संविधान संशोधनबाहेक राजपाका सबै माग पूरा, राजपा भने अझै संघर्षमै
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राख्दै आएका संविधान संशोधनबाहेकका अन्य माग लगभग पूरा भएका छन्। राजपा नेपालले मधेश आन्दोलनमा आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता, थुनामा रहेकाको रिहाइ, मृत्यु भएकालाई शहीद घोषणा, घाइतेको निःशुल्क उपचार, अशक्त तथा अपाङ्गता भएकाको स्थायी व्यवस्थापन, जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या थपजस्ता माग राख्दै आएको थियो। तीमध्ये मुद्दा फिर्ता लिने र बन्दी रिहाइ गर्ने प्रक्रिया तीव्र रूपमा अगाडि बढेको छ। राजपा नेपालका महासचिव केशव झाका अनुसार २०६ मुद्दामध्ये सरकारले १४० वटा मुद्दा फिर्ता लिइसकेको छ। बाँकी रहेका ६६ मध्ये ३२ मुद्दाका बारेमा छानबिन गर्न सम्बन्धित जिल्लामा पठाइसकिएको छ। बाँकी ३४ थान मुद्दाका अभियुक्त फरार छन्। फरार अभियुक्तलाई अदालतमा हाजिर गराउने प्रयास सरकार र राजपा नेपालले गरिरहेको छ। काँग्रेसनेता एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले भने, “शहीद घोषणा, उपचार खर्च तथा क्षतिपूर्ति दिने कार्य सरकारले गरिसकेको छ, केही मुद्दा फिर्ता लिन बाँकी छ, त्यसको बारेमा छानबिन गर्न जिल्लामा पठाइएको छ। ” मधेशवादी दलले बुझाएको नामावलीसहित सरकारले ८० जनालाई शहीद घोषणा गरिसकेको छ। त्यसमा कैलाली तथा महोत्तरीमा मारिएका प्रहरी, बालक तथा पहाडी जिल्लामा राज्य पुनःसंरचनाका लागि भएको आन्दोलनमा मृत्यु भएकाको समेत नाम समावेश छ। त्यस्तै मधेशवादी दलले बुझाएका घाइतेको नामावलीमध्ये सबैले उपचार खर्च पाइसकेका छन् तर ६५ जना अशक्त र आपाङ्गलाई जीवन भरपोषणका लागि व्यवास्था गर्नुपर्ने माग राजपाले अघि सारेको छ। ६५ जनाको नाम गृह मन्त्रालयबाट शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पठाइएको छ। शान्ति तथा पुनःनिर्माण मन्त्रालयले छानबिन गरी मापदण्डअनुसार उनीहरूलाई राहत दिने बताइएको छ। त्यस्तै आन्दोलनमा भएको क्षतिअनुसार सरकारले १४ करोड रुपियाँ पनि उपलब्ध गराइसकेको छ। जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् बैठकले स्थानीय तहको सङ्ख्या थपेको थियो तर त्यस विषयमा सर्वोच्च अदालतमा रिट परेपछि जेठ १२ गते अदालतले निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश गरेको थियो। गोरखापत्र दैनिकबाट ।
तेस्रो शैक्षिक मेला साउन २८ र २९ गते हुने
काठमाडौं । नेपालमा उच्च शिक्षा चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजना हुने भएको छ । आगामी साउन २८ र २९ गते राजधानीको होटल अन्नपुर्णमा हुने भएको छ। मेलाको मुख्य आयोजकहरु भिजन मिडिया ईन्कर्पोरेशन र एजुकेशन डट कम रहेको छ । यो मेला ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने मुख्य उद्देश्य राखेर आयोजन गर्न लागिएको जनाइएको छ । उक्त मेलामा विद्यार्थीले अध्यन गर्ने विषयहरु, शुल्क, छात्रवृत्ति, परामर्श लगायतका विषयमा जानकारी दिइने बताइएको छ । साथै, उक्त मेलामा ४० भन्दा बढी कलेजहरु सहभागी हुने जानकारी दिइएको छ । विद्यार्थीहरुले नेपालमा शिक्षा लिन उत्सुक हुँदाहुँदै पनि नेपालमा पढाइ भइरहेका कोर्ष र गुणस्तरबारे त्यति धेरै जानकारी र विश्वास नराखी उच्च शिक्षको लागि बिदेश जाने क्रम बढेको छ । शैक्षिक मेलाले अभिभावक र विद्यार्थीमा नेपालमा पनि बिदेशमा जसरी नै उच्च शिक्षा गुणस्तरको लिन सकिन्छ भन्ने विश्वास लिएको छ । मेलाको मुख्य प्रायोजक इस्लिङ्ग कलेज रहेको छ । साथै,उक्त मेलामा नेपालमा रहेका काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तराष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिइने छ । बिबिए, एमबिए, बिआईटी, बिएचएम, बिटिटिएम, बिएसडब्लु, बिबिएम, बिएचसिएम, बिएसडब्लु, बिबिएस लगायतका कोर्ष पढ्न चाहाने विद्यार्थीहरु सो मेलाबाट लाभान्वित हुने अपेक्षा राखेको छ । साथै, मेलामा विद्यार्थीले अन्तराष्ट्रिय स्तरको परामर्श लिन सक्ने जनाइएको छ ।
