गोल्डस्टार जुत्ताको नयाँ सोरुम अब सिभिल मल र जमलमा
काठमाडौं । गोल्डस्टार जुत्ताको पहिलो सोरुम अब सिभिल मल र जमलमा सञ्चालन भएको छ । यस जुत्ताको आधिकारीक उत्पादक किरण सुज म्यानुफ्याक्चरले मंगलबार आफनो पहिलो सोरुम सुन्धारा स्थित सिभिल मल तथा फ्रयानचाईज सोरुम जमल स्थित ज्योती मल नजिक उद्घाटन गरेको हाे । सो सोरुमले बजारमा उपलब्ध सबै थरिका जुत्ताहरु समाबेस गर्नुका साथै प्रसिद्ध हात्ती छाप चप्पल पनि बिक्री वितरणका लागि उपलब्ध गर्नेछ । सिभिल मल स्थित सोरुम चौथौँ तलामा अवस्थित छ भने जमल स्थित फ्रयानचाईज सोरुम, ज्योति मल नजिकै अवस्थित छ । कम्पनीका बजार निर्देशक वीदुशी राणले ग्राहकवर्गको बढदो माग र ब्राण्डको लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीले भर्खरै नयाँ सोरुमहरु सञ्चालनमा ल्याएको जानकारी दिए । साथै, आगामी दिनहरुमा कम्पनीले अधिराज्यभर सोरुम विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । सोरुम फ्रयानचाईजका लागि ईच्छुक फर्म वा व्यक्तिले कम्पनीमा सम्पर्क राख्न सक्नेछन् । किरण सुज म्यानुफ्याक्चरले गोल्डस्टारका लागि विभिन्न थरिका जुत्ताहरु उत्पादन गर्दै आएको छ ।
सरकार नछाडेपछि प्रधानमन्त्री देउवाले १७ माओवादी मन्त्रीलाई बनाए विनाविभागीय
काठमाडौं । सरकार नछाडने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले १७ जना माओवादी मन्त्रीलाई जिम्मेबारीबाट हटाएर विनाविभागीय बनाएका छन् । उनले मन्त्रालयको जिम्मेबार हेरफेर गरेका छन् । विनाविभागीय भएका मन्त्रीहरुमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, प्रभु शाह, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु विनाविभागीय भएका छन् । यस्तै मओवादीबाट नियुत्त राज्यमन्त्री पनि स्वत विनाविभागीय भएका हुन् । गृह र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखेका छन् । यस्तै उपप्रधान तथा ऊर्जामन्त्रीमा कमल थापा नियुत्त भएका छन् । मंगलबार दिउसो तत्कालिन गृहमन्त्री शर्माले निर्वाचन सार्ने कुरा आएकाले सरकार नछाड्ने जानकारी गराएका थिए । उनले संसद पनि नभएको अवस्थामा सरकारले चुनाव नगराउने आशंका गर्दे तत्काल सरकारबाट नहट्ने निर्णय भएको उनले सुनाए । मनोनयनपत्र दर्ता हुने दिनसम्म बस्ने उनको भनाई छ ।
गोपालबहादुर खड्कालाई कारबाही गर्न निर्वाचन आयोगले बाटो खोल्यो, मन्त्रालय झिकाइने
काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई मन्त्रालय झिकाउने भएको छ । निगमको भण्डारण क्षमता बढाउनका लागि जग्गा खरिदमा भ्रष्टचार भएको भन्दै मन्त्रालय झिकाउन लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता मुकुन्द पौड्यालका अनुसार निर्वाचन आयोगले खड्कालाई मन्त्रालय झिकाउनका लागि सहमती प्रदान गरेको छ । उनले भने, ‘करिब दुई साता अगाडी हामीले खड्कालाई मन्त्रालय झिकाई काममा लगाउन सहमती जनाउन निर्वाचन आयोगसँग माग गरेका थियौं ।’ मंगलबार निर्वाचन आयोगले आपूर्ति मन्त्रालयले माग गरेअनुसार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई उक्त मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ । गत असोज २२ गते सर्वोच्च अदालतले गोपालबहादुर खड्कालाई नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकबाट वर्खास्त नगर्न अन्तरिम आदेश दिएको थियो । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश दिएको थियो । मन्त्रीपरिषध कार्यालयले खड्कालाई बर्खास्त गरेपछि उनी सर्वोच्च पुगेका थिए । आपूर्ति मन्त्रालयले असोज २६ गतेको पत्रबाट कार्यकारी निर्देशक खड्कालाई तोकिएको कार्य शर्तअनुसार कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यका लागि मन्त्रालयमा झिकाई काममा लगाउन भनी सहमति माग गरेको थियो । आयोगको आचारसंहितासँग सम्बन्धित मिति ३० गते बसेको बैठकले सहमति प्रदान गर्ने निर्णय गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
सिनर्जी फाइनान्सको कात्तिक १७ गतेको वार्षिक साधारणसभा स्थगित
