चितवनको सडक सञ्चालनमा
चितवन । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८ः३० बजेदेखि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार गजुरीबाट ग्रेडर झिकाएर पहिरो सफा गरिएको हो । पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । सो खण्डमा गएराति १२ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोला, केराबारी र चारकिलोमा खसेको पहिरो पन्छाउने क्रम शुरु भएको थापाले बताए । रासस
खम्बामा टाँगिएका अव्यवस्थित तार काटियो
काठमाडौं । सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न शुरु गरेको छ । बिजुलीका तार, टेलिफोनका तार र अन्य केबलका तारसमेत एउटै खम्बा ९पोल०मा राखिएको हुँदा शहर अत्यन्त कुरुप देखिएको, असुरक्षा बढ्दै गएको र राजश्वसमेत हिनामिना भएको भन्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर त्यसको शुरुवात गरे । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले भन्नुभयो, “एशियन डेभलभमेन्ट बैंकको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार विछ्याउने प्रयास अगाडि बढाइरहेको छ र सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको छ ।” यसअघि सञ्चार मन्त्रालयले सम्बन्धित निकायलाई बोलाएर तार पहिचान गर्न र व्यवस्थित गर्न भने पनि व्यवस्थित भएको थिएन । वैधानिकताको दायराभित्र नआएसम्म तार काट्ने अभियानलाई देशैभरि सञ्चालन गर्ने मन्त्री बस्नेतको भनाइ छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले तार एकै ठाउँमा गन्जागोल हुँदा धेरै ठाउँमा असुरक्षा हुने, बाटोमा मोटरसाइकल तथा गाडी हिँड्दा बेरिएर दुर्घटना हुने भएकाले पनि केबल र टेलिफोनका तार हटाउनुपरेको बताए। अहिले ती तार काटेर एकै ठाउँमा व्यवस्थित गर्ने र भविष्यमा त्यसलाई जमिनमुनिबाट व्यवस्थित गर्ने प्राधिकरणको योजना रहेको छ । जमिनमुनि तार बिछ्याउनका लागि प्राधिकरणले बजेटको समेत व्यवस्था गरेको छ । रासस
निःशुल्क शिविरमा ५०९ जनाको मुटु जाँच
भक्तपुर । मध्यपुरथिमिको गठ्ठाघरमा सञ्चालित हेल्दी हार्ट क्लिनिकले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५०९ जना लाभान्वित भएका छन् । सहज र सर्वसुलभरुपमा जिल्लामै मुटु रोगको सम्पूर्ण परीक्षण एवं उपचार गर्ने उद्देश्यले सञ्चालित क्लिनिकले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा शनिबार शिविर आयोजना गरेको हो । शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले ५०९ जनाको निःशुल्क स्वास्थ्य जाँच गर्नाका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको क्लिनिकका सञ्चालक बचन देउजाले जानकारी दिए । शिविरमा मुटुरोग, नाक, कान, घाँटी, प्रसूति रोग, हाडजोर्नी, इसिजी, इको, रगत तथा पिसाब परीक्षण गरिएको थियो । रासस
