आन्तरिक उडानको भाडा घट्यो, दशैंमा घर जाने हवाई यात्रुलाई राहत
काठमाडौं, ३ असोज । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले असोज ४ गते मंगलबार(भोली)देखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेका हुन् । सञ्चालक संघकोे बैठकले काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ५३ रुपैयाँ भाडा घटाएको छ भने सबैभन्दा टाढाको धनगढीका लागि १९३ रुपैयाँ घटाएको छ ।त्यसैगरी, काठमाडौंबाट बिहानमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि १८५ पनि घटाएको छ । निगमले हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको थियो । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा समायोजन गर्दै आएको छ ।
दशैंका लागि टिकट बुकिङ खुल्ला, डिलक्स र सुपर डिलक्सको भाडा तोकियो
काठमाडौं, ३ असोज । दशैंका लागि असोज ७ गतेदेखि बसको टिकट बुकिङ खुल्ला हुने भएको छ । नयाँ बसपार्क, पुरानो बसपार्क सहित उपत्यकाका बिभिन्न १२ वटा स्थानबाट टिकट बुकिङ गर्न लागिएको हो । यातायात व्यवस्थापन विभाग र यातायात व्यवसायीबिच भएको सहमतिले असोज ७ गतेदेखि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो । अस्थाई रुट परमिट रुट परमिट तथा डिलक्सको भाडा वृद्धि लगायतका बिषयमा बिभाग र व्यवसायीबिच विवाद थियो । सो दिनदेखि तराई र पहाडी भेगका अन्य १० वटा स्थानबाट पनि अग्रिम बुकिङ लिइने यातायात बिभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । बिभागले असोज १० गतेदेखि ३० गतेसम्म मुग्लिन-नारायणगढ सडक खण्डको निर्माण कार्य रोक्ने निर्णय समेत गरेको छ । त्यस बाहेक कलंकी देखि नागढुंगा खण्डको सडकमा रहेका खाल्डाखुल्डी तत्कालै पुर्ने निर्ण पनि बिभागले गरेको छ । डिलक्स बसले सामान्य भन्दा २० प्रतिशत बढि र सुपर डिलक्सले डिलक्स भन्दा २० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था समेत गरिएको छ ।
जीवन बीमा कम्पनीको लगानी ९३ अर्ब ९३ करोड, मुद्दती निक्षेपमा मात्र ७७ अर्ब २६ करोड
काठमाडौं, ३ असोज । जीवन बीमा कम्पनीहरुले गत आव २०७२÷७३ मा विभिन्न क्षेत्रगत तथा संस्थागत रुपमा ९३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छन् । ८ ओटा जीवन बीमा कम्पनीले गरेको क्षेत्रगत लगानीमध्ये अनिवार्य लगानीमा ८४ अर्ब ६७ करोड रुपैयाँ लगानी भएको भने स्वेच्छिक लगानीमा ९ अर्ब ३९ करोड रुपैयाँ लगानी भएको बीमा समितिले जानकारी दिएको छ । सबैभन्दा बढी लगानी नेपाल लाइफ इन्स्योरेन्स गरेको छ । यो कम्पनीले गत असारमसान्तसम्ममा विभिन्न क्षेत्रमा २८ अर्ब २२ करोड लगानी गरेको छ । राष्ट्रिय बीमा संस्थानले कुनै पनि क्षेत्रमा लगानी गरेको तथ्याङ्क देखिदैन । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले २३ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको तथ्याङ्क छ । नेशलन लाइफ इन्स्योरेन्सको क्षेत्रगत लगानी १४ अर्ब १३ करोड रहेको छ । एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्सले दुबै क्षेत्रमा लगानी गरेका छन् । मेट लाइफ इन्स्योरेन्सले स्वेच्छिक लगानी देखिदैन । गत आवमा जीवन बीमा कम्पनीहरुले अनिवार्य लगानीतर्फ सबैभन्दा बढी लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा भएको छ । ती कम्पनीहरुले वाणिज्य बैकको मुद्दती निक्षेपमा ७७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको समिति सुपरिविक्षेण तथा अनुगमन महाशाखाका निर्देशक राजुरमण पौडेलले बताए । सो अनिवार्य लगानीमा नेशनल लाइफ इन्स्योरेन्सले २५ अर्ब ९० करोड रुपैयाँ लगानी गरेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनले २० अर्ब १५ करोड लागनी गरेका छन् । बीमा कम्पनीहरुको ३ अर्ब ९१ करोड लगानी नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा गरेका छन् भने ३ अर्ब ६ करोड रुपैयाँ विकास बैंकको निक्षेपमा भएको समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ । नागरिक लगानीमा जीवन बीमा कम्पनीको लागनी ४३ करोड रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुले स्वेच्छिक लगानीमा थोरैमात्र लगानी गरेका छन् । नेशलन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ, एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स गरी ८ ओटा कम्पनीले ९ अर्ब २५ करोड रुपैयाँको स्वेच्छिक लगानी गरेका छन् । स्वेच्छिक लगानीका विभिन्न शीर्षकहरुमध्ये उत्पादनशील तथा राष्ट्रिय महत्वका क्षेत्रमा प्राइम लाइफले मात्र १२ करोड लगानी गरेको छ भने अन्य कुनै पनि कम्पनीले यसमा लगानी गरेका छैनन् । कम्पनीहरुले ४ अर्ब ४१ करोड अन्य पब्लिक लिमिटेडको साधारण सेयरमा लगानी गरेका छन् । सो अवधिमा ३ अर्ब ७० करोड रुपैयाँ वाणिज्य बैंकको शेयर लगानीमा भएको छ । १ अर्ब रुपैयाँ वित्त कम्पनीहरुको मुद्दती निक्षेप लगानी भएको छ । बीमा कम्पनीहरूसँग दीर्घकालिन प्रकृतिकाे काेष भएपनि लगानी भने अल्पकालिन छ ।
वर्डलिंकको २१ रुपैयाँमा इन्टरनेट जडानको अफर, आइपि टिभि पनि सुरु
काठमाडौं, ३ असोज । वल्र्डलिंक कम्युनिकेसन्सले २१ औं बर्ष प्रवेशको अबसरमा २१ रुपैयाँमै इन्टरनेट जडान गर्ने अफर ल्याएको छ। कम्पनीका कार्यकारी निर्देशक विजय जालानले २१ रुपैयाँमा पाँच एमबिपिएस गतिको इन्टरनेट जडान गरिदिने घोषणा गरे। उनले यो शुल्कमा वल्र्डलिंकले ग्राहकले जडान गर्र्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइ राउटर र इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेटअप बक्स दिने जानकारी दिए । त्यस्तै एक बर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले तीन महिनासम्म आइपी टिभी निशुल्क हेर्न पाउने जानकारी समेत दिए। वाइफाइ राउटर लिन चाहने ग्राहकले भने तीन हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ। इन्टरनेट सेवा छोड्दा उक्त धरौटी कम्पनीले फिर्ता गर्ने जानकारी पनि कम्पनीले दिएको छ। आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको नयाँ प्रविधि हो। यस प्रविधिबाट ग्राहकले इन्टरनेट फाइबरकै माध्यमबाट टिभी हेर्न पाउने छन्। यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता पुरानो कार्यक्रमसमेत हेर्न सक्ने जालानले जानकारी दिए। ‘आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ, उनले भने, यसमा टिभी हेर्दा एचडी गुणस्तरको पिक्चर हुने भएकाले स्पष्ट र सफा टिभी हेरेको अनुभूति गर्न सकिने उनले जानकारी दिए।’ वल्डलिंकले नेट टिभी ब्राण्डमा आइपी टिभी प्रसारण सुरु गरेको हो। यसमा आफ्नो फूर्सदको समयमा मन लागेको च्यानलमा, मन लागेको कार्यक्रम हेर्न सकिन्छ। लोडसेडिङ वा जस्तोसुकै मौसममा पनि पिक्चरको गुणस्तर उच्चस्तरीय रहिरहन्छ। बार्षिकोत्सबका अबसरमा कम्पनीले आइतबार जाउलाखेलमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ। कार्यक्रममा दुई सय जनाले रक्तदान गरेका छन्। कम्पनीले यसै अबसरमा विभिन्न स्थानमा रहेका अपांगता भएका ब्यक्तिलाई खानेकुरा वितरण गर्ने जालानले जानकारी दिए। कम्पनीले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयमा वाइफाइ हटस्पट स्थापना गर्ने निर्णयसमेत गरेको छ। कार्यकारी निर्देशक जालानले जिल्ला प्रशासनमा काम लिएर आउने सेवाग्राहीले उक्त हटस्पटबाट निशुल्क वाइफाइ प्रयोग गर्न पाउने बताए। वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । नया सेवाका रुपमा कम्पनीले गत सातादेखि आइपी टिभी सुरु गरेको हो।
उद्यमशिलता विकासमा योगदान गर्ने एक दर्जन व्यक्तिलाई सम्मान
काठमाडौं, २ असोज । एक्सपोज नेपालले उद्यमशिलता विकासमा संलग्न एक दर्जन युवा उद्यमी व्यवसायी तथा बैंकरहरुलाई सम्मान गरेको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेहरुमा युवा उद्यमी प्रतापजंग पाण्डे, बैंकर रबिना देशराज श्रेष्ठ र तिलकराज पाण्डे, शिक्षा विद तिर्थ डा. तिर्थ खानियाँ, खगेन्द्र ओझा, उर्जा विद रामप्रसाद धिताल, इञ्जिनियर दिपेन्द्र भट्ट, वातावरण विद केडि यादव, परराष्ट्रविद चिरञ्जीवी थापा, समाज सेवी क्षितिज भण्डारी तथा उपभोक्ता अधिकार कर्मी भिम चन्द, आइटी व्यवसायी नरेन्द्र चन्द लगायतका रहेका छन् । सम्मानले नेपाली अर्थतन्त्रको उन्नति मार्फत देश विकासमा लागिरहने उर्जा प्राप्त गरेको युवा उद्यमी प्रतापजंग पाण्डेले बताए । कार्यक्रममा नेपाली युवाहरुको क्षमता प्रस्फुटनका लागि मिस्टर वल्र्ड २०१६ मा सहभागीताको व्यवस्था गरिएको एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताएका थिए ।
