‘आईएमई छक्का-पञ्जा’ अफर अन्तर्गत न्यौपानेले पाए १० लाख नगद पुरस्कार
काठमाडौं । आईएमईका सेवाग्राही थानेश्वर न्यौपानेले आईएमई छक्का-पञ्जा’ अफर अन्तर्गत १० लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् । त्यस्तै तेस्रो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा युएई स्थित अल–अहलियाबाट नेपालमा पैसा पठाउने गौतम भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता गौतम वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छलाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् । मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने आईएमईले जनाएको छ ।
कतार एयरवेजले पूर्वी युरोप र नर्डिकका देशहरुमा सेवा बढायो, यस्तो छ नयाँ तालिका
काठमाडौं । कतार एयरवेजले पूर्वी युरोप र नर्डिकका मूलुकहरुमा आफ्नो सेवा दोब्बर बनाएको छ । यो एयरलाइन्सले प्राग, बार्सा र हेल्सिंकीमा जाने यात्रुको संख्या बढेपछि नयाँ तालिका सार्वजनिक गर्दै कतार एयरवेजले सेवा बढाएको हो । यो एयरलाइनले आगामी पुस (डिसेम्बरको मध्यदेखि) देखि नयाँ एयरबस ए३२०बाट प्रत्येक रुटमा अतिरिक्त दैनिक उडानको पनि व्यवस्था गरेको व्यवस्था गर्ने भएको छ । यो एयरबसमा थप १३२ वटा सिटको पनि व्यवस्था गरिएको छ । प्राग, चेक गणतन्त्र, हेलसिंकी, फिनल्याण्ड, वार्सा र पोल्याण्डमा प्रत्यक्ष सेवा सुरु गरेको आठ हप्तापछि सेवा विस्तार गरिएको कम्पनीले जानकारी दिएको छ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अकबर अल बकरले भने, ‘कतार एयरवेजले यात्रुलाई दोब्बर सुविधा दिन पाएकोमा खुसी छ। यसले हाम्रो कारोबार र यात्रु दुवैलाई मौका दिनेछ । ‘ यो एयरलाइनले हेलसिंकीसम्मको सेवाको विस्तार सोही रुटको वार्षिकोत्सवको अवसरमा सुरु गरेको थियो । अब यसले हेलसिंकी अन्तराष्ट्रिय विमानस्थलदेखि नर्डिक अन्तर्गतका मुलुकका शहरहरु ओस्लो, कोपेनह्यागेन, स्टकहोम र हेलसिंकीमा प्रत्येक साता ९८ ठाँउमा उडान सेवा दिनेछ । नयाँ तालिका दोहा-प्राग क्यु आर २८९ – सोमबार, बुधबार र आइतबार: २.३० देखि ६.५५ बजेसम्म क्यु आर २९१ – मंगलबार, विहीबार र शनिबार: ८.०० देखि १२.२५ बजेसम्म प्राग-दोहा क्यु आर २९० – मंगलबार, बुधबार, शुक्रबार र आइतबार: ८.२५ देखि ४.२५ सम्म क्यु आर २९२ – मंगलबार, विहीबार र शनिबार: ४.१० देखि ००.१० सम्म दोहा-बार्सा दैनिक क्यु आर २६१ दोहाबाट छुट्ने समय ४ बजे पुग्ने समय ८ बजे क्यु आर २६२ बार्साबाट छुट्ने समय २१.१० पुग्ने समय ४.५० प्लस १ दोहा- हेलसिंकी दैनिक क्यु आर ३०७ दोहाबाट छुट्ने समय ४ बजे पुग्ने समय २१.४५ क्यु आर ३०८ हेलसिंकीबाट छुट्ने समय २२.५५ बजे पुग्ने समय ०६.१५ प्लस १
निर्ब्याजी ऋण सहजरुपमा प्रदान गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिने निर्ब्याजी तीन लाख रुपैयाँ ऋण सहजरुपमा प्रदान गर्ने व्यवस्था मिलाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै बन्दै गरेको घर धितो राखेर पनि निर्ब्याजी ऋण पाइने व्यवस्था गरेको हो । प्राधिकरणले सरोकार भएका निकायलाई कर्जा प्रवाह सहजरुपमा गर्ने व्यवस्था मिलाउन पनि आह्वान गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, बैंकर्स एशोसियशन र महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधिलाई मन्त्रिपरिषद्बाट सोमबार स्वीकृत कार्यविधिअनुसार निजी आवास पुनःनिर्माणका लागि भूकम्पपीडितलाई तत्कालै निर्ब्याजी ऋण दिने काममा सहजीकरण गर्न निर्देशन दिएका छन् । “सरकारले कार्यविधि नै स्वीकृत गरिसकेको