क्यान्सर अस्पतालमा ‘प्रसाद’ शीर्षकमै दुई लाख खर्च !
चितवन, २९ कात्तिक । गरिब बिरामीलाई उपचारमा सहुलियत दिन बजेट अभाव भएको जनाउँदै आएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अनावश्यक खर्च प्रशस्त भएको पाइएको छ । अस्पतालमा दसैँ, तिहार र विश्वकर्मा पूजामा प्रसादका लागि मात्रै रु एक लाख ९५ हजार ५७७ खर्च भएको छ । अस्पतालभित्र रहेको प्रहरी बिटले गरेको पूजा खर्चको बिल भने आउन बाँकी रहेको अस्पतालको लेखा शाखाले जनाएको छ । अस्पताल परिसरमा जलदेवीको मन्दिर छ । मन्दिरमा पूजा गर्न सुरक्षागार्ड, कर्मचारी, सवारी चालकलगायतलाई प्रसादका लागि अस्पतालले रकम बाँड्ने गर्दछ । अस्पताल स्रोतले दिएको जानकारीअनुसार, दसैँमा मन्दिरमा पूजा र प्रसाद शीर्षकमा कर्मचारीका लागि रु एक लाख २५ हजार, सुरक्षागार्डका लागि रु ३० हजार, सवारी पूजाका लागि रु २० हजार र विश्वकर्मा पूजा गर्न चालकलाई रु २० हजार ५७७ दिइएको छ । गत वर्ष सोही पूजाका लागि रु ८७ हजार ५०० खर्च गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशकको सोझोपनबाट फाइदा उठाउँदै कर्मचारी, सुरक्षागार्ड र चालकले मनोमानी रकम लगेको अस्पतालभित्रकै अन्य कर्मचारी बताउँछन् । त्यसैगरी, अस्पतालका कर्मचारीले मैत्रीपूर्ण फुटबल खेल्ने भन्दै जुत्ता, टिसर्ट, मोजा, ट्याकसुटलगायतमा रु एक लाखभन्दा बढी खर्च गरेको, धरानमा चिकित्सक सङ्घको कार्यक्रमका लागि भन्दै रु एक लाख लगेको, हरेक वर्ष झैँ यस वर्ष पनि वृत्तचित्र बनाउने भन्दै बिना प्रतिस्पर्धा रु एक लाख ५० हजार दिइएको, एपोलो अस्पतालका चिकित्सकहरुसँग दुई वर्षअघि अन्तक्र्रिया गर्दा होटल होलिडेजमा भएको खर्च विभिन्न शीर्षक बनाएर भुक्तानी गर्न थालिएको स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले आफूकहाँ आएका बिलको कतिपयको भुक्तानी भएको र कतिपय भुक्तानी हुने क्रममा रहेको बताउनुभयो । अनावश्यक खर्च भएको भए समिति बनाएर छानबिन गर्ने उनले बताए । पछिल्लो समय व्यवस्थापन चुस्त दुरुस्त नहुँदा एसियाकै नमुना अस्पतालका रुपमा चीन सरकारले निर्माण गरिदिएको यहाँको क्यान्सर अस्पताल अस्तव्यस्त बन्न थालेको चिन्ता व्यक्त गर्न थालिएको छ । रासस
पारिश्रमिक बढाउनु भन्दा महंगी नियन्त्रण तर्फ लाग्नुपर्ने सांसदहरुको भनाइ
काठमाडौँ, २९ कात्तिक । व्यवस्थापिका–संसद्को सोमाबर बसेको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गर्यो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले सदनसमक्ष प्रस्तुत गरेको सो प्रस्तावमाथि सुझाव दिँदै सांसद कृष्णभक्त पोखरेलले सांसद अर्कै लोकका प्राणी र जनता अर्कै भूमिका मानिस हुन् भने जसरी सांसदहरुको मात्र सुविधा बढाउने ढङ्गले आएको प्रस्तावलाई संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे । सांसद डिल्लीराज काफ्लेले मुलुकभित्र भएका उद्योगधन्दा बन्द गराएर सांसदलाई मात्रै सेवा सुविधा बढाउने विषय जायज नभएको, महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारी र कालोबजारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । सांसद