आन्तरिक राजस्व विभागले उठायो लक्ष्यभन्दा २९ करोड बढी राजस्व
काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७४/०७५ असोज महिनासम्म लक्ष्य भन्दा २९ करोड रुपैयाँ बढी राजस्व उठाएको छ । विभागले ३ महिनाको अवधिमा ५१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिसम्मको राजस्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड रुपैयाँ थियो । गत वर्षको असोजसम्मको असुलीको तुलनामा याे असाेजमा २४ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार आयकर तर्फ २० अर्ब ७३ लाख, मूल्य अभिवृद्धि कर १८ अर्ब ३२ करोड र अन्तःशुल्क तर्फ १२ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९७ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०३ प्रतिशत हो । त्यसैगरी, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः २० करोड २२ लाख र २७ करोड ७९ लाख रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको विभागले जनाएकाे छ । गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । विभागलाई चालु अावका लागि २ खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख रुपैयाँ लक्ष्य तोकिएको छ । विभागलाई लक्ष्यभन्दा अझै २० प्रतिशत बढी राजस्व संकलन गर्न महानिर्देशक किशोरजंग कार्कीले निर्देशन दिएका छन् । कार्कीले भदौ अन्तिम साताबाट शुरु भएको बजार अनुगमनलाई तीव्र, प्रभावकारी र शसक्त बनाउन उक्त निर्देशन दिएका हुन् ।
सिप्रदी ट्रेडिङद्धारा एश्वर्य चलचित्रको र्याली आयोजना
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा. लिले राजधानीमा टाटा ब्राण्डका गाडीहरुसहित एश्वर्य चलचित्रको र्याली आयोजना गरेको छ । सिप्रदीले हालै सार्वजनिक भएको नेपाली कथानक चलचित्र एश्वर्यको बजार प्रर्बदन गर्ने हेतुले उक्त र्यालीको आयोजना गरेको हो । कम्पनीका अनुसार टाटा टियागोको फोटो अंकित एश्वर्य चलचित्रको पोष्टर टाँसिएका टाटाका गाडिहरुद्धारा बुधबार काठमाडौं नगरका विभिन्न क्षत्रेहरुमा नगर परिक्रमा गरिएको थियोे । कम्पनीले नेपाली चलचित्र उद्योगको विकास र बृद्धिमा सकारात्मक योगदान गर्ने आफ्नो उद्देश्य अनुसार एश्वर्य चलचित्रको र्याली आयोजना गरी बजार प्रर्बदन गरिएको जनाएको छ । र्यालीमा एश्वर्य चलचित्रको निर्माता, निर्देशक, कलाकार लगाएत कम्पनीको तर्फबाट विभिन्न व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।
व्यवसायीलाई चुनाव दशा कि दशैं, कति दिन्छन् चन्दा ?
काठमाडौं । ‘हाम्रो जस्तो मुलुकको चुनावमा दल र उम्मेदवारले चन्दा माग्नु स्वभिावक हो, मन परेका उम्मेदवार र दललाई चन्दा दिने हो तर कति दिन्छौं भन्ने चाँही खुलाउने कुरा होइन’, यो भनाई हो नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि वर्तमान विश्व परिवेशमा चन्दा अनिवार्य सर्त जस्तै भएको र नेपाली उद्यमी व्यवसायीले पनि त्यसलाई सहज रुपमा लिएको बताउँछन् । ‘राजनीतिक दल पनि समाजकै अंग हुन, चुनाव लड्न पैसा चाहिन्छ र हामी उद्यमी व्यवसायीले पनि चन्दा दिन्छौँ तर जबरजस्ती गर्न भने पाइँदैन’, गोल्छाले भने । परिसंघ अध्यक्ष शर्मा, महासंघ बरिष्ठ उपाध्यक्ष गोल्छा र चेम्बर महासचिव अग्रवाल नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालले भने उद्यमी व्यवसायी नै राजनीति र चुनाव मैत्री बन्दै गएको पनि बताए । ‘निर्वाचन, चन्दा र व्यवसायी एक अर्काका