विकासन्युज

सातवटा परियोजना सञ्चालनका लागि जापानको ६१ करोड रुपैयाँ सहयोग

काठमाडौं, १९ असोज । जापान सरकारले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाल सरकारलाई ६१ करोड रुपैयाँ सहयोग गरेको छ । नेपालस्थित जापानी दूतावासका अनुसार जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न ३३ करोड रुपैयाँ र सिचाइँ प्रणाली सुधार कार्यक्रममा १५ करोड रुपैयाँ नगद सहयोग गर्नेछ । त्यस्तै, जापानले गोदामघर निर्माण गर्न तीन करोड रुपैयाँ, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखालमा प्लान्ट निर्माण गर्न पाँच करोड रुपैयाँ, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई करोड रुपैयाँ तथा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा तीन करोड रुपैयाँ प्रदान गर्नेछ । उक्त रकम जापानले प्रदान गर्ने खाद्य सहयोग कार्यक्रममार्फत उपलब्ध गराउने बताइएको छ । रासस

मेची राजमार्गको दमक–रबि सडक निर्माणका लागि थप बजेटको माग

काठमाडौं, २० असोज । मेची राजमार्गको विकल्पका रुपमा अगाडि बढाइएको दमक–चिसोपानी–रबि सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि थप बजेट उपलब्ध गराइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले सडक निर्माणका क्रममा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङ, रिटेनिङ वाललगायत निर्माणका लागि ५० करोड रुपैयाँ उपलब्ध गराउन माग गरेको हो । दमक–चिसोपानी–रबि सडक (फाल्गुनन्द माग) निमार्ण उपभोक्ता समितिका अध्यक्ष रेवतीराज पुरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सुरक्षाका कारण निर्माण कार्यलाई अगाडि बढाउन कठिनाइ भएको भन्दै तत्काल अस्थायी प्रहरी चौकी स्थापना गर्न पनि माग गरेको छ । विकास निर्माणका कार्यलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्ने बताए। प्रनिनिधिमण्डलमा सहभागी सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले बहुआयामिक विशेषता बोकेको सडकलाई अगाडि बढाउन सरकारको सहयोग आवश्यक भएको बताए । त्यसैगरी, नेकपा (एमाले) नेता तथा पूर्वमन्त्री अग्नि खरेलले पूर्वको विकास र त्यहाँको आर्थिक उन्नतिका लागि महत्वपूर्ण मानिएको सडक निर्माणका लागि सबैको एकमत भएकाले त्यसमा सहयोग आवश्यक भएको बताए । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरीले २५ वर्ष बितिसक्दा पनि सडक निर्माण कार्य सम्पन्न नभएको भन्दै यस क्षेत्रका १२ लाखभन्दा बढी जनसङ्ख्यालाई प्रत्यक्ष सुबिधा हुने सडक सम्पन्न गर्न ध्यान दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । उनका अनुसार कूल ४० किलोमिटर लम्बाइको उक्त सडक निर्माणका लागि एक अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्छ । त्यसका लागि यसै आर्थिक वर्षका लागि प्रधानमन्त्रीसँग रकम मागिएको हो । रासस

३९ करोड विनियोजनमा भारत र चीन जोड्ने लोकमार्गको निर्माण तीव्र गतिमा

पर्वत, २० असोज । करिब एक दशकदेखि अलपत्र बनेको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको निर्माण तीव्ररुपमा अघि बढेको छ । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको भारत र चीन जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको छ । लोकमार्गअन्तर्गत सदरमुकाम कुश्मादेखि स्याङजाको मिर्मी सम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको हो । उक्त सडकखण्डमा ट्र्याक खोल्ने, सडक चौडा बनाउने, तारजाली हाल्ने, कल्भर्ट बनाउने, नाली काट्नेलगायतको कामले तीव्रता पाएको छ । उक्त खण्डको स्तरवृद्धि गर्न ३९ करोड रुपैयाँ विनियोजन भइसकेको छ । सो सडकखण्डको काम २०७४ असारभित्र सम्पन्न गर्नेगरी दुई ओटा निर्माण कम्पनीमार्फत काम भइरहेका छन् । अहिले मिर्मी–रानीपानी खण्डमा काष्ठमान्डप निर्माण कम्पनी र रानीपानी–कुश्मा खण्डमा सूर्य कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका छन् । सडकको स्तर १० मिटर फराकिलो बनाइनुका साथै मोड तथा ग्रेड सुधार र ह्युम पाइप, कल्भर्ट निर्माण गर्नु मुख्य रहेको सूर्य कन्स्ट्रक्सन प्रालिका सञ्चालक आरके थापाले जानकारी दिए। कालीगण्डकी लोकमार्ग दक्षिणमा रहेको पूर्वपश्चिम राजमार्गबाट प्रारम्भ भई तीन अञ्चल नौ जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाकासम्म जोडिएकाले यस क्षेत्रको विकासका लागि मेरुदण्डका रुपमा लिइएको छ । लोकमार्गको निर्माणपश्चात् यस क्षेत्रको गरिबी निवारणमा ठूलो सहयोग पुग्ने पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले बताए । रासस

पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिए, प्रति च्याङ्ग्राको मूल्य २५ हजार रुपैयाँ

पोखरा, २० असोज । यस वर्षको दसैँका लागि पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिएका छन् । विशेष गरी मुस्ताङबाट त्यहाँका स्थानीय कृषकका साथै अन्य ठाउँबाट गएका व्यवसायीले दशैंका लागि भेडा तथा च्याङ्ग्रा खरिद गरी पोखरामा ल्याएर बिक्री गर्ने गरेका छन् । दसैँका लागि पोखराको टुँडिखेलमा ल्याइने च्याङ्ग्रा यतिखेर हेमजा, सुइखेत, याम्दीलगायत स्थानमा राखिएकामा यही फूलपातीसम्म पोखराको टुँडिखेलमा ल्याइसक्ने व्यवसायीको तयारी छ। जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत महेन्द्र मल्लका अनुसार व्यवसायीले पोखरामा बिक्रीका लागि मुस्ताङबाट २१ हजार १० वटा च्याङ्ग्रा हिँडाएको भए पनि हालसम्म १६ हजार च्याङ्ग्रा पोखरा र आसपासका क्षेत्रमा भित्रिसकेका छन् । कतिपय व्यापारीले बाटोमा नै च्याङ्ग्रा बिक्री गरिसकेका छन् । जोमसोमबाट २५५ वटा च्याङ्ग्रा लिएर पोखरा गएका व्यवसायी युवराज नेपालका अनुसार उनले २५ हजार रुपैयाँका दरले ४३ वटा च्याङ्ग्रा बेचेका छन् । व्यवसायी नेपाल जस्तै मुस्ताङको घिलिङबाट २०० च्याङ्ग्रा ल्याएका मानबहादुर तामाङ पोखरा ल्याएसँगै दिन प्रतिदिन च्याङ्ग्रा लिन आउने सर्वसाधारणको चाप बढ्दै गएको बताउछन् । “मैले ल्याएको बथानमा २२ हजारदेखि २५ हजार रुपैयाँसम्मका च्याङ्ग्रा छन्,”–उनले भने,–“च्याङ्ग्रा खरिद गरी व्यापार गर्ने कुरामा जोखिम मोल्नै पर्छ, हिमाली भेगको च्याङ्ग्रा पोखरा ल्याएर बेच्ने कुरा त्यति सजिलो छैन ।” विगत सात वर्षदेखि मुस्ताङबाट च्याङ्ग्रा ल्याएर पोखरामा व्यापार गर्दै आएका कास्की ल्वाङघलेलका सोम तामाङले यस वर्ष उपल्लो मुस्ताङको लोमन्थाङबाट १०० वटा च्याङ्ग्रा ल्याएका छन् । च्याङ्ग्राको व्यापारबाट केही फाइदा हुने भएपनि यो जोखिमको व्यापार भएको उनको भनाइ छ । “चिसो ठाउँको च्याङ्ग्रा गर्मी ठाउँमा ल्याउनुपर्ने भएएकाले कति त मर्ने पनि हुन्छ,” उनले भने, “हिँडाएर ल्याउनुपर्ने भएकाले कति त बाटैमा हराउने सम्भावना पनि हुन्छ ।” च्याङ्ग्रा ल्याउने क्रममा पनि व्यापारीहरूले बाटोमा धेरै समस्या झेल्दै आएको अर्का व्यवसायी ज्योतीप्रसाद पुनले बताए । कार्यालयको तथ्याङ्कअनुसार पोखरामा मात्रै दैनिकरुपमा सात हजार ५०० किलोग्राम खसिको मासु खपत हुन्छ भने ३५ हजार किलोग्राम कुखुराको मासु खपत हुने गरेको छ । मासिक पाँच हजारको सङ्ख्यामा पोखरामा खसी भित्रने गरेको बताउँदै मल्लले दसैँका समयमा हिमाली भेगबाट आउने भेडा तथा च्याङ्ग्राका कारण एक हजारदेखि एक हजार २०० सम्म कम भित्रिने गरेको बताए । पछिल्ला वर्षमा कास्की जिल्ला विस्तारै कुखुरामा आत्मनिर्भर हुँदै गएको कार्यालयले जनाएको छ । जिल्लाका भरतपोखरीको चवादी, कुर्लिङका साथै निर्मलपोखरी, माझठाना, थुमाको डाँडालगायत स्थानमा पछिल्ला वर्षमा व्यावसायिक रुपमा कुखुरापालनका साथै बाख्रापालन गर्ने क्रम सुरु भएको स्थानीय कृषक बताउँछन् । रासस

दशैं लगत्तै वायोग्यास उत्पादन शुरु हुने, युरोपियन युनियनको ८० प्रतिशत लगानी

काठमाडौं, २० असोज । काठमाडौं महानगरपालिकाले दशैंलगत्तै वायोग्यास उत्पादनको कार्य शुरु गर्ने भएको छ । काठमाडौं उपत्यकाको फोहोरको उचित व्यस्थापन गर्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले ग्यास निकाल्नका लागि जैविक फोहोर राखी परीक्षणको काम भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । “दशैंलगत्तै पूर्णरुपमा बायोग्यास निकाल्ने काम हुन्छ”– कार्कीले भने। कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि श्रेष्ठले कामपाको वडा नं २१, १२, १९ र २० मा सङ्कलन गरी छुट्याइएको कुहिने र नकुहिने फोहरबाट दैनिक ३०० टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने महानगरको तयारी छ । बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाले २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलो नमुना परियोजना हो । यो योजना सफल भएमा अन्य स्थानमा पनि यसलाई विस्तार गरिने कामपाले जनाएको छ । फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न लागिएको हो । दिगोरूपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ । कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ । रासस

अब नेपालको आफ्नै स्याटेलाइट, अघि बढ्यो प्रक्रिया

काठमाडौं, २० असोज । नेपालले आफ्नै स्याटेलाईट सञ्चालनको प्रक्रिया अघि बढाएको छ । आफ्नै स्याटेलाइट सञ्चालन गर्ने सरकारी नीति अनुसार नेपाल दुर सञ्चार प्राधिकरणले आयस पत्रका लागि सूचना प्रकाशित गरेको हो । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार आसय पत्र बुझाउने कम्पनीहरुमध्येबाट छनौट गरेर विस्तृत परियोजना माग गरिनेछ ।‘नेपालले आफ्नै स्याटेलाइट सञ्चालन गर्ने पुर्व निर्णय कार्यान्वयनको पहिलो चरण सुरु भएको छ, आसय पत्र बुझाउने फर्म तथा कम्पनीमध्येबाट छनौटमा परेका कम्पनीलाई बिजनेश मोडालिटी र टेक्निकल प्रस्तावसहित आउन पुनः सूचना निकाल्छौं’, अर्यालले भने । उनका अनुसार स्याटेलाईट सञ्चालन गरेको अनुभव नेपाली कम्पनीसँग नरहेकाले विदेशी कम्पनीहरुले आवेदन दिनेछन् । हालसम्म नेपालले भारत, लगायतका मुलुकका स्याटेलाईट उपयोग गर्दै आएको छ । त्यस वापत नेपालले बर्षेनी अरबौं रुपैंयाँ बुझाउँदै आएको छ । नेपालको आफ्नै स्याटेलाईट सञ्चालनमा आएपछि अन्तरिक्षमा नेपालको आफ्नै स्पेश हुनेछ ।

फेसबुकले ल्यायो म्यासेन्जर लाइट, पुरानो सेटमा गज्जबले चल्छ!

पुरानो भर्सनको एन्ड्रोइड स्मार्टफोन चलाउनेहरूलाई खुशीको खबर छ । फेसबुकले कम क्षमताका स्मार्ट फोन र सुस्त इन्टरनेट हुँदा पनि सजिलै प्रयोग गर्न सकिने ‘म्यासेन्जर लाइट’ सोमबार सार्वजनिक गरेको छ । लाइट भर्सनको यो म्यासेन्जर इन्टल गर्न जम्मा १० एमबि स्टोरेज भए पुग्छ । नियमित संस्करणको म्यासेन्जरलाई भने ५० एमबि भन्दा बढिको स्टोरेज चाहिन्छ । म्यासेन्जर लाइटले मोबाइल डेटा प्लानमा चल्नेहरूलाई पनि ठुलो राहात दिने छ । नयाँ सेट किन्न नचाहने र इन्टरनेट सुस्त हुनेलाई यो राम्रो म्यासेजिङ बिकल्प हुने भएको छ । म्यासेन्जर चलाउँदा फोन ह्याङ हुन्छ भने पनि यो गज्जबको बिकल्प हुने छ । १ अर्ब भन्दा बढि प्रयोगकर्ताले अहिले फेसबुकको म्यासेन्जर प्रयोग गर्छन् । ‘बाँकी इन्टरनेट प्रयोगकर्ता जो सँग कमसल फोन छन् र इन्टरनेट कनेसक्सन कमजोर छ हामी उनिहरूलाई जोड्न चाहन्छौं’ फेसबुक न्युजरूममा भनिएको छ । नेपाल जस्ता विकासशील देशलाई लक्षित गरी डेभलप गरिएको यो म्यासेन्जर तत्कालका लागि भने केन्या, ट्युनिसिया, मलेसिया, श्रीलंका र मलेसियामा मात्र प्रयोग गर्न मिल्ने छ । सामान्य म्यासेन्जरका धेरै सुविधा भएपनि कतिपय महत्वपूर्ण सुविधा भने लाइट भर्सनमा छैनन् । टेक्ट, फोटो र भिडियो म्यासेज पठाउन मिले पनि भ्वाइस कल सुविधा भने यो भर्सनमा छैन् ।

कसमस डेभलपमेन्ट बैंकले २४ प्रतिशत लाभांश दिने, पूँजी १० करोड २९ लाख पुग्ने

काठमाडौं, २० असोज । कसमस डेभलपमेन्ट बैंकले २४ दशमलब ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २३ दशमलब ६० प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलब २४ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी १० करोड २९ लाख रुपैयाँ पुग्ने छ । सो दिन बैंकको प्रति कित्ता सेयर करिब ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।