सुबोधकुमार पोखरेलले समयअनुसार संसद् पदाधिकारी र सदस्यको जायज तवरले सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे । रामअयोध्याप्रसाद यादव, विक्रम थापा, बुद्धिराम भण्डारी, प्रेमप्रसाद साह तेली, रुक्मिणी चौधरी, कमला पन्त, श्यामकुमार श्रेष्ठ ९काभ्रे०, लोकमणि ढकाल लगायतका सांसदले २०५२ सालयता सांसद एवम् पदाधिकारीको सुविधामा बढोत्तरी नभएको सन्दर्भमा सुविधा वृद्धि मनासिव भए पनि प्रस्तुत विधेयकले जनभावना सम्बोधन नगरेकाले त्यसमा संशोधन अपरिहार्य भएको बताए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री नायकले जनताका तहमा विधेयकमाथि प्रश्न उठ्ला भन्ने सांसदहरुको सोच स्वाभाविक भएको बताए । उनले धरातलीय यथार्थ बुझेर नयाँ परिवेशमा देशमा केही गरौँ भन्ने भावनाका साथ विधेयक प्रस्तुत गरिएको जानकारी दिए । रासस
सुजातालाई ५० लाख दिएकोमा संसदमा विरोध, मापदण्ड नै नवानाई रकम बाडिनु गलत
काठमाडौँ, २९ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट रु ५० लाख सहयोग दिइएकोमा संसदमा विरोध जनाएको छ । व्यवस्थापिका–संसद्को सोमबारको बैठकको विशेष समयमा बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्य्विधि नै नबनाई मनलाग्दी तबरले राज्यकोषबाट रकम वितरण गरिएकाले त्यसले जनतामा नराम्रो सन्देश गएको बताए । उनले भने – “जनता सिटामोल नपाएर मरिरहेका बेला पहुँचवाला व्यक्तिलाई रकम दिने विषय एकदमै नकारात्मक छ । मापदण्ड नै नबनाई रकम बाँडिनु पूर्णतः गलत छ ।’’ वर्तमान सरकार गठन भएलगत्तै पूर्व राष्ट्रपति डा.रामवरण यादवलाई ६० लाख रुपैयाँ बाँडिएको, उनका सहयोगीलाई समेत रकम र भत्ता प्रदान गरिएको तर रोल्पाकी एक महिला उपचार रकमको अभावमा भैरहवामा निधन हुनु कसरी तालमेल भयो भन्दै सांसद ज्वालाले आपत्ति जनाए । उपचार रकम नै दिनुपर्ने भए व्यवस्थित कार्य्विधि बनाएरमात्रै दिन र मनलाग्दी तबरले राज्यकोषको रकम नबाँड्न उनले सरकारको ध्यानाकर्षण गराए । यस्तै राप्रपा नेपालका सांसद दिलनाथ गिरीले पनि पहुँचका आधारमा राज्यकोषको रकम वितरण गर्ने प्रवृत्ति गलत भएको भन्दै स्वास्थ्यमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्नेमा जोड दिए । उनले स्वास्थ्यमन्त्रीले कार्यविधि ल्याउन लागेको भनेर प्रचार गराउने तर आफ्नै पार्टीका नेतालाई रकम वितरण गर्ने प्रवृत्ति पूर्णतः गलत भएको धारणा राखे । राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले उपचारको अभावमा अस्पतालबाट हामफालेर मर्नुपर्ने, रोल्पाकी महिला उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने तर पूर्वमन्त्रीजस्ता व्यक्तिलाई दबाबका आधारमा राज्यकोषबाट रकम दिने प्रवृत्ति गैरकानुनी र समानताको हकविपरीत रहेको बताइन् ।
भारतीय नोटको विषयमा संसदमा बहस