पुनर्बीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेड गम्भिर आर्थिक संकटमा परेको छ । चौधरी ग्रुप मुख्य प्रवद्र्धक रहेको यस कम्पनीमा सोही ग्रुपबाट नै भएको ठूला दावी र भुक्तानीका कारण यो कम्पनी गम्भिर आर्थिक संकटमा परेको हो । साथै कम्पनीको कमजोर व्यवस्थापकीय क्षमता र पुर्नबीमा गर्दा गरिएको त्रुटीहरुले कम्पनी निकै अप्ठेराे परेको समाचर आईतबार देशविकास पत्रिकामा छापिएको छ । पछिल्लो पटक चौधरी ग्रुपले प्रवद्र्धन गरेको हाउजिङ कम्पनी ‘सिटीस्केप’बाट परेको ५३ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गर्ने क्रममा यूनाईटेड इन्स्योरेन्स कम्पनी थला परेको छ । यसअघि चौधरी ग्रुप कै सिजी इम्पेक्स, इओएल र सिजी इलेक्ट्रोनिक्स कम्पनीलाई यूनाईटेड इन्स्योरेन्स कम्पनीले करिव ५८ करोड रुपैयाँ बीमा दावी भुक्तानी गरेको थियो । सिजी इम्पेक्स, इओएल र सिजी इलेक्ट्रोनिक्स विनोद कुमार चौधरीको कम्पनीहरु हुन् भने सिटीस्केप अरुण कुमार चौधरीको कम्पनी हो । प्रवद्र्धक समूहबाटै आएको बीमा दावी र भुक्तानीका कारण ३० करोड चुक्ता पुँजी भएको यो कम्पनी करिव २६ करोड रुपैयाँ नोक्सानीमा पुगेको छ । परिणाम यस्तो भएको छ कि आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भनी सञ्चालक समिति गरेको आफ्नै निर्णय आफैले रद्द गर्नु परेको छ । लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले जनाएको कैफियतका आधारमा बीमा समितिले यूनाईटेड इन्स्योरेन्स कम्पनीलाई करिव ३४ करोड रुपैयाँ प्रोभिजन गर्न लगाएको छ । ‘यो पुरानो केस हो । बीमा समितिका तत्कालिन अध्यक्ष प्रा.डा फत्तबहादुर केसीको संरक्षणमा यूनाईटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले समस्या ढाकछोप गरेर राखेका थिए । पोको पारेर लुकाएर राखिएको पुरानो समस्याको पोको अहिले खुल्दै गएको मात्र हो’ स्रोतले भन्यो । उच्च स्रोतका अनुसार २०७२ बैशाखमा गएको भूकम्पले पुर्याएको क्षतिबाफत सिटीस्केपले करिव ५३ करोड रुपैयाँ बीमा दावी गरेको छ । अप्रत्यक्ष रुपमा प्रवद्र्धक समूहसँग जोडिएको दावी आएपछि यूनाईटेड इन्स्योरेन्स कम्पनीले तत्काल २५ करोड रुपैयाँ भुक्तानी गरेको छ । युनाईटेडले बीमितलाई भुक्तानी दिएको तर पुर्नबीमा कम्पनीहरुले भुक्तानी गर्न नमालेकोले कम्पनी धरापमा परेको स्रोतले बतायो । ‘२५ करोड सेयर पुँजी भएको कम्पनीमा एउटै दावीबाट ४० करोड भन्दा बढीको दाहित्व थएिकोले कम्पनी थला परेको छ’ स्रोतले भन्यो । स्रोतका अनुसार ५३ करोडको दावीमा पुर्नबीमा लिडर कम्पनी जेआईसीले १३ करोड रुपैयाँ भुक्तानी गरेको छ । तर फलोअर रिइन्स्योरेन्स कम्पनीहरुले दावी भुक्तानी गर्न अस्वीकार गर्दै आएका छन् । सोही कारण कम्पनी माथि करिब ४० करोड रुपैयाँको दाहित्व थपिएको हो । ‘१३ करोड पुर्नबीमाबाट आएको छ । ६ करोड कम्पनीको आफ्नै दाहित्वमा पर्छ, फलोआर रिइन्स्योरेन्स कम्पनीले दिनु पर्ने ३४ करोड रुपैयाँ आएको छैन’ स्रोतले भन्यो–‘बीमा समितिले रिइन्स्योरेन्सबाट आउनु पर्ने तर नआएको रकम प्रोभिजन गर्न निर्देशन दिएको छ ।’ प्रोभिजन गरेर पुनः वार्षिक प्रतिवेदन पेश गर्न बीमा समितिले दिएको निर्देशन यूनाईटेड इन्स्योरेन्स कम्पनीले अवज्ञा गरेको छ । ‘हामीले एक महिना समय दिएका थियौ । प्रोभिजन गरेर नयाँ प्रतिवेदन आएन’ स्रोतले भन्यो–‘समय थप्न माग गर्दै चिठ्ठी दर्ता भएको सुनेको छु ।’ बीमा समितिको निर्देशन अनुसार प्रोभिजन गर्दा कम्पनी करिव २६ करोड नोक्सानमा जाने भएको छ । संचित नोक्सानीमा गएको कम्पनीले हकप्रद सेयर निष्काशन गर्न पनि सक्दैन । सोही कारण आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर दिने र १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सञ्चालक समितिको निर्णय रद्द गरिएको छ । भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बोनस सेयर र हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धि पुरानो निर्णय रद्द गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बरालले जानकारी दिएका छन् ।
एभरेष्ट बैंकको साढे २ लाख कित्ता हकप्रद बिक्री गर्न बोलपत्र आब्हान
काठमाडौं । एभरेष्ट बैंकले बाँकी रहेको हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले बिक्री हुन बाँकी २ लाख ५३ हजार ७९७ कित्ता हकप्रद बिक्रीका लागि आइतबार बोलपत्र आब्हान गरेको छ । बैंकले आउदो असोज १ गते बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ । बैंकले चुक्तापुँजी बढाउन गत असार १८ गतेदेखि साउन २२ गतेसम्म हकप्रद निश्कासन गरेको थियो । त्यसबेला बिक्री नभएपछि बैंकले लिलामी प्रक्रियाबाट हकप्रद बिक्री गर्न लागेको हो ।
धितोपत्र बोर्डको पुँजीबजार मैत्री योजना
पुँजी बजारको नियामक धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा गर्ने योजना सार्वजनिक गरेको छ । आर्थिक वर्ष सुरु भएको डेढ महिना ढिला ल्याएको योजनाले आगामी दिनमा पुँजी बजारको विकासमा सघाउने देखिन्छ । बोर्डले ल्याएको योजनाले नेपालको पुँजी बजारमा धेरै सुधार ल्याउन सक्ने देखिएको छ । बढ्दो पुँजी बजारलाई व्यवस्थित गर्न ल्याइएको योजना एक सकरात्क प्रयास हो । बोर्डले ल्याएका नयाँ योजनामा आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने व्यवस्था गर्न लागेको छ । करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था ल्याउन लागेको देखिन्छ । यसले गर्दा करको दायरामा आउनेको संख्या बढ्ने देखिएको छ । बोर्डको अर्को महत्वपुर्ण योजना बढ्दो पुँजीबजारलाई धान्न सक्ने गरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट खाकामा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि सहजीकरण गर्ने भएको छ । बोर्ड नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न अनुमति दिने संकेत गरेको छ । यसको विरोध भइरहे पनि बोर्डले योजनामा यसलाई पनि समेटेको छ । यो वर्षदेखि कमोडिटी डेरिभेटिलाई नियमावली बनाई दायरामा