विकासन्युज

अफसिजनले बढायो तरकारीको भाउ, तीन सातामै १३६ प्रतिशतसम्मले महंगियो

काठमाडौं । अफसिजनका कारण तरकारीको मूल्य उकालो लागेको छ । अफसिजनले बजारमा पर्याप्त मात्रामा तरकारी नआउँदा त्यसको सिधा प्रभाव तरकारीमा परेको छ । ३ सातामा तरकारीको भाउ १३६ प्रतिशतसम्मले महंगिएको छ । कालिमाटी तरकारी फलफूल विकास समितिको पछिल्लो ३ साताको तथ्यांकमा तरकारीको भाउ १ सय ३६ प्रतिशतसम्मले बढेको छ । सामान्यतया कालिमाटीमा दैनिक सात सय मेट्रिक टन तरकारी आयात हुन्छन् । तर हाल दैनिक ५/६ सय मेट्रिक टन मात्र तरकारी आयात हुने गरेकाले तरकारीको भाउ बढेको समितिका योजना अधिकृत रमेश डंगोलले जानकारी दिए । ‘यो बेला नै यस्तै हो ‘,उनले भने, ‘अहिले तरकारीको सिजन सक्किदै गरेको र ठ्याक्कै अर्को सिजन सुरु नभएको अवस्था छ । त्यसैले पुराना तरकारी आउन बन्द छन् भने नयाँ तरकारी आउने बेला भएको छैन ।’ मंसिरको सुरुवातसँगै तरकारीको आपूर्ति सहज हुने उनले बताए । कालिमाटीमा यो वर्षको बर्खायामदेखिनै तरकारीको भाउ अचाक्ली महँगिएको छ त्यसमा पनि तरकारीको अफसिजन भएकाले तरकारीको मूल्य छोइसक्नु छैन । तरकारीको भाउ महंगिनुमा तरकारी आयात कम भएको व्यवसायीको तर्क छ। बजारमा प्रशस्त मात्रामा तरकारी नआउँदा माग र पूर्तिको सन्तुलन खलबलिएको कालिमाटी तरकारी थोक व्यवसायी संघका अध्यक्ष भरत खतिवडाले बताए । ‘प्रतिफल नपाएपछि तरकारी खेतीमा कृषकको रुचि हटेको छ’ ,उनले भने, ‘तरकारीको आपूर्ति घटेकाले मूल्यमा चाप परेको हो ।’ तरकारी (किलोमा) असोज २९ गते कात्तिक १९ गते प्रतिशत तुलना गोलभेडा ठूलो ५२ ९२ ७३.९२ गोलभेडा सानो ५६ ८२ ४६.४३ गाजर ६८ ९८ ४४.९२ काउली ५८ ९२ ५८.६२ आलु सेतो २९ ३८ ३१.०३ आलु रातो ३२ ४४ ३७.५० प्याज ५५ ६६ २०.०० भन्टा ५८ ६२ ६.९० तितो करेला ७८ ९८ २५.६४ लौका ३८ ४८ २३.३२ भिण्डी ८२ ९८ १९.५१ पिंडालू ३३ ४८ ४५.४५ पालूंगो साग ५८ ९३ ६०.३४ तोरी साग ४८ ५३ १०.४२ हरियो धनिया १२५ २९५ १३६.००  

छक्का-पञ्जा अफरको १० लाख रुपैयाँ नगद अम्बिका न्यौपानेलाई

काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का-पञ्जा’अफर अन्तर्गत नगद १० लाख रुपैयाँ नगद पप्रदान गरेको छ । उक्त १० लाख रुपैयाँ राशीको पहिलो बम्पर उपहार अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ । आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रवन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई प्रदान गरेका हुन् । कम्पनीका अनुसार कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो । सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिका न्यौपानेलाई उक्त रकम प्रदान गरिएको हो । कम्पनीले हाल सम्म १६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् आफ्नो सेवा दिँदै आइरहेको छ ।