काठमाडौँ, २९ कात्तिक । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै सांसद भरतबहादुर खड्का, भारत सरकारले भारतीय रुपैयाँ ५०० र एक हजारको नोट प्रतिबन्ध लगाउँदा नेपालको विभिन्न क्षेत्रका नागरिक प्रभावित भएको भन्दै सरकारले तत्काल भारत सरकारसँग कुरा गरी समस्या समाधान गर्न आग्रह गरे । उनले सरकारले कूटनीतिक पहलमार्फत भारतीय रुपैयाँको विषयमा उब्जिएको समस्या समाधान गर्न र नेपाली जनतालाई राहत दिन तत्काल पहल गर्न ध्यानाकर्षण गरााए । सांसद यज्ञराज सुनुवारले जनता सिटामोल खान नपाएर आत्महत्या गर्नुपरेको भए पनि त्यसतर्फ सरकारले ध्यान नदिएको तर पहुँचका आधारमा विशिष्ट व्यक्तिलाई रकम बाँडिएकामा आपत्ति जनाए । उनले निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रहरी प्रमुखको भेट भइरहेकामा गुनासो गर्दै त्यसले शान्ति सुरक्षामा गलत प्रभाव परेको धारणा राखे ।
वायुसेवा निगमलाई ऋण दिन निजी बैंकसमेत अग्रसर, सस्तो व्याजदरमा दिने संस्था खोज्दै निगम
काठमाडौं २९, कात्तिक । नेपाल वायुसेवा निगमलाई एयरबसको वाइडबडि जहाज किन्न निजी बैंक तथा वित्तीय संस्थादेखि नागरिक लगानी र कर्मचारी संचय कोषसम्मले चासो देखाएका छन । निगमलाई दुई वटा वाइडबडि नामक जहाज किन्न सरकारले २५ अर्ब रुपैयाँको जमानी दिएपछि निजी बैंक तथा वित्तीय संस्थाको चासो बढाएको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए । उनका अनुसार निगमलाई जहाज किन्न पैसा दिन्छु भन्ने संस्थाको लाइनै लागेको छ । हामीले अहिले यो संस्थाको लिन्छौ भनेर निर्णय गरेका छैनौ, जसले कम व्याजदरमा पैसा दिन्छौ उसैसँग ऋण लिन्छौ, कंसाकारले भने । कंसाकारका अनुसार वायुसेवा निगमले यस अघि दुईवटा एयरवसको १५८ सिट क्षमताको न्यारोबडि किनिसकेको छ । यो जहाज किन्दा संचयकोषबाट १० अर्ब रुपैयाँ ऋण लिएको थियो । सो ऋणको नियमित किस्ता तिरिरहेकोले पनि संचय कोष नै फेरि ऋण लगानी गर्न तयार रहेको छ । संचयकोष र नागरिक लगानी कोष एक्लैले २५ अर्ब रुपैयाँ ऋण लगानी गर्न तयार रहेको जानकारी औपचारिक रुपमै निगमलाई दिइसकेको कंसकाकारको भनाइ छ । निजी बैंक तथा वित्तीय संस्थालका लागि भने एउटै संस्थाबाट २५ अर्बको लगानी ठूलो भएकोले पनि सहवीत्तियकरण (कन्सोटियम)मा ऋण लगानी गर्न चाहेका छन् । निगमका लागि जहाज खरिद गर्न सरकारले जमानी बस्ने सहमति दिएपछि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाहेक निजी बैंकहरू हिमालय, नबिल, एभरेस्ट, एनएमबीलगायतले लगानी गर्न इच्छा देखाएका हुन । यी बैंकले निगमका महाप्रवन्धक कंसाकारलाई औपचारिक र अनौपचारिक रुपमा जानकारी गराइसकेको पनि निगमको भनाइ छ । कंसाकारका अनुसार निगमले संचय कोषबाट १२ प्रतिशतमा लिएको ऋणको ब्याज अहिले १० प्रतिशतका दरले तिरिरहेको छ । अब नयाँ ऋण लिँदा ६ देखी ८ प्रतिशतसम्ममा ऋण पाइने आशा गरिएको छ । हामीले निजीबाट वा सरकारी संस्था कुनबाट ऋण लिने भनेर निर्णय गरेका छैनौ । जसले सस्तो व्याज र उपयुक्त योजना हामीलाइ दिन्छ उसैबाट लिने पनि कंसाकारले बताए । एयरवसले किन्न भर्खर कम्पनी छनोटको चरणमा रहेकोले अझैं १ डेढ महिनाको समय ऋण लिने संस्था छनोट गर्ने समय बाँकी छ । पहिले कम्पनी छनोट गर्ने र त्यसपछि सम्झौता गर्दा र लक अफ मनि (बैना) पठाउने बेलासम्म ऋण तय भए हुने पनि