ल्याउने, नगरपालिका ऋणपत्र निश्कासन सम्बन्धि नयाँ व्यवस्था, ऋणपत्र, अग्राधिकार सेयर बजार विकासका लागि आवश्यक प्रोत्साहनमुलक नीतिका सम्बन्धमा अध्ययन गर्ने योजना रहेका छन् । कमोडिटी बजार नेपालका लागि नयाँ भएकाले बोर्डले यसलाई थप अध्ययन गर्न आवश्यक देखिएको छ । बोर्डले ल्याएको अर्को योजनामा कम्पनी रजिष्टार कार्यालयको सहयोगमा धितोपत्र बजारमा लगानी गर्ने स्थापना भएकालाई नियमनको दायरामा ल्याउने भनिएको छ । धितोपत्र बजारमा गैरआवासिय नेपालीलाई लगानी खुलाउन आवश्यक कार्यविधि बनाउने योजनामा समेटिएका छन् । गैरआवसिय नेपालीले धितोपत्र बजारमा लगानी गर्न पाउनुपर्ने माग गर्दे आएकोमा अब पुरा हुने देखिएको छ । यसले पुँजीबजारमा सहयोग पुग्ने देखिन्छ इन्टरनेटमार्फत धितोपत्र खरिदबिक्रीको व्यवस्थालाई कार्यान्वनयमा ल्याइने, दलाल व्यवसायिको कार्यक्षेत्र बढाउन मार्जिन ट्रेडिङ र धितोपत्र व्यापारी सेवा विस्तारका सम्बन्धमा अध्ययन गर्ने कुरा नीतिमा समेटिएका छन् । यसैगरी बोर्डले सुचिकृत संगठित संस्थाका लागि संस्थागत सुशासन निर्देशिका र सुपरीवेक्षण म्यानल बनाइ लागु गर्ने, भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फण्डको अध्ययन गरी नियम बनाउने तयारी गरेको छ । सामुहिक लगानी कोषअन्र्तगत खुलामुखी योजना प्रवेश गराउने र बोर्डको ५१ प्रतिशतसम्म लगानी हुने गरी धितोपत्र प्रशिक्षण संस्था स्थापना गर्ने जस्ता योजना छन् । समग्रमा पुँजी बजारको नियमन र विकासका लागि समय समयमा यस्ता नीतिगत निर्णय आउनुपर्छ । यस्ता नीतिगत निर्णयले पुँजी बजारमा सुधार ल्याउनुका साथै गलत कुरालाई सच्याउने काम पनि गरेको छ । समयको गतिसंगै पुँजी बजारलाई आधुनिकीकरणमा लैजाने काम गरेको छ । बोर्डले पुँजी बजारको विकासका लागि राम्रा योजना ल्याएको छ । योजना ल्याएर मात्र हुदैन कार्यन्वयन महत्वपुर्ण कुरा हो । धेरै योजना ल्याइन्छ तर कार्यन्वन हुन नसकेका धेरै उदारण छन् । आफुले ल्याएको योजनाको सफल कार्यन्वयनका लागि बोर्डले ध्यान दिन जरुरी छ ।
चीनबाट होङसीले सिमेन्टमा ३६ अर्ब लगानी ल्याउने, आज लगानी सम्झौता हुदै
काठमाडौं । नेपालमा सिमेन्ट उत्पादनका लागि चीनको होङसी शिभम् सिमेन्टसंग आयोजना लगानी सम्झौता (पीआईए) हुने भएको छ । लगानी बोर्ड नेपाल र होङसी शिमम्बीच आईतबार ३६ अर्ब रुपैयाँ बढी (३६ करोड अमेरिकी डलर) लगानी ल्याउनका लागि पीआईए हुन लागेको हो । सिमेन्टमा आएको सबैभन्दा ठुलो वैदेशिक लगानी हो । वैदेशिक लगानीमा अन्य ३ वटा सिमेन्ट उद्योग आउने तयारीमा छन् । लगानी बोर्डले होङसीसंग पीआईएका गर्न स्वीकृति दिएपछि प्रक्रिया अघि बढेको हो । होङसीले सिमेन्ट उत्पादनका लागि डलरमा लगानी ल्याउन सरकारबाट स्वीकृति पाइसकेको छ । होङसीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । सिमेन्टमा ७० प्रतिशत विदेशी लगानी आउने छ । सिमेन्ट उद्योग दर्ता र अन्य स्वीकृतिको