ग्लोबल आइएमई बैंक र कोरियाको जीएमई रेमिटेन्सबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । नेपालको ग्लोबल आइएमई बैंक र कोरियाको ग्लोबल मनि एक्सप्रेस (जीएमई) रेमिटेन्सबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत जीएमईको शाखा तथा अनलाईनबाट तुरुन्तै नेपालमा रहेको ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखाहरुमा पैसा पठाउन सकिने छ । साथै, ग्लोबल आईएमईको नेपालभर रहेका ७००० भन्दा बढि एजेन्टहरु मार्फत १० मिनेट भित्रमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उक्त जीएमई रेमिट्यान्स कम्पनीको आइतबारदेखि उद्घाटन भएको छ । उक्त रेमिट्यान्सको उद्घाटन कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका हुन् । कोरियामा कोरियन सरकारको तर्फबाट प्राईभेट मनि टन्सफर कम्पनीलाई पहिलो पटक स्वीकृती दिई रेमिट्यान्सको कारोबार गर्ने जीएमई पहिलो रेमिट्यान्स कम्पनी भएको छ । उक्त कार्यक्रममा बोल्दै कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले कोरियामा जीएमईको स्थापना संगै हाल बिभिन्न अनौपचारिक माध्यमबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउन ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, कार्यक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियन सरकारको यो स्वीकृती र जीएमईको कारोबार सुरु भएपश्चात अहिलेसम्म कोरियाबाट हुने अनौपचारिक कारोबारलाई औपचारिक माध्यमबाट नेपालमा पठाउन ठुलो सहयोग पुग्ने बताएका छन् ।

हिरोको चौंथो र पाँचौं विजेताको नाम घोषित, दुबैले जिते १/१ लाख रुपैयाँ नगद

काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले आफ्नो योजना अन्तर्गतको चौंथो र पाँचौं विजेताको नाम घोषित गरेको छ । कम्पनीकाे गत दशै र तिहारको उपलक्ष्यमा “यो दशै र तिहारमा भाग्य मनि भए”भन्ने नयाँ योजना अन्तर्गत बम्पर लक्की ड्रमा चौंथो विजेता राम सुनेश चौधरी र पाँचौं विजेता अविनय ढुङ्गाना भएका छन् । साथै, यस योजना अन्तर्गत  दुबै विजेताले एक/एक लाख रुपैयाँ नगद जितेका छन् । साथै, यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने कम्पनीले बताएको छ । त्यस्तै, साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने कम्पनीले जनाएको छ ।

गोकर्ण बिष्टको घोषणाः अर्काे बर्षदेखि वृद्ध भत्ता पाँच हजार

गुल्मी । । नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने बताएका छन् । स्थिर सरकार र समृद्धीका लागि बाम गठबन्धन निर्माण भएर भएर चुनावी मैदानमा रहेकाले अब बन्ने सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने बताएका हुन । गुल्मीको प्रतिनिधी सभा क्षेत्र नम्वर २ का बाम गठबन्धनका उम्मेदवार समेत रहेका विष्टले वृद्ध, अपाङ्ग, दलित, महिला जनजाती लगायत सवै क्षेत्रको सबिधानमा लेखिएका अधिकारहरु ब्यवहारमा लागु गर्नका लागि वाम गठबन्धन निर्माण भएकाले निर्वाचन पछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्धि गर्ने दावी गरे । आईतबार बिहान वाम गठबन्धन मुसिकोट नगरपालिका वामीटक्सारले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गदै उनले निर्वाचनमा वाम गठबन्धनको दुई तिहाई बहुमत आउने दावी गदै त्यसपछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्धि भई ५ हजार पुग्ने ठोकुवा गरेका हुन । ‘अहिले बृद्ध भत्ता मासिक २ हजार छ ’, उनले भने,‘ यसलाई बढाएर मासिक ५ हजार बनाउन कुनै समस्या छैन ।’ साथै उनले देशलाई सम्पन्न मुलुकका रुपमा चिनाउन र यहाँका जनताको जिवनस्तर माथी उठाउनका लागि यो वाम एकता भएको स्पष्ट पारे । उनले १ स्थानीय तहमा १ उद्योग सञ्चालन गर्ने, टेक्निकल शिक्षालय स्थापना गर्ने, प्रत्येक घरमा खानेपानीको धारा, सिचाई, अस्पताल निर्माण लगायतमा नयाँ ढगंले विकास गर्नका लागि पनि आफु गुल्मी क्षेत्र नम्बर २ वाट प्रतिनिधी सभा निर्वाचनका उम्मेदवार भएको बताए । साथै उनले बिएसम्म निःशुल्क शिक्षा प्रदान गर्ने समेत बताए । नेता विष्टले कार्यक्रमलाई सम्वोधन गदै मुसिकोट नगरपालिकाको गूरु योजना निमार्ण गर्ने काम अगाडि बढीरहेको जानकारी गराउदै गूरु योजना सम्पन्न भएपछि मुसिकोट नगरपालिका देशकै नमुना बन्ने बताए । ‘म आफु जनताको काम गर्नका लागि सेवकको रुपमा उपस्थित भएको छु’ विष्टले भने ‘मैले राजनितीलाई गफको रुपमा हैन, जनताको विकास र समृद्धीसगँ बुझेको छु ।’