परिपूरक नै हुन, अहिले त व्यवसायी पनि राजनीति र चुनावमैत्री भैसकेका छन, कतिपय व्यवसायी नै उम्मेदवार बनिरहेका छन्’, चेम्बर महासचिव अग्रवालले भने । उनले पनि चन्दा कति दिने भन्ने कुरा सार्वजनिक गर्न नमिल्ने दावी गरे । ‘सिस्टमले चन्दा कति दिने भन्नेबारे बोलेको छ, त्यो हुबहु कार्यान्वयन हुने अवस्था छैन, त्यसैले चन्दा कसलाई कति दिईयो भनेर सार्वजनिक गर्नै मिल्दैन’, अग्रवालले भने । तर हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारहरुले जबरजस्ती चन्दा माग्ने गरेको गुनासो महासंघ बरिष्ठ उपाध्यक्ष गोल्छाको छ । यसपालीको चुनावमा पनि जबरजस्ती चन्दा मागिएको गुनासो देशभरका व्यवसायीले गरिरहेको उनले बताए । गोल्छाले चेकमा चन्दा दिन पाउनुपर्ने र त्यसलाई खर्चमा गणना गर्न पाउनुपर्ने माग समेत गरे । तर दलहरुले चन्दा नगदमै माग्ने गरेको तथा त्यसलाई खर्चका रुपमा उल्लेख गराउने व्यवस्था नभएकोमा उनले गुनासो पनि पोखे । दल र चिनजानका उम्मेदवारहरुलाई कतिसम्म चन्दा दिने गर्नु भएको छ ? भन्ने प्रश्नमा गोल्छा भन्छन,‘यो नितान्त व्यक्तिगत कुरा हो, चन्दा कसलाई कति दिने भन्ने कुरा खुलाउन मिल्दैन ।’ चुनाव दशैं कि दशा ? चुनावमा सरकारी कोष र दल तथा उम्मेदवारले समेत मोटो रकम खर्च गर्ने भएकाले अर्थतन्त्रका लागि भने यसलाई सुखद मानिन्छ । निर्वाचन भएका वर्षहरुमा आर्थिक वृद्धिदर समेत राम्रो हुने गरेको छ । एकातिर व्यापार बढ्ने र अर्का तिर चन्दा दिनुपर्ने भएकाले व्यवसायीले चुनावलाई दशैं र दशाका रुपमा पनि लिने गरेका छन् । ‘एकथरी व्यवसायीको व्यापार बढ्छ, उनीहरुका लागि यो दशैं हो, अर्काथरी चन्दाको दवावमा हुन्छन, उनीहरुका लागि चुनाव दशा हो, तर चुनावपछि स्थायीत्व आउने आसमा हामीले दशैंका रुपमा लिने गरेका छौं’, परिसंघका अध्यक्ष शर्मा भन्छन् । चुनावले उपभोग बढाउने, अर्थतन्त्रलाई चलायमान बनाउने भएपनि औद्योगीक उत्पादन बढाउन भने यसको खासै ठूलो योगदान नहुने उनको तर्क छ । गोल्छा पनि स्थिर राजनीति र लगानी मैत्री वातावरणका लागि चुनावलाई दशापछिको दशैं पर्वको आसमा लिने गरेको बताउँछन् ‘चन्दाको त्रास भएपनि चुनावपछि लगानी मैत्री वातावरणका लागि हामीले दशैंको प्रतिक्षा गरे जस्तै हो’, गोल्छाले सुनाए । संसारका अधिकांश मुलुकमा चन्दाबाटै राजनीतिक दलहरुले चुनाव खर्चको जोहो गर्दै आएका छन् । नेपालमा पनि राजनीतिक दलहरुका लागि चन्दा नै चुनावी अर्थतन्त्रको मुल अस्त्र बन्दै आएको छ ।
बजाज बाइकको ‘६ नि शान’ योजना अन्तर्गत भण्डारीले पाए ६ लाख रुपैयाँ
काठमाडौं । नेपालका लागि बजाज बाइकको ‘६ नि शान’ योजना अन्तर्गत स्क्रयाच कुपनमा धापासीका दोलराज भण्डारीले ६ लाख रुपैयाँ पाएका छन् । भण्डारीले काठमाडौँको टेकु स्थित एचएच बजाजको शोरुमबाट बजाज बाइक खरिद गरेपछि स्क्रयाच कुपनबाट साे मात्रकाे रकम प्राप्त गरेका हुन् । दशैं तिहारको अवसरमा लागु गरिएको यस योजना अन्तर्गत हरेक ग्राहकले बजाज बाइकको खरिदमा एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । जस मार्फत ग्राहकहरुले ६ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्मको तत्काल निश्चित पुरस्कार प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत धेरै जना ग्राहकहरुले नगद पुरस्कार जितिसकेका छन् । सो योजना अहिले पनि सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनी हो।