एनआईसी एशियाद्धारा बाजुराको मार्तडीमा पहिलो निजी वाणिज्य बैंक सञ्चालनमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा पहिलो निजी वाणिज्य बैंक सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामिण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रमसंगै यु. के. एड एक्सेस टु फाईनान्स सक्षम संगको सहकार्यमा उक्त स्थानमा वित्तिय पहुँच तथा सबलिकरणको लागि बैंकिङ्ग सेवा पुर्याएको हो । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा एनआईसी एशिया बैंक र यु. के. एड सक्षम एक्सेस टु फाईनान्स (सक्षम) बीच औपचारिक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । यस बैंक सक्षमको सहकार्यमा बाजुरा जिल्लाको मार्तडीमा शाखा संचालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको छ । यस अघि ई.सं ६ जुलाई, २०१७मा उक्त शाखा कार्यालयको प्रारम्भिक उद्घाटन सम्पन्न भएको थियो । शाखा संचालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाता खोली ९ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । सोहि दिनमा नै उल्लेख्य संख्यामा उपस्थित स्थानीय व्यक्तिहरुले शाखामा उपस्थित भई बैंकले देशको दुर्गम भेगमा समेत शाखाकार्यालय खोलेकोमाखुशी प्रकट गरेका थिए । उक्त शाखामा ई.सं. ६ अगष्ठ २०१७ सम्ममा ३२० वटा निक्षेप खाताहरुबाट रु (एक करोड ५५ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन भैसकेको छ । हाल सम्म यस बैंकको ११९ शाखा कार्यालयहरु, ७८ एटीएम मेसिनहरु तथा ४ वटा बिस्तारित एक्सटेन्सन काउन्टरहरु संचालनमा रहेका छन् । सक्षमयु. के. एडद्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफआई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्यहरु गरिरहेको छ ।
तिब्बत एअरलाईन्सको चेङदु-काठमाडौं सिधा उडान सुरु, हप्तामा चार दिन संचालन हुने
काठमाडौं । तिब्बतको ल्हासा स्थित तिब्बत एअरलाईन्सले मंगलबारदेखि चेङदु-काठमाडौंको लागी सिधा नियमित उडान सँचालन गरेको छ । उक्त एअरलाईन्सको प्रारम्भिक उडान टिभी ९८९९ चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थल बाट स्थानिय समय अनुसार साँझ १८:१६ मा प्रस्थान गरी काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानिय समय अनुसार साँझ १९:१५ मा अवतरण भएकाे थियाे । फर्कने उडान टिभी ९९०० काठमाण्डौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट स्थानिय समय अनुसार साँझ १९:२५ मा प्रस्थानगरि चेङदुको विमानस्थलमा अर्को दिन बिहान ००:५० मा अवतरण हुने छ । एअरलाईन्सले शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मँगलबार, बिहिबार र शानिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए-३१९ विमानबाट सेवा प्रदान गर्नेछ । तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्स प्रा. लिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ । उडान तालिका
भारतबाट आयात गर्ने विद्युतको नयाँ मूल्य निर्धारण, आगामी हिउदमा थप १०० मेगावाट विजुली थपिदै