कार्यालय प्रयोजनबाहेक बाणिज्य बैंकका कर्मचारीलाई इन्टरनेटमा बन्देज

काठमाडौं । सूचना प्रविधि (आईटी सेक्युरिटी) सुरक्षाको कारण देखाउँदै बाणिज्य  बैंकहरुले कर्मचारीलाई कार्यस्थलमा इन्टरनेट प्रयोगमा रोक लगाएका छन् । ह्याकरले स्वीफट ह्याक गरी एनआईसी एसिया बैंकबाट करोडौ रुपैयाँ चोर्ने प्रयास गरेपछि सुरक्षा जोखिम देखाउदै सबै बैंक व्यवस्थापनले कर्मचारीलाई कार्यालयको काम बाहेक अन्य इन्टरनेट सेवा चलाउन नपाउने व्यवस्था गरेका हुन् । कर्मचारीको कामको प्रकृति हेरेर आवश्यकता अनुसार मात्रै इन्टरनेटमा पंहुच दिइएको छ । केही बैंकले यसअघि नै कर्मचारीलाई इन्टरनेटको पंहुच बाहिर राखेका थिए । एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि भने अधिकांश बाणिज्य बैंकहरुले कडाई गरेका हुन् । बैंकका कर्मचारीले फेसबुक, ट्विटर, यूट्युव लगायतका सामाजिक सञ्जाल र इमेल तथा गुगल जस्ता सर्च इञ्जिन प्रयोगमा बन्देज गरिएको छ । सीमित व्यक्तिलाई मात्र इन्टरनेट सुविधा भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले स्वीकार गरेका छन् । बैंकले काम सकिएपछि रात्रीकालिन समयमा दैनिक १२ घण्टासम्म स्वीफ्ट प्रणाली बन्द (डाउन) गरिरहेका छन् । स्वीफ्ट ह्याकको संभावना रहेको भन्दै यसको प्रणालीलाई राती डाउन गर्न थालिएको हो । कर्मचारीलाई कार्यलयको काम बाहेक अन्य काम गर्न इन्टरनेट सुविधा बन्द गरिएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परर्शुराम क्षेत्री बताउँछन् । साइबर ह्याक बढ्दै गएकाले सुरक्षाका लागि इन्टरनेट पंहुच हटाइएको उनको भनाई छ । आवश्यकताअनुसार कार्यालयको काम परेमात्र लिंक दिने गरेको क्षेत्रीले जानकारी दिए । ‘साइबर सेक्युरटीको जोखिम बढेपछि इन्टरनेट प्रयोगमा कडाई र निगरानी गरेका हौं’, जनता बैंकका सिइओ क्षेत्रीले भने । माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठले पनि एनआईसी एसियामा ह्याक भएपछि सुरक्षाको कारण कर्मचारीलाई इन्टरनेट पंहुच बन्द गरिएको बताए । सुरक्षाका कारण कर्मचारीलाई कार्यालय प्रयोजन बाहेक अन्य कामका लागि इन्टरनेट चलाउन नसक्ने व्यवस्था गरिएको उनको भनाई छ । मेल पठाएर ह्याकरले प्रणालीलाई ह्याक गरी पैसा चोर्नेलगायत जाेखिम देखिएपछि इन्टरनेट सुविधा नदिएको श्रेष्ठ बताए । आवश्यक व्यक्तिले बैंकको सफटवेयर मात्र सञ्चालन गर्न पाउने छन् । उनले बैंक डिजिटल डाटा सुरक्षा जटिल बन्दै गएकाले पंहुचमा कडार्इ गर्नु परेकाे बताए । धेरै अघिदेखि कर्मचारीलाई इन्टरनेट सेवा बन्द गरिएको स्ट्याण्डर्ड चाटर्ड बैंकका ब्राण्ड तथा संस्थागत मामिला प्रमुख दीवाकर पौडेल बताए । “हामी ग्लोबल प्रणालीअनुसार सञ्चालन हुने भएकाले सोही अनुसार बैंकिङ सुरक्षा प्रणाली रहेको छ” उनले भने “बैंकमा कुनै पनि कर्मचारीले इन्टरनेट प्रयोग गरेर फेसवुक, ट्विटर, गुगल र इमेल खोल्न सक्दैनन् ।” ग्लोबल आइएमई बैंकका सीईओ जनक शर्माले पनि बैंकले सुरक्षा प्रणालीलाई अझ मजबुत बनाएको बताए । विकासन्युजसंग कुरा गर्दै उनले आइटी सुरक्षामा बैकले जोड दिएको बताए । एनआईसी एसियाका सीईओ लक्ष्मण रिसाल आईटीको प्रयोग गर्दा यसको जोखिम, डिजिटल डाटाको सुरक्षाको बारेमा होसियार र चनाखो हुनु पर्ने बताउँछन् । ‘अपरिचित इमेल नखोल्न, आए त्यसलाई डिलेट गर्न, बारम्बार यस्ता इमेल आएमा आइटी शाखालाई जानकारी गराउन कर्मचारीसलाई निर्देशन दिएका छौं’, रिसालले भने । राष्ट्र बैंकले बैंकलाई आईटी सुरक्षाको तालिम दिने आइटी प्रणालीको सुरक्षा कमजोर भएको भन्दै नियामक नेपाल राष्ट्र बैंकले आइटी सुरक्षाको जानकारी गराउने भएको छ । साइबरमाथिको जोखिम बढ्दै गएपछि राष्ट्र बैंकले आइटी विज्ञलाइ ल्याएर सुरक्षाको बारेमा जानकारी गराउन लागेको हो । यसका लागि राष्ट्र बैंकले काम थालेको प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । एक महिनाभित्र बैंकका आइटी अधिकारीलाई तालिम दिने उनले जानकारी दिए । राष्ट्र बैंकले आइटीको विषयमा पहिला नै निर्देशिका ल्याइसकेको उनले बताए ।  