नारायणगढ-मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु, लागत २७ करोड
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा रहेका पुलमध्ये चार वटा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ । सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ती पुल निर्माण गर्न हाल सोही सडक निर्माण गरिरहेका दुई ठेकेदार कम्पनीलाई ठेक्का दिइएको हो । जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको छ भने अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । जलवीरे पुल ८० मिटर लामो छ भने मौरीपुल ३० मिटर, खानीपुल ३० मिटर र दासढुंगा पुल २० मिटर लम्बाइका छन् । ती पुलको चौडाइ भने ११ मिटर हुने इन्जिनियर खनालले बताए । हाल पुल भइरहेका ठाउँ नजिकैबाट नयाँ पुल निर्माण गरिने भएकाले सवारी आवागमनमा पुलले कुनै बाधा नपुर्याउने बताइएको छ । जलवीरे पुल रू १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड रहेको छ । एक्काइस महिनाभित्र निर्माण गरिसक्नुपर्ने ती पुलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले आउँदो साताबाट पुल निर्माणको काम शुरु हुने इन्जिनियर खनालले जानकारी दिए। सडक विभागको वैदेशिक महाशाखाले पुल निर्माणको अनुगमनको जिम्मेवारी नारायणगढ–मुग्लिन सडक आयोजनालाई नै दिएको छ । सो सडकमा १८ वटा पुल रहेका छन् । अन्य पुलको निर्माणका लागि भने विश्व बैंकले चासो दिएकाले सडक विभागको वैदेशिक महाशाखाले गृहकार्य गरिरहेको छ । सडकको स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगिरहेका बेला पुल पनि फराकिला बनाइने भएको हो । हाल सो सडकमा रहेका पुल पाँच मिटर हाराहारी मात्र चौडा रहेका छन् । रासस
एनसेल र आईफ्लिक्स बीच सहकार्य, ग्राहकलाई असिमित डेटा र आइफिल्क्समा पहुँच
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले यहि बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यस अन्तर्गत एनसेलका ग्राहकले बिहीबार (असोज २६) देखि तीन महिना सम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेका दिन बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क मजा लिन सक्नेछन् । ‘‘आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्न आईफ्लिक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौ । देशको विभिन्न १९ सहरमा फोरजी सेवा विस्तार पश्चात गरिएको यो सहकार्य डिजिटल नेपाल निर्माणको कार्यमा योगदान पुर्याउन एनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ,’’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने । एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहित मात्र रु ५० मा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ । यो प्याक अन्र्तगत ग्राहकले आईफ्लिक्समा रहेका कन्टेन्टहरु मध्य कुनै पनि कन्टेन्टको एक घण्टा सम्म मजा लिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि लिन सक्नेछन् । विश्वका विभिन्न २२० भन्दा बढि स्टुडियो तथा डिस्ट्रिब्युटरसँगको साझेदारीमा आईफ्लिक्सले ग्राहकमाझ उनीहरुले रुचाएका प्रसिद्ध, समीक्षकले सह्राएका अन्तर्राष्ट्रिय तथा स्थानीय टीभी सिरियल तथा सिनेमाको बृहद संगालो उपलब्ध गराउने छ । जस्तै हलिउडबाट टिनवुल्फ, भाइकिङ् उपलब्ध हुनेछन् र बलिउडका सिनेमा जस्तै पिकु, क्रिस थ्रि र हिरोपन्थि जस्ता सामग्रीहरु