काठमाडौं । सिनर्जी फाइनान्सको आगामी कात्तिक १७ गतेको दिन बोलाइएको ९औँ वार्षिक साधारणसभा स्थगित भएको छ । यस कम्पनीलाई बेष्ट फाइनान्स कम्पनीले प्राप्ती गर्ने प्रारम्भिक सहमति भई सैद्धान्तिक सहमतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गरिएकोले कात्तिक १७ गते गरिने सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । साथै, अर्को सूचना प्रकाशित नगरिएसम्मको लागि यस कम्पनीको साधारणसभा स्थगित गरिएको हो ।
नेसनल ट्रेडिङले १० करोड बचतमा राख्न बैंकसंग माग्यो प्रस्ताव
काठमाडौं । बन्द हुन लागेको नेसनल ट्रेडिङ लिमिटेडले आफुसंग भएको वचत बैंकमा राख्ने भएको छ । नेसनलले हाल १० करोड रुपैयाँ कलडिपोजिटका रुपमा केही महिना मौज्दात राख्न बैंकसंग प्रस्ताव मागेको छ । उसले वाणिज्य बैंकमा सो रकम राख्ने जानकारी गराएको छ । नेसनलले आवश्यक परेको बेला झिक्न मिल्ने, ब्याज दर घटेमा १ महिनाअघि जानकारी दिनुपर्ने भनेको छ । प्रस्ताव पेश गर्ने अन्तिम मिति कात्तिक ८ गतेलाई तोकिएको छ ।
धनत्रयोदशीमा सुनचाँदीको कारोबार ह्वात्तै बढ्यो, एकैदिनमा २१ करोड ७० लाख मूल्य बराबरको धनतेरास बिक्री
काठमाडौं । तिहार नजिकिएसँगै सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । तिहारमा धनत्रयोदशीका दिन द्रव्य (धनतेरास) जोड्ने विश्वास भएकाले सुनचाँदीको माग बढेको हो । लक्ष्मीपुजाको एक साता अगाडीदेखि सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । मंगलबार एकैदिनमा २१ करोड ७० लाख रुपैयाँ बराबरको सुनचाँदीको कारोबार भएको सुनचाँदी व्यवसायीले जनाएका छन् । मंगलबार करिब ४ करोड ७० लाख मूल्य बराबरको चाँदी र १७ करोड मूल्य बराबरको सुन कारोबार भएको महासंघको अनुमान छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले मंगलबार ४० किलो भन्दा बढी सुन तथा ७०० किलो भन्दा चाँदीको कारोबार भएको जानकारी दिएका छन् । धनत्रयोदशीमा सुन भन्दा पनि चाँदीको कारोबारमा शत प्रतिशतले बृद्धि भएको हो। शाक्यका अनुसार लक्ष्मी पुजाको एक साता अगाडीदेखि चाँदीको कारोबार बढिरहेको छ । सामान्य अवस्थामा चाँदी दैनिक १५० किलो बिक्री हुने गरेको चाँदी आज साढे चार गुणा बढी कारोबार भएको हो । सुन पनि सामान्य अवस्था भन्दा १५ किलो बढी कारोबार भएको शाक्यले जानकारी दिए। उनका अनुसार अरुबेला बढिमा दिनको २० देखि २५ किलोसम्म सुन कारोबार हुन्थ्यो। तिहारमा लक्ष्मीपुजा आउने एक साता अघिदेखि नै सुनचाँदीको कारोबार बढ्दै जाने गरेकोमा यसपाली भने ढिलो कारोबार बढेको उनले बताए । उनले भने, ’यसपाली सुनको कारोबार आइतबारदेखि मात्र बढ्न थालेको हो ।’ हिन्दु धर्मअनुसार लक्ष्मीपूजाका लागि कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात धनत्रयोदशीमा द्रब्य जोड्नु राम्रो मानिन्छ । धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न धनतेरास (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ । धनत्रयोशीमा सुनचाँदी खरिद गर्ने परम्परा भारतबाट सुरु भएको शाक्यले जानकारी दिए । ’करिब १५ वर्ष अगाडीदेखि नेपालमा भारतीय टिभी च्यानलले धनत्रयोदशीमा सुनचाँदी चढाउनुपर्छ भनेर प्रचारबाजी गर्न थाल्यो । त्यसैको प्रभाव स्वरुपमा नेपालीमा धनतेरास चढाउने प्रचलन सुरु भयो । पौराणिक मान्यता अनुसार पनि लक्ष्मीपुजामा पित्तलको भएपनि भाँडा चढाउँदा फलिफाप हुन्छ भन्ने छ ।’ आज सुन चाँदी पसलहरु विशेष तवरले झकीझकाउ बनाइएको छ । नयाँ सडक क्षेत्रका सबै गहना पसलमा बिहानैदेखि ग्राहकको घुइँचो लागेको थियो । साँझ पर्दै जाँदा किन्नेको भिडभाड अझ बढेको व्यवसायीहरुले बताएका छन् । सुनको मूल्य समेत सस्तियो साताको सुरुवातदेखि सुनको भाउ ओरालो लागिरहेको छ । साताको पहिलो तीन दिनमा सुनको भाउ २ सय रुपैयाँ सस्तिएको छ । आइतबार प्रति तोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ मंगलबार ५६ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रति तोला ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तिहार तथा छठको अवसरमा टेलिकमले दियो ८ सेवामा विशेष छुट, कुन कुनमा के के दियो?