काम सकिएको छ । चीनको होङसी र नेपालको शिमभ् सिमेन्टको संयुक्त लगानीमा नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माणको काम भइरहेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए । उनका अनुसार उद्योगबाट सन् २०१९ को सुरुदेखि सिमेन्ट उत्पादन हुनेछ । पीआईए भएपछि औपचारिक रुपमा होङसीले नेपालमा सिमेन्ट उत्पादनका लगि काम थाल्ने उनले जानकारी दिए । उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चावस्तुका लागि पाल्पामा खानीका लागि स्वीकृति पाएको छ । उद्योग आफैले कच्चा वस्तु क्लिङकर उत्पादन गर्ने भएको छ । ठुलो परिमाणमा सिमेन्ट उत्पादन हुने भएकाले स्वदेशी सिमेन्टको माग पुरा गर्ने अपेक्षा गरिएको छ । शिभम्ले सिमेन्ट उत्पादन गरिरहेको छ । होङसीले दैनिक ६ हजार टन र वार्षिक ४३ लाख ८० हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योग सञ्चालनका लागि मात्र ८० मेगावाट बिजुली आवश्यक पर्नेछ । उद्योगबाट प्रत्यक्ष रुपमा १ हजार र अप्रत्यक्ष रुपमा १० हजारले रोजगारी पाउने अनुमान गरिएको छ । पछिल्ला वर्षमा निर्माण व्यवसायले गति लिएपछि स्वदेशी तथा विदेशीले सिमेन्टमा लगानी बढाएका छन् । भारत, चीन र नाइजेरियाका गरी ४ ठुला वहुराष्ट्रिय उद्योगले दैनिक २२ हजार टन सिमेन्ट उत्पादन गर्ने भएका छन् । बोर्डका अनुसार भारतको रिलायन्स सिमेन्ट कम्पनी लिमिटेडले ७ हजार, नाइजेरियाको डाङगोटे सिमेन्ट कम्पनीले ६ हजार, चीनको होन्सी ६ हजार र चीनकै हुवाजिन सिमेन्ट कम्पनीले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने भनेका छन् । यी मध्ये ३ वटा आउने तयारीमा छन् । ४ उद्योगले नेपालमा सिमेन्ट उत्पादन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ (१ अर्ब ४५ करोड डलर) वैदेशिक लगानी ल्याउन बोर्डबाट स्वीकृति पाइसकेका छन् । होन्सीले नेपालको शिभम्संग साझेदारीमा सिमेन्ट उद्योग स्थापना गर्देछ भने अन्यले सत्प्रतिशत विदेशी लगानी ल्याउदै छन् । डाङोटेले मकवानपुरको भीमफेदीमा, हुवाजिनले नारायणी र रिलायन्सले नेपालको मध्य क्षेत्रमा कारखाना राख्ने तयारी गरेका छन् । दैनिक २२ हजार टन सिमेन्ट उत्पादन गर्न २१५ मेगावाट बिजुलीचाहिने बोर्डले जनाएको छ । जसअनुसार रिलायन्सलाई ६०, हुवाजिनलाई २५ होन्सीलाई ८० र डाङोटेलाई ५० मेगावाट बिजुलीआवश्यक पर्ने प्रारम्भीकअध्ययनले देखाएको छ ।
एक करोडभन्दा बढीको लगानीमा रिसोर्ट सञ्चालन
म्याग्दी । म्याग्दी रघुगंगा गाउँपालिका–३ स्थित घुमाउने तालमा एक युवाले जिल्लामै पहिलो स्विमिङपुलसहितको रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् । वडा नं– ३ पिप्ले घर भएका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् । करिब ३० रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर चन्दले रिसोर्ट सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कार्यलाई तीव्र दिएका