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युतको नयाँ मूल्य निर्धारण गरेको छ । भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल-भारत विद्युत आदानप्रदान समितिको बैठकले न्युनतम मूल्य ८.८८ रुपैयाँ देखि अधिकतम १०.३२ रुपैयाँ प्रतियुनिटमा विद्युत खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ मूल्य निर्धारण गरिएको छ । विशेषगरी सानो क्षमताको प्रसारण लाइनको हकमा बढी मूल्य तिर्नुपर्ने देखिएको छ । प्रवक्ता अधिकारीले ११ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु १०.३२ (भारु ६.४५), ३३ केभीमा प्रतियुनिट रु ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) तिर्नुपर्नेछ । निर्णयअनुसार ५० मेगावाट भन्दामाथि वा १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत आयात हुने विद्युतको मूल्य नेपालका लागि सस्तो हुने भएको हो । भारतले यसअघि नेपाललाई उपलब्ध गराउँदै आएको विद्युत्को मूल्य प्रतिवर्ष ५.५ प्रतिशतको दरले बढाउँदै आएको थियो । मंगलबार सम्पन्न बैठकले सो प्रावधानलाई हटाएर आपसी सहमतिमा विद्युत्को मूल्य निर्धारण गर्ने निर्णय गरेको छ । विगत ६ वर्षदेखि बस्न नसकेको बैठक प्राधिकरणमा नयाँ नेतृत्व आएपछि पहिलो पटक बसेको र त्यसले दुई देशबीच विद्युत् आयात तथा निर्यातका सम्बन्धमा तल्कालीन र दीर्घकालीन महत्वका निर्णय गरेको प्रवक्ता अधिकारीले बताए । गत मार्चसम्म प्राधिकरणले खरिद गर्दै आएको विद्युत्को मूल्य सोही बराबर नै रहेको थियो । नयाँ निर्णयअनुसार नेपालले अब कम क्षमताभन्दा पनि बढी क्षमताका प्रसारण लाइनमार्फत बढी विद्युत् आयात गरे मूल्य कम पर्ने देखिएको छ । अर्को बैठक सन् २०१८ को मार्चभित्र राखेर अर्को वर्षका लागि विद्युत्को मूल्य निर्धारण गरिने छ । भारतको उत्तर प्रदेश र नेपाल जोड्ने १३२ केभी क्षमताका तीनवटा तथा ३३ केभी क्षमताका दुईवटा अन्तरदेशीय प्रसारण लाइन निर्माणका बारेमा ऊर्जा सचिवस्तरीय दुई देशीय समितिको आगामी बैठकमा पेश गर्ने र अन्तिम निर्णय गर्ने सहमति भएको छ । यस्तै सन् २००७ सालदेखि बन्द अवस्थामा रहेको ३३ केभी क्षमताको धनगढी–पलिया प्रसारणलाइन आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने सहमति भएको छ । उक्त प्रसारण लाइनबाट दश मेगावाट विद्युत् आयात हुँदै आएको थियो । थप १०० मेगावाट विद्युत् आउने आगामी हिउँदमा विद्युत्भार कटौती पूर्णरुपमा अन्त्यका लागि सरकारले दुई अन्तरदेशीय लाइनमार्फत थप १०० मेगावाट विद्युत् आयात गर्ने भएको छ । निर्माण सम्पन्न भएको ६ महिनाभन्दा बढी भए पनि रक्सौल– परवानीपुर र कुशाहा कटैया अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् आयात हुनसकेको थिएन । भारतीय पक्षले महँगो मूल्य प्रस्ताव गरेका कारण प्राधिकरणले वर्षाको समयमा ती प्रसारणलाइनबाट थप विद्युत् आयातको विषयमा निर्णय गर्न सकेको थिएन । नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी नयाँ प्रसारण लाइनबाट थप विद्युत आयात गर्ने निर्णय गरेको छ भने विद्युत्को मूल्य समेत तय गरेको छ । ती प्रसारण लाइनबाट ५०÷५० मेगावाट विद्युत प्रतियुनिट रु ८.८८ (भारु ५.५५) मा आयात हुने प्रवक्ता अधिकारीले जानकारी दिए । बैठकले तोकेको नयाँ मूल्य सन् २०१८ को मार्चसम्म कायम हुनेछ । आदानप्रदान समितिको निर्णयपछि आगामी हिउँदमा भारतबाट थप ११० मेगावाट विद्युत् आयात हुने भएको छ । हाल भारतबाट ३८० मेगावाट विद्युत आयात भइरहेको छ । सो निर्णयपछि अब भारतबाट करिब ५०० मेगावाट विद्युत आयात हुनेछ । थप प्रसारण लाइन निर्माणको प्रस्ताव आदानप्रदान समितिको बैठकमा प्राधिकरणले भारतीय पक्षसँग तीनवटा १३२ केभी र दुईवटा ३३ केभी नयाँ प्रसारण लाइन निर्माणको प्रस्ताव राखेको छ । अधिकारीकाअनुसार पलिया–धनगढी र अत्तरिया, नानपारा–कोहलपुर र सम्पतीया–मैनैयामा १३२ केभी तथा नानपारा–खडिया र नौतनवा–भैरहवामा ३३ केभी लाइन निर्माणको प्रस्ताव राखिएको छ । बैठकको नेतृत्व नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका प्रतिनिधिले गरेका थिए । यसअघि बैठक सन् २०११ मा बसेको थियो । उक्त बैठक बस्न नसक्दा नेपालले आयात गर्दै आएको विद्युतको मूल्य प्रतियुनिट रु ११ सम्म तिर्नु परेको थियो । रासस
