विकासन्युज

राष्ट्रपति भण्डारी सपरिवार चन्द्रागिरीमा, पूजा र अवलोकनमा बिताए साढे चार घण्टा, मंसिरमा उद्घाटन हुने

काठमाडौं, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी ज्याईसहित सहपरिवार चन्द्रगिरीको अवलोकन गरेकी छिन् । चन्द्रगिरीमा नबनिर्मित भलेश्वर महादेवको पूजा गर्न शुक्रबार साढे ८ बजे पुगेका राष्ट्रपति भण्डारीको परिवारले त्यहाँ साढे चार घण्टा बिताएका थिए । ‘उहाँको अनौपचारिक भ्रमण हो । मन्दिरमा पूजा गर्नु भयो । ठाउँ रमाईलो भएकोले वरिपरि दृष्याबलोकन गर्नु भयो’ सम्बद्ध स्रोतले भन्यो । राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै चन्द्रागिरीका प्रवद्र्धकहरु चन्द्रप्रसाद ढकाल, अम्बिकाप्रसाद पौडेल, मिनबहादुर श्रेष्ठ लगायतले भण्डारीलाई चन्द्रागिरी केबलकार परियोजनाको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराएका छन् । ‘ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिम श्रृखलाहरुको समेत दृश्यावलोकन गर्नु भयो’ कम्पनीले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ । त्यस क्षेत्रको रमणीय वातावरण र चन्द्रगिरी हिल्सले पूर्वाधार निर्माणमा गरेको कार्यबाट राष्ट्रपति निकै खुशी हुनु भएको सम्बद्ध स्रोतले बतायो । आयोजनाको औपचारिक उद्घाटन मंसिरमा गर्ने तयारी भइरहेको तर मिति तय नभएको स्रोतले बतायो ।

स्वदेशी लघुवित्तले धितोपत्र बोर्डमा दियो ३ लाख सेयर निष्काशनका लागि निवेदन

काठमाडौं, २६ कात्तिक । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाउने बित्तिकै आईपीओ निष्काशन गर्ने कम्पनीले जानकारी दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । साधारण शेयर जारी पश्चात कम्पनीको पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

गोदरेजको ‘इस्ट्यान्ट क्यास ब्याक अफर’ बजारमा अत्याधिक सफल, रेफ्रिजेरेटरद्धारा ग्राहकहरुको मन जित्न सफल

काठमाडौं, २६ कात्तिक । नेपालका लागि सिजी (चौधरी ग्रुप) अन्तर्गत इ.ओ.एल. प्रा.ली.द्धारा विक्री वितरण हुँदै आएको ब्राण्ड गोदरेजको ‘इस्ट्यान्ट क्यास ब्याक अफर’ अत्याधिक सफल भएको छ । दशैं तिहारलाई लक्षित गरी ल्याइएको उक्त उपहार योजनाले गोदरेजका रेफ्रिजेरेटरहरु अत्याधिक विक्री भएर ग्राहकहरुको मन जित्न सफल भएको छ । नेपालमै पहिलो पटक रेफ्रिजेरेटरहरुमा १० वर्ष सम्मको कमप्रेसर वारिन्टी प्रदान गरेको गोदरेजले अझ बढी ग्राहकहरुको विश्वास जित्न सफल भएको छ । कम्पनीका अनुसार यसपाली गोदरेजका सामाग्रीहरु ग्राहकको पहिलो रोजाई रहेको जनाएको छ । सबै ग्राहकहरुलाई धन्यावाद दिदै कम्पनीले अझ बढी उच्चस्तरीय सामग्री भित्र्याएर अझ बढी सन्तुष्टि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

काष्ठमण्डप डेभलपमेन्ट बैंकले २४ प्रतिशत लाभांश दिने, पूँजी ८३ करोड रुपैयाँ पुग्ने

