गर्भपतन गराउँदा अधिक रक्तस्राब भएर ज्यानसमेत जान सक्ने चिकित्सक बताउँदछन् । पटक पटक गर्भपतन हुँदा महिलाको शरीरमा रगतको कमी हुने र विभिन्न सङ्क्रमण हुनसक्ने जनाउँदै उनी पछि चाँहदा चाँहदै पनि गर्भ नरहे समस्या आउने उनस् बताउँछन् । प्रमुख डा तिवारी गर्भपतन गराउनुभन्दा परिवार नियोजनका अस्थायी तथा स्थायी साधनको प्रयोग गर्नु उत्तम विकल्प रहेको सुझाव दिन्छन् । 'गर्भपतन महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ, यो आपत्कालीन अवस्थामा मात्रै गर्नुपर्छ, परिवार व्यवस्थापनको साधन प्रयोग गर्नुनै राम्रो हुन्छ, यत्ति सजकता अपनाइयो भने समस्या हुँदैन' प्रमुख डा तिवारीले भने 'धेरै पटक गर्भपतन गर्दा रगत बढी बगेर ज्यान जाने सम्भवना हुन्छ भने गर्भ पाठेघरभन्दा बाहिर बस्ने र शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ ।' उनले पछिल्लो समय बजारमा जथाभावी रुपमा गर्भपतन गराउने विभिन्न औषधि पाइने र महिलाले आफूखुसी खाने गर्ने गरेको बताए । आफूखुसी गर्भपतनको औषधि खान नहुने जनाउँदै गर्भपतन गराउनै परे सूचिकृत स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको सुझाव लिएर मात्रै गर्नुपर्ने प्रमुख डा तिवारी बताउँछन् । रासस

एनआईसी एशियाको सीईओ बने सुजित शाक्य, यस्तो छ बैंकिङ अनुभव

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित शाक्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक १७ गते बसेको बैठकले सीईओमा शाक्यलाई नियुक्त गरेको कम्पनी सचिव दिपेन कार्कीले जानकारी दिए ।  यसअघि नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) रहेको शाक्यलाई एनआईसी एशियाले ४ वर्षका लागि सीईओमा नियुक्त गरेको कार्कीले बताए । शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने उनले जानकारी दिए । भारतको लखनउस्थित इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्टबाट पोस्ट ग्य्राजुएट डिप्लोमा इन बिजनेश म्यानेजमेण्ट गरेका शाक्यले सन् १९९६ मा नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् ।  उनले जुलाई १९९७ देखि १२ अप्रिल २००५ सम्म हिमालयन बैंक, १३ अप्रिल २००५ देखि १७ जुलाई २००७ सम्म लक्ष्मी सनराइज बैंक, १० अक्टोबर २००७ देखि २९ जुन २०१३ सम्म साबिक बैंक अफ एशिया नेपाल, ३० जुन २०१३ देखि १२ फेब्रुवरी २०१७ सम्म एनआईसि एसिया बैंकमा काम गरेका थिए ।  यस्तै, उनले १ मार्च २०१७ देखि १६ अप्रिल २०१९ सम्म साबि सिभिल बैंक,  २२ अप्रिल २०१९ देखि ५ डिसेम्बर २०१९ सम्म साबिक जनता बैंक र डिसेम्बर २०१९ देखि अगस्ट २०२० सम्म ग्लोबल आइएमई बैंकमा काम गरेको अनुभव छ । नेपाली बैंकिङ क्षेत्रमा ३ दशकको कार्यानुभव भएका शाक्यले आधा दर्जन बढी संस्थामा काम गरेर आफ्नो दख्खलता देखाइसकेका छन् । १६ अगस्ट २०२० देखि हालसम्म भने उनी नबिल बैंकको डीसीईओको रूपमा कार्यरत थिए । 

एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिँदै !

