ऊर्जामन्त्रीले भने : विदेशीले विमानस्थलमा झरेपछि पैसा बुझाउन थाल्नु पर्छ, यस्तो अवस्थामा जलविद्युतमा कसले लगानी गर्छ ?
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेशनले नेपालमा काम गर्न गाह्रो भएको गुनासो गरेको छ । नेपालमा विभिन्न प्रक्रियागत झमेलाले काम गर्न गाह्रो भएको गुनासो गरेको ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बताए । ७५० मेगावाट क्षमताको पश्चिमसेती जलासययुक्त आयोजना बनाउन नेपालमा विभिन्न झमेलाको सामना गर्नुपरेको थ्री गर्जेजको दावी छ । समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको ५ वर्ष बितिसक्दा पनि पश्चिम सेतीको काम प्रारम्भीक चरणमा छ । ०६९ भदौमा लगानी बोर्ड र थ्री गर्जेजबीच आयोजना बनाउन एमओयु भएको थियो । ऊर्जामन्त्रीले भने “काम गर्न समस्या भएकाले आयोजना अघि बढाउन नसकेको गुनासो गरेको छ ।” समस्या भएपछि उसले आयोजनाबाट फिर्ता हुने निर्णय भने गरेको छैन् । “हामी भन्दा १ वर्षपछि समझदारीपत्र (एमओयु ) गरेको थ्री गर्जेजले पाकिस्तानमा साढे ७ सय मेगावाटको जलविद्युत आयोजना सम्पन्न गरिसकेको छ” उनले भने “ नेपालमा एमओयु गरेको ५ वर्ष भयो आयोजना जहाँको त्यही छ ।” आयोजना अघि नबढनुमा नेपालको नियम कानून, कर्मचारीतन्त्र र राजनीतिक दल दोषी भएको शाहीले आरोप लगाए । विभिन्न झमेलाले गर्दा आयोजना समयमा नबन्ने गरेको उनको गुनासो छ । “विदेशी लगानीकर्ता विमानस्थलमा झरेपछि पैसा बुझाउन थाल्नु पर्ने अवस्था छ” उनले प्रश्न गरे “यस्तो अवस्थामा नेपालमा कसले लगानी गर्छ ? ।” केन्द्रमा कर्मचारी, राजनीतिक दल र स्थानिय तहमा टाठाबाठालाई पैसा दिएपछि मात्र काम हुने गरेको उनले बताए । यता लगानी बोर्डले आउदो नोभेम्बरभित्र आयोजना निर्माणको कार्ययोजना तयार गर्न साझेदार नेपाल विद्युत प्राधिरकण र थ्री गर्जेलाई भनेको छ । ६५ प्रतिशत थ्री गर्जेजको २५ प्रतिशत विद्युत् प्राधिकरण र १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दाको हुने गरी लगानी संरचना तयार गरिएको छ । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । नेपाली र चिनियाँ लगानीमा ७५ मेगावाट क्षमताका २ आयोजना सम्पन्न भएका छन् । ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए आयोजना सिनो हाइड्रो कर्पोरेशन र २५ मेगावाटको माथिल्लामो मादी ए चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशनको लगानीमा सम्पन्न भएको हो ।
एनबिआई र एमजिईएसबीच मानव संसाधन विकासका लागि शिक्षा सम्बन्धि सम्झौता
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबिआई) र मनिपाल ग्लोबल एजुकेशन सर्भिसेस( एमजिईएस) बीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । भारतको बैंगलोरमा भएको उक्त सम्झौता पत्रमा एमजिईएसका तर्फबाट भाइस प्रिसिडेन्ट बिमलजित सिंह भासिन एवं एबिआईका तर्फबाट प्रमख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एनबिआई र एमजिईएसले विभिन्न किसिमका तालिम, सम्मेलन र कार्यशाला संयुक्त रुपमा संचालन गर्ने पनि योजना छ । देशको अग्रणी बैंकिङ्ग एकाडेमी एनबिआईले सम्भौता गरेको यस एमजिईएस अन्तर्गतको एकेडेमी अफ बैंकिङ एण्ड फाइनान्सियल सर्भिसेस् भारतकै अग्रणी बैंकिङ्ग एकेडेमी भएको र यसले भारत लगायत एशियाका विभिन्न मुलुकका बैंक, इन्सुरेन्स र अन्य वित्तिय क्षेत्रका गरी ६० हजार भन्दा बढी कर्मचारीहरुलाई तालिम दिइ सकेको छ । हाल यस एकेडेमीसँग ४० भन्दा बढी विभिन्न बैंक तथा वित्तिय संस्थाहरु आवद्घ भई दक्ष जनशक्ति विकास गर्ने कार्यमा जुटेका छन् । एमजिईएस आफ्नो आवासिय तालिमहरु जयपुर र बैंगलोरमा अवस्थित अन्तराष्ट्रिय स्तरको क्याम्पसहरुबाट दिने गरेको छ ।
स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता १८३० रुपैयाँ मात्र
काठमाडौं । सोमबार स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ दशमलब ६६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १८३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १७९८ रुपैयाँ रहको थियो ।
नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउद पक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को महाप्रबन्धकमा चन्द्रसिहं साउद नियुक्त हुनेनिश्चित भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउँदलाई नेप्सेको महाप्रबन्धक नियुत्त गर्न प्रस्ताव गएपनि औपचारिक रुपमा निर्णय भएन् । अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिले आवेदन गरेका १३ जनामध्ये साउँदसहित प्रमोदराज शर्मा र मनोज ज्ञवालीलाई छनौट सूचिमा समावेश गरेको थियो ।उनी यस अघि नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए ।उनी नेपाली काँग्रेस निकट मानिन्छन् ।
नीकको क्षमतामा विस्तार, १३२ केभी क्षमताको विद्युतीय ट्रान्सफरमर उत्पादन गर्ने
काठमाडौं । स्वदेशी तथा वैदेशिक लगानीमा २५ वर्षअघि स्थापना भएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि(नीक) ले आफनो विद्युतीय ट्रान्सफरमर उत्पादन क्षमता विस्तार गरेको छ । कम्पनीले १३२ केभी क्षमताको विद्युतीय ट्रान्सफरमर उत्पादन गर्न सक्ने भएको छ । १८ टन क्षमताको सो ट्रान्सफरमर उत्पादनका लागि इकरातले भौतिक पुर्वाधार तयार गरी उत्पादन सुरु गर्न लागेको कम्पनीका प्रवन्ध निर्देशक कुशकुमार जोशीले बताए । नीक स्थापनाको रजत वर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा कम्पनीले न्युनतम १ केभीदेखि १३२ केभी क्षमतासम्मको विद्युतीय ट्रान्सफरमर उत्पादनको अवस्थामा पुर्याएको उनले जानकारी दिए । वि.स. २०४९ मा थाइल्याण्डको इकरात इन्जिनियिरङको ४८ प्रतिशत लगानी रहेको कम्पनीले हालसम्म ५ हजार केभीए क्षमताको ट्रान्सफर उत्पादन गर्न सफल भएको जोशीले बताए । ठुला ट्रान्सफरमर उत्पादन गर्न सफल भएको उनको दावी छ । कम्पनीले अर्धस्वचालित प्रविधिबाट ट्रान्सफरमर उत्पादन गरिरहेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाइ १० हजार भन्दा बढी थान ट्रान्सफरम बेचेको छ । यस्तै कम्पनीले हालसम्म ५ हजार बढी ट्रान्सफरमर भुटानमा निकासी समेत गरेको उनले जानकारी दिए । हाल पनि भुटानमा ट्रान्सफरमर निकासी भइरहेको छ । यस्तै बंगलादेशमा पनि निकासी भएको जोशीले बताए । ट्रान्सफरमर आयात प्रतिस्थापनका साथै निर्यात समेत गरेको उनको भनाई छ । थाइल्याण्डको साझेदारले कम्पनीलाई अघि बढाउन धेरै ठुलो सहयोग गरेको जोशीको भनाई छ । अप्ठेरो अवस्था आइपुग्दा पनि विदेशी साझेदारले ठुलो सहयोग गरेको उनले जानकारी दिए । उनले सबैको साथका कारण कर्मचारीलाई ५ महिनाको तलव बराबरको बोनस दिन सक्षम रहेको बताए । नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, एनसेल, ग्रामीण विद्युत सहकारी, उद्योग, होटल, निर्माण उद्योगले नीक ट्रान्सफरमर खरिद गरेका छन् । नीक कच्चपदार्थमा नभई प्रविधि र गुणस्तरमा आधारित रहेको उनको दावी छ । रजत वर्षको अवसरमा नीकले इन्जिनियरिङ अध्ययन संस्थानका इलेक्ट्रिक इन्जिनियरिङ समूहको अन्तिम वर्षका विद्यार्थीलाई खोज तथा अनुसन्धान काममा विद्युतीय ट्रान्सफरमर विषयको पाठ्यक्रम समावेश गराई ४ जनालाई शोधमा सहयोग गर्ने भएको छ । यस्तै सामुदायिक ग्रामीण विद्युतीकरण संस्थालाई २५ केभीए क्षमताको विद्युतीय ट्रान्सफरमर दिने भएको छ ।
अछामका सात स्थानीय तहमा बैंकिङ सेवा छैन
अछाम । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र छवटा गाउँपालिकामा कुनै पनि बैंकको शाखा खुल्न सकेको छैन । जिल्लाका विकटका गाउँपालिका तुर्माखाँद, रामारोशन, मेल्लेख, चौरपाटीका स्थानीयले त आर्थिक कारोबारका लागि सदरमुकाम पुगी दुई तीन दिन समय खर्चिनुपर्ने अवस्था रहेको छ । टाढाका स्थानीय तहमा बैंक नहुदा बैंकिङ सेवाका सबै काम गर्न दुई दिनसम्म हि“डेर सदरमुकाम आउनुपर्ने बाध्यतामा रहेको तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउछन् । सदरमुकाम पुगेर बैंकिङ सेवा लिनुपर्दा समय र पैसा दुवै खर्च हुने गरेको उनकाे भनाइ छ । स्थानीय तहमा बैंक नहुँदा करोडौँ बजेट झोलामा