७ लाख रुपैयाँको लागतमा साबुन उद्योग सञ्चालनमा, एक किलोको मूल्य ९० रुपैयाँ
खोटाङ, ६ पुस । यहाँका दुई युवाको सक्रियतामा दिक्तेलमा साबुन उद्योग सञ्चालनमा आएको छ । दिक्तेल नगरपालिका– ९ का सुरेश कार्की र नरेन्द्र कार्कीको संयुक्त पहलमा हलेसी साबुन उद्योग सञ्चालन गरिएको छ । काठमाडौंबाट कच्चा पदार्थ ल्याई सो साबुन उद्योग सञ्चालन गरिएको हो । उद्योगका सञ्चालक सुरेश कार्कीका अनुसार सात लाख रुपैयाँको लागतमा डल्लो र आयतकार साबुन उत्पादन भइरहेको छ । तीनवटा साबुन राखिएको एक किलो बराबरको एउटा प्याकेटको मूल्य ९० रुपैयाँ तोकिएको छ । रासस
एभरेष्ट बैंकको सेयर मूल्य ४५ प्रतिशतले घट्यो, प्रतिकित्ता १८०० रुपैयाँमा कारोबार
काठमाडौं, ६ पुस । एभरेष्ट बैंकको सेयर बुधबार करिव ४५ प्रतिशतले घटेको छ । मंगलबार प्रतिकित्ता ३२६८ रुपैयाँमा कारोबार भएको यस बैंकको सेयर बुधबार प्रतिकित्ता १८०० रुपैयाँमा कारोबार भएको छ । आजदेखि बुक क्लोज भएकोले अब यस बैंकको सेयर किन्नेले गत आर्थिक वर्षको बोनस सेयर पाउँदैन । हिजोसम्म सेयर किन्नेले ७० प्रतिशत बोनस सेयर पाउँथे । नेप्सेले यस बैंककाे बाेनसपछिकाे समायाेजित मूल्य १८३२ ताेकेकाेमा त्याेभन्दा कम मूल्यमा सेयर काराेबार भएकाे छ । बुधबार पनि नेप्सेमा उच्च गिरावट आएको छ ।
हिमालयन जनरल इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने, साधारणसभा पुस २९ गते
काठमाडौं, ६ पुस । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएकोे छ । कम्पनीले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि एक दशमलब ०५ प्रतिशत नगद गरि सो मात्रामा लाभांश दिने प्रश्ताव राखेको थियो । कम्पनीले उक्त प्रश्तावहरुमा छलफल गर्न २३औं साधारणसभा पुस २९ गतेलाई बोलाएको छ । सो प्रयोजनको लागि पुस १३ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको बुक क्लोज रहने छ । कम्पनीको साधारणसभा काठमाडौंको थापाथली स्थित ट्रेड टावर नेपालमा हुने भएको छ ।
पुस १५ र १६ गते काठमाडौंदेखि सौराहासम्म मोटर र्याली हुँदै
काठमाडौं, ६ पुस । आगामी पुस १५ र १६ गते काठमाडौंदेखि सौराहासम्म मोटर र्याली हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को समन्वयमा लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले उक्त मोटर र्याली आयोजना गर्ने भएका हुन् । मोटर र्याली काठमाडौंको लैनचौरस्थित स्काउट कम्पाउन्डबाट प्रारम्भ हुनेछ । त्यसपछि दामन, हेटौंडा हुँदै सौराहा पुग्ने छ । समय, दुरी र गति (टीडीएस) प्रणालीका आधारमा आयोजना हुने उक्त र्यालीका विजेताहरुलाई पुरस्कृत समेत गरिने आयोजकको भनाइ छ । मोटर र्यालीले नेपालमा विकसित हुँदै गरेको ड्राइभ टुरिजम्लाई प्रवद्र्धन गर्नुका साथै सडक सुरक्षाको सन्देश समेत प्रदान गर्नेछ । त्यसैगरी यसले घुमफिर वर्ष २०७३ लाई प्रभावकारी रुपमा मनाउन पनि सहयोग गर्नेछ । यो ‘टेन्थ सिन्सियर सिटिजन मोटर र्याली’ हो ।
पैसा कमाउन खाडी गइरहनु नपर्ने, बोका- पाठी बेचेरै १५ लाख रुपैयाँ आम्दानी