छ, त्यसैले लाभग्राही सूचीमा परेकालाई सहजरुपमा निर्ब्याजी ऋण दिने व्यवस्था मिलाउनुहोस्, कुनै पनि बहानामा भूकम्पपीडितलाई अल्झाउने प्रयास नहोस्” – उनले भने । बैठकले भूकम्पपछि निजी आवास पुनःनिर्माणको कार्यअन्तर्गत आवास अनुदानको किस्ता वितरणमा संलग्न रहेका बैंक तथा वित्तीय संस्थालाई निर्ब्याजी ऋण दिने प्रक्रियालाई उच्च प्राथमिकतामा राखी सहयोग गर्ने व्यवस्था मिलाउन बैंकर्स एसोसियसनमार्फत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । अनुदान वितरण कार्यमा संलग्न सबै बैंकलाई समेत निर्ब्याजी ऋण दिने कामलाई तीव्रताका साथ अघि बढाउने निर्देशन दिन प्राधिकरणले राष्ट्र बैंकलाई अनुरोध गरेको छ । सो अवसरमा बैंकर्स एसोसियनका अध्यक्ष अनिल केशरी शाहले सरकारको नीतिअनुसार निब्र्याजी ऋण प्रवाह गर्न कुनै अप्ठ्यारो नभएको भन्दै राष्ट्र बैंकसँग समन्वय गरेर कर्जा परिचालनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। प्राधिकरणले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई कर्जा प्रवाहलाई प्राथमिकतामा राखेर कार्य गर्ने निर्देशन दिन महालेखा नियन्त्रकको कार्यालयलाई समेत पत्राचार गर्ने निर्णय गरेको छ । बैठकले भूकम्प प्रभावित ३१ वटै जिल्लाका गाउँपालिका एवं नगरपालिकालाई दोस्रो र तेस्रो किस्ताका लागि आवेदन दिएका लाभग्राहीको निवेदन यथाशीघ्र जाँच गराई भूकम्प प्रतिरोधी ठहरिएका घरलाई तत्कालै भुक्तानीको प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको प्रवक्ता भुसालले बताए । रासस
दाङको राप्ती खोला बगरमा बल्यो ग्याँस
काठमाडौं । दाङ जिल्लास्थित राप्तीको बगरमा ग्यास फेला परेको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेका अनुसार गडवा गाउँपालिकामा पर्ने राप्ती नदिको बगरमा ग्यास निस्केको हो । ‘राप्ती नदिको बगरमा ग्यास निस्केको पुष्टि भएको छ, त्यो ग्यास बलिरहेको पनि छ, अब थप अध्ययन गर्दैछौं’, रजौरेले भने । राप्ती नदिको बगरमा ग्यास निस्केर बलिरहेको छ । सो ग्यास प्राकृतिक हो वा पेट्रोलियम हो भन्नेबारे थप अध्ययन हुने पनि उनले जानकारी दिए । ‘हामी आफैंले बगरमा ग्यास निस्केर बलेको पुष्टि गरेका छौं, त्यो प्राकृतिक हो वा पेट्रोलियम हो भन्न एकिन गर्न तिहार लगत्तै प्राबिधिक टोली पठाउँछौं’, रजौरेले भने । मिथेन ग्यासलाई प्राकृतिक ग्यास भनिन्छ जुन काठमाडौंको टेकु र ललितपुरको इमाडोलमा फेला परेको छ । यस्तो ग्यास पाइप लाइनबाट घर घरमा लगेर उपयोग गर्न सकिन्छ । दैलेखमा फेला परेको ग्यास भने पेट्रोलियम ग्यास हो । यस्तो ग्यसलाई उत्खननद्धारा सिलिण्डरमा भरेर उपयोग गर्न सकिन्छ । तराईका बिभिन्न क्षेत्रमा ब्लकहरु बनाएर सरकारले पेट्रोलियम पदार्थहरुको अन्वेषण तथा उत्खनन प्रक्रिया अघि बढाउन लागेको छ । १० वटा ब्लकको उत्खननका लागि ग्लोबल टेण्डर आव्हान गर्नै लाग्दा दाङमा ग्यास निस्केर बलेको हो । यसले पेट्रोलियम ग्यासको उत्खननका लागि आव्हान गरिने ग्लोबल टेण्डरमा सघाउ पुर्याउनेछ ।
डाबर रेड जेल अब नेपाली बजारमा, तीन साइजमा पाइने
