विकासन्युज

एनआईसी एशिया क्यापिटलको सिईओमा झनकराज ढुंगेल नियुक्त

काठमाडौं । एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा झनकराज ढुंगेल नियुक्त भएका छन् । क्यापिटलको ३९औ सञ्चालक समितिको बैठकको निर्णयले ढुंगेललाई कम्पनीको सिईओमा नियुक्त गरेको हो । सिईओ ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आएका छन् । यस अघि ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध रहेका थिए । ढुंगेलले एनआईसी एशिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका रामचन्द्र खनालको स्थानमा कार्यभार समाल्ने कम्पनीले जनाएको छ ।

गोपाल खड्कालाई तत्काल बर्खास्त नगर्ने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गोपालबहादुर खड्कालाई नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकबाट वर्खास्त नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले आईतबार अन्तरिम आदेश दिएको हो । निगमको भण्डारण क्षमता बढाउनका लागि जग्गा खरिदमा भ्रष्टचार भएको भन्दै सरकारले खड्कालाई बर्खास्त गरेको थियो ।

जीवन बीमा गर्ने नेपालीको संख्या ४५ लाख, बार्षिक ३५ करोड बीमा शुल्क, साढे ८ करोड दावी भुक्तानी

काठमाडौं । पौने तीन करोड नेपालीमध्ये ४५लाखले मात्रै जीवन बीमा गरेका छन् । बीमा समितिका अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्ममा जीवन बीमा लेखको संख्या ४५ लाख २ हजार ६७ वटा पुगेको जनाएको हो । बीमा समितिले एक जनाले एक भन्दा बढि बीमा पोलिसी लिएको हुन सक्ने बताउँदै ठ्याक्कै संख्या भने एकिन गर्न कठिन हुने बताउँदै आएको छ । आर्थिक बर्ष २०७२/७३ मा कायम रहेको बीमा लेखको संख्या भन्दा यो ६ लाख २२ हजार २ सय ६७ ले बढि हो । एक बर्षमा १६ प्रतिशतले बढि बीमा लेखा बिक्रि भएको छ । सो आवमा जम्मा ३८ लाख ६९ हजार ८ सय जनाले मात्रै जीवन बीमा गरेका थिए । आव २०७२/७३ मा ३५ हजार ८ सय ५ वटा दावी वापत ६ करोड ९ लाख ५६ हजार भुक्तानी गरिएको थियो । सो आवमा जम्मा २३ करोड ८८ लाख २५ हजार बीमा शुल्क संकलन गरेको थियो । आव २०७३।७४ को असार मसान्तसम्ममा भने ५९० वटा दावीका लागि एक करोड १० लाख ३९ हजार रुपैंया दावी भुक्तानी गर्न बाँकी रहेको छ । ९ वटा जीवन बीमा कम्पनीहरुले सो आर्थिक बर्षमा ५९ हजार ६ सय ६४ वटा दावी वापत ३४ करोड ८७ लाख ५२ हजार बीमा शुल्क आर्जन गरेको देखिन्छ । बीमा समितिका निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच कम भएकाले नै नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिन सुरु गरिएको बताए ।‘बीमाको पहुँच न्युन भएकाले नै नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागिएको हो, बीमा बजार अब डबल डिजिटमा बढाउनु पर्छ’, समितिका निर्देशक पौडेलले विकासन्युजसँग भने ।

बैंकिङ प्रणालीमा तरलता कम हुने संकेत, एक महिनामा ४० प्रतिशत घट्यो

काठमाडौं । एक महिनाको अवधिमा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) ४० प्रतिशत घटेको छ ।बैंकिङ प्रणालीमा हाल ४२ अर्ब रुपैयाँ मात्र तरलता रहेको छ । गत भदौ २९ गते ७० अर्ब रुपैयाँ बढी तरलता थियो । झण्डै एक महिनाको अवधिमा २८ अर्ब रुपैयाँ घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसले विस्तारै बजारमा तरलता अभाव हुने संकेत गरेको छ । भदौको तुलनामा तरलता कम भएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । “तरलताको अवस्था तलमाथि भइरहन्छ, तर अहिले कम देखिएको छ” उनले भने “बैंकको लगानी बढेर वा आयात बढेरे यस्तो देखिएको छ, हेर्न बाँकी छ ।” तरलता बढी भएको भन्दै राष्ट्र बैंकले आइतबार बजारबाट ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । यसअघि २ पटक गरेर केन्द्रीय बैंकले ६ अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बजारमा तरलता कम नभएको बताउछन् ।

चिलिमे जलविद्युतले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण  गर्ने भएको छ । साथै, कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । सो निर्णय असोज २१ गते बसेको कम्पनीको ३३७औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी २१औँ वार्षिक साधारणसभाले पारित गर्नु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ४४ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर मूल्य ८२५ रुपैयाँ रहेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित

काठमाडौं । व्यवस्थापिका-संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आइतबार पारित भएको हो । साे दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्तुत गरे । त्यस्तै, बैठकले ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ लाई पनि सर्वसम्मतिले पारित गर्यो । महिला आयोग विधेयक पारित व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘महिला आयोग विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहित उक्त विधेयक सदनमा प्रस्तुत भएको थियो । बैठकमा दुई फरक समितिका वार्षिक प्रतिवेदन पेस भएका छन् । विधायन समितिका सभापति गंगा चौधरी सत्गौवाले ‘विधायन समितिको वार्षिक प्रतिवेदन, २०७४’ र सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले ‘सामाजिक न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन, २०७४’ बैठकमा पेस गरेका हुन् । व्यवस्थापिका-संसद्को अर्को बैठक यही असोज २४ गते दिउँसो १ बजे बस्नेछ । रासस

रेस्टुराँमा भाँडा माझ्ने भट्ट २९० रेस्टुराँका मालिक, एनआरएनको अध्यक्षमा उम्मेदवारी

काठमाडौं । अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उनको पहिचान बनेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गरेका भट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालनमा छ । उनका रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी जापान गएका थिए । जापान गइसकेपछि पढाई खर्च र दैनिक गुजारा चलाउन क्याम्पस समयबाहेक अरु समयमा उनी रोजगारमा संलग्न हुन थाले । महँगो ठाउँ भएकाले गुजारा चलाउन सुरुआती दिनमा रेस्टुराँमा भाँडा माझ्ने काम शुरु गरे । ती दिन सम्झना गर्दै भट्टले भने, “घरमा काम नगरी हुर्केको म सुरुआती दिनमा जापानमा रेस्टुराँमा भाँडा माझ्नुपर्दा धेरै अप्ठ्यारो लाग्यो, यति पढेको मान्छेले के भाँडा माझ्ने भन्ने सोचेर चित्त पनि दुख्यो ।” तर यस्तो सोचिरहेसम्म अगाडि बढ्न सकिँदैन, श्रमलाई सम्मान गर्नुपर्छ भन्ने निष्कर्षसहित भाँडा माझ्ने कामलाई पनि अवसरका रुपमा लिनुपर्छ भन्ने उहाँले योजना बनाए। उनले भने, “भाँडा माझ्ने काममा पनि केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो, मैले माझेको भाँडा अरुले माझेकोभन्दा सफा हुनुपर्छ भन्ने ठानेर अझ धेरै मेहनत गरेर भाँडा माँझे ।” उनको सो कामबाट प्रभावित भएपछि साहुले उनलाई दिँदै आएको घण्टाको ७०० जापानी ऐनमा ५० बढाएर ७५० पुर्याइदियो । कामप्रतिको लगाव देखेर साहुले उनलाई भाँडा माझ्ने कामबाट केही समयपछि वेटरको काममा बढुवा गरिदियो । यसरी ६ वर्षसम्म फरक/फरक रेस्टुराँ र होटलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न सफल भए । एउटै ठाउँमा काम गर्दा आलश्यता र निराशा बढ्ने ठहरसहित यो बीचमा उनले दर्जनौँ होटल तथा रेस्टुराँमा काम गरे । विशेषगरी खानपान र पेय पदार्थको व्यवसायबारे रुचिका साथै ज्ञान हासिल हुँदै गयो । सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना उनले बताए । जापान गएको छ वर्षपछि टोकियोको बिएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा उनले एउटा घाटामा गएको रेस्टुराँ किने । सुरुआती दिनमा नचले पनि बिस्तारै विभिन्न छुट र कार्यक्रम ल्याएपछि केही समयपछि रेस्टुराँ चल्न थाल्यो । सो रेस्टुराँबाट आएको फाइदाको रकमबाट त्यसको केही समयपछि नजिकै अर्को रेस्टुराँ किने । यसरी फाइदा बढ्दै गएपछि लगानी थप्दै गर्दा व्यवसायमा हात हालेको १४ वर्षमा उनले जापानमा २९० वटा होटल तथा रेस्टुराँ सञ्चालन गरेका छन् । ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको भट्टले जानकारी दिए । यस्तै उनले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गरिसकेका छन् । ‘कारोबार’ दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उहाँको लगानी छ । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई आत्मसात् गर्न रुचाउने भट्टको देशप्रतिको प्रेमकै कारण आफ्नो लगानी आगामी दिनमा नेपालमै बढाउने योजना रहेको बताउँछन् । विसं २०७२ मा भूकम्प गएको दुई घण्टापछि नै रु एक करोड पीडितलाई सहयोग गर्ने घोषणा गरेका भट्टकै अग्रसरतामा भूकम्पपीडितका लागि राहत तथा उद्धारमा गैरआवासीय नेपाली संघ ९एनआरएन० को ठूलो सहयोग नेपाल भित्रिएको थियो । नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको विरोधमा जापानस्थित भारतीय दूतावासमा उनकै नेतृत्वमा ज्ञापनपत्र बुझाएपछि अन्य देशमा समेत एनआरएनहरुले त्यहाँस्थित भारतीय दूतावासमा ज्ञापनपत्र र धर्ना दिएपछि नाकाबन्दीको विषय अन्तर्राष्ट्रियकरण हुन सहयोग पुगेको थियो । पछिल्लो समयमा ‘अतिथि देव भव’ अन्तर्गत नमस्ते अभियानमार्फत नेपालमा पर्यटक भित्र्याउने तथा पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नका लागि एकैपटक नेपालको प्रमुख शहर काठमाडौं, चितवन, पोखरा, लुम्बिनी गरी चारै शहरमा उनले अभियान सञ्चालन गरेका थिए । एनआरएनको अध्यक्षमा उम्मेदवारी गैरआवासीय नेपाली संघ ९एनआरएन० को अन्तर्राष्ट्रिय परिषद्को वर्तमान उपाध्यक्ष रहेका भट्टले यही असोज २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने एनआरएनको आठौँ विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गरे । एनआरएन जापानको अध्यक्ष, एनआरएनको अन्तर्राष्ट्रिय परिषद्को कोषाध्यक्ष र अहिले उपाध्यक्षको दोस्रो कार्यकालको अन्तिम चरणमा उनी छन् । आफू अध्यक्षमा निर्वाचित भएमा आफ्नो कार्यकाल एनआरएनका लागि नयाँ युगको सुरुआत गर्ने उनको लक्ष्य छ । आफ्नो कार्यकालमा एनआरएनको सदस्य संख्या दोब्बर बनाउने, महिला, युवा विभागलाई थप सशक्त बनाउने, नेपालमा एनआरएन र विदेशी लगानीका लागि वातावरण बनाउन प्रयास गर्ने तथा त्यसका लागि सरकारलाई दबाब दिनेलगायत उनको योजना छ । अहिलेसम्म भट्टबाहेक अरुले एनआरएनको अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गरेका छैनन् । उम्मेदवारी दिइहालेमा पनि स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको भट्ट बताउँछन् । रासस