कंसाकारको बुझाई छ । निगमका अनुसार सञ्चय कोष र नागरिक लगानी कोष २५ अर्ब रुपैयाँ दिन तयार भएका छन् । निजी वाणिज्य बैंकले भने सहवित्तीयकरणमा ऋण लगानी गर्ने इच्छासहित पटकपटक कुराकानी भइसकेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ठूला जहाज (वाइडबडी) खरिद गर्ने निर्णय गरेर जहाज दिने कम्पनी छनोटको लागि मूल्यांकन गरिरहेको छ । एक महिनाभित्र मूल्यांकन सकेर निगम संचालक समितिबाट निर्णय गरेपछि औपचारिक रुपमा जहाज दिने कम्पनीसँगको डिल सुरु हुने पनि निगमको भनाइ छ । हाल निगममा युरोपेली र अमेरिकीसहित १० वटा कम्पनीले जहाज बेच्ने इच्छासहित निगममा प्रस्ताव पेश गरेको कंसाकारले बताए । निगले दुई सय ५० देखि दुई सय ८० सिट क्षमताका दुईवटा एयरबस ए ३३०–२०० सिरिज खरिद गर्ने निर्णय गरेको छ। निगमले बढीमा एक हजार घन्टा(तीन महिना मात्रै उडेको) जहाज लिन सक्ने गरी प्रस्ताव मागेको भएपनि नयाँ जहाजकै पनि प्रस्ताव परेको निगमको भनाइ छ ।
तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार
अर्घाखाँची, २९ कात्तिक । जिल्लाका तीन कृषकले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालयले आज यहाँ आयोजित कार्यक्रममा ती कृषकलाई सो पुरस्कार प्रदान गरेको हो । स्थानीय विकास अधिकारी लक्ष्मी पाँडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर भुसाल, वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेललले पोखराथोकका अच्युत गौतम, धारापानीका भेषबहादुर नेपाली र अडगुरीका ताराप्रसाद न्यौपानेलाई रु १० हजार राशि सहित सम्मानपत्र प्रदान गरेका थिए . आचार्यलाई उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार अर्घाखाँचीमा रही कृषि क्षेत्र र यसको विकासका लागि उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार प्रेमनारायण आचार्यलाई कृषि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कृषि क्षेत्रको समाचार प्रकाशन तथा प्रसारण उल्लेखनीय योगदानपु¥याएबापत उहाँलाई रु पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । जिल्लामा रही विगत १० वर्षदेखि आचार्यले पत्रकारिता गर्दै आएका आचार्यले बढ्दो विदेश पलायनलाई रोक्न पत्रकारितामार्फत निर्बाह गरेको भूमिकालाई महत्वपूर्ण मानिएको छ । रासस
राहुघाट जलविद्युत ओजनामा लगानी गर्न स्थानीयलाई पहिलो प्राथमिकता
म्याग्दी, २९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण हुन लागेको राहुघाट जलविद्युत आयोजनामा स्थानीयलाई लगानी गर्न दिने भएको छ । सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय गरेको हो । प्राधिकरणले आयोजनाका लागि भारतीय एक्जिम बैंकबाट चार करोड डलर सहुलियतपूर्ण ऋण लिनेछ । तत्काललाई १० प्रतिशत सेयर स्थानीयले पाउने भए पनि प्राधिकरण सञ्चालक समितिको बैठकले त्यसलाई बढाउन पनि सक्ने जनाएको छ । आयोजनालाई कम्पनीको मोडेलमा सञ्चालन गर्दा स्थानीयले पनि लगानीको अवसर पाउने र आयोजनालाई सहज रुपमा सम्पन्न गर्न सहयोग पुग्ने राहुघाट आयोजनाका प्रशासकीय अधिकृत काशीराम दाहालले