माथिल्लो तामाकोसी २०७५ असारसम्ममा, लोडशेडिङको समस्यामा राहत हुने
काठमाडौं ५, कात्तिक । भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा अनिश्चित बनेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७५ असारसम्ममा पूरा हुने भएको छ । डेढ वर्षअघिको भूकम्पले झण्डै एक वर्ष रोकिएको आयोजनाको काम पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो । भूकम्प र नाकबन्दीले ढिलाई भएपछि आयोजना आउँदो २०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको छ । भूकम्पले पहुँचमार्गमा सडकमा ठूलो क्षति पुर्याएपछि बाँधस्थलको काम प्रभावित भएको थियो । कारोबार दैनिकबाट।
यो हो स्मार्टफोन प्रयोग गर्ने स्मार्ट तरिका, जोगाउनुस मेरुदण्डको समस्या
काठमाडौं, ४ कार्तिक। स्मार्टफोन जसरी दैनिक जीवनको अभिन्न अंग बनिरहेको छ, त्यसैगरी यसले प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पनि पारिरहेको छ । तपाइँले कहिल्यै कल्पना गर्नुभएको छ कि, स्मार्टफोन प्रयोगगर्दा ढाडको समस्या हुनसक्छ भनेर ? स्मार्टफोनको प्रयोगले ढाड तथा घाँटी दुख्ने समस्या देखिएको छ भने सचेत हुनुहोस् यसले तपाइँको स्वास्थ्यमा गम्भीर असर गर्नसक्छ । यसो हुनुको मुख्य कारण हो- पोस्चर अर्थात तपाइँको आसन । विशेषगरी स्मार्टफोन तथा अन्य इलेक्ट्रोनिक सामानको निरन्तरको प्रयोगका क्रममा एउटा मानिसमा दिनमा कम्तीमा चार घण्टा यस्ता अप्राकृतिक तथा खराब आसनमा आˆनो समय खर्चिरहेका हुन्छन् । यसबाट बच्न तथा बचाउन स्मार्ट फोनको प्रयोग गर्दा कसरी बस्ने भन्नेबारे बिज्ञहरुले पत्ता लगाएका सुझाव तपाइँलाई उपयोगी हुनसक्छ । १. आसन (३० डिग्री, भार-१८ केजी ) २. आसन (६० डिग्री, भार- २७ केजी) यो मुद्राको आसनमा स्मार्टफोन चलाउँदा तपाईको शरीरले आˆनो सम्पूर्ण भार मेरुदण्डमा पर्न जान्छ जसले फोक्सो लगायत हाम्रो शरीरको महत्वपूर्ण भागलाई असर पार्ने गर्छ । तपाइँको आसनअनुसार मेरुदण्डमा २७ केजीसम्मको भार पर्न जान्छ । विभिन्न अनुसन्धानले एउटा व्यक्तिको शरीरीक मुद्राले उसको भावनात्मक अवस्थाबारे थाहा पाउन सकिन्छ भनेर देखाइसकेको छ । उदाहरणको लागि हामी डिप्रेशनलाई लिन सक्छौ । विशेषगरी डिप्रेशनको शिकार भएका व्यक्तिहरुको बसाई हेरेर नै हामी उसका मनको अवस्था थाहा पाउन सक्छौ । पहिले-पहिले वृद्धवृद्धामात्र यस्ता समस्याबाट ग्रस्त हुने मान्यता रहेको थियो । तर, पछिल्लो समय यो समस्या युवाहरुमा बढी देखिन थालेको छ । यस्ता समस्या भएका व्यक्तिमा घाँटी तन्कने, जिउँ कुपि्रने तथा काँध झुक्ने समस्या हुने गर्दछ । जबकी सही मुद्राको आसनले तनाव कम गर्ने मात्र नभएर तपाईका कार्य क्षमताको वृद्धि गर्न समेत ठूलो भुमिका खेल्छ । कुनै पनि उपकरणको प्रयोग गर्दा घाँटीलाई निहुराउनुको साटो आखाँलाई तल झार्नुस् । त्यस्तै, स्कि्रनलाई माथि उचालेर उपकरणको प्रयोग गर्नुहोस् । यसले