छन् । सञ्चालनमा आएपछि यो जिल्लाकै पहिलो स्विमिङ पुलसहितको रिसोर्ट हुनेछ । अहिले पाहुना बस्ने कोठा, गार्डेन, पार्किङ, स्विमिङ पुललगायत पूर्वाधार निर्माणको कार्य भइरहेकोे सञ्चालक चन्दले बताए । उनकाअनुसार, अहिलेसम्म रिसोर्ट निर्माणका लागि ८० लाख रूपैयाँ बढी लगानी भइसकेको छ भने पूर्वाधार निर्माणले पूर्णता पाउँदासम्म साढे १ करोड रूपैयाँ लगानी पुग्नेछ । ‘‘मैले यहाँ सञ्चालनमा रहेको रेस्टुरेन्ट खरिद गरी त्यसमा थप सेवा सुविधा उपलब्ध गराउनका लागि पूर्वाधार निर्माण गर्न लागेको हुँ, जिल्लामा उत्कृष्ट सेवा सुविधासहितको रिसोर्ट सञ्चालन गर्ने अवधारणअनुसार काम अगाडि बढाएको छु, अब छिट्टै यसलाई सञ्चालनमा ल्याउने तयारी गरेको छु,’’–उनले भने । ‘अर्गानिक र हाईजनिक’ परिकारको केन्द्र बनाउने मुख्य लक्ष्यसहित रिसोर्ट सञ्चालन गर्न लागेका चन्दले ग्राहकलाई हाँस, माछा, कुखुरा, खसी, बँदेललगायतसँगै स्थानीय उत्पादनको स्वाद चखाउने जानकारी िदए । शुरु शुरुमा हरेक महिना एक दिनदोहोरी साँझसमेत राख्ने उनकाे याेजना छ । बेनी–जोमसोम आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस रिसोर्टमा जिल्लामै पहिलो पटक स्विमिङ पुलको आनन्दसमेत लिनसक्ने व्यवस्था गरिनेछ । पाहुनलाई स्थानीय उत्पादनको स्वाद चखाउने लक्ष्यका साथ कुखुरा, हाँस र माछापालन व्यवसायलाईसमेत सँगसँगै अगाडि बढाएको चन्दले बताए। माछापालनका लागि तीनवटा पोखरी निर्माण गरिएका छन् । अहिले १२ हजार भुराबाट माछापालन व्यवसाय शुरु गरेका छौं, उहाँले भन्नुभयो – कमनकार्प, ग्रासकार्प र सिल्भर कार्प जातका माछापालन शुरु गरेका छौं । यसका लागि थप ४० हजार माछाको भुरा मगाएको पनि उहाँले जानकारी दिनुभयो । यसका साथै चन्दले अहिले दुईसय कुखुरा पाल्नुभएको छ भने ३०० हाँस पाल्ने योजनासहित आकर्षक खोरसमेत निर्माण गरेका छन् । चार वर्षसम्म कोरियामा बसेर फर्किएपछि आफ्नै ठाउँमा केही गरौँ भन्ने अठोटका साथ रिसोर्ट सञ्चालन गर्न लाग्नुभएका उहाँले कोरियामा हाँसको आकर्षक परिकार बनाउन सिकेको सीपलाई आफ्नो रिसोर्टमा पनि उपयोग गर्ने योजना रहेको बताए। ‘‘४० देखि ५० जनासम्म न्यूनतम रुपमा बास बस्नसक्ने गरी रिसोर्टको क्षमता विस्तार गर्दैछु, मिटिङ हल र पार्टी प्यालेससहितका सुविधा यहीबाटै प्रदान गर्ने गरी पूर्वाधार निर्माण भइरहेको छ’’– चन्दले भने । जीवनको महत्वपूर्ण समय वैदेशिक रोजगारीमा बिताउनु भएका चन्दले विदेशबाट आर्जन गरेको स्रोत, साधन र सीपलाई आफ्नै ठाउँमा रोजगारमूलक क्षेत्रमा लगानी गर्ने योजनाअुनसार रिसोर्ट सञ्चालन गर्न लागेका हुन्। वैदेशिक रोजगारीको सिलसिलामा कतार, मलेसिया, कोरियालगायतका मुलुकमा युवा अवस्थाको ऊर्जाशील समय खर्चिएका चन्दले आफ्नो रिसोर्टमा १० जनाभन्दा बढीले रोजगारी पाउने जानकारी दिएका छन् । अब दुई हप्ताभित्रै रिसोर्ट सञ्चालनमा ल्याउने तयारी गरिएको पनि उहाँले बताउनुभयो । रासस