प्रभु बैंकद्धारा हज यात्रुहरुलाई डलर/साउदी रियाल सटही सुविधा
काठमाडौं । प्रभु बैंकले २०७४ सालको हजयात्राका लागि जाने १,२५० जना नेपाली हजयात्रीहरुलाई डलर/साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ । बैंकले नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत प्राप्त गरी प्रति हजयात्री १,७०० अमेरीकी डलर वा सो बराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ । बैंकले मुस्लीम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिनामा जाने १,२५० जना नेपाली हजयात्रीहरुलाई सो सुविधा दिएको हो । उक्त सटही सुविधा साउन २५ गते देखि १० दिनसम्म काठमाडौको घण्टाघर स्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीहरुले प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ । यस बैंकले उपलब्ध गराएको डलर÷साउदी रियल सटही सुविधा लगायत बैंकद्धारा उपलब्ध गराईएका अन्य सेवा समेत उपभोग गरी हज यात्राका लागि प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुले अधिकतम लाभ लिन सक्ने बैंकको विश्वास रहेको छ ।
सिटिजन्स बैंकले सुरु गर्यो निः शुल्क अनलाइन आस्बा सेवा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्रको दरखास्त लिने प्रकृयालाई अझ सरल, प्रभावकारी एवं सहज बनाउन अनलाइन मार्फत दरखास्त दिन सकिने सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत आगामी दिनहरुमा निष्काशन हुने आइपीओ, एफपीओको अनलाइन दरखास्त दिन इच्छुक लगानीकर्ताले घरमै बसी बसी निः शुल्क दरखास्त दिने सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस बैंकमा खाता नभएका लगानीकर्ताहरुले समेत यस बैंकमा खाता खोली आस्बा सेवा निः शुल्क उपभोग गरेर लाभ लिन सक्ने छन् ।
भोलीदेखि पेट्रोलियम व्यवसायीले पेट्रोल नकिन्ने, माग पुरा नभए ३१ गतेदेखि बिक्री नगर्ने चेतावनी
काठमाडौं । भोलीदेखि पेट्रोलियम व्यवसायीले देशभरका डिपोबाट पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन् । सरकारले इन्धन ढुवानीका क्रममा प्राविधिक रुपमा हुने परिमाण नोक्सानीको क्षतिपूर्तिको माग पुरा नगरेको भन्दै नेपाल पेट्रोलियक डिलर्स राष्ट्रिय एशोसिएशनले माग पुरा नभए साउन ३१ गतेदेखि देशभरमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा पनि बन्द गर्ने चेतावनी दिएको छ । आयल निगम सँग पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले आन्दोलन शुरु गरेको एशोसिएशनले जनाएको छ । एशोसिएशनले प्राविधिक कारणबाट हराउने पेटोलियम पदार्थको पनि क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राखेको छ । यसअघि आन्दोलनको घोषणा गरेर फिर्ता लिएका व्यवसायीले पुन माग पुरा नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । साउन २६ गतेदेखि मुलुकभरका डिपोबाट पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन् । खरिद बन्द गर्नेसम्मका आन्दोलन २० साउनदेखि पम्पमा कालो झण्डा गाडेर आन्दोलन सुरु गरेका व्यवसायीले २६ साउनदेखि पेट्रोल खरिद नगर्ने, २९ गतेदेखि डिजल तथा मट्टितेल खरिद नगर्ने र ३१ गतेदेखि बिक्री वितरण पनि बन्द गर्ने चेतावनी दिएका छन् । व्यवसायीले चार हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ९९ लिटर र डिजेलमा ६० लिटरसम्मको लस हुने गरेको दाबी गरेका छन् ।