बोकेर लैजानुपर्ने भएकाले निकै असुरक्षा महसुस हुने गरेको चौरपाटी गाउ“पालिकाका लेखापाल मनोज थापाले बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि गाउँपालिकाको विकास बजेट झोलामा बोकेर लैजानुपर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो । उपभोक्ता समितिले पनि सदरमुकाममा तीन/चार दिन बसेर करोडौँ रकम भुक्तानी गरेर फर्किदा सुरक्षाको दृष्टिकोणले निकै खतरा रहेको स्थानीय बताउँछन् । गाउँपालिकामा बैंकिङ सेवाका लागि इमेल इन्टरनेट सेवा पनि आवश्यक हुने भएकाले आफूले इन्टरनेट जडानका लागि पहल गरिरहेको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले बताए । उहाँले बैंकिङ कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई छिट्टै अन्त्य गर्नका लागि आफू पहल गरिरहेको बताए । स्थानीय तह कार्यान्वयनमा आइसकेपछि केही बैंकले गाउ“पालिका र नगरपालिकामा शाखा स्थापना गर्न खोजे पनि सुरक्षित भवनको अभाव देखिएको बताएका छन् । तत्काल टाढाका गाउँपालिकामा सुरक्षाको पनि त्यतिकै समस्या रहेको नेपाल इन्भेष्टमेन्ट बैंक मंगलसेनका शाखा प्रबन्धक मनोज नेपालले बताए । रासस
युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने
काठमाडौं । हालै सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि युनियनले आगामी कात्तिक १३ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने युनियनले जनाएको छ । बीमा समितिले युनियनलाई दशैअघि जीवन बीमा कारोबार गर्न अनुमति दिएको हो । दशैअघि नै उसले कारोबार सुरु गरेको छ । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी रहेको छ । हाल कम्पनीमा ३ जना मात्र रहेको सञ्चालक समिति छ । अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन् । यस्तै वार्षिक साधारणसभामा गत आर्थिक वर्षको नाफा–नोक्सान तथा नगद प्रवाहको वित्तीय विवरण पारित हुने कार्यक्रम छ । संस्थापक सेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक चयनका लागि निर्वाचन हुने कार्यक्रम रहेको युनियनले जनाएको छ ।
सेयर बजार घट्न थालेपछि धितोपत्र बोर्डले भन्यो–राजनीतिक अस्थिर छ, बुझेर मात्र लगानी गर्नुस
काठमाडौं । सेयर बजार निरन्तर घट्न थालेपछि नियामक धितोपत्र बोर्डले कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्न सुझाएका छ । बोर्डले धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुबै हुने भन्दै अनावश्यक प्रचारप्रसार र कसैको वहकाउमा नलागी बजार र कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्न सुझाएको हो । पछिल्लो समयमा सेयर बजार अस्थिर हुने र घट्ने क्रम बढेपछि लगानीकर्तालाई बोर्डले सचेत गराएको हो । आइतबार नै बजार झण्डै ३३ अंकले घटेर नेप्से परिसुचक १ हजार ५१० मा झेरको थियो । कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेपछि उकालो लाग्नु पर्ने बजार लगातार ओरालो लागेपछि बोर्डले कम्पनीको लाभांश, व्यवस्थापन परिवर्तन, भावी योजना, अद्यावधिक वार्षिक प्रतिवेदन, क्रेडिट रेटिङको स्तर, नेटवर्थ, खुदनाफा र नोक्सान, जोखिम पक्ष जस्ता वित्तीय संचकाँक र साधारणसभाको निर्णय हेर्न लगानीकर्तालाई आग्रह गरेको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा बोर्डले बजारका लगानीकर्तालाई सन्देश दिदै धितोपत्र बजारमा देशको समग्र आर्थिक र राजनीतिक प्रभाव हुने भन्दै अहिले बजार घट्नुमा पछिल्लो समयमा विकासित राजनीतिक घटनाक्रम रहेको संकेत गरेको छ । पछिल्लो समयमा विकासित भएको राजनीतिक घटनाक्रमले बजार ओरालो लागेको निश्कर्ष बोर्डको छ । यसैगरी बोर्डले धितोपत्रमा हुने लगानी जोखिमलाई न्यन गर्न लगानी विविधिकरण गर्न सुझाएको छ । धितोपत्र बजारको जानकारीका लागि बोर्ड, नेपाल स्टक एक्सचेन्ज, अर्थ मन्त्रालया, नेपाल राष्ट्र बैंक र बीमा समितिका वेभसाइट निरन्तर हेर्न आग्रह गरिएको छ । बजारमा उतारचढाव आउन सक्ने भएकाले उपयुक्त सूचना लिएर संयमित तथा विवेकशील भई लगानी गर्न बोर्डले जानकारी गराएको छ ।