काठमाडौं, २६ कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले सेयरधनीलाई २४ दशमलब ६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २३ दशमलब ३७ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलब २३ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । यस निर्णय अघि बैंकले २३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलब ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सो निर्णयलाई रद्द गरि बैंकले २३ दशमलब ३७ प्रतिशत बोनस  र १ दशमलब २३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८३ करोड ८८ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ५०० रुपैयाँमा कारोबार भएको छ ।

धरहरा बनाउने काम नेपाल टेलिकमको होइन

नेपाल टेलिकमले ३ अर्बको लगानीमा धरहरा बनाउने प्रस्ताव अघि सारेको छ । टेलिकमले धरहरा निर्माण गरिदिने प्रस्ताव सूचना तथा सञ्चार मन्त्रालय मार्फत मन्त्रिपरिषदमा गत असारमै पेश गरेको थियो । मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुननिर्माण प्राधिकरण, पुरातत्व विभाग र टेलिकमबीचको सहकार्यमा धरहरा निर्माण सम्बन्धि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । त्यस सम्बन्धि प्रस्तावबारे पुर्ननिर्माण प्राधिकरणले अध्ययन गरिरहेको छ । प्रस्तावित धरहराकाे स्केज टेलिकमले आफ्नै लगानीबाट धरहरा बनाउने प्रस्ताव अघि सारेको हो । टेलिकमले बनाउने धरहराको स्वरुप पुरातत्व विभागले यस अघि तयार पारेको डिपिआर अनुसार वा आफैं नयाँ डिपिआर बनाउने स्पष्ट भएको छैन । धरहराको निर्माण व्यवसायिक उदेश्यसहित गर्ने वा गैर नाफामुखी उदेश्य राखेर गर्ने भन्नेबारे स्पष्ट छैन । पुरानो धरहरा ५ रोपनी क्षेत्रफलमा रहेको थियो । पुरातत्व विभागले धरहराको पुननिर्माणका लागि ४२ रोपनी जग्गा मागेको थियो । सोही अनुसार सरकारले टक्सार विभाग र हुलाक कार्यालयको जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । नयाँ निर्माण हुने धरहरामा दुइतले पार्किङ, म्युजियम, थियटर, गार्डेन लगायत संरचना रहने डिजाइन तयार भएको छ । तीन वर्ष भित्र निर्माण सम्पन्न हुने भनिएको धरहराको निर्माणका लागि ३ अर्ब रुपैंयाँ लाग्ने अनुमान गरिएको छ । सो लगानी धरहरा पुननिर्माण कोषको रकममा नेपाल टेलिकमले थप लगानी गरेर निर्माण गर्न