मोरङ, ६ पुस । “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?” यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहेका फणीन्द्रप्रसाद सुवेदीको । सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । दुई बुढाबुढी, कान्छो छोरो अनि एकजना सहयोगीका साथ बाख्रापालन गरिरहेका सुवेदीको पहिलो भनाइ छ–“पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ ।” उनले विसं २०७० को असारमा सुरु गरेका हुन् । बाख्रापालन व्यवसायले काम र दाम मात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उनको भनाइ छ । अहिले सुवेदीको गोठमा १०० भन्दा बढी बाख्रापाठा छन् । स्थानीय जातका बाख्रामा उन्नत जातको बोको लगाएर उत्पादन गरिएका बोका–पाठीको माग धान्न उनलाई हम्मे–हम्मे छ । जन्मिने बित्तिकै ‘बुक’हुन्छ –फणीन्द्रकी पत्नी सावित्राले हौसिँदै भनिन्– “दुई बिगाहा जग्गामा धान खेती गर्दा पनि घरको गर्जो टार्न नसकेर छोरालाई वैदेशिक रोजगारमा पठाउनु भएका फणीन्द्रले बाख्रापालनमा पैसा देखेपछि जेठो छोरा टेकनाथलाई पनि घर बोलाएको बताए। आफ्नै घरमा व्यवसाय गर्न छोरालाई बोलाएको सावित्राको भनाइ छ । उनीहरूले अहिले धान रोप्न छोडेर एक बिगाहामा उन्नत जातको बाख्राको घाँस लगाएका छन् । तीन वर्षको अवधिमा बाख्रापालनमा उनको १० लाख रुपैयाँ लगानी भइसकेको छ । तर, लगानी भएसँगै बोकापाठी बेचेर उनले झन्डै वार्षिक १५ लाख रुपैयाँ आम्दानी लिइसक्नु भएको छ । सय पचास माउ बाख्रा बनाउने लक्ष्यका साथ व्यवसायमा होमिनु भएका सुवेदी भन्छन्– अहिले भएका बाख्रा र तीनवटा बोकाको न्यूनतम मूल्य नै पाँच लाख रुपैयाँभन्दा धेरै हुन्छ । व्यवसाय गर्न छिमेकी गाविस बयरवन–१ हरकपुरको बालसूर्य बचत तथा ऋण सहकारी संस्था लिले युवा स्वरोजगार कोषको रु दुई लाख कर्जा उपलब्ध गराएको हो । सोही रकमलाई परिचालन गरी व्यवसाय सुरु गर्नु भएका सुवेदी आगामी दिनमा मासुको लागि खसी पनि पाल्ने सोचाइमा छन् । बोका–पाठीको माग धान्नै गाह्रो भएकाले हाललाई यही व्यवसाय विस्तार गर्ने उनले बताए । जिउँदो बोका प्रतिकेजी एक हजार रुपैयाँ र पाठी प्रतिकेजी ७०० रुपैयाँका दरले बिक्री गरिरहनु भएका सुवेदी आफ्नै गाउँमा अझै ८÷१० वटा फर्म सञ्चालन गर्नु पर्ने बताउछन् । तीन महिनाको बोको २०÷२२ केजीको हुन्छ । यही मूल्यमा बेच्दा पनि एउटा बोकाको मूल्य सामान्यतया २० हजार रुपैयाँ पर्छ । मुलुकका धेरै स्थानमा युवा स्वरोजगार कोषको रकम दुरुपयोग भइरहेको खबर सञ्चारमाध्यममा आइरहेका बेला बालसूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमचन्द्र भण्डारीले भने आफ्नो संस्थामार्फत लगानी भएको रकम साँच्चीकै आयआर्जनमा लगानी भएको बताए । भण्डारीका अनुसार संस्थाले गाईभैँसी पालन, कुखुरा पालन, बङ्गुर पालन, व्यापार र घरेलु उद्योगमा ४० लाख रुपैयाँ लगानी गरेको छ । सबै सेयर सदस्यले लगानीलाई आयआर्जनमा परिचालन गरेको उनको भनाइ छ । रासस
विभिन्न सामाजिक काम गर्दै लक्ष्मी ग्रुपले ४३ औं वार्षिकोत्सव मनायो, निरन्तर सामाजिक उत्तरदायित्व वहन गर्ने प्रतिवद्धता
