फेवा विकास बैंकको नाफा ६५ प्रतिशतले वृद्धि, ६ महिनाको नाफा २८ करोड रुपैयाँ
काठमाडौं, ६ माघ । फेवा विकास बैंक लिमिटेडको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६५ प्रतिशतले बढेको छ । बैंकले दोश्रो त्रैमास अर्थात ६ महिनामा २८ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । सो नाफा गत वर्षको सोही अवधीको तुलनामा ६५ प्रतिशतले बढी हो । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १२ अर्ब ५९ करोड रुपैयाँ निक्षेप र ११ अर्ब १४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष सोही अवधीको तुलनामा बैंकको निक्षेप र कर्जामा क्रमशः २० र २६ प्रतिशत वृद्धि भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको कर्जा निक्षेप तथा पूँजीकोष अनुपात ७८.१७ प्रतिशत र तरलता अनुपात २५.६७ प्रतिशत कायम रहेको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा पनि गत वर्षको तुलनामा अत्यन्तै न्यून रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताएका छन् । बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदानगर्दै आइरहेको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको बैंकले बताएको छ । पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने गाभ्ने/गाभिने (मर्ज गर्ने) सम्वन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत रुपमा पारित गरेको छ । सभाले मर्जर पश्चात कायम हुने चक्तापूँजी १ अर्ब ८४ करोड रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
हुन्डाईको एक्स्चेन्ज क्याम्प आयोजना शुरु
काठमाडौं, ६ माघ । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले तिन दिने लामो एक्स्चेन्ज क्याम्प कार्यक्रम ल्याएको छ । सो कार्यक्रम यहि माघ ६ गते बिहिबार देखि माघ ८ गते शनिबारसम्म सञ्चालन हुनेछ । ग्राहकहरुका लागि उत्कृष्ट एक्स्चेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न कम्पनीले सो क्याम्पको आयोजना गरेको हो । साथै, लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना ग्राहक सामु नगद छुट, एक वर्षे गाडि बिमा, रोड ट्याक्स, लोयालिटी बोनस, स्पेशल इन्ट्रेस्ट रेट र एक्स्चेन्ज बोनस हरेक गाडिको बिक्री सँगै प्रदान गर्ने छ । यस कार्यक्रममा एक्स्चेन्जका साथै टेष्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रमहरु सम्मेलित छन् । कार्यक्रम अवधिमा टेष्ट ड्राइभ गरेका मध्ये, हरेक दिन लक्की ड्र मार्फत एक भाग्यसाली ग्राहकलाई सामसुङ ग्यालेक्सि जे७ स्मार्ट फोन प्रदान गर्ने आयोजकले बताएका छन् । सो कार्यक्रम बारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स एण्ड मार्केटिङ-डिजिएम रुपेष शर्माभट्टले भने,’ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुन्डाई तल्लीन रहेको छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’ यस हुन्डाई एक्स्चेन्ज योजना देशभरका हुन्डाई डिलर नेटवर्कमा लागु हुनेछ । ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टलले यस हुन्डाई एक्स्चेन्ज योजना मार्फत निरन्तरता दिएको छ ।