लागिएको छ । ‘मेरो धरहरा मै बनाउछु’ भन्ने योजनामा संकलन भएको पैसासमेत मिलाएर नेपाल टेलिकमले थप लगानी गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो । साथै, सूचना तथा सञ्चार मन्त्रालय र पर्यटन मन्त्रालयले एकिकृत गुरुयोजना बनाएर धरहरा निर्माण अघि बढाउने भन्ने सैद्धान्तिक निर्णय यसअघि नै भएको थियो । दुबै मन्त्रालयले धरहरा निर्माणको विस्तृत योजना सम्बन्धी सम्झौता तयार पार्न समिति गठन गर्दैछन् । तत्कालिन प्रधानमन्त्री केपी ओलीले मैँ बनाउँछु धरहरा अभियानको शुभारम्भ गर्दै जनताको पैसाबाट धरहरा बनाउने उद्घोष गरेका थिए । सोही अनुसार ओली र उनको मन्त्रिमण्डलका सबै सदस्यहरुले आफ्नो एक महिनाको तलब समेत धरहरा निर्माणका लागि उपलब्ध गराएका थिए । २०१६ को फेब्रुअरी १७ तारिखदेखि सञ्चालनमा रहेको धरहरा पुननिर्माण कोषमा हालसम्म जम्मा २ करोड १२ लाख ११ हजार ८ सय ५४ रुपैंयाँ मात्रै जम्मा भएको छ । गम्भिर प्रश्न के हो भने नेपाल टेलिकमको काम धरहरा बनाउने हो वा दुरसञ्चार सेवा दिने हो ? टेलिकमले धरहरा किन बनाउने ? सामाजिक दाहित्व ठानेर बनाउने हो कि धरहरा टुप्पोमा टावर राखेर दुरसञ्चार सेवामा गुणस्तर थप्ने हो कि ? व्यवसाहिक हिसावले धरहरा निर्माण गरेर नाफा वृद्धि गर्ने हो ? तीन वटै प्र्र्र्र्रश्नको जवाफ टेलिकमले दिनुपर्छ । सामाजिक दाहित्वमा सम्झेर धरहरा बनाउने लागिएको हो भने पनि गलत छ । एउटा कम्पनीले ३ अर्ब रुपैयाँ संस्थागत सामाजिक उत्तरदाहित्व अन्तरगत खर्च गर्न सक्दैन । कम्पनीको सेयर पुँजी छ १५ अर्ब रुपैयाँ । बार्षिक नाफा छ १२ अर्ब रुपैयाँ । सामाजिक सेवाको क्षेत्रमा ३ अर्ब खर्च गर्न सक्दैन, मिल्दैन । नाफाको २ प्रतिशत सामाजिक सेवामा खर्च गर्ने हो भने पनि यो कम्पनीले २४ करोड रुपैयाँ भन्दा बढी खर्च गर्न मिल्दैन । टेलिकम एउटा कम्पनी हो । सरकार र जनताको लगानी भएको कम्पनी हो । यसका आफ्नै सीमा हुन्छ । कारोबार गरेर सरकारलाई कर तिर्ने हो, सेयरधनीलाई लाभांश दिने हो, उपभोक्तालाई गुणस्तरीय सेवा दिने हो । धरहरा बनाउने होइन । व्यवसायिक हिसावले पनि टेलिकमले धरहरा बनाउनु हुँदैन र सक्दैन पनि । उसको काम टेलिकम सेवा विस्तार गर्ने हो, आधुनिक र गुणस्तरीय सेवा दिने हो । कुनै म्यूजियम बनाउने र आम्दानी गर्ने उसको कोर विजनेश होइन, हुनु पनि हुँदैन ।