अर्थ सचिवद्वारा सिंहदरबार भित्र एभरेष्ट बैंकको एटिएम उद्घाटन
काठमाडौं, २ असोज । सिंहदरबारमा आइतबार नेपाल सरकारका अर्थ सचिव शान्त राज सुबेदी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के. अहलुवालियाले नँया एटिएम सेवाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । सुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले देशभर आफ्नो एटिएम सेवा विस्तार गर्दै गएको छ । उक्त औपचारीक कार्यक्रममा कार्यक्रममा अन्य विशिष्ट निजामती कर्मचारीहरुको पनि उपस्थिति रहेको बैंकले जनाएको छ । हाल बैंकले ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
यती डेभलपमेन्ट बैंकद्वारा स्वास्थ्य शिविर आयोजना
काठमाडौं, २ असोज । यती डेभलपमेण्ट बैंक लिमिटेडले पोखरामा स्वास्थ्य शिविर आयोजना गरेको छ । सो योजानमा बैंकले ६२ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गराएको छ । बैंकले समाजिक उत्तरदायित्व पुरा गर्दै जाने शिलशिलामा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा डा भिष्मराज बराल र डा प्रकाश कार्कीले नमस्ते कम्युनिटी फाउण्डेसनमा रहेका बालबालिकाको स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा पोखराका अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईले सबै व्यवसायिक प्रतिष्ठानले कमाईको केही हिस्सा सामाजिक सेवामा लगाउन सके देश विकासमा महत्वपूर्ण योगदान हुने बताए । नमस्ते कम्युनिटी फाउण्डेशनका संस्थापक अध्यक्ष भिष्मराज पौडेलले बैंकले सामाजिक क्षेत्रमा गरेको योगदान बारे चर्चा गर्दै बैंकलाई धन्यबाद दिएका छन् । बैंकको केन्द्रिय कार्यालयका बजार व्यवस्थापक प्रकाश घिमिरेले यस्ता सामाजीक कार्यहरुलाई प्राथमिकता दिई सहयोग गर्दै जाने बताएका छन् ।
प्रचण्डले सबैलाई उछिन्दै हजार गुणा बढि राष्ट्रहित विपरित सम्झौता गरेः डा. केसी
प्रा. डा. सुरेन्द्र केसी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौताहरु आपक्ति जनक छन् । यसले विदेशी रिझाउने काम मात्रै गरेको छ त्यसमा पनि भारतलाई रिझाउने भरमग्दुर प्रयास गरिएको छ । राष्ट्रिय स्वार्थलाई पुर्णतः वेवास्था गरिएको छ । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको संयुक्त वक्तव्यले नेपाललाई पुनः एक पटक २००७ सालकै वरिपरिको परिवेशमा पुर्याएको छ । अघिल्ला प्रधानमन्त्रीहरुले सद्भावना भ्रमणका रुपमा भारत जान्थे । केहि विकासे आयोजना, केहि जलविद्युत आयोजना र केहि नदिमा भारतलाई सर्वाधिकार सुम्पिन्थे । तर प्रचण्डले नेपालको सार्वभौम सत्तामाथी नै प्रहार हुने ढंगले संयुक्त वक्तव्य निकाले । एउटा स्वाभिमानी नेपालीका लागि यो स्विकार्य बिषय हुनै सक्दैन । प्रचण्डले भारतीय भूमिमा पुगेर आफ्नै समर्थनमा बनेको निवर्तमान सरकारको बिरोध गरेका छन् । आफैंले अगुवाई गरेर जारी गरेको संबिधान अपुरो छ भनेका छन् । हामी तपाईहरुले भनेझै काम गर्छाै भनेर भारतीयलाई रिझाउने प्रयास गरेका छन् । यो जस्तो गैरराजनीतिक र गैरकुटनीतिक कुरा केहि हुनै सक्दैन । यो नेपाली इतिहासको सबै भन्दा लज्जाजनक भारत भ्रमण सावित भएको छ । प्रचण्डले नेपाललाई पुनः एक पटक भारतीय सुरक्षा छाता भित्र पुर्याउने प्रयास गरेका छन् । नेपालको सुरक्षामा भारतीय चासो स्विकार गरेका छन् । दुई मुलुकले सुरक्षामा समन्वय गर्ने भनिएको छ । नेपालले अन्तराष्ट्रिय मञ्चमा भारतलाई निःसर्त सहयोग गर्ने भनिएको छ । दुबै मुलुकले सल्लाह गरेर अन्तराष्ट्रिय मञ्चमा साझा धारणा राख्ने भनिएको छ । संयुक्त वक्तव्यका यी बुँदाहरु नेपालको आत्मगौरव प्रतिकुल छन् । अन्य प्रधानमन्त्रीहरुले गरेका भारत भ्रमण भन्दा प्रचण्डको यो भ्रमण एक हजार गुणाले नेपालको हित विपरित छ ।(कुराकानीमा आधारित)