काठमाडौं । डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा ल्याएको छ । डाबर रेड जेलले उपभोक्ताहरुलाई ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रदान गर्दछ । आयुर्वेदिक तत्वहरू जस्तै ल्वाङ, पुदिना, मरिचको समिश्रण रहेको डाबर रेड जेलले ताजापनका साथै दाँतलाई सुरक्षित राख्ने कम्पनीले जनाएको छ । डाबर नेपालका माकेर्टिङ हेड अभयप्रसाद गोर्खालीका अनुसार डाबर रेड जेल यस्तो आयुर्वेदिक जेल हो जसले आयुर्वेदको फाइदा आधुनिक रूपमा उपभोक्ताहरूलाई प्रदान गर्छ । साथै, ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रभावकारी रूपले प्रदान गर्ने गोर्खालीले बताए । बजारमा यो उत्पादन हाल ३ साइजमा पाइन्छन् । बजारमा १५० ग्रामलाई एक सय रुपैयाँ, ८० ग्रामकोलाई ६० रुपैयाँ तथा २५ ग्रामलाई २४ रुपैयाँमा पर्ने डाबर नेपालले जनाएको छ । डाबर नेपालले प्राकृतिक तत्वहरुबाट बनेका उत्पादनहरु प्रस्तुत गरी गुणस्तरीय सुविधा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
रिलायन्स फाइनान्सले ४५ प्रतिशत हकप्रद निष्काशन गर्ने, चुक्ता पुँजी ७४ करोड नाघ्ने
काठमाडौं । रिलायन्स फाइनान्सले पुँजी वृद्धि गर्नको लागि ४५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बुधबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १० बराबर ४ः५ को अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार फाइनान्सले १०० अंकित दरको २३ लाख ६ हजार ५७१ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २३ करोड ६ लाख रुपैयाँ बराबरको सेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडद्धारा निष्काशन गर्न लागेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड २५ लाख रुपैयाँ रहेको छ । ४५ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ रहेको छ ।
सरकारले चितवनबाट पर्सासम्म बाटो फराकिलो गर्ने
काठमाडौं । पर्साको थोरीदेखि चितवनको नारायणगढसम्मको बाटो फराकिलो बन्ने भएको छ । सडक विभागले ६८ किलोमिटर लामो सडक खण्डको स्तरोन्नती गर्ने भएको हो । थोरी–भरतपुर सडक खण्ड स्तरोन्नतिका लागि सडक विभागले वातावरण प्रभाव मुल्याङ्कन (ईआइए) प्रतिवेदन तयार पारीसकेको छ । उक्त आयोजना पर्साको अउरियाबाट सुरु भई भरतपुरको हाकिमचोकमा गएर अन्त्य हुनेछ । आयोजनाको मुख्य संरचनाहरुमा आयोजनाको डिजायन स्पीड १०० किलोमीटर प्रति घण्टा, सडकको स्ट्यान्डर्ड फिडर सडक, क्यारीजवेको चौंडाई ५.५ मीटर, साेल्डरको चौंडाई १.५ मी, फर्मेसनको चौंडाई ७.५–१० मीटर हुनेछ । साथै, ३ प्रतिशत भागमा कालापत्रे गर्ने भएको छ । त्यसैगरी, अधिकार क्षेत्र मध्य बिन्दुबाट दुबै तर्फ १५ किलोमीटरका दरले ३० मीटर कायम गरेको छ । यस आयोजनाबाट प्रभाव पर्न सक्ने क्षेत्र साविकको जगतपुर, पतिहानी, भरतपुर महानगरपालीका, साविकको गर्दी, अयोध्यापुरी, कल्याण्पुर, माडी नगरपालिका र साविकको थोरी गाउँपलीका रहेका छन् ।
उत्तर भारतमा चिनी कारखानाबाट ग्याँस चुहावट, करिब २०० विद्यार्थी विरामी
नयाँ दिल्ली । उत्तर भारतको शाम्ली जिल्लामा एक चिनी कारखानाबाट चुहावट भएको विषाक्त ग्याँसका कारण नजिकैको विद्यालयमा अध्ययन गरिरहेका करिब २०० विद्यार्थी विरामी परेपछि उनीहरूलाई उपचारका लागि भर्ना गरिएको भारतीय प्रहरीले जनाएको छ । विषाक्त ग्याँसका कारण विरामी बनेका विद्यार्थीलाई तत्कालै स्थानीय एक अस्पतालमा लगिएकोमा १७५ जना सामान्य उपचारपछि घर फर्केका छन् भन २५ जनालाई भर्ना गरी थप उपचार भैराखेको छ । विद्यार्थीले ग्याँसबाट भएको प्रदुषणका कारण पेट दुख्ने, वान्ता हुने, आँखा पोल्ने लगायतका समस्या भएको बताएपछि तुरुन्तै अस्पताल लगिएको थियो । उपचाररत दुई जनामा गम्भीर समस्या देखिएपछि उनीहरूलाई शाम्लीबाट पानीपट लगिएको राज्य प्रहरी नियन्त्रण कक्षका एक प्रहरी अधिकारीले बताए । स्थानीय केही समाचार माध्यमले प्रभावित विद्यार्थीको सङ्ख्या करिब ३०० रहेको बताएका छन् । सरकारले घटनाको तत्काल अनुसन्धान शुरु गर्न निर्देशन दिएको छ । रासस/सिन्ह्वा