तपाइँको मेरुदण्डमा जम्मा पाँच केजीको भार पर्न जान्छ । आसन (० डिग्री, भार- ५ केजी) ढाडको समस्या कम गर्ने पाँच साधारण तरीकाः १. समय-समयमा मांशपेसीलाई तन्काउँदै , टाउकोलाई दायाँ बायाँ घुमाउने २. बेलाबेलामा कुमको वरपर, घाँटीको छेउछाउ तथा काँधको दायाँबाया मालिस गर्ने ३. केही बेर उभिने, हात, खुट्टालाई तन्काउने र ढाडलाई दायाँबायाँ झुकाउने । यो प्रकृयाले घण्टौदेखि एउटा मुद्रामा बसेको मांशपेशीलाई केही हदसम्म भएपनि आराम दिने गर्छ । ४. यदी तपाई १० मिनेट भन्दा बढी समयसम्म निरन्तर फोनमा हुनुहुन्छ भने चिउडोलाई घाँटीतर्फ निहुराउनुस् र कुमलाई थोरै केहीबेर घुमाउनुहोस् । १० सेकेन्डका लागि थामेर यो प्रकृयालाई केहीबेरसम्म दोहोर्याउनुहोस् । ५.प्रत्येक पटक स्मार्ट फोनको प्रयोग गर्दा, याद गर्नुस् सही मुद्राको आसनले भविष्यमा तपाईलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट बचाउन सक्छ ।
अब फेसबुक मेसेन्जरमा आएको मेसेज अरुले पढ्न नसक्ने
काठमाडौं, ४ कात्तिक। फेसबुक मेसेन्जरमा अव यस्तो मेसेज पठाउन सम्भव भएको छ, जुन अरु कसैले पढ्न सक्दैन । तपाईंले पठाएको मेसेज आफै डिलिट हुने छ । यसका लागि दुई व्यक्ति जो च्याट गर्छन् उनीहरुले फेसबुक मेसेन्जरको सबैभन्दा नयाँ भर्सन आवश्यक पर्छ । र, मेसेज पठाउने तरिका पनि पहिलेको भन्दा केही फरक रहेकेा छ । सबैभन्दा पहिला नयाँ भर्सनको मेसेन्जर डाउनलोड गर्नुहोस् । त्यसपछि ‘कम्पोज’ मा क्लिक गर्नुहोस् । नया मेसेज वाला जुन स्क्रीनमा आउछ त्यसको दाहिने तर्फ माथि ‘सेक्रेट’ लेखिएको पाउनु हुनेछ । तपाई जसलाई उस्तो मेसेज पठाउँन चाहनुहुन्छ, आफ्नो फेनबुकमा उसको नाम छान्नुहोस । यदी उसँग मेसेन्जरको नयाँ भर्सन छैन भने उसले उक्त मेसज पढ्न सक्ने छैन । मेसेन्जरले तपाईंले मेसेज पठाउन लाग्नु भएको प्रयोगकर्ताले नयाँ भर्सनको मेसेन्जर चलाएकेा छ कि छैन भन्ने जानकारी भने दिने छैन । यसकालागि तपाईंले आफ्ना साथीलाई फोन गरेर नयाँ भर्सन चलाए नचलाएको बारे जानकारी लिन जरुरी छ । तपाईले पठाएको मेसेज आफै डिलिट हुने अवश्य छैन । यसकालागि मेसेन्जरमा एक टाइमल अप्सन देखिनेछ जसलाई तपाइले क्लिक गर्नुपर्ने हुन्छ । यसपछि तपाईले उक्त मेसेज कति समयपछि हराउने वा डिलेट हुने तपाईंले निश्चित गर्नुपर्ने छ । तपाईले पठाएको मेसेजा वा तपाईलाई आएको मेसेज तपाईको स्क्रीनमा ‘तपाईंलाई म्यासेज प्राप्त भएको छ’ शिर्षकमा देखा पर्ने छ । नयाँ मेसेजिङ युवा पुस्ताले बढी प्रयोग गर्ने विश्वास लिइएको छ ।
सिभिल बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