रहनेछन् । नेपालमा आईफ्लिक्स सेवाको शुरुवात भएको अबसरमा, थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् । “आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाको लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं, ” आईफ्लिक्सका लागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् । ग्राहकले गुगल प्ले वा आइओएस एप्पल स्टोरमा गई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोड गर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटा सम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्स पहुँचको मजा लिन सक्छन् र एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्ने कम्पनीले जनाएको छ । आईफ्लिक्स बारे विश्वको विकासशील बजारमा आईफ्लिक्स एउटा अग्रणी मनोरञ्जन सेवा प्रदायक हो जसले प्रयोगकर्तालाई हजारौं टीभी शो, सिनेमा तथा अन्य धेरै सेवाको असीम पहुँच (अनलिमिटेड एक्सेस) प्रदान गर्दछ । सबैको प्रिय कमेडी, ड्रामा, के-ड्रामा, टर्किस ड्रामा, बलिउड, नलिउड, कार्टुन्स, सिनेमा, लाईभ खेलकूद, तथा हलिउड देखि संयुक्त अधिराज्य, एशिया, मध्यपूर्व र अफ्रिकाका लोकप्रिय कार्यक्रम डाउनलोड वा स्ट्रिम गर्ने सुविधा हरेक व्यक्तिको आफ्नो औलामा पुर्याउने काम आईफ्लिक्सले गर्दछ । महिनाको एकपल्ट कम मासिह शुल्कमा ग्राहकले आफूलाई मनपर्ने कार्यक्रम ल्यापटप, ट्याब्लेट, टीभी आदीमा जहाँपनि र जहिलेपनि हेर्न पाउँछन् । हाल आईफ्लिक्सका सेवा मलेसिया, इण्डोनेशिया, फिलिपिन्स, थाईल्याण्ड, ब्रुनई, श्रीलंका, पाकिस्तान, म्यानमार, भियतनाम, मालदिभ्स, कुवेत, बहराईन, साउदी अरेबिया, जोर्डन, इराक, लेबनन, इजिप्ट, सुडान, कम्बोडिया, नाईजेरिया, घाना तथा नेपालमा उपलब्ध छन् ।
भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद खुला, कात्तिक २४ गतेदेखि आवेदन दिन पाइने
काठमाडौं। भार्गव विकास बैंकले १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत) हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । बैंकले कात्तिक २४ गतेदेखि सो मात्राको हकप्रदको बिक्री खुला गर्न लागेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका २१ लाख १२ हजार कित्ता सेयरको हकप्रद निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रदको लागि कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीले आवेदन दिन पाउनेछन् । इच्छुक लगानीकर्ताले कात्तिक २४ गतेदेखि कात्तिक २८ गतेसम्म बैंकिङ समयभित्र सो मात्राको हकप्रदमा आवेदन दिन पाउनेछन् । हाल कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको कात्तिक १५ गते बुक क्लोज हुँदै छ ।
सीईओ भन्छन्: बैंकका सुनौला दिन सकिए, ईपीएस घट्दै, लगानीकर्ता निरास हुँदैछन्
काठमाडौं । चुक्तापुँजी वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घट्दै गएको छ । चुक्तापुँजी बढेपछि सेयर संख्या थपिदा बैंकको प्रतिसेयर आम्दानीमा कमी आएको हो । ईपीएस निरन्तर ओरालो लागेपछि लगानीकर्ताले पहिलाको तुलनामा बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल समेत घट्नेछ । चुक्तापुँजी बढेको र पहिलो त्रैमाशमा बैंकले नाफा बढाउन नसकेपछि यो वर्ष लगानीकर्ताले राम्रो ईपीएस नपाउने संभावना बढेको छ । नेपाल राष्ट्र बैंकले चुक्तापुँजी ८ अर्ब पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि बैंकले बोनस वितरण, हकप्रद सेयर जारी र थप निष्कासन (एफपीओ) गरी सेयर संख्या बढाएका छन् । गत वर्षको तुलनामा यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाको ईपीएस घट्दै गएको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरणले देखाएको छ । २ अर्ब पुँजी हुदा गरेको नाफा र ८ अर्ब रुपैयाँ पुँजी पुगेपछि सोही अनुसार नाफा नबढे यसको ठुलो असर प्रतिफलमा पर्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थामा यसको संकेत देखिन थालेको छ । गत आवको अन्तिममा पनि अधिकाँश बैंकको ईपीएस घटेको थियो । आगामी दिनमा बैंक तथा वित्तीय संस्थामा लगानी गरेर धेरै प्रतिफल लिने लगानीकर्ताले अबका दिनमा निरास हुनुपर्ने अवस्था आउन लागेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणले संकेत गरेको छ । चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गर्ने एभरेष्ट बैंक र सिटिजन्स बैंकको ईपीएस गत वर्षको तुलनामा घटेको छ । गत वर्षको पहिलो त्रैमाशमा एभरेष्टको ईपीएस ७८.३१ रुपैयाँ थियो । यस्तै गत आवको असारसम्म आइपुग्दा घटेर ४४ रुपैयाँ ३२ पैसामा सीमित भएकोमा चालु आवको पहिलो त्रैमाशमा झनै घटेर ३५ रुपैयाँ २२ पैसा कायम भएको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड रुपैयाँ छ । बैंकले अझै १ अर्ब ८९ करोड रुपैयाँ पुँजी पुर्याउन बाँकी छ । पुँजी बढाएपछि एभरेष्टको ईपीएस अझै घट्ने देखिएको छ । गत आवको पहिलो त्रैमाशको तुलनामा एभरेष्टका लगानीकर्ताले एक वर्षमा ४३ रुपैयाँ गुमाएका छन् । चालु आवको साउनदेखि असोजसम्म ३ महिनामा बैंकले ५३ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो । पहिलो त्रैमाशको वित्तीय विवरण हेर्दा एभरेष्टले नाफा बढाउन सकेको छैन् । सेयर संख्या बढ्ने र आम्दानी सोहीअनुसार नबढ्दा ईपीएसमा कमी आउनु स्वभाविक हो । चालु आवको ३ महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने सिटिजन्सको पनि ईपीएस घटेर १५ रुपैयाँ ९० पैसा कायम भएको छ । गत आवको पहिलो दोस्रो त्रैमाशमा सिटिजन्सको ईपीएस २२ रुपैयाँ ८१ पैसा थियो । गत असारसम्म घटेर १७ रुपैयाँमा झरेको थियो । सिटिजन्सको ईपीएस ७ रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिटिजन्स बैंकको नाफा पनि घटेको छ । चालु आवको असोजसम्म बैंकले ३१ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ५१ लाख रुपैयाँ थियो । गत आवको तुलनामा चालु आवमा बैंकको खुदनाफा २ करोड रुपैयाँ बढीले घटेको छ । बैंकको पुँजी वृद्धिको तुलनामा नाफा बढ्न नसकेपछि स्वतः ईपीएस घट्ने र यसले आगामी दिनमा पनि निरन्तरता आउने सानिमा बैंकका सीईओ भुवन दाहाल बताउँछन् । विकास न्युजसंग कुरा गर्दै सीईओ दाहालले भने “बैंकले धेरै नाफा कमाएर सोही अनुसार प्रतिफल दिन्छन् भन्ने दिन अब गए । बैंकका सुनौला दिन (गोल्डेन एज) सकिएको छ ।” दाहालले भने सानिमाको ईपीएस पनि घटेको जानकारी दिदै यसलाई कायम राख्न दवाव बढेको बताए ।सेयरको संख्या ४ गुणा बढेकाले यसलाई कायम राख्न बैंकलाई चुनौति देखिएको बैंकका सीईओको भनाई छ । केही समयअघि विकास न्युजसंग कुरा गर्दै एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालले अबको चुनौति भनेको ईपीएसलाई हालको अवस्थामा कायम राख्नलाई भनेका थिए । अहिले ईपीएस जुन अवस्थामा छ त्यसलाई कायम राख्न सक्नु नै ठुलो उपलब्धी भएको उनको निष्कर्ष थियो ।