दोलखाबासीलाई तामाकोशीको सेयर यस वर्ष, शहिद र बेपत्ता परिवारलाई सेयर दिने तयारी छैन

काठमाडौं, २६ कात्तिक । राष्ट्रिय गौरवको आयोजना मध्ये एक अपर तामाकोशी जलविद्युत आयोजना गत मंगलबार आयोजनाको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लगानीबाट द्वन्द्वकालमा वेपत्ता भएको तथा शहिद परिवारका सदस्यहरुलाई यस कम्पनीको सेयर दिने बताएका छन् । तर यस्तो सेयर कति जनाले पाउने र कति प्रतिशत सेयर उनीहरुलाई वितरण गरिने भन्नेबारेमा गृहकार्य नभएको कम्पनीको प्रबन्ध निर्देशक विज्ञानराज श्रेष्ठले बताएका छन् । निर्माणाधिन अपर तामाकोशी जलविद्युत आयोजना ‘शहिद र बेपत्ता परिवारका सदस्यलाई सेयर दिनुपर्छ भन्नु भएको छ । तर प्रति परिवारलाई कति सेयर दिने र कुल सेयरको कति सेयर उनीहरुलाई दिने भन्ने विषयमा गृहकार्य भएको छैन’ श्रेष्ठले भने । ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाले प्रभावित स्थानीय जनताका लागि दिने भनेको सेयर भने यस आर्थिक वर्षभित्र निष्काशन गर्ने तयारी भएको उनले बताए ।  ‘चालु आर्थिक वर्ष भरीमा आयोजना प्रभावित दोलखाली जनताका लागि सेयर जारी गर्ने तयारी गरिरहेका छौं, त्यसपछि सर्व साधारणका लागि जारी गर्छाै’–श्रेष्ठले विकासन्युजसँग भने । आयोजनाले २०७२ सालमा नै स्थानीय जनताका लागि सेयर निष्काशन गर्ने तयारी गरेको थियो तर भूकम्प गएपछि भने त्यो रोकिएको थियो । आयोजनाले प्रभावित दोलखाली जनताका लागि १० प्रतिशत र सर्व साधारणका लागि १५ प्रतिशत सेयर निष्काशन गर्ने मोडालिटी तयार पारेको छ । यसअघि नै आयोजनाले २०७२ जेठ २९ गते कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुको लागि १ करोड ८२ लाख ९९ हजार ५२० कित्ता, कम्पनीलाई ऋण प्रदान गर्ने संस्थाका कर्मचारीहरुका लागि ३० लाख ४९ हजार ९२० कित्ता र कम्पनी तथा विद्युत प्राधिकरणका कर्मचारीहरुका लागि ४० लाख ६६ हजार ५६० कित्ता सेयर निष्काशन गरिसकेको छ । हालसम्म आयोजनाको ८१ दशमलब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।  तर २०७२ सालको भूकम्पले असर गरेपछि निर्माण प्रभावित बनेको थियो । आयोजनाले हालसम्म ३१ अर्ब ८४ करोड खर्च गरिसकेको छ ।  कुल ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा भूकम्पले क्षति पुर्याएपछि ४१ अर्ब ७२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

विराटनगर जुटमिल सञ्चालनका लागि गृहकार्य भइरहेको छः प्रम दाहाल

विराटनगर, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरका सबै रुग्ण सरकारी उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् । विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको आज स्थलगत अवलोकन तथा निरीक्षणको क्रममा उनले भने – यस उद्योगलाई सञ्चालनमा ल्याउन सरकारले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री दाहालले “नेपालकै औद्योगिक इतिहासमा अग्रेणी भूमिका निर्वाह गरेको यो उद्योग बन्द हुनु लज्जा, हृदय बिदारक छ” भन्दै “बिगतमा निजीकरणको नाममा थुप्रै उद्योग धारासायी भए, मैले सरकारको नेतृत्व सम्हालेपछि जीर्ण उद्योग सञ्चालनका लागि अथक प्रयास गर्दै आएको छु ।” यो उद्योगका साथै हेटौँंडाको कपडा उद्योगलगायत सरकारी उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको उनले स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले विराटनगर जुटमिलमा विद्युत् नभएर सञ्चालन नभएको विषयमा ऊर्जा मन्त्रालयमार्फत समाधान गर्ने र जग्गाको विषयमा पनि सम्बन्धित मन्त्रालयलाई समाधान गर्न निर्देशन दिने बताए। आफूले जुटमिललाई के गर्ने भन्ने विषयमा एउटा उद्देश्य लिएरै भ्रमण गरेको बताउँदै उनले जुट उद्योगको समग्र समस्या समाधानका विषयमा भारतको गोवामा हालै भारतीय प्रधानमन्त्रीसँग पनि छलफल भएको जानकारी दिए । रासस

एनबी इन्स्युरेन्सको शतप्रतिशत हकप्रद सेयर, मंसिर १७ गते वार्षिक साधारणसभा

काठमाडौं, २६ कात्तिक । एनबी इन्स्युरेन्स कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय गत कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गुर्नपर्ने छ । कम्पनीको आगामी साधारणसभा यहि आउँदो मंसिर १७ गते हुने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात कम्पनीको पूँजी ३० करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय इन्स्योरेन्सको प्रतिकित्ता सेयर १६१ रुपैयाँमा कारोबार भएको छ ।