काठमाडौं, ४ कात्तिक । सिभिल बैंक लिमिटेडले रेमिटेन्स प्रवाहलाई अझै सरल र विस्तार गर्ने उद्देश्यले बुम रेमिट्यान्स संग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताबाट खाडी मुलूकमा कार्यरत नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताएका छन् । साथै बैंकले यस अघि वेस्टर्न युनियन, आइएमइ, प्रभु रेमिट, संसारा रेमिट, रिलाएबल रेमिट, हिमाल रेमिट, एसडिबिएल ट्रस्ट रेमिट, ईजीलिङ्क रेमिटेन्स, सुलभ रेमिट, एसबिएल रेमिट, आईपे रिलाएबल रेमिटेन्स र बेस्ट रेमिटसंग सम्झौता गरी रेमिटेन्स सेवा दिंदै आएको छ । यस बाहेक बैंकको आफ्नै रेमिटेन्स सेवा सिभिल बैंक रेमिट पनि रहेको छ जसका ३००० भन्दा बढी सब एजेन्टहरु मार्फत रेमिटेन्स भुक्तानी सेवा उपलब्ध गराउँदै आइरहेको छ । इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनीसँग मर्ज गरी एकिकृत कारोवार शुरु गरेको छ । सिभिल बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ जसपछी चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । टि–२४ नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै ग्राहक मुखी थप सेवाहरु पनि थप्दै लाने बैंकले जनाएको छ ।
हामीनिटको प्रदर्शनी तथा बिक्री मेला भोलिदेखि शुरु
काठमाडौं, ४ कात्तिक । जोरपाटी स्थित हामीनिटले ऊनी पश्मिना, कटन तथा बिभिन्न प्रकारका कलेक्सनहरुको बृहत प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ । यहि कात्तिक ५, ६ र ७ गते तीन दिन सम्म उक्त मेलाको आयोजना गर्न लागेको छ । पिस ब्याङ्कवेटको हल जोरपाटी एभरेष्ट बैंकको पछाडीे हामीनिटले महिला तथा पुरुषहरुका लागि ऊलन कपडाहरु, स्वेइटर, पञ्जा, टि–शर्ट, टोपी, मफलर, सल लगायत बिभिन्न आकर्षक डिजाईनका पहिरनहरु नेपालमै उत्पादन गरी बृहत प्रदर्शनी तथा बिक्री मेला गर्न लागेको हो । हामीनिट ब्राण्डले नजिकिदै गरेको जाडो यामलाई मध्येनजर गरि आम नेपालीका माझमा आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीले बताइन् । मेलामा २०० रुपैयाँ देखि २००० रुपैयाँ सम्मका कपडाहरु विशेष छुट गरि प्रदर्शनीमा राख्न लागिएको उनले बताइन् । हामीनिटका के.एल.टावर चुच्चेपाटी र जोरपाटी टेलिकम पछाडी गरि दुईवटा आउटलेट संचालनमा छन् । साथै छिट्टै नै शान्ता प्लाजा ज्ञानेश्वर र बौद्ध मार्ट, बौद्धमा पनि आउटलेट संचालन गर्ने बुढाथोकीले जानकारी गराएकी छन् ।
नेपालको आर्थिक विकासमा सहयोग गर्ने -अमेरिकी राजदूत एलैना बि टेप्लिज
काठमाडौं, ४ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशी र नेपालका लागि अमेरिकी राजदूत एलैना बि टेप्लिजले बिहिबार उद्योग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरुबीच भएको भेटवार्तामा उद्योगमन्त्री जोशीले संविधान निर्माण पछिको वर्तमान अवस्थामा आर्थिक समृद्धि हासिल गर्न उद्योग मन्त्रालय लगानीको वातावरण बनाउन क्रियाशील रहेको बताए । सो अवसरमा उनले लगानीकर्तालाई आश्वस्त बनाउन मन्त्रालयले नीतिगत सुधार र उद्योगमैत्री वातावरण बनाउन लागि परेको मन्त्रालयले प्रयास गरिरहेको जानकारी दिए । उद्योगमन्त्री जोशीले नीतिगत सुधारका क्रममा अहिले विशेष आर्थिक