काठमाडौं । नेपाल टेलिकमले तिहार तथा छठको अवसरमा कम्पनीका विभिन्न ८ सेवाहरुमा विशेष छुट दिएको छ । सो अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराइएको छ । कम्पनीका अनुसार ५० रुपैयाँ, १०० रुपैयाँ, २०० रुपैयाँ, ५०० रुपैयाँ र १००० रुपैयाँका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी, १० रुपैयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । यो अफर २०७४ कात्तिक १ देखि ३ गतेसम्म रहने छ । २. युट्युब डाटा प्याक: जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराइएको छ । यो प्याक २०७४ कात्तिक १ देखि १५ गतेसम्म लिइसक्नु पर्ने कम्पनीले जनाएको छ । ३. कम्बो प्याक: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक उपलब्ध गराइएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध गराइएको छ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन तथा ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने व्यवस्था छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ । ४. भ्वाइस प्याक: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि प्याकेज उपलब्ध छ । ५० रुपैयाँमा ७५ मिनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध गराइएको छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ । ५. पीएसटीएन/सीडीएमए फिक्स्ड फोनमा बोनस: पीएसटीएन/सीडीएमए फिक्स्ड फोन सेवाका ग्राहकहरुलाई न्यूनतम मासिक महसुल २०० रुपैयाँमा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा कात्तिक महिनामा १०० स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ । ६. एडीएसएल/एफटीटीएच/वाईम्याक्स अफर: कात्तिक २ देखि ८ गतेभित्र अनलिमिटेड र भोलुम बेसड एडीएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ९ गतेसम्म थप गरिएको छ । त्यसैगरी सोही अवधिमा एफटीटीएच/वाईम्याक्स अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि कात्तिक ९ गतेसम्म थप गरिएको छ । ७. एसएमएसमा छुट: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा कात्तिक २ देखि ९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिने व्यवस्था गरिएको छ । ८. फोरजी सिम निःशुल्क परिवर्तन: कम्पनीले कात्तिक १ गते देखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर र भक्तपुर तथा पोखराका नेपाल टेलिकमका काउन्टरबाट यू सिम परिवर्तन गर्न सकिन्छ । कम्पनीले यस अघि दशैंको अवसरमा असोज ५ देखि १९ गतेसम्म पनि यस्तै प्रकारका विभिन्न अफर उपलब्ध गराएको थियो ।
सेयर बजारमा उतारचढाव, नेप्से ५ अंकले ओर्लियो
काठमाडौं । सेयर बजारमा उतारचढाव भएको छ । सोमबार ४६ अंकले उकालो लागेको नेप्से मंगलबार फेरि ५ अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ५.७२ अंकले झरेर १५५९ अंकमा अडेको छ । मंगलबारको बजारमा पनि तीव्र उतारचढाव आएको छ । बजार खुलेको करिब पौने घन्टामै नेप्से करिब १६ अंकले ओरालो लागेर १५५२ अंकमा झरेको थियो । फेरी करिब साढे १२ बजे बजार बढेर १५७३ अंकमा पुगेको थियो । त्यसपछि भने नेप्से निरन्तर ओरालो लागेर बजार बन्द हुँदा १५५९ अंकमा अडेको छ । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबारमा भने सामान्य वृद्धि भएको छ । मंगलबार १६२ कम्पनीको ६१ करोड २० हजार रुपैयाँ बराबरको सेयर किनेबेच भएको छ । सोमबारको बजारमा भने ६० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ४१ अंकले ओरालो लागेको छ । सो दिन हाइड्रो, ट्रेडिङ र अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सोही दिन हिमालयन डिष्टीलरीको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । बजारमा सबैभन्दा बढी बेष्ट फाइनान्सका लगानीकर्ताले ९.८७ प्रतिशत कमाएका छन् ।