नेप्से सामान्य अंकले उकालो, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, ६ माघ । साताको अन्तिम दिनको सेयर कारोबारमा सामान्य सुधार आएको छ । नेप्से परिसूचक शून्य दशमलब ३३ अंकले बढेर १४६२ दशमलब ५६ अंकमा पुगेको छ । बुधबार जस्तै बिहीबारको बजारमा पनि केही उतार चढाव आएको छ । बजारमा ३३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३१ कम्पनीको ११ लाख १ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबारको बजारमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । ९ दशमलब ४४ अंकले बढेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ सय ४४७ रुपैयाँ रहेको छ । त्यस्तै, कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशत कमाएका छन् । हिमालयन डिष्टिलरीको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । बजारमा यस कम्पनीको सेयर मूल्य ६३७ रुपैयाँ रहेको छ । सोही दिन उत्पादन मूलक समूह र बैंकिङ् समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने कारोबार भएका बाँकी समूको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । बीमा समूको परिसूचक ५२ दशमलब ४ अंकले बढेको छ ।
मन्त्रिपरिषद्वारा विश्व बैंकको १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार्ने निर्णय
काठमाडौं, ६ माघ । सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको १६ अर्ब ३७ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । कार्की यसअघि पनि रेडियो नेपालमा सोही पदमा कार्यरत थिए । बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गर्नुका साथै २०७१ सालको बाढीबाट प्रभावित बाँके, बर्दिया, दाङ, सुर्खेत र सिन्धुपलाञ्चोकमा निजी आवास पुनःनिर्माण गर्न तयार पारिएको अनुदान वितरणसम्बन्धी कार्यविधि, २०७३ लाई स्वीकृत गरेको छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त दुई सदस्य पदमा नियुक्तिका लागि सञ्चार सचिवको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ । समितिको सदस्यमा मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव र विज्ञ डा भेषराज कँडेल छन् । त्यस्तै, बैठकले प्राविधिक प्रमुख सेनानी खुमबहादुर कुँवरलाई प्राविधिक महासेनानीमा पदोन्नति गर्नुका साथै सचिवमा पदोन्नति हुनुभएका सहन्यायाधिवक्ता किरण पौडेललाई नायब महान्यायाधिवक्तामा नियुक्त गरेको छ । सरकारले सहरजिस्ट्रार नकुल सुवेदीलाई न्यायपरिषद्को सचिवमा नियुक्त गर्नुका साथै सहरजिस्ट्रार नृपध्वज निरौलालाई सर्वोच्च अदालतको रजिस्ट्रारमा नियुक्त गरेको छ । सहरजिस्ट्रार राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पदोन्नति गरिएको छ । त्यस्तै, सहन्यायाधिवक्ता राजनप्रसाद भट्टराईलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदोन्नति गरिएको पनि उनले जानकारी दिए । सरकारले काभ्रेपलाञ्चोकमा केही दिनअघि वीभत्स हत्या गरिएका अजित मिजार र लक्ष्मी परियारको शव सद्गत गर्न, उनीहरुका परिवारलाई सहयोग गर्न र ती मुद्दालाई अदालतमा लैजान युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा समिति गठन गरेको छ । उनीहरु दुवैको शव हाल त्रिवि शिक्षण अस्पतालमा रहेका छन् । रासस
निजगढ विमानस्थलमा सेना परिचालन हुँदै, पाँच बर्षमा बनाइ सक्ने योजना