क्षेत्र(सेज) र औद्योगिक व्यावसाय प्रवद्र्धन ऐन संसद्बाट पास भइसकेको र कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी कानुन र बौद्धिक सम्पत्तिसम्बन्धी कानुन पास हुने क्रममा रहेको जानकारी दिए । भेटका अवसरमा उनले विदेशी लगानीसम्बन्धी कानुनले विदेशी लगानीका स्वरुपलाई स्पष्टरुपमा परिभाषित गरेको, प्रविधि हस्तान्तरणका स्वरुप र विदेशी लगानी प्रवद्र्धनका लागि लगानी प्रवद्र्धन बोर्डको स्थापना गरेको उल्लेख गरे । त्यसैगरी गैरआवासीय नेपालीको लगानीमा थप सहजता, विदेशी लगानीको प्रवेश र बहिर्गमनका सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको तथा जग्गा प्राप्तिलाई सहजीकरण गरिएको जस्ता विशेषता प्रस्तावित नीतिमा उल्लेख भएको मन्त्री जोशीले बताए । औद्योगिक वातावरणका लागि आवश्यक नीतिहरुको तर्जुमापछि आगामी मार्च महिनामा उद्योग मन्त्रालयले विदेशी लगानीकर्ता सम्मेलन गर्ने तयारी गरिएको भन्दै त्यसमा अमेरिकी लगानीकर्ताको समेत उल्लेख्य सहभागिताका लागि अनुरोध गरेका थिए । भेटमा अमेरिकी राजदूत टेप्लिजले उद्योग मन्त्रालयको अहिलेको कार्यप्रति सन्तोष व्यक्त गर्दैै नेपालको आर्थिक विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । नेपालले बौद्धिक सम्पत्तिसम्बन्धी नीति तयार गर्दा आफ्नो मुलुकको साथै वैदेशीक लगानीकर्ताको हितलाई समेत सम्बोधन गर्न सक्नुपर्ने सुझाव उनको थियो । नेपालमा उद्योग विकासको प्रशस्त सम्भावना रहेको भन्दै राजदूत टेप्लिजले आर्थिक विकासका लागि व्यावसायिक वतावरण बन्न जरुरी रहेको बताए ।
सोल्टी होटल ५० औं बर्षमा, पोखरा र नेपालगञ्जमा चार तारे होटल बनाउँदै
काठमाडौं, ४ कात्तिक । सोल्टी होटलले पोखरा र नेपालगञ्जमा ४ तारे होटल सञ्चालनमा ल्याउने भएको छ । होटलको ५० औैं बार्षिकोत्सवका अवसरमा आयोजीत पत्रकार सम्मेलनमा सोल्टी होटलका अध्यक्ष प्रभाकर शमसेर राणाले पोखरा र नेपालगञ्जमा चार तारे होटल सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् । नेपालगञ्जमा आगामी बैशाखबाट सञ्चालन गर्न लागिएको होटलमा ५५ करोड लगानी हुनेछ । ८१ कोठा रहेको होटलले मध्यपश्चिम तथा सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष राणाले बताए । त्यस्तै, पोखरामा निर्माण गरिने अर्काे ४ तारे होटलमा ६० करोेड लगानी हुनेछ । रिसोर्टका रुपमा निर्माण गरिने पोखराको होटलका लागि जग्गा खरिद भैसकेको पनि उनले जानकारी दिए ।
बृहत ग्रुप दशौं वर्षमा प्रवेश