काठमाडौं । प्रविधि क्षेत्रका ठूला कम्पनीहरूले कृत्रिम बौद्धिकता (एआई) मा अचम्मलाग्दो रूपमा बढ्दो लगानी गरिरहेका बेला तिनीहरूको डिजिटल विज्ञापन व्यवसाय पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । यो हप्ताका त्रैमासिक नतिजा विवरणहरूले मेटा, अमेजन, अल्फाबेट र माइक्रोसफ्ट सबैले विज्ञापनबाट उल्लेख्य आम्दानी गरेको देखाएका छन् । अनलाइन विज्ञापन बिक्रीमा भएको वृद्धि यस वर्षको सुरुवातमा देखिएका चिन्ताहरूलाई कम गरेको छ, जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले बढाएको आर्थिक अस्थिरताले विज्ञापन बजेटमा नकारात्मक असर पार्ने आशंका गरिएको थियो । ‘मलाई लाग्छ डिजिटल विज्ञापन बजार बलियो छ,’ स्केलेबल नामक क्रिएटर इकनमी मिडिया फर्मकी सह–संस्थापक जस्मिन एनबर्ग भन्छिन्, ‘आर्थिक अस्थिरता र उतारचढाव अहिले धेरैका लागि सामान्यजस्तै भइसकेको छ, मानौं यो नै नयाँ सामान्य अवस्था हो ।’ यस त्रैमासमा मेटाले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै विज्ञापन आम्दानी वृद्धिमा अग्रता हासिल गर्यो । मेटाको कुल तेस्रो त्रैमासिक आम्दानी जसको ९८ प्रतिशत अनलाइन विज्ञापनबाट आउँछ, गत वर्षको तुलनामा २६ प्रतिशतले बढेर ५१.२४ अर्ब डलर पुगेको छ । जुन सन् २०२४ को पहिलो त्रैमासपछि कम्पनीको सबैभन्दा उच्च बिक्री हो । अमेजनको अनलाइन विज्ञापन इकाइको आम्दानी पनि वर्षको तुलनामा २४ प्रतिशतले बढेर १७.७ अर्ब डलर पुगेको छ, जुन कम्पनीको एडब्ल्यूएस क्लाउड कम्प्युटिङ इकाइको २० प्रतिशत वृद्धिभन्दा बढी दर हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी ज्यासीले अमेजनको आय कलमा बताएअनुसार कम्पनीले आफ्नो विज्ञापन(केन्द्रित डिमान्ड–साइड प्लेटफर्म (डीएसपी) लाई थप तेस्रो पक्षका एप्स र साइटहरूमा विस्तार गरिरहेको छ । ‘हामीले गरेका केही साझेदारीहरू हेर्दा रोकुसँगको साझेदारीले हामीलाई अमेरिकाको सबैभन्दा ठूलो ‘कनेक्टेड टिभी’ नेटवर्क दियो,’ ज्यासीले भने,’ र त्यसमा थप्दै हामीले हालै नेटफ्लिक्स, स्पोटिफाई र सिरियसएक्सएमका विज्ञापन सूचीहरूसँग हाम्रो डीएसपी ग्राहकहरूलाई एकीकृत हुने अवसर दिएका छौं । यो निकै शक्तिशाली संयोजन हो ।’ अल्फाबेटको तेस्रो त्रैमासिक विज्ञापन आम्दानी १३ प्रतिशतले बढेर ७४.१८ अर्ब डलर पुगेको छ । युट्युबको अनलाइन विज्ञापन आम्दानी १५ प्रतिशत बढेर १०.२६ अर्ब डलर पुगेको छ । माइक्रोसफ्टको सर्च र न्युज विज्ञापन इकाइले कम्पनीको आर्थिक पहिलो त्रैमासमा ३.७ अर्ब डलर आम्दानी र्गयो जुन गत वर्षको ३.२ अर्ब डलरभन्दा १४ प्रतिशत बढी हो । इमार्केटरका वरिष्ठ निर्देशक जेरेमी गोल्डम्यानका अनुसार आर्थिक अनिश्चितताका कारण केही कम्पनीहरूले विज्ञापन बजेट घटाए पनि सम्भवतः उनीहरूले पत्रपत्रिका जस्ता परम्परागत माध्यमहरूबाट बजेट सारेर डिजिटल विज्ञापन प्लेटफर्महरूमा लगानी गरेका छन्। ‘मलाई लाग्छ यो स्पष्ट निर्णय हो,’ गोल्डम्यानले भने, ‘तपाईंको पैसा सामाजिक सञ्जालमा, खुद्रा विज्ञापनमा र सर्च विज्ञापनमा लगाउनु नै बुद्धिमानीको कुरा हो ।’ यस हप्तामा ठूला कम्पनीहरू मात्र होइन अन्य पनि अनलाइन विज्ञापन आम्दानीमा उल्लेख्य वृद्धि देखिए । रेडिटले बिहीबार तेस्रो त्रैमासिक आम्दानीमा ६८ प्रतिशत वृद्धिको घोषणा गर्‍यो जुन  विश्लेषकहरूको अनुमानभन्दा बढी थियो । कम्पनीका अनुसार विश्वव्यापी दैनिक सक्रिय प्रयोगकर्ता १९ प्रतिशत बढेर ११६ मिलियन पुगे, जुन अनुमानित ११४ मिलियनभन्दा माथि हो । स्न्याप र पिन्टरेस्टले आफ्नो परिणाम अर्को हप्तामा सार्वजनिक गर्नेछन् ।  एआईमा ठूला लगानी यी प्रविधि कम्पनीहरूले स्पष्ट रूपमा देखाएका छन् कि उनीहरूले एआईमा लगानी घटाउने कुनै कारण देख्दैनन् बरु पूँजीगत खर्च अझ बढाउने घोषणा गरेका छन् — एआई ‘बबल’ को चिन्ताबीच पनि । अल्फाबेट, मेटा, अमेजन र माइक्रोसफ्टले संयुक्त रूपमा यस वर्ष ३८० अर्ब डलरभन्दा बढी पूँजीगत खर्च हुने अपेक्षा गरेका छन् जुन ओपनएआईले हालै एनभीडीया, ओरेकल र ब्रोडकमसँग गरेको करिब १ ट्रिलियन डलरको डेटा सेन्टर र क्लाउड सम्झौताभन्दा सानो हो । तर लगानीकर्ताहरू अमेजन र गूगलप्रति सकारात्मक भए पनि माइक्रोसफ्ट र विशेष गरी मेटाप्रति त्यति उत्साहित देखिएनन् । मेटाको सेयर बिहीबार ११ प्रतिशत घट्यो जब कम्पनीले पूँजीगत खर्चको न्यूनतम सीमा ६६ अर्ब–७२ अर्ब डलरको दायराबाट बढाएर ७० अर्ब–७२ अर्ब डलर बनाउने घोषणा गर्‍यो । ओपेनहाइमरका विश्लेषकहरूले मेटाको सेयरलाई ‘बाय’ बाट घटाएर ‘होल्ड’ मा राखे किनभने उनीहरूको भनाइमा मेटाले गरेको एआई लगानीले क्लाउड सेवा चलाउने प्रतिस्पर्धीहरूको जस्तै प्रत्यक्ष लाभ दिने कुनै स्पष्ट संकेत देखाएको छैन । ‘अज्ञात आम्दानी स्रोतहरूबीचको सुपरइन्टेलिजेन्समा ठूलो लगानी सन् २०२१/२०२२ को मेटाभर्स खर्चजस्तै देखिन्छ,’ विश्लेषकहरूले लेखेका छन् । उनीहरूले मेटाको सुपरइन्टेलिजेन्स ल्याब्समा भइरहेको एआई लगानीको तुलना कम्पनीको घाटामा गएको रियालिटी ल्याब्स (भीआररएआरप्रविधि) सँग गरे । मेटाकी वित्त प्रमुख सुसान लीले बुधबारको ‘अर्निङ कल’ मा भनिन्, ‘एआईसम्बन्धी डेटा सेन्टर र तेस्रो पक्षका क्लाउड सेवामा लगानी नगरे कम्पनी पछि पर्न सक्छ ।’ उनले सीईओ मार्क जुकरबर्गको भनाइ दोहोर्याउँदै थपिन्, ‘कम्पनीको उच्चतम प्राथमिकता एआईमा नेतृत्व लिने उद्देश्यले स्रोतहरू लगानी गर्नु हो । त्यसैले नजिकिँदै गरेको अवधिमा हाम्रो नाफामा केही उतारचढाव देखिन सक्छ ।’ मेटाले बारम्बार भनिरहेको छ कि एआई लगानीले उसको अनलाइन विज्ञापन व्यवसाय सुधार गरिरहेको छ, तर भविष्यमा यसले कम्पनीलाई कसरी फाइदा र्पुयाउँछ भन्ने देखाउन कठिन भइरहेको छ। ‘हामीले हरेक त्रैमासमा एउटै कुरा सुन्दै आएका छौं — मेटाले एआईलाई आफ्नो विज्ञापन व्यवसायमा समावेश गरेर वृद्धि इञ्जिनको रूपमा प्रयोग गरिरहेको छ,’ एनबर्गले भनिन्, ‘तर त्यसपछि के हुन्छ भन्ने कुरा बुझाउन कठिन र लगानीकर्ताहरूका लागि कम देखिने खालको छ ।’ यद्यपि मेटाले नयाँ उत्पादनहरूमा केही वृद्धि देखिरहेको छ जस्तै ‘मेटा एआई’ एप जसमा ‘भाइब्स’ नामक एआई–समर्थित छोटा भिडियो सेवा छ । गोल्डम्यानका अनुसार कम्पनीले भविष्यमा सदस्यता मोडेल विस्तार गर्न वा निगमहरूका लागि एआई सेवा प्रदान गर्न सक्छ जुन क्षेत्रमा उसले अहिलेसम्म प्रवेश गरेको छैन । हालका लागि मेटाको डिजिटल विज्ञापन इकाइ नै उसको मुख्य व्यवसाय रहन्छ । तर अघिल्ला त्रैमासहरूजस्तै अर्थतन्त्रले विज्ञापन बजेटमा कस्तो असर पार्ने हो भन्ने अझै स्पष्ट छैन । बफेटको कम्पनीमा पैसाको वर्षा, ५४.४ लाख करोड रुपैयाँभन्दा बढी नगद जम्मा ! सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने

२ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ६० करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ६० करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।  केन्द्रिय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा २ अर्ब ८ करोड , विकास बैंकमा ३९ करोड र वित्त कम्पनीमा १३ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ ।  ९ नोभेम्बर २०२५ देखि ९ नोभेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पती केन्द्रिय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।  त्यसैगरी निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ ।  त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने शर्त केन्द्रिय बैंकको छ । उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले असोज १० भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पठाउन भनिएको छ । 

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

सकसमा कांग्रेसको पन्ध्रौँ महाधिवेशन, शेखर कोइरालालाई विशेष महाधिवेशनका लागि मनाउने पहल

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ । यही उद्देश्यका लागि देशव्यापी रूपमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको समूहका नेताहरूले सोमबार पार्टीका वरिष्ठ नेता डाक्टर शेखर कोइरालालाई भेट गरी आफ्नो पहलको जानकारी गराएका छन् । समूहले मंगलबार काठमाडौंमा विशेष भेला आयोजना गर्ने तयारी गरेको छ । त्यसअघि, तयारीको सिलसिलामा उनीहरू सोमबार बिहान विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा पुगेका थिए । हस्ताक्षर अभियानका नेता मनोजमणि आचार्यले भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, 'हामी अहिले डेलिगेट्स लिएर डा. कोइरालाको सम्पर्क कार्यालय पुगेका थियौँ । उहाँसँग हाम्रो अभियानका उद्देश्य, पृष्ठभूमि र आगामी योजनाबारे विस्तृत चर्चा भयो ।' उनका अनुसार, विशेष महाधिवेशनको माग कुनै व्यक्तिको स्वार्थमा नभई पार्टीलाई सुदृढ, अनुशासित र जनमुखी बनाउने अभियानको हिस्सा हो । 'कांग्रेसको गौरवशाली इतिहासलाई पुनर्स्थापना गर्न र आन्तरिक लोकतन्त्रलाई अझ सबल बनाउन विशेष महाधिवेशन आवश्यक भएको हाम्रो निष्कर्ष हो,' आचार्यले भने । हस्ताक्षर अभियानमा सक्रिय नेता आचार्यले भने, 'उहाँसँग भेटेर भर्खरै हामी फर्कियौँ । भेटमा हाम्रो टोलीले विशेष महाधिवेशन किन जरुरी छ भन्ने विषयमा विस्तृत विवरण प्रस्तुत गर्‍यौँ । डा. कोइरालाले हाम्रो कुरा ध्यानपूर्वक सुन्नुभयो र सकारात्मक सन्देश दिनुभयो ।' आचार्यका अनुसार, अभियानले देशका सबै ७७ जिल्लामा पार्टी सदस्यहरूबीच संवाद र हस्ताक्षर संकलनको कार्यक्रम सञ्चालन गरिरहेको छ । अभियानको मूल उद्देश्य आगामी विशेष महाधिवेशनमार्फत पार्टीको नीति, संगठन र नेतृत्व शैलीमा सुधार ल्याउनु रहेको उनले बताए । नेता शेखर कोइरालाले भेटका क्रममा समूहका नेताहरूलाई पार्टीभित्रको असन्तुष्टि र सुधारका मागलाई संवैधानिक र लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउन सुझाव दिएका बताइएको छ । पार्टीभित्र संवाद र सहकार्यकै माध्यमबाट समस्या समाधान गर्नुपर्ने उनको धारणा रहेको स्रोतहरूले जनाएका छन् । नेपाली कांग्रेसभित्र पछिल्लो समय महाधिवेशनपछि नेतृत्व र संगठन संरचनाबारे असन्तुष्टि बढ्दै गएको छ । कतिपय नेता तथा कार्यकर्ताहरूले पार्टीको निर्णय प्रणालीमा पारदर्शिता, युवाको सहभागिता र संगठनको पुनर्संरचनाका लागि विशेष महाधिवेशनको माग गर्दै आएका छन् । हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको समूहले हालसम्म विभिन्न प्रदेशमा व्यापक समर्थन प्राप्त गरेको दाबी गरेको छ । मंगलबार काठमाडौंमा हुने विशेष भेलामा अभियानमा संलग्न प्रतिनिधिहरू, जिल्ला नेताहरू र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । समूहका अनुसार, उक्त भेलाले विशेष महाधिवेशनको तयारी, हस्ताक्षर संकलनको प्रगति र आगामी रणनीतिबारे निर्णय लिनेछ । उनीहरूले नेपाली कांग्रेसलाई लोकतान्त्रिक अभ्यासको नमूना बनाउने आफ्नो अभियान निरन्तर जारी रहने जनाएका छन् ।