एनआईसी एशिया बैंकको थप तीन नयाँ शाखा सञ्चालनमा, शाखा सङ्ख्या १३३ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएकाे छ । बैंकले आइतबार (कार्तिक १९ गते) बाँकेको खजुरा, बारबर्दियाको मगरागडी र त्यसैगरी मोरङको रमाइलो चौकमा थप तीन शाखा सञ्चालनमा ल्याएको हो । उक्त खजुरा र मगरागडी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पाडैलले र रमाईलो शाखाको उद्घाटन कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले गरेका हुन् । यस ३ शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको बताएको छ । साथै, बैंकले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।

दोहोरो अंकले घटेको बजारमा समता माइक्रो फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं । आइतबारको बजार दोहोरो अंकले घटेको छ । १५९ कम्पनीको कारोबार भएको दिन १८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा पनि सबैभन्दा बढी समता माइक्रोफाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ रहेको छ । उक्त रकम अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४५ रुपैयाँ बढी हो । त्यस्तै, न्याङ्दी ग्रुप पावरका लगानीकर्ताले ५.२२ प्रतिशत र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ४ प्रतिशत कमाएका छन् । आइतबार सबैभन्दा बढी स्वावलम्बन लघुवित्त विकास बैंकका लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, गुराँस फाइनान्स, सनराइज बैंक र कैलाश विकास बैंकको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।