काठमाडौं, ६ पुस । लक्ष्मी ग्रुपले विगत ४३ औ वार्षिकोत्सवको अवसरमा पुस ५ गते विभिन्न समाजिक कार्यक्रमको आयोजना गरि कर्पोरेट डे मनाएको छ । स्थापना भएको ४३ वर्ष पूरा गरेको उपलक्ष्यमा लक्ष्मी गु्रपले आफनो प्रधान कार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा पोखरास्थित कार्यलयमा ५० जना काठमाडौंमा स्थित कार्यलयमा १०० जना गरि कुल १५० जनाले रत्तदान गरेका छन् । वार्षिक उत्सवको अवसरमा लक्ष्मी गु्रपको भातृ संस्था लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिल पुस ३ गतेका दिन पोखरा जिल्ला प्रहरीलाई २५ थान ड्यास कम प्रदान गरेको थियो । ट्राफिक सुरक्षा अभियान अन्तराष्ट्रिय हुन्डाई कर्पोरेट सामाजिक उतरदायित्वको मुख्य आधार रहिआएकोे छ । साथै चोभारस्थित जलविनायक मन्दिर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । नेपालमा भएका मष्तिस्क पक्षघातबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत एसजीसीपी नेपालका बालबालिकालाई स्कुल व्याग प्रदान गर्नुका साथै विभिन्न खेलहरुको आयोजना गरेको थियो । एसजीपीसी नेपाल पक्षघातबाट पिडित तथा उनका आफन्तजनको जीवन स्तर उकासनका लागि योगदान कार्यमा संलग्न संस्था हो । साथै लक्ष्मी ग्रुपका अन्य भातृ संस्थाहरु सुजल फुड्स प्रा.लि., सुजल डेरी प्रा.लि., जया प्याकेजिङ्ग प्रा. लि., सुजल प्लाष्टिक प्रा.लि., लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि. र जयमाँ इन्टरकिन्टनेन्टल प्रा.लि.कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । नक्सालस्थित बाल मन्दिरका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरिएको थियो । फालिका, कपनस्थित बालबालिका विकास समाजका बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरिएको थियो । साथै सुजल डेरीद्वारा हर्टविट संस्थाका बिधार्थीहरुलाई ५ ग्याल्लोन लभ बर्ड प्रिमियम आइसीक्रिम वितरण र विभिन्न मनोरञ्जनात्मक खेलको आयोजना गरेको थियो । विगत ४३ वर्ष जस्तै आगामी वर्षहरुमा पनि लक्ष्मी गु्रपले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
भारतबाट हुने कुल आयातमध्ये २८ प्रतिशत मात्र एलसीबाट, ७२ प्रतिशत कारोबार हातहातै
काठमाडौं, ६ पुस । भारतबाट नेपाल भित्र्ने वस्तु तथा सेवामध्ये २८ दशमलव ७ प्रतिशत लेडर अफ त्रेडिट(एलसी) मार्फत हुने गरेको एक अध्ययनले देखाएको छ । आयातकर्ता व्यवसायीले बाँकी अन्य व्यापार बैंकिङ उपकरण तथा सोझै नगद भुक्तानमार्फत गर्ने गरेको नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक व्यापारमा भुक्तानी प्रवृत्ति सम्बन्धी अध्ययनले देखाएको हो । गत आर्थिक वर्ष नेपालमा भारतसहित विभिन्न देशबाट सात खर्ब ७३ अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । आयातमध्ये भारतबाट चार खर्ब ७७ अर्बका वस्तु तथा सेवा आयात भएको हो । सो आयातमध्ये २८.७ प्रतिशतमात्र वैधानिक र पारदर्शीमाध्यम एससी मार्फत हुँदै आएको छ । कुल आयातको भुक्तानीमध्ये ५१ प्रतिशतमात्र एलसीमार्फत हुने गरेको छ । अन्य मुलुकबाट हुने व्यापारमध्ये ४९ प्रतिशत व्यापार ड्राफ, टीटी र सोझै नगद भुक्तानबाट हुने गरेको छ । भारतबाट नेपालमा दुई तिहाई व्यापार हुने गरेको छ । सो व्यापारमध्ये एक तिहाईले मात्र देशलाई पारदर्शी हिसावले राजस्व बुझाएर व्यापार गर्ने गरेको अध्ययनले देखाएको हो । तेस्रो देशबाट भने ७३.