‘संसारकै ठुलो’ बैंक डकैती विफल, ५०० मिटर सुरुङ खनेर ३५ अर्ब लुट्नखोज्ने गिरोहको भण्डाफोर

साओ पाउलो । ब्राजीलका प्रहरीले संसारकै सबैभन्दा ठुलो ‘बैंक डकैती’ गिरोहको भण्डाफोर गरेको छ । देशको साओ पाउलो शहरमा पाँच सय मिटर लामो सुरुङ खनेर सो डकैतीको योजना रचिएको थियो । यो सुरुङमा बत्ती र भेन्टिलेसन सिस्टमको पनि सुविधा छ । प्रहरीको जाँचबुझमा केहि चोरीएका गाडी फेला परेका छन् । शुक्रबार गर्नलागिएको डकैतीमा डाकुले ती गाडीको समेत प्रयोग गर्ने योजना रहेको प्रहरीले जानकारी दिएको छ । बेलायती अखबार ‘द गार्जियन’ का अनुसार गीरोहले भाडामा लिएर बसेको घरबाट सुरुङ खन्न सुरु गरेका थिए । यो सुरुङ बैंक अफ ब्राजीलको शाखामा गएर अन्त्य हुन्छ । ती गिरोहले डकैती गरेर करिब २५ करोड पाउण्ड (३५ अर्ब रुपैयाँ) भन्दा बढी लुट्ने योजना बनाएका थिए । मुख्य अनुसन्धानकर्ता फ्याबियो पिनहिरोले यो डकैती हुने थियो भने संसारकै सबैभन्दा ठुलो डकैती हुने बताए । उनले भने, ‘यो गिरोह निकै खतरनाक छ र यिनले लामो आपराधिक इतिहास बोकेका छन् । तिनीहरुमाथि हत्या जस्तै थुप्रै हिंसात्मक अपराधको आरोप छ। अधिकांश डाकुहरुको उमेर ३५ वर्षभन्दा माथीको हुनुपर्छ ।’ यो घटनामा अहिलेसम्म १६ जना अभियुक्तलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएका छन् । उनीहरुका अनुसार जम्मा २० जनाले मिलेर डकैतीका लागि करिब ४४ करोड रुपैयाँ खर्च गरेका छन् । प्रहरीले दुई महिनादेखि यो गिरोहमाथी कडा निग्रानी राखेको थियो । यो सुरंङलाई खन्नका लागि मात्र चार महिनाको समय लागेको थियो । हाल प्रहरीले ती गिरोहलाई फर्जी परिचयपत्रका भरमा घर भाडामा दिने एक महिलाको खोजी गरिरहेको छ। अधिकारीका अनुसार केहि अभियुक्तहरु सन् २०११को  साओ पाउलोको बैंक डकैतीमा पनि संलग्न थिए ।