काठमाडौं, ४ कात्तिक । रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यवसायिक समूह बृहत ग्रुप स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा नवौं वार्षिकोत्सव मनाउँदै कम्पनीले कात्तिक २ गतेदेखि कात्तिक ४ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । कात्तिक २ गते सोमबार बृहतले कम्पनीका सदस्यहरुको सहभागितामा खोकनास्थित स्तुपा परिसर सरसफाइ तथा रंगरोगन गर्यो । उक्त अवसरमा ग्रुपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले नेपालकै नमुना बस्तीका रुपमा रहेको तनहुँको बन्दिपुरको स्थलगत अध्ययन भ्रमणका लागि खोकनाका स्थानीयवासीलाई बृहतले सहयोग गर्ने बताएका छन् । ‘वल्र्ड हेरिटेज साइटका रुपमा रहेको खोकनामा मौलिक किसिमको नमुना बसोबास विकास होस् भन्ने उद्देश्यले यसका लागि स्थानीयवासीलाई बन्दीपुर नमुना बस्तीको एक्पोजर भिजिटमा हामीले सघाउन खोजेका हौं,’ राजभण्डारीले भने । यस्तै, नेपाल रेडक्रश सोसाइटीसँगको सहकार्यमा गू्रपले कात्तिक ३ गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कम्पनीका सदस्यहरुका साथै अन्य सर्वसाधारणसमेत गरी कुल ५३ जनाले सहभागिता जनाएका थिए । बृहतले आफ्नो स्थापनाको पहिलो वर्षगाँठदेखि नै हरेक वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । कात्तिक ४ मा पनि ग्रूपले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु आयोजना गर्दै ‘वृहत दिवस’ मनाएको छ । नेपाली रियल इस्टेट क्षेत्रका अग्रणी व्यवसायी ओम राजभण्डारीको नेतृत्वमा संचालित बृहत ग्रूपअन्तर्गत हाल बृहत इन्भेष्टमेन्ट्स (बीआई), बृहत डेभलपर्स एण्ड बिल्डर्स (बीडीबी), पायोनियर बिल्डर्स एण्ड डेभलपर्स (पीडीबी), बृहत प्रोपर्टी सोलुसन्स (बीपीएस), स्वयम्भू होटल्स एन्ड अपार्टमेन्ट र अन्तरप्रेरणा गरी ६ कम्पनीहरु संचालित छन् । यीमध्ये बीआईले परियोजना विकास, बीडीबीले निर्माण, पीडीपीले डिजाइन तथा सुपरभिजन, बीपीएसले प्रोपर्टी (घर–जग्गा) विक्री व्यवस्थापन र स्वयम्भु होटल्सले रेन्टल होम÷अपार्टमेन्ट सेवा लगायतको काम गरिरहेको छ । रियल इस्टेटसँग प्रत्यक्ष सम्बन्धित काम गर्ने यी पाँच कम्पनीबाहेक बृहत ग्रूपअन्तर्गतको सबैभन्दा पछिल्लो कम्पनी ‘अन्तरप्रेरणा’ भने उद्यमशील व्यक्तिलाई व्यवसाय संचालन तथा सफलताका लागि आवश्यक वित्तिय सहायतादेखि व्यवस्थापन, मेन्टोरशीप, व्यवसाय अभिबृद्धि लगायतमा सघाउँदै नेपालमा उद्यमशीलता विकास र युवा उद्यमीहरु उत्पादन गर्ने उद्देश्य राखेको छ । कात्तिक ४ मा आयोजित औपचारिक वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष राजभण्डारीले भन्नुभयो, ‘‘बृहत ग्रूप अबका दिनमा बृहत प्रिमियम रेजीडेन्सी विकासमा केन्द्रित रहनेछ । जसमा डिजाइन, निर्माण गुणस्तर, निर्माण सामग्री, वर्कम्यानसीप, मेन्टिमेन्स फ्रि आवास आदि कुराहरुको उत्कृष्ट संयोजन हुनेछ ।’’ साथै, ग्रूपले आफ्नो मावन संसाधन (एचआर) को क्षमता विकासलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीको पर्फमेन्स उच्च बनाएर लैजाने नीति अबलम्बन गरेको पनि उनले जानकारी दिए । राजभण्डारीको नेतृत्वमा हालसम्म काठमाडौं उपत्यका भित्र तथा बाहिर गरी एक दर्जन आवास परियोजना सफलतापूर्वक सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।