काठमाडौं, ६ माघ । सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थलमा सेना परिचालन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा निजगढ अन्तराष्ट्रिय विमानस्थलको प्रारम्भिक काममा सेना खटाउने तयारी अघि बढेको हो । ‘जंगल कटान, पहुँच मार्ग निर्माण र विमानस्थल वरिपरि निर्माण हुने सडक बनाउन नेपाली सेनालाई दिने तयारी अघि बढेको छ’, पर्यटन मन्त्री जीवन बहादुर शाहीले विकास समिति बैठकमा भने । उनका अनुसार विमानस्थल निर्माण क्षेत्रमा रहेको वन कटान गर्न, त्यसका लागि आवश्यक पहुँच मार्ग बनाउन र विमानस्थलले ओगट्ने ८० वर्ग किलोमिटर क्षेत्रको बाहिरी सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिन लागिएको हो । हाल विमानस्थल निर्माण क्षेत्रको ११० विगाह जमिनको मुआब्जा वितरण प्रक्रिया सुरु हुन लागेको पनि उनले जानकारी दिए । त्यस्तै, १६०० सुकुम्बासी परिवारको घरबासका लागि पनि सरकारले उपयुक्त व्यवस्थानको तयारी गरिरहेको उनको भनाई थियो । मन्त्रालयले निजगढ बिमानस्थलको सम्भाव्यता अध्ययन गरेको कोरियाली कम्पनी ल्याण्ड मार्क वल्र्ड वाइडसँग सम्भाव्यताको रिपोर्ट खरिद गर्ने निर्णय पनि गरेको छ । कम्पनीलाई ३५ करोड(३५ लाख अमेरिकी डलर) तिरेर सम्भाव्यता अध्ययन रिपोर्टको स्वामित्व ग्रहण गरिने उनले बताए । तत्कालिन सरकारले २०६६ साल फागुन २३ गतेको निर्णयबाट ल्याण्ड मार्क वल्र्ड वाइड नामक कम्पनीलाई बुट मोडलमा निर्माण गर्न दिने भन्दै विस्तृत सम्भाव्यता अध्ययनको जिम्मेवारी दिएको थियो । कम्पनीले २०६८ साल साउन ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाइसकेको छ । पुर्व सम्झौता अनुसार सो कम्पनीसँगको सम्झौता टुंगो नलाग्दासम्म नयाँ प्रक्रिया अघि बढाउन नमिल्ने भएकाले ३५ करोड भुक्तानी गरेर निर्माण अघि बढाउन लागिएको हो । ‘मुआब्जा, बस्ती व्यवस्थापन लगायतका सबै काम गर्न सकिन्छ तर डिपिआर बनाउन सक्ने अधिकार हामीसँग छैन, अब एलएमडब्ल्यु कम्पनीको पैसा तिर्छौ, त्यसको प्रक्रिया अघि बढि सक्यो’, मन्त्री शाहीले भने । मन्त्री शाहीले आगामी पाँच बर्षभित्रै निर्माण सम्पन्न गर्ने योजनासहित बुट मोडलमा निजगढ विमानस्थल बनाउनु पर्ने पनि बताए ।‘यो विमानस्थल राष्ट्रिय गौरवको मात्रै होइन, महागौरवका आयोजना हो, यसलाई सरकार आफैंले बनाउने भन्दा पनि बुट मोडलमा दिनु पर्छ र पाँच बर्षभित्रै बनाइसक्नुपर्छ’, मन्त्री शाहीले भने । बैठकमा बाराका सांसद पुरुषोत्तम पौडेलले विमानस्थल निर्माणका लागि स्थानिय स्तरबाट पुर्ण सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले अझै निर्माणको मोडालिटीमै समस्या हुनु दुःखद पक्ष भएको समेत बताएका थिए । त्यस्तै, रौतहटका सांसद रामकुमार भट्टराईले पाँच बर्षमा निर्माण सम्पन्न गर्ने ठोस योजना अघि सार्नुपर्नेमा जोड दिएका थिए । विकास समितिका सभापति रबिन्द्र अधिकारीले निजगढ विमानस्थलको निर्माणले नै देशमा पर्यटनको ढोका खोल्ने बताए । समितिले सो विमानस्थलको निर्माण तत्काल आरम्भ गर्न निर्देशन दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले ल्यायो मुद्धति निक्षेपमा ९.५ प्रतिशत ब्याज दिने योजना
काठमाडौं, ६ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक ९.५ प्रतिशत ब्याज प्रदान गर्ने गरी १८० दिने मुद्धति निक्षेप योजना ल्याएको छ । उक्त मुद्धति निक्षेप ग्राहकवर्गले यस बैंकको कुनै पनि शाखाबाट खाता खोल्न सक्ने छन् । साथै, नेपाल धितोपत्र बोर्डबाट आस्वाको सदस्यता प्राप्त गरी माघ १ गते देखि उक्त सेवा आफना सम्पूर्ण शाखाहरुवाट संचालन गरेको छ । लगानीकर्ताले यस प्रणालीबाट आइपीओ र एफपीओमा लगानी गर्दा निजको खातामा रकम रोक्का राखी दिने र शेयर बाँडफाँडमा परे बमोजिम रकम मात्र कट्टा गरी बाँकी रकम खातामा फुकुवा गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । यस सेवाबाट यस बैंकमा खाता भएका ग्राहकवर्गले प्राथमिक निष्काशनको समयमा आवेदन बुझाउन लाइन बस्नुपर्ने, बाँडफाँडपछि चेक संकलन गर्नुपर्ने समय समेत अन्य कार्यमा सदुपयोग गर्न सक्नेछन् ।
बिहीबार मात्रै ३६ लाख कित्ता बोनस र ९८ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, ६ माघ । बिहीबार मात्रै ३६ लाख ७३ हजार ८७५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ९८ हजार ४०० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार २ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकको २७ लाख ४६ हजार ७७६ कित्ता र यूनाइटेड फाइनान्सको ९ लाख २७ हजार ९९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, प्रोगेसिभ फाइनान्सको ९८ हजार ४०० कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ ।
बैंकहरूमा तरलता अभाव होइन, लगानी योग्य पूँजीको अभावः बैंकर्स संघ
काठमाडौं, ६ माघ । बैंक तथा वित्तीय संस्थामा हाल तरलता अभाव नभएको बैकर्सहरुले बताएका छन् । बैकर्सहरुले अझै उनीहरूसँग ४ खर्ब ८८ अर्ब पूँजी भएपनि सो लगानी गर्न नमिल्ने भएकाले क्रेडिट क्रन्चको अवस्थामा पुगेको बताएका हुन् । ‘हामीसँग अझै तरलता छ, तर लगानी योग्य पूँजी भने छैन, नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष अनिल केशरी शाहले भने । अब राष्ट्र बैंकले कुनै उपाय नसुझाए बैंकहरु सिडी रेसियो नजिक पुगिसके थप लगानी गर्न सक्ने अवस्थामा छैनन् । राष्ट्र बैंकले बैंकहरुमा भएको तरलता अभाव र यसका समाधानका वारेमा पुनविचार गर्नुृपर्छ ।’ कर्जाको अनुपातमा निक्षेप नबढ्दा, लगानीका सबै क्षेत्रबाट कर्जाको माग वृद्धि हुँदै गएको उनले बताए । बैकहरुसँग भएको रकम लगानी गर्ने वातावरण मिलेमा तत्काल देखिएको क्रेडिट क्रन्चको अवस्था हल हुने बैकर्सहरुले बताएका छन् । अहिले दिनहुँ जसो बैकर्सहरु लगानी योग्य पूँजी बढाउने उपायहरुको खोजी गरिरहेका छन् । यसका लागि गत सातानै एसोसिएशनले नेपाल राष्ट्र बैंकलाई भेटेर निक्षेप तथा कर्जाको अनुपात (सिडी रेसियो) हटाउन नभए पनि घटाउन माग पनि गरिसेकेको छ । यदि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा आएको यो अवस्थालाई बुझेर सिडी रेसियो केही समयका लागि घटाएमा पनि तत्काल देखिएको समस्या समाधान हुने बताइएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कुल लगानीको २० प्रतिशत रकम आफैले नगद तथा अन्य रुपमा राख्न निर्देश गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दिएको पूँजी वृद्धि योजना पुर्याउन लगानी वृद्धि गरिरहेका छन् । अधिक तरलताका बेला लगानीका ठूलो हिस्सा थोरै ब्याजदरमा लगानी भइरहेकाले पनि अहिले बैंकहरु रितिने अवस्था पुगेका हुन् । बैंकर्सहरूले सरकारी ढुकुटीमा थन्किएको रकम मात्र खर्च गर्न सकेमा पनि क्रेडिट क्रन्च नहुने बताएका छन् । तरलता रित्तिदै जानुमा अर्को पक्ष भनेको बैंकहरुको दीर्घकालीन सोच नुहुनु पनि हो । यदि बैंकहरुले बचतकर्ताको निक्षेपलाई सही ब्याज दिएका भए निक्षेपकर्ता अन्य लगानीका क्षेत्रतिर आकर्षित हुने थिएन् । मुद्दती खातामे बढीमा ५ प्रतिशतमात्र ब्याज दिन थालेको धेरै भैसक्यो, बचत खाताको ब्याज त शुन्य बराबर हो । त्यसैले पनि उनीहरु क्रेडिट क्रन्चको अवस्थामा पुगेका हुन् । ‘तरलता अधिक जम्मा गराउने मौद्रिक उपकरण भनेको ब्याजदर हो,’ राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख नरवहादुर थापाले भने ‘बचत खाताको ब्याजदरमा पुनर्विचार नगरेसम्म निक्षेप संकलन हुन गाह्रो छ ।’ यसका लागि बैकर्सहरुले जति सक्दो छिटो बचत निक्षेपको ब्याजदर बढाउनु पर्छ ।