बताउनुभयो । विसं २०६७ देखि निर्माण सुरु भएको राहुघाटमा ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै काम नगरेपछि एक वर्षअघि प्राधिकरणले ठेक्का सम्झौता रद्द गरेको थियो । आइभीआरसियलले रु दुई अर्ब ७९ करोड ७८ लाखमा सिभिल, सुरुङ, सडक, विद्युत्गृह र बाँध निर्माण गर्ने सम्झौता गरे पनि तिल्केनीचौरमा अडिंत नम्बर ३ को ६५ मिटर सुरुङमार्ग र एक हजार ८० मिटर मात्रै सडक निर्माण गरेको छ । विवादकै कारण स्थगित अवस्थामा रहेको आयोजनाको बाँध र विद्युत्गृहको काम नै सुरु हुन सकेको छैन । सरकारले आयोजनाका लागि पिप्ले, भगवती, दग्नाम र झिं गाविसमा २८२ रोपनी जग्गाको मुआब्जा वितरण गरी अधिग्रहण गरिसकेको छ । छ वर्षमा आयोजनाको समग्र भौतिक प्रगति १२ प्रतिशत मात्रै छ । आइभीआरसियलसँग सम्झौता रद्द गरेसँगै गत वैशाखमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ३२ मेगावाट क्षमतालाई बढाएर ४० मेगावाट बनाउने निर्णय गरेको थियो । क्षमता बढेपछि आयोजनाको लागत रु आठ अर्ब ६० करोड पुगेको छ । आयोजनाका प्रमुख कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि रमेशमान श्रेष्ठलाई निमित्त आयोजना प्रमुख तोकिएको छ । रासस
राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर भित्र्यायाे, २३ लाख रूपैयाँ खर्च
कात्तिक, २९ काठमाडौं । नेपाल राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर भित्र्याएकाे छ । सोमबार सिंगापुरको सिल्क एयरबाट साे रकम काठमाडाैं भित्र्याएकाे राष्ट्र बैंकले जनाएकाे छ । सिल्क एयरको बोइङ वि ७३८ जहाज मार्फत बैंकले एक करोड अमेरीकी डलर नेपाल भित्र्याएको हो । डलर बोकेको जहाज सोमबार मध्याह्न १२ बजेर १३ मिनेट जादा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । बजारमा डलरको अभाव देखिएपछि राष्ट्र बैंकले दशैअघि नै सिंगापुरबाट डलर ल्याउने निर्णय गरेको थियो । सिंगापुरको सिआइएम बैंकमा राष्ट्र बैंकको आफ्नै खाता रहेको छ । सोही खाताबाट एक करोड डलर ल्याउन लागिएको राष्ट्र बैंकका सहप्रबक्ता राजेन्द्र पण्डितले विकासन्युजलाई जानकारी दिए । पण्डितका अनुसार डलर ल्याउँदा करिव २३ लाख रुपैयाँ बराबर खर्च भएकाे छ । पण्डितका अनुसार हाल विभिन्न २५ वटा देशका बैकहरूमा रहेका राष्ट्र बैंककाे खातामा करिब १० अर्ब ३५ करोड रुपैयाँको हाराहारीमा डलर मौज्दात छ । उक्त रकम अावश्यकता अनुसार राष्ट्र बैंकले नेपाल ल्याउन सक्ने उनले बताए । “नेपालकाे बजारमा डलर भएपनि लुकाउने प्रबृत्तिका कारण अहिले डलर अभाव देखिएको हो” पण्डितले बताए । नेपालकाे वैदेशिक व्यापार घाटा बढ्दै गएकाे, रेमिट्यान्स भित्र्तने क्रममा गिरावट देखिएका, पर्यटक अागमन कम भएकाेले पनि राज्यकाे ढुकुटीमा विदेशी मुद्रा कम हुँदै गएकाे छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले एटिएमबाट नेपालीकाे खातामा रहेकाे पैसा चाेरी हुने र त्याे रकम बैंक तथा मनि एक्स्चेनञ्ज काउन्टरमा सटही गरी डलर चाेरी हुने गरेकाे र हुण्डीकाे प्रयाेग बढेकाेले डलर अभावकाे समस्या बढेकाे बताएका छन् ।