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

कैलाली । कैलारी गाउँपालिका-५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन्। यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ । गाउँका सबैले कठरियालाई स्नेहपूर्वक 'रामदास डाक्टर' भनेर सम्बोधन गर्छन् । तर उनी न त डाक्टर न वैद्य नै हुन् । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन् । हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन् । उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउँछन् । छामेरै भन्छन्, 'यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ ।' त्यसपछि उपचार गर्छन् । आजसम्म कति बिरामी निको पार्नुभयो भन्ने यकिन तथ्यांक छैन । त्यसो त उनले यो सीप संयोगले प्राप्त गरेका हाेइनन् । उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य थिए । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उनमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो । हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्थे । त्यही क्रममा हातमा सीप बस्दै गयो । हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरे । अहिले त्यही सीप उनको परिचय बनेको हो । ४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको । उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन् । कठरियाको उपचार शैली पनि सरल छ । उनीसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण । उनको हात, सीप र अनुभव नै औजार हो । बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउँछन् । उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन्। उनका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो । त्यसैले उनले उपचारको शुल्क निर्धारण गर्दैनन् । बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन् । उनले धन्यवादसहित ग्रहण गर्छन् । भजनीका भागिलाल चौधरी आफ्नो अनुभव सुनाउँदै भन्छन्, 'मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौं, निको भइनन् । अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन् ।' हरेक गाउँमा उनले उपचार गरेका अनेकौं उदाहरण छन् । उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उनीकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन् । उपचारमा उनी प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्छन्। कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउँछन् । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनी बताउँछन् । उनका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो । 'मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,' उनी भन्छन्, 'उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो।' उनी आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहन्छन् । उनले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन् । उनी भन्छन् 'अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस् ।' रासस

राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । सोमबार बिहान पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रस्थान गरेका हुन् ।  कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ण्ट कार्यक्रममा भाग लिन पौडेल कतार प्रस्थान गरेका हुन् । उनी कात्तिक १७ देखि २० गतेसम्म कतारमा रहनेछन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका प्रमुख र उच्चपदस्थ कर्मचारीले बिदमाई गरे ।   पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भाग लिन मन्त्रीपरिषद्को बैठकले गत बुधवार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो ।