आरएसडिसी लघुवित्तको साधारण सेयर आजबाट खुला, ७५ ठाउँबाट आवेदन गर्न सकिने
काठमाडौं, ५ भदौ । आरएसडिसी लघुवित्तको साधारण सेयर आजबाट बिक्री खुला भएको छ । यस लघुवित्तले करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर सर्ब साधारणको लागि निश्काशन गरेको हो । उक्त सेयर भदौ ५ गतेदेखि ८ गतेसम्म आवदेन गर्न सकिने सो संस्थाले जनाएको छ । बुटवल केन्द्रीय कार्यलाय रहेको यस लघुवित्तको सेयर निश्काशन तथा बिक्री एनआईविएल क्यापिटल रहेको छ । उक्त सेयरका लागि निम्न स्थानहरुबाट आवेदन गर्न सकिनेछ ।
भट्टराईको सुरक्षा चालक ट्राफिकको कार्वाहीमा
काठमाडौ, ५ भदौ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन् । भट्टराईको सुरक्षामा खटिएका बा१झ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको हो । जावलाखेल चोकमा जेब क्रसिङमा सवारी तेर्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो । ट्राफिक प्रहरीले भिआईपीको सुरक्षा तथा पछुवामा खटिएकामा चालकलाई कारबाहीको दायरामा ल्याएको यो घटना हो । समाचार स्रोत कारोबार दैनिक ।
बन्दले मधेशको अर्थतन्त्रनै धराशायी
काठमाडौं ५, भदौ । मधेसी जनताको माग संविधानमा सम्बोधन नभएको भन्दै मधेसवादी दलहरुको गरेको ६ महिना लामो बन्द र हड्तालको मारका कारण मधेसको अथतन्त्र धरासायी भएको मधेसकै व्यवसायीले बताएका छन् । लामो बन्द र हड्तालका कारण जनकपुर क्षेत्रका व्यापारीहरु यो आन्दोलनले के पायौं भन्दै एकअर्कासँग प्रश्न गर्न थालेका छन् । आन्दोलनको बेला मधेसवादी दलका नेताहरुले सभा र गोष्ठी गर्दा भाषणका क्रममा आन्दोलन अवधिमा व्यापारीहरुलाई बैंकको ऋणमा लाग्ने ब्याज मिनाहा गराइदिने, घरभाडा लिई व्यापार गरिरहेकाहरुको भाडासमेत माफ गराइदिने आश्वासन दिने गरेका थिए। मधेसी मोर्चाले आन्दोलन काठमाडौं केन्द्रित गरेपछि भने आर्थिक रुपमा धराशायी भएको मधेसलाई पछाडि फर्केर हेर्दै नहेरेको व्यापारीहरुको गुनासो छ । आन्दोलनमा सबैभन्दा बढी झडप र होहल्ला हुने जनकपुरको शिवचोकमा सञ्चालिन होटेल वेलकम ६ महिना पूर्णरुपमा बन्द रह्यो । त्यसकारण आफ्नो व्यवसाय वर्षौं पछाडि धकेलिएको सञ्चालक विजय झुनझुनवाला बताउँछन भन्दै आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
वर्षेनी काठ किन्नै साढे दुई अर्ब खर्च
काठमाडौं, ५ भदौ । प्रशस्त वन जंगल भएर पनि नेपालमा काठ किन्नमा खर्च हुने रकम साढे दुई अर्ब रुपैयाँ रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये ४४ दशमलव ७४ प्रतिशत वन–जंगलले ढाकेको भएपनि नेपालले वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको काठ आयात गर्ने गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । नेपालमा नामै नसुनेका देशबाट काठलगायत काठबाट निर्मित सामग्री आयात हुने गरेका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर ढकाल नेपालमा वनजंगलका रूख काट्न हुन्न भन्ने मान्यताका कारण विदेशबाट बढी काठ आयात भएको बताउँछन् । नीति निर्माणकर्तादेखि सरकारी कर्मचारीहरूमा यो मानसिकता बढी रहेको उनको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापन गर्न लामो समयदेखि गृहकार्य भए पनि कार्यान्वयन हुन नसक्दा विदेशबाट धेरै काठ आयात हुने गरेको हो । नेपालको वनलाई वैज्ञानिक रूपमा व्यवस्थापन गरेमा रोजगारी पनि सिर्जना हुने ढकालको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापन हुन सकेन वन तथा भूसंरक्षण मन्त्रालयका अनुसन्धान अधिकृत यज्ञनाथ दाहाल वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रूपमा हुन नसकेको बताउँछन् । ‘छिटोछिटो सरकार परिवर्तनले प्रभावकारी रूपमा काम गर्न सकेका छैनौं,’ दाहालले भने, ‘हरेक प्राणीको एउटा निश्चित चरण पूरा गरेपछि वृद्धि विकास रोकिन्छ । त्यसैगरी, रूखको पनि एउटा निश्चित चरण पूरा गरेपछि वृद्धि विकास रोकिने भएकाले काटेर प्रयोग गर्दा उचित हुन्छ ।’ वैज्ञानिक वन व्यवस्थापन भएमा विदेशबाट आयात हुने काठ विस्थापित हुने दाहालको भनाइ छ ।
‘हेवा ए’ जलविद्युत् आयोजनावाट १५ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा थपिदै
पाँचथर । जिल्लामा निर्माणाधीन ‘हेवा ए’ जलविद्युत् आयोजनाको परिक्षण प्रसारण हुने भएको छ । चौध दशमलव ९ मेगावाट क्षमताको उक्त आयोजनाको काम ९९ प्रतिशत पूरा भएको आयोजना निर्माणको जिम्मा पाएका पाँचथर पावर कम्पनीले जनाएको छ। निर्माण सुरु भएको पाँच वर्षपछि आयोजना परीक्षण प्रसारणको चरणमा पुगेको कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाले बताए। आयोजनाबाट यही भदौ १५ गतेदेखि परीक्षणका रूपमा बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ । रु दुई अर्ब १६ करोड लगानी अनुमान गरिएको आयोजनामा नाकाबन्दी र स्थानीय अवरोध लगायतका कारणले समय र लागत बढेको आयोजनाले जनाएको छ। अहिलेसम्म चार किमी टनेल (सुरुङ), ड्याम, इलेक्ट्रिक जडान, पावर हाउस र ट्रान्समिसन लगायतका काम पूरा भइसकेका छन्। सानिमा, माछापुच्छ्रे र नेपालइन्भेष्टमेन्ट बैंकसहित ११ वटा बैंक, व्यक्ति र व्यवसायीले लगानी गरेको उक्त आयोजनाको कुल लागत दुई अर्ब १६ करोड अनुमान गरिएको थियो। नेपाल सरकारबाट भाडामा लिएको ९२ रोपनी, स्थानीयसँग लिएको ७५ रोपनी र वन कार्यालयबाट सट्टा भर्ना गरेको १५ रोपनीसहित १८२ रोपनी जग्गामा आयोजना सञ्चालित छन्। हाल उक्त कम्पनी पब्लिक लिमिटेड बन्ने प्रक्रियामा रहेकाले त्यसपछि मात्र सर्वसाधारणलाई सेयर निस्कासन गरिने कम्पनी प्रमुख ढुङ्गानाले जानकारी दिए। रासस
पर्यटनबाट उचित लाभ लिन सभापति देउवा सुझाव, ‘मुलुकको आर्थिक समृद्धिको दरिलो आधार’
काठमाडौं ५ भदौ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा जोड दिएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्राकृतिक, भौगोलिक र धार्मिक तथा सांस्कृतिक रुपमा नेपालको पर्यटनको प्रचुर सम्भावना रहे पनि अपेक्षित लाभ लिन नसक्नु विडम्बना भएको बताए। उनले प्राकृतिक सुन्दरता र जैविक विविधतायुक्त पर्यटकीय स्थलको वातावरण र जैविक विविधता संरक्षणलाई ध्यान दिई भौतिक पूर्वाधार विकास गरेर मात्र नयाँ पर्यटकीय गन्तव्यको विस्तार गरिनुपर्नेमा जोड दिए। नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा, पर्यटन व्यवसायी मोहन लम्साल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया र गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले पर्यटकीय पूर्वाधार विकासका लागि राज्यको ध्यान जानुपर्ने धारणा राखेका थिए। यसैबीच गन्तव्य नेपालले ‘टुरिजम म्यान अफ दी इयर’बाट वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साललाई सम्मानित गरेको छ । त्यस्तै नगद रु १० हजार राशिको गन्तव्य नेपाल पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका मधुजङ पाण्डे र इमेज टेलिभिजनका प्रतीक लामिछानेलाई सम्मान गरिएको छ ।
नेपालका दूरसञ्चार पूर्वाधारमा हुवावेको दवदवा, विटिएस टावरदेखि अन्तराष्ट्रिय गेटवेसम्म
काठमाडौं, ५ भदौ। मुलुकको दूरसञ्चार क्षेत्रमा प्रयोग हुने पूर्वाधारमा चीनको हुवावे टेक्नोलोजिज कम्पनीको वर्चश्व देखिएको छ । सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यूटीएल), स्मार्ट टेलिकमलगायत कम्पनीमा अधिकांश पूर्वाधार हुवावेका छन् । पछिल्लोपटक बोलपत्रमार्फत वा सिधै हुने सम्झौता दुवैमा हुवावेको छनोट बढ्दो छ । हुवावे चीनको निजी क्षेत्रको सबैभन्दा ठूलो सूचना, सञ्चार र प्रविधि पूर्वाधार वितरक कम्पनी हो । टेलिकमका १ करोड लाइन क्षमताको जीएसएम मोबाइलका दुवै परियोजनामा हुवावे छनोट भएपछि कम्पनीमा एकाधिकारजस्तै देखिएको छ । टेलिकमका २० लाख आईपी सीडीएमए, साधारण टेलिफोनलाई आईपी प्रविधिमा लैजाने प्रविधि (टीडीएम माइग्रेसन, अन्तरराष्ट्रिय गेटवेलगायत मुख्य परियोजनामा हुवावेकै पूर्वाधार प्रयोग भएका छन् । चालू आर्थिक वर्षको अन्त्यसम्म सबै पुराना पूर्वाधारलाई प्रतिस्थापन गर्दै हुवावेमा रूपान्तरण हुने र तिनिहरु प्रविधिमैत्री रहेको उनले बताए। त्यस्तै एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माका अनुसार काठमाडौं उपत्यकाभित्र कम्पनीको सेवा आधुनिकीकरणमा सबै जिम्मा हुवावेले नै पाएको छ भने काठमाडौंबाहिर पनि जेडटीईसँगै हुवावेले राम्रो सर्भिस दिइरहकेको बताए। प्रतिस्पर्धामा कम लागत भएकै कारण हुवावेको ‘डिपेन्डेन्सी’ टेलिकममा बढ्दो छ । हुवावेका बेस्ड स्टेसन टावर (बीटीएस) टुजीबाट थ्रीजी र एलटीईमा जाँदा थोरै मात्रै प्राविधिक परिवर्तनपछि सपोर्ट गर्ने भएकाले पनि कम्पनीहरूको रोजाइमा पर्ने गरेका छन् । ३५ लाखको जीएसएम परियोजनामा जेडटीईले निर्धारित समयभन्दा ढिला र गुणस्तरमा अपेक्षाकृत प्रभाव देखाउन नसकेपछि टेलिकममा हुवावेको पूर्वाधार प्रयोग बढेको हो । निजी क्षेत्रको एनसेलले पूर्वाधार खरिद गर्दा सार्वजनिक खरिद पालन गर्नु नपर्ने भए पनि उसको छनोटमा पनि हुवावेकै पूर्वाधार पर्ने गरेका छन् । एनसेलले पुरानो नेटवर्कको मर्मतमा जेडटीईलाई संलग्न बनाए पनि नयाँ परियोजनाका लागि भने हुवावेकै पूर्वाधार छान्ने गरेको छ । नयाँ आउने प्रविधिमा ‘अपग्रेड’ गर्न सजिलो हुँदा दीर्घकालमा लागत कम पर्ने हुँदा कम्पनीहरू हुवावेलाई छनोट गर्छन् । पछिल्लोपटक जीएसम मोबाइल सेवाको लाइसेन्स लिएको स्मार्ट टेलिकमले पनि नेटवर्क विस्तार गर्दा अधिकांश पूर्वाधार हुवावे कम्पनीकै प्रयोग गरेको जनाएको छ । स्मार्ट टेलिकम छिट्टै राजधानीमा मोबाइल सेवा विस्तार गर्ने तयारीमा रहेको कम्पनीका कर्पाेरेट कम्युनिकेसन प्रमुख पवन शाक्यले बताए । नेपाल दूरसञ्चार प्राधिकरणले ‘पूर्वाधारको सहप्रयोगसम्बन्धी निर्देशिका २०७२’ कार्यान्वयनमा ल्याई नयाँ आउने कम्पनी तथा हाल सञ्चालित कम्पनीले ठूला पूर्वाधार निर्माण गर्दा पूर्वाधारको सहप्रयोग अनिवार्य गरेको छ ।
छिट्टै नेपाल भ्रमण गर्न चाहन्छु: नरेन्द्र मोदी
काठमाडौं, ४ भदौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेपाल आउन ईच्छुक रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दुतको रुपमा भारत भ्रमणका रहेका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटवार्तामा प्रधानमन्त्री मोदीले भारत नेपालमा शान्ति, स्थायित्व र विकास भएको हेर्र्न चाहने बताएका हुन् । भेटमा भारतीय प्रधानमन्त्री मोदीलाई मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाका अनुसार हैदरावाद हाउसमा भएको ४५ मिनेटको भेटवार्तामा प्रधानमन्त्री मोदीले संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाको बारेमा चासो व्यक्त गरेका थिए । जवाफमा मन्त्री निधिले संविधानमा असन्तुष्ट राख्ने मधेशी मोर्चाको माग सम्बोधन गर्नेगरि छिट्टै संशोधन प्रस्ताव अघि बढाईनेवारे विश्वास दिलाएका थिए । भेटमा निधीले संविधान कार्यान्वयनमा भारतको सहयोग, द्धिपक्षीय सम्बन्ध सुधारका साथै दुई मुलुकबीच उच्चस्तरिय भ्रमण गराउने बिषयमा मोदीसंग कुराकानी गरेका छन् । मोदीले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुर्याउनेगरिन अघि बढ्नुपर्ने धारणा राखेका थिए । मोदीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘संविधान कार्यान्वयन भएर नेपालमा विकास भएको हेर्न हामी आतुर छौं ।’ निधिले प्रधानमन्त्री मोदीलाई जनकपुर, मुक्तिनाथ र लुम्बिनीमा धार्मिक भ्रमण गराउने बारेमा विशेष आग्रह गरेका थिए । जवाफमा मोदीले आफू उपयुक्त समयमा नेपाल भ्रमणमा आउने आश्वासन दिएका थिए । भेटमा भारतको तर्फबाट मोदीसँगै विदेश सचिव एस। जयशंकर, सुरक्षा सल्लाहकार अजित दोभल रहेका थिए भने नेपालको तर्फबाट मन्त्री निधि र भारतका लागि कार्यवाहक राजदुत कृष्णप्रसाद ढकाल थिए ।