९ प्रतिशत व्यापार एलसीमार्फत हुने गरेकोे छ । वैदेशिक व्यापारको भुक्तानी प्रणालीमा एक मात्र वैधानिक उपकरण एलसी मानिदै आएपनि अझैसम्म नेपाली आयातकर्ता एलसीलाई छाडेर अन्य माध्यमबाट वस्तु तथा सेवा आयात गर्दै आएका छन् । यसरी हेर्दा भारतबाट हुने व्यापारमा कम वैधानिक र अन्य मुलुकको व्यापार तुलनात्मक रूपमा पारदर्शी भएको पुष्टि गरेकोे छ । आयातकर्ताले एलसीमार्फत पारदर्शी व्यापार नगरी अन्य बैंकिङ उपकरण तथा नगदैबाट वस्तु आयात गर्दै आएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । एलसी व्यापारले बलियो अर्थतन्त्र निर्माण गर्न सहयोग पु¥याउनुका साथै थोक तथा खुद्रा आयातकर्तालाई समेत आधुनिकीकरण गर्न सहयोग पु¥याउने राष्ट्र बैंकले जनाएको छ । एलसीमार्फत व्यापार गर्दा कर छल्न नपाइने भएकाले पनि व्यवसायीले यसको विकल्प खोजेका नगद तथा टीटीमार्फत व्यापार गरेका हुन् । त्यसो त नेपाली आयातकर्ता यस्तो वैधानिक कारोबारमा भन्दा हुण्डीमार्फत अबौं व्यापार हुने गरेको स्वयम् व्यवसायीहरुनै बताउँछन् । नेपालको आयात भुक्तान प्रवृत्तिलाई हेर्दा आयात संस्थागत नभइ साना–साना व्यवसायीको हातबाट हुने गरेको बुझिन्छ । ‘यो नेपाली आयातकर्ता संस्थागत तथा व्यवस्थित नभएको संकेत हो’, थापाले भने, नेपाली आयातकर्ता वस्तुको आयातमा भुक्तान गर्ने रकम सोझै नगद, ड्राफ या टीटीको माध्यमबाट गर्ने बुझिन्छ ।’ यसले नेपालमा अझै पनि व्यापार गर्ने कम्पनी संस्थागत भईनसकेको अर्थात कम्पनीमार्फत जुन किसिमको आयात हुनुपर्ने हो त्यो हुन नसकेको संकेत गरेको छ । वैदेशिक व्यापारको भुक्तानी प्रणालीमा एक मात्र वैधानिक उपकरण एलसी मानिदै आएको छ । तर, आयातकर्ताले एलसीमार्फत पारदर्शी व्यापार नगरी अन्य बैंकिङ उपकरण तथा उस्तै परे नगदैबाट वस्तु आयात गर्दै आएका छन् । एलसीमार्फत व्यापार गर्दा कर छल्न नपाइने नभएकाले पनि व्यवसायीले यसको विकल्प खोजेका हुन् ।
सपोर्ट माइक्रोफाइनान्सले एक करोड ८० लाख बराबरको साधारण सेयर चैतभित्र जारी गर्ने
काठमाडौं, ६ पुस । सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाले आगामी चैत्रभित्र नै साधारण सेयर जारी गर्ने भएको छ । फाइनान्सले सय रुपैयां अंकित एक लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो । बुधबार प्रेस वित्रप्ति जारी गरी कम्पनीले साधारण सेयर निष्कासनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको जनाएको छ । माईक्रोफाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रलाल ढकाल र एनएमबि क्यापिटलका श्रीजेश घिमिरेले सेयर निष्काशन सम्वन्धि सम्झौंतामा हस्ताक्षर गरे । कम्पनीको मुख्य कार्यालय सुनसरीको ईटहरीमा रहेको छ । फाईनान्सको ४ करोड ८० लाख चुक्तापुजँी रहेको छ । साधारण सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको कार्यक